रिठाको गुच्चा खेल्ने, प्लास्टिक बालेर गुच्चा बनाउने, मोचाको बल बनाउने, डण्डीबियो खेल्ने, गोठालो जाँदा घाङघारु घाममा सेकाएर खानु। गोठालो जाँदा खेल्नमा बढी ध्यान भएर गोरुले अरूको खेती खाने अनि त्यो खेतीको मालिकले गाली गर्नु। आफूभन्दा अगाडि गोरु घर पुग्ने। गोरु हराउँदा थुकमा आँखाको रौ हाल्ने अनि हातले हान्ने। जता रौ जान्छ त्यता तिर नै गोरु, बाख्रा गएको भन्दै खोज्दै जाने।
बेलुका आएर खाजामा बिहानको बचेको रोटी र तरकारी खाने अनि मोजाको बलको भलिबल बनाएर खेल्न जानु। अलि ठूलो हुँदा स्कुलमा फुटेको भलिबल घरमा ल्याएर चप्पल काटेर टालेर डोरीको नेट बनाई कता बाँझो जग्गा छ त्यही गाउँका सबै एक ठाउँ जम्मा भएर खेल्नु। कति बेला त बल तलबाट गयो कि माथिबाट थाहा नै हुन्न थियो। खेलेर रात पर्नुभन्दा पहिले नै घर आएर खाना खानु पर्थ्यो किनकि राति बत्ती हुन्थेन। राति हजुरआमाले चोइलो (सल्लो को दाउरा) बालेर देखाउनु हुन्थ्यो अनि हामी पढ्दै बस्थ्यौं।
उमेर बढ्दै जाँदा घरमा तीन वटा बत्ती भएको लाइट आयो। त्यसको सहायताले पढ्थ्यौँ। जसरी हामी ठूलो हुँदै गयौँ, त्यसरी सबै कुरा बदलियो। सोलार गाउँमा आयो। उज्यालोको चिन्ता हट्यो। गाउँ-गाउँमा सडक पुग्यो। पहिला कहीँ गाडी देख्दा हेर्नलाई कुदेर जान्थ्यौं। ट्याक्टरको त पछाडि ट्रलीमा झुन्डेर कहाँ पुगेर हाम फालेर झर्दा हातको छाला समेत जान्थ्यो। आजकल घर-घरमा गाडी हुने गर्छ।
सायद आजकल खेलिँदैन होला मोजाको बल, डण्डीबियो, रीठा/प्लास्टिकका गुच्चाहरू, डोरीमा भलिबल, कबड्डी, इत्यादि। सायद बन्दैन होला गोठालो जाँदा हामीले बनाउने स्याउलाको घर जुन घरमा हामी पानी पर्दा ओत लाग्ने गर्थ्यौं। सायद छैन होला त्यो रमाइलो जुन गोरु जुधाउँदा हुन्थ्यो। आफ्नो गोरुको नाम बोलाउँदै कराउने। आफ्नो गोरुले जित्दा जति खुसी कहिले हुन्न थियो। गाउँको जुध्नमा पहिलो बल्ल (गोरु) मेरो हो भन्दै फुर्ती लगाउने दिन।
स्कुलको मध्यान्नमा काफल, तिर्खुला, ऐसेलु खाना जानु (वैशाख, जेठ, असार) अनि वसन्त ऋतुमा फुलेको ढकमक्क लालीगुराँस टिप्न जानु, अमला टिप्न जानु, ल्याएर कक्षा कोठामा सबैलाई बाड्नु। र, अन्य दिन विद्यालयमै खेलकुद खेल्नु। सायदै यो सबै आजकल हुँदैन होला। गाउँका स्कुल जुन हामी पढ्दा २०० जनासम्म हुने कक्षामा आजकल मुस्किलले ३०/४० जना देखेको छु।
कृष्ण जन्माष्टमी जुन दिन व्रत बस्ने भन्दै दही-केरा खानलाई व्रत बस्नु। त्यो दिन हाम्रो गाउँमा वल्लो (केरा, पाप्रो बाँधेर दिनु) चलन छ अनि जसको घरमा भैंसी हुन्छ, उसले दही सबैको घरमा दिने गरिन्थ्यो। हो, त्यही दही र केरा खानालाई घरमा व्रत बस्ने भन्नु। घरमा दही-केरा टन्न खाएर गोठालो जानु अनि त्यहाँ पनि भएको घाँगारु घाममा सेकेर खानु। अनि बेलुका घर फर्केर कृष्ण जन्माष्टमी जात्रा हेर्नलाई घरमा रोइरोइ ३० रुपैयाँ लगेर जात्रा हेर्न गइन्थ्यो। त्यतिबेला ३० रुपैयाँमा १ प्लेट चाउमिन आउँथ्यो।
राति भोक लागेको बेला चाउमिन खाएर हल्ला गर्दै देउडा खेल्दै मेला सकिन्थ्यो अनि बिहान घर जान्थ्यौँ। स्कुलमा घरबाट आफूलाई खाना लागेको पोलेको मकै, काँक्रो जस्ता चिज कसैले देखेर बेच्ने हो भन्दा हो भन्दै आफू नखाएरै घरमा पैसा दिन्थ्यौँ। खुसी हुँदै आमाको हातमा पैसा दिँदा कति आनन्द आउँथ्यो। सायदै आजकलको समयमा यो सम्भव छैन पनि होला।
विस्तारै टुकटुके फोन आउन लाग्यो। गाउँमा एउटाको हातमा मोबाइल हुन्थ्यो। तेरो यो काम गर्दिन्छु मलाई फिल्म हेर्न दिनु भन्दै उसको काम गर्दिनु अनि मोबाइल लगेर गाउँको सबै एक ठाउँमा बसेर विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल, रेखा थापा इत्यादिका फिल्म पहिलो चोटि त्यो मोबाइलमा हेरिन्थ्यो। त्यो फिल्ममा भएको कुरा साँच्चै लाग्थ्यो। अर्को फिल्ममा उही हिरोलाई देख्दा त्यो त अघि मरेको होइन कसरी बच्यो भन्दै बहस गर्थ्यौं।
सबै गाउँले एक ठाउँमा बसेर राति उखान टुक्काहरू भन्नु, कथा भन्नु, पुराना कुरा गर्नु इत्यादिले सबैसँगको आत्मियता बढ्थ्यो। सायदै आजकल यो केही पनि रहेको छैन मोबाइल बाहेक। मंसिर महिनाको पूर्णिमाको दिन भैलो खेलेर दाल, चामल, मसला माग्थ्यौं अनि अर्को दिन पकाएर खान्थ्यौं मिलेर। जो-जोले त्यो खायो त्यसले मुडा खेड्नु (जम्मा) गर्नुपर्ने भन्ने अनि सधैं बेलुका मुडा खोजेर ल्याएर आउने। पुस मसान्तसम्म अनि मसान्तको राति मुडा बलिन्थ्यो। त्यो दिन टोलटोलमा कसको टोलको ठूलो मुडिखात भन्दै हेर्दै हिँड्ने।
राति ११,१२ बजे ठूलो मुडिखातमा आगो लगाइन्थ्यो र 'रामजीको चियाडो बल्यो' भन्दै कराउँथे। रातभरि त्यो आगो नै तापेर बस्थ्यौं। राति भोक लागेमा पहिला कसको बारीमा के छ लिएर आउँथे। जस्तै: उखु, मुला, गाजर इत्यादि। अनि माघीको लागि हाल्ने बाबर (सेल) हाल्न सुरु गरेको घरमा गएर बाबर माग्दै ल्याउने र त्यहाँ बसेकोहरूले खाने गर्थ्यौँ। बिहान हुँदा नुहाएर मात्र घर जान पाइन्थ्यो। चिसो पानीले शरीर भिजाउँदै घर जान्थ्यौं। त्यसपछि सुत्थे थोरै समय अनि उठेर दिदी, फुपूहरूको पोइली घर पोको (बाबर) पुर्याउन जान्थेँ किनकि माघी भनेको छोरीबेटीको पर्व भन्छन्। त्यो दिन पोको नदिए छोरीले नराम्रो मान्छन् भन्ने चलन छ। त्यो दिएर घर फर्कियो अनि गाउँमा पूलता हाल्ने गर्छन्। जसमा बेहुलाबेहुली बनाएर बिहे (नक्कली बिहे) गर्ने र पुलता खेल्ने गर्छन्। अहिले यो सबै हराउन लागिसक्यो।
बिहान ४/५ बजे आमाले उठेर ओखलमा मकै पिट्नु, जुतारोमा गहुँ पिस्नु जस्ता आवाजले झन् आनन्दको निद्रा आउँथ्यो। गाउँमा मिल आएपछि आजकल ओखल र जुतरो छैन गाउँमा। यसलाई सेवा सुविधा थप भन्ने कि पुरानो चलन हरायो भन्ने? पहिला एक दिन लगाएर पानी मिलमा तेल पेल्ने जान्थ्यौं। घरबाट रोटी हालेर बिहान ४ बजे नै हिँड्थ्यौं। बेलुका आएर आधी बाटो आफन्तको घरमा बस्थ्यौं। त्यो दुःखहरू आजकल नजिकै मिलहरू भएर हराइसक्यो। पुराना घरमा भएका किताबका खाली पन्ना खोज्दै च्यात्दै धागोले सिलाएर नोट बनाउँथ्यौँ।
हाम्रो लागि शनिबार शनिबार होइन, काम गर्नलाई फुर्सदको दिन थियो। कपडा आमाले शुक्रबार बेलुका नै धोइदिनु हुन्थ्यो। हामी शनिबार घाँस-दाउरा गर्न जान्थ्यौँ। खेतीको बेला गोरु जोत्ने अनि गोडमेल गर्ने, पसो बोक्ने काम गरिन्थ्यो। विस्तारै उमेर बढ्दै गयो, प्रविधिको विकास हुँदै गयो। जहाँ अहिले सबैको हातमा मोबाइल छ, उहिले गुच्चा, बल हुन्थ्यो। पुराना आत्मियताहरू हराउँदै गयो। त्यो समयलाई दुःख भन्ने वा रमाइलो? जे थियो यादगार थियो, रमाइलो थियो। अहिले भने यो पक्कै छैन। मलाई लाग्छ नयाँ पुस्ताले यस्तो आफ्नो बालापनको कथा भन्न लायक केही हुने छैन।