विभिन्न देशहरूले आफ्नो देशको आवश्यकताअनुसार युवाको सम्बन्धमा उमेरका आ-आफ्नो मापदण्डहरू निर्धारण गरेका हुन्छन्। संयुक्त राष्ट्र संघ र विश्व बैंकले १५-२४ वर्ष उमेर समूहलाई युवा मानेको छ। भारतले १५-३५, चीनले १४-२८, जापानले ०-२४ वर्ष उमेर समूहलाई युवाको समूहमा राखेको छ।
त्यसैगरी नेपालको राष्ट्रिय युवा नीति २०६६ अनुसार १६-४० वर्ष उमेर समूहका व्यक्तिहरूलाई युवाको परिभाषा गरेको छ। यस अर्थमा युवा भन्नाले १६ देखि ४० वर्ष उमेर समूहका मान्न सक्छौँ।
हामीले विश्वका देशहरूले के कसरी प्रगति गरे, के कसरी समृद्ध भए भन्ने कुरा हामी सबैलाई थाहा भएको कुरा हो। दोस्रो विश्वयुद्धपछि ध्वस्त भएको जापान कुनै समय त्यहाँका युवाहरूले दिनरात नभनि आफ्नो क्षमता र उर्जालाई देश विकासको लागि सदुपयोग गरेको कारण आज विश्वको शक्तिशालि राष्ट्र बन्न सफल भएको छ। त्यसैगरी भोकमारीको चपेटामा परेको कोरीया आज विश्वभर दिनप्रतिदिन विकासमा फडको मारेको छ।
गरिबीको चपेटामा परेको सिङ्गापुरले युवाहरूको उर्जालाई सदुपयोग गरेर गरेको प्रगतिका कारण विश्वमा आज एक उदाहरणीय देश बन्न सफल भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहासलाई अध्ययन गर्दा संसारका शक्तिशाली राष्ट्रहरू पनि युवाको शक्ति र उनीहरूको उर्जाको कारणले नै विश्वमा शक्तिशालि राष्ट्रको रूपमा परिचित छन्।
अमेरिकाको स्वतन्त्र संग्राम, फ्रान्सको राज्यक्रान्ति, अंग्रेज विरूद्धको भारतीय आन्दोलन, रसियाको क्रान्ति, नेपालको २००७ सालको क्रान्ति तथा नेपालको २०६२/२०६३ सालको जनआन्दोलन, २०४६ सालको पञ्चायत विरूद्धको आन्दोलन होस् वा देशमा भएका विभिन्न सानातिना परिवर्तन, भ्रष्टचार महंगी विरूद्ध वा अधिकार विरूद्धको आन्दोलन होस् वा जुनसुकै परिवर्तनकारी कदम, यी सबै कुरा युवा शक्तिको कारणले सम्भव भएको देखिन्छ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखी २०७९/८० सम्म तीन वर्षको तथ्यांक अध्ययन गर्दा १५ लाख ६८ हजार ११५ जना रोजगारीका लागि विदेशिएका छन्। यो तथ्यांक कानुनी बाटो अपनाएर गएकाहरूको भयो। त्यसैगरी गैरकानुनी बाटो र रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा गएका कुनै पनि मानिसको तथ्यांक हाम्रो राज्यसँग उपलब्ध छैन।
राज्यले संविधानको मौलिक हकमा नै रोजगारीको व्यवस्था गरिनेछ भनि उल्लेख गरेको छ। त्यसैगरी राज्यका नीतिहरू अन्तर्गत राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धी गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सवांगीण विकासमा योगदानको लागि उपयुक्त अवसर प्रदान गरीने छ भनी संवैधानिक व्यवस्था गरेको छ। संवैधानिक व्यवस्था भएपनि राज्यको यसमा ध्यान पुगेको छैन।
राज्य अहिले देशमा रेमिटेन्स भित्रिएको छ भनेर खुसी छ तर त्यो क्षणिक हो भनेर यसमा अध्ययन अनुसन्धानको प्रभावकारीता देखिँदैन। केही समयको लागि मात्र हो, रेमिटेन्स आमाबुवालाई पालनपोषण र विदेश जाँदा आफूले लिएको ऋण तिर्नको लागि मात्र हो। भविष्यमा ती आमाबुवा नभएको खण्डमा त्यस समय देशमा रेमिटेन्स भित्रिने छैन। सरोकारवाला निकायले समयमै यो विषयमा गहिरो अध्ययन अनुसन्धान गर्न आवश्यक देखिन्छ।
अब राष्ट्रले सोच्नु पर्ने समय आएको छ। हाम्रो युवा शक्ति रोजगारीको नाममा दिनहुँ खाडी मुलुक जान बाध्य छन्, जुन देशको योग्य जनशक्ति 'ब्रेन ड्रेन' वा प्रतिभा पलायन हुँदैछन्। त्यसैले गर्दा जहाँ बालक र वृद्धहरूको बस्ती बाक्लो र युवाहरूको उपस्थिति शून्यप्रायः हुँदैछ, जहाँ उनीहरूको पसिना देशको माटोले पाउन छोडिसक्यो, राज्यको उर्वर जमिन मरूभूमी तुल्य बनिसक्यो।
धेरैजसो युवाशक्ति विदेशमा पलायन भएर आफ्नो उर्जाशील समय राज्य बाहिर खेर फालिराखेका छन् र जुन देशमा गयो त्यो देशमा हिरा उत्पादन गरिराखेका छन्। देशमा भएको केही युवाशक्ति कुलत र अपराधमा संलग्न भएर देशका विभिन्न कारागारमा आफ्नो उर्जाशील समयलाई खेर फालिराखेका छन्।
विकासमा अघि बढेका राष्ट्रका युवाहरूको परिश्रम, सिर्जना र समर्पणले हो, आज ती राष्ट्रहरू संसारका शक्तिशाली राष्ट्रको रूपमा चिनिएका छन्। त्यसैले युवाले चाहे हरेक कुरा सम्भव छ, त्यहाँ कुनै पनि कुरा असम्भव भन्ने हुँदैन। युवालाई चिन्न नसकेको देश नेपाल पनि हो, त्यसैले समयमा राज्यले युवालाई चिन्न सकेको खण्डमा देशले विकासमा फड्को मार्ने थियो।
युवाको प्रतिभालाई मात्र पनि देशले राम्रोसँग चिन्न सकेको खण्डमा देशले मुहार फेर्नेछ। अबको केही वर्षपछि देशमा युवा हुनेछैनन्। जुनसुकै ठाउँमा जाउँ अथवा कतै चिया गफ होस् वा साथीभाइ जमघट, ती युवाहरूको एउटा सपना भनेको विदेश विदेश। त्यो बाहेक कुनै सपना छैन अहिलेका युवामा। किन विदेश जान लागेको भनेर सोधपुछ गरेको खण्डमा यो देशमा भविष्य छैन भने उनीहरूको रेडिमेड जवाफ हामी सुन्छौँ।
सिभिल इन्जिनियरिङ सिध्याएर कन्सल्टेन्सी खोलेर ४/५ वर्ष राम्रैसँग आफ्नो काम गरिराखेको एकजनासँग भेट भयो। यसो कुरा गर्दै जाँदा म आइइएलटिएसको तयारी गरिराखेको भन्यो। किन विदेश जान लागेको भनेर सोधेँ। 'सर नेपालमा परिवार पाल्न गाह्रो भयो, कमाइले पुग्दैन। यहाँ भविष्य पनि छैन। त्यसैले विदेश जाने' रे।
देशको सक्षम शक्ति विदेशतिर मात्र पलायन हुन थालेको छ। त्यसैले राज्यले आफ्नो युवा शक्तिलाई रोक्न समयमा सोच्न आवश्यक छ। केही समयपछि देशमा युवा खोजेर भेटिने छैन। यसको लागि राज्यले समयमा केही नीति नियम बनाउन जरूरी छ।
युवा पलायन रोक्न राज्यले केही राम्रा रोजगार मुलक तथा उद्यमशील तथा युवा लक्षित योजनाहरू ल्याउन आवश्यक छ। युवाहरूलाई देशमा लगानी गर्ने वातावरण सृजना गर्नुपर्छ। राज्यका हरेक नीति निर्माण तहमा, राजनीतिक नियुक्त्ति तथा अन्य कुनै पनि क्षेत्रमा युवाहरूलाई अवसर अनिवार्य रूपमा दिनु पर्ने देखिन्छ। राज्यका हरेक क्षेत्रमा युवा शक्तिलाई कसरी राष्ट्रमा नै प्रोत्साहन गर्ने भन्नेतर्फ राज्यले समयमा सोच्नुपर्ने देखिन्छ। यसतर्फ राज्यको ध्यानाकर्षण आवश्यक छ।
देशमा बन्द भएका उद्योगहरूलाई संचालनमा ल्याउनु पर्ने छ। यसरी उद्योगधन्दा संचालन गरेको खण्डमा केही युवाशक्ति विदेश पलायन हुने थिएनन् र आफ्नै देशमा रोजगारको वातावरण बन्ने थियो।
युवा लक्षित सिपमुलक कार्यक्रम संचालन गर्ने। बढीभन्दा बढी युवाको सहभागिता गराउने। सस्तो ब्याजदरमा बिना झन्झटमा ऋण उपलब्ध गराउने जस्ता युवा वर्गलाई फाइदाजनक हुने कार्यक्रम राज्यले समयमा ल्याउन आवश्यक छ।
सामान्य अपराधमा जेल जीवन बिताइराखेका युवाहरूलाई कारागार ऐन २०१९ मा भएको खुला कारागारको अवधारणाअनुसार सिपमुलक तथा उत्पादनशील कार्यमा लगाउनु आवश्यक छ। युवाको शक्तिलाई राज्यले बन्धक बनाइ खेर फाल्नु भएन। कानुनमा भएको व्यवस्थालाई सही सदुपयोग गर्नुपर्ने देखिन्छ। विकसित राष्ट्रहरूले यसमा गरेको अभ्यासलाई सिको गर्दै हाम्रो देशले पनि त्यस्ता किसिमका अभ्यासहरूलाई अनुशरण गर्नुपर्ने देखिन्छ जसले गर्दा राज्यलाई फाइदा हुनेछ।
केही वर्षअघिसम्म पनि संसारका धेरैजसो राष्ट्रहरू हाम्रो जस्तै गरिबीको चपेटामा थिए। उनीहरूले युवा शक्तिलाई समयमा सदुपयोग गरेको कारणले आज गरिबीबाट माथि उठी विकास र समृद्धिमा अगाडी बढेका छन्।
हामी युवा देशको लागि जाग्न जरूरी छ। युवाले समाजमा विभिन्न किसिमका परिवर्तन ल्याउन सक्छन्। युवाले चाहे के हुँदैन! युवा नै राज्यको शान, मान र भविष्य हो। जहाँ युवा अग्रसर हुन्छन् त्यहाँ परिवर्तन हुन्छ। संसारमा जे जति परिवर्तन आए ती सबै युवाहरूको अग्रसरता र अमूल्य योगदानका कारणले आएका परिवर्तन हुन्।
केही गरौँ र अघि बढौँ भन्ने सोच राखेका सक्षम तथा सबल जनशक्तिले आफ्नो देशलाई विकासको बाटोमा अगाडि बढाउनको साटो देशै छोडेर पलायन हुनु देशको लागि दुर्भाग्य हो। युवाहरू देशका कर्णधार मात्र होइनन्, देशका मेरूदण्ड पनि हुन्। देशमा रहेको कुशासन, कुसंस्कार, भ्रष्टचार र बेरोजगारी विरूद्ध आवाज उठाउने पनि युवा नै हुन्।
देशलाई समृद्ध बनाउन पनि युवा शक्तिको नै आवश्यकता पर्दछ। युवा भन्नु नै देशको तागत हो, युवा भन्नु नै साहस हो। युवा भन्नु नै आफ्नो राष्ट्र अनि समग्र जगतको वर्तमान र भविष्य हो। मानवता, सभ्यता र समृद्धिका लागि पनि युवाशक्तिको उचित परिचालन हुन आवश्यक छ।
त्यसैले हामी युवाले शुरुवात आफैबाट र आजैबाट गरौँ। विदेशी भूमिमा आफ्नो अमूल्य समय र जीवनलाई खेर नफालौँ। युवा शक्ति पलायन हुनबाट रोक्न राज्यलाई खबरदारी गरौँ र सरकारसँग हातेमालो गरेर देशलाई समृद्ध बनाउन आआफ्नो क्षेत्रबाट हामी सबै जागौँ।