गाउँमा घर बनाउने चटारो चलिरहेको थियो। घरमा आमाबुबालाई केही सहयोग होस् भन्ने सोचले म घर गएँ। लगभग घर बनाउने कामको अन्तिम चरणमा पुग्यो। हजुरआमा माइलो ठूलोबुबाकोमा बस्नुहुन्थ्यो। मेरो घरबाट केही माथिको दूरीमा थियो ठूलोबुबाको घर। म सधैं घर आउँदा हजुरआमा नभेटी राजधानी फर्किन्नथेँ।
यसपालि घरमा काम धेरै भयो, माथि ठूलोबुबाकोमा जाने फुर्सद नै मिलेन। त्यही भएर मैले ठूलोबुबालाई हजुरआमालाई एकछिन तल पठाइदिनुस् भनेर फोन गरेँ। फोन गरेको केही समयमा नै हजुरआमा हाम्रो घरमा आइपुग्नुभयो। घरमा कोठा तयार भैसकेको थियो। सबै कोठाको ढोका खोलेर हेर्दै हजुरआमा हामीसँग खुसी साट्दै हुनुहुन्थ्यो। बेलुका हुनलाग्यो हजुरआमाले ठूलोबुबाकोमा जान्छु अर्कोपटक आउँदा माथि आउनु है नाति भन्दै कान्छो छोराको घरबाट बिदा हुनुभयो।
म घर आएको पनि करिब ८ दिन भैसकेको थियो। राजधानीमा साँचेर राखेको कामको चाङ थिए। नौ दिनको दिनमा म एकाबिहानै राजधानी फर्किएँ। यो पटक घर जाँदा अत्याधिक धेरै काम गरेर होला म फर्केको दिन कतै केही काममा निस्किन सकिनँ। सो दिन घरमा बसेरै दिन बित्यो। भोलिपल्ट फागुन १७ गते बिहान म सुतिरहेको थिएँ। करिब ७ बजेको थियो। मलाई घरबाट एकाबिहानै फोन आउँदा साह्रै डर लाग्थ्यो। बुबाको फोन आयो। निद्रामा आत्तिँदै फोन उठाएँ।
सधैं हालखबर सोध्नुहुने बुबाले मलाई सुरुमा नै प्रश्न गर्नुभयो- 'कान्छा, हजुरआमाको बारेमा थाहा पाइस् त?'
म छाँगाबाट खसेको जस्तो भएँ। जुरुक्क सिरानीबाट टाउको उठाउँदै बुबालाई सोधेँ, 'के भयो बुबा हजुरआमालाई?'
बुबाले मेरो प्रश्न सक्किन नपाउँदै भन्नुभयो, 'हजुरआमालाई आगो ताप्दा पोलेछ, ममीहरूले गाडीमा हालेर अस्पताल लानुभएको छ।'
यति सुनेपछि मैले फोन राख्दिएँ। दुई दिनअघि मात्र भेटेको हजुरआमाको एक्कासी यस्तो खबर सुन्दा मेरो आँखा रसाए। हजुरआमाको बारेमा थप जानकारी लिन मैले ममीलाई फोन गरेँ। ममीको फोन धेरै पटकसम्म उठेन। निराश भएको मेरो मनमा हजुरआमाको तस्वीर आँखै अगाडि घुमिरहेको थियो। बल्लबल्ल केही समयमा ममीले नै फोन गर्नुभयो। हत्तारिँदै फोन उठाएँ।
ममीले मैले बोल्न नपाउँदै भन्नुभयो, 'कान्छा, हजुरआमालाई ठिक छ आत्तिन पर्दैन। धेरै दिन भयो होला काममा नगएको, खाना खाएर काममा जानू।'
अब एकैछिन काममा जान्छु अनि घर जानुपर्ला भन्ने सोचका साथ म काममा जान तयार हुँदै थिएँ। हजुरआमाको अनुहार मेरो आँखै अगाडि घुमिरहेको थियो। काममा जाउँ कि नगई घर जाउँ भन्ने दोधार सिर्जना भयो। फेरि ममीलाई फोन गरेँ। हजुरआमालाई बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको रहेछ। तर विडम्बना, पूर्व स्वास्थ्य मन्त्री भएकै नगरपालिकामा आम सर्वसाधारण जनताले सामान्यभन्दा सामान्य उपचार पाउन सक्दैनन्। झन् हजुरआमाको केस अलि सिरियस नै रहेछ। बाह्रबिसेबाट काठमाडौं लानु भन्ने खबर आएपछि एम्बुलेन्समा हजुरआमालाई राजधानी ल्याउन लागेको खबर ममीले सुनाउनु भयो।
करिब ९ बज्यो। केही समय काममा गएर उतैबाट अस्पताल जाने सोच बुन्दै म बानेश्वर काममा निस्किएँ। हजुरआमालाई साथी मेरो दाइ र फुपू दिदी पनि एम्बुलेन्समा आउनुभएको थियो। समय समयमा दाइलाई सम्पर्क गरिरहेँ। अफिसमा काम गर्न मसँग कुनै जाँगर थिएन। साढे दस भयो। दाइले 'ट्रमा सेन्टर आइपुग्यौँ आइज' भन्दै फोन गर्नुभयो। म हतार-हतार पठाओ बुक गरेर ट्रमा सेन्टर पुगेँ।
ट्रमा सेन्टरको इमर्जेन्सीमा हजुरआमालाई राखिएको थियो। अस्पताल पुग्ने बित्तिकै हजुरआमाको अनुहार देखेर मेरो आँखा रसाए। खुट्टातिर कपडा उचाल्दै पोलेको घाउ नियालेँ, आङ सिरिङ्ग भयो। हजुरआमाको अवस्था अलि गम्भीर नै थियो। अस्पतालको रिसेप्सनमा गएर आइसियूमा लैजाउन भन्दै बिन्ती गरेँ, कसैले कुरा सुनेनन्।
म रिसेप्सनबाट फर्केर इमर्जेन्सीमा जाँदै थिएँ। हजुरआमा राखेको बेड नजिकै तीन/चार जना डाक्टरहरू देखेँ। उनीहरूको अगाडि हात जोडेँ। उनीहरूको एउटै उत्तर थियो- 'हाम्रोमा आइसियू खाली छैन, कीर्तिपुर अस्पताल लैजानुस्।
यति भनेर डाक्टरहरू आ-आफ्नो बाटो लागे। कसरी हुन्छ हजुरआमालाई बचाउनु थियो। म पेसाले पत्रकार, यस्तै समय-समयमा लेख रचना कोरिरहन्थेँ। केहिले चिनेका पनि थिए। आफूले चिनेकालाई सहयोग माग्ने भनेकै यस्तै बेलामा त हो भनेर मैले पूर्व स्वास्थ्य मन्त्रीका नजिककालाई फोन घुमाएँ, जिल्लाका नाम चलेका राजनीतिज्ञलाई फोन घुमाएँ। सबैको जवाफ एउटै थियो 'म बुझेर ५ मिनेटमा कल गर्छु।'
सबैले दिएको ५ मिनेटमा अर्को थप ५ मिनेट अर्थात् १० मिनेट बित्यो। कसैको कल आएन। ५ मिनेट त के हजुरआमालाई अस्पताल राखेको ८ दिन र आज हजुरआमा बितेको १७ दिन हुँदासम्म उनीहरूले एक वचन फर्केर कल गरेनन्। कतैबाट केही सहयोग प्राप्त नभएपछि म निराश भएँ। सायदै जीवनमा त्यो दिन होला त्यति धेरै निराशा छाएको। यो संसारमा सबै स्वार्थी छन्,0 केबल आमाबाबु बाहेक।
जतिसुकै रोइकराई गरे पनि ट्रमा सेन्टरमा अब आइसियू नपाइने भयौं। बाह्रबिसेबाट लगेको एम्बुलेन्स फर्किसकेको थियो। काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको निःशुल्क एम्बुलेन्स सेवामा सम्पर्क गरेँ। सम्पर्क गरेको करिब ५ मिनेट बित्न नपाउँदै एम्बुलेन्स ट्रमा सेन्टर आइपुग्यो। हजुरआमालाई ट्रमा सेन्टरबाट कीर्तिपुर अस्पताल पुर्यायौँ। एम्बुलेन्सबाट झार्ने बित्तिकै दाइले एम्बुलेन्स चालकलाई भाडा सोध्नुभयो। चालक दाइ मुस्कानसहित 'भाडा पर्दैन भाइ, हजुरआमाको राम्रो ख्याल गर्नुस' भन्दै एम्बुलेन्सको स्टेरिङ घुमाउन थाल्नुभयो।
कीर्तिपुर अस्पतालको इमर्जेन्सीमा हजुरआमाको उपचार सुरु भयो। लगभग हाम्रो आफन्त जति सबै अस्पतालमा उपस्थित भइसकेका थियौँ। सुरुवातमा घाउ सफा गरेर मलमसहित ब्यान्डेज गर्ने र सोपश्चात् आइसियूमा लैजाने डाक्टरहरूको सल्लाह भयो। इमर्जेन्सी बाहिर हामी सबै भगवानसँग प्रार्थना गरिरहेका थियौं।
भित्रबाट डाक्टरले एकजना भित्र आइदिनुस् भन्दै बोलाउनु भयो। म इमर्जेन्सीभित्र गएँ। घाउ सफा गर्न सहयोग गर्नपर्ने रहेछ। मैले हजुरआमाको जलेको शरीर हेर्न सकिनँ। भित्र गएको एक मिनेट नबित्दै म बाहिर निस्किएँ। केही समयपछि फेरि डाक्टरको समूह हामी भए ठाउँमा आउनुभयो। हजुरआमाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि आइसियूमा लानुपर्ने जानकारी दिनुभयो। हामीले डाक्टरहरूको सल्लाह बमोजिम आइसियूमा लैजान अनुमति दियौं।
हजुरआमालाई इमर्जेन्सीमा घाउ सफा गर्ने काम सकेर आइसियूमा सारियो। भोलि बिहान मुख्य डाक्टर आएर हेरेपश्चात थप उपचार अगाडि बढ्ने जानकारीसहित डाक्टरहरू बिदा भए। भोलिपल्ट दश बजे मुख्य डाक्टर आउनुभयो। एउटा हातमा, कम्मरदेखि मुनि दुवै खुट्टामा पोलेको घाउ गहिरो रहेको र अप्रेशन नगरी ठिक नहुने सूचना दिँदै तेस्रो दिन अप्रेसन हुने जानकारी गराइयो।
यता अप्रेसनको कुरा चलिरहेको छ, उता आइसियूको बेडमा हजुरआमा छटपटी रहनुभएको छ। पोलेको अघिल्लो दिनसम्म घाँस काट्ने, गोठमा गाईबस्तुलाई खोलेपानी गर्ने, घरमा खाना बनाउनेदेखि सर्वत्र काम गर्नसक्ने हजुरआमा आजसम्म अस्पताल गएको कुनै रेकर्ड थिएन। आजीवन कुनै बिरामी नभई हजुरबुबा ८६ वर्षको उमेरमा बित्नुभएको पनि पाँच वर्ष भयो।
आइसियूमा बेलाबेला सुप, खाना पुर्याउन हामी पालैपालो गइरहन्थ्यौं। जो गए पनि हजुरआमा एउटै कुरा भन्नुहुन्थ्यो 'खर्च धेरै लाग्यो होला, मलाई आजै घर लजानू।' हामी बुढाबुढिलाई सित्तैमा उपचार हुने र अब एक/दुई दिनमा नै घर जाने भन्दै हजुरआमालाई आश्वासन दिएर फर्कन्थ्यौँ।
अस्पताल बसाइँ पनि तीन दिन बित्यो। हामी सबैजना पालैपालो अस्पतालमा रात बिताउँथ्यौँ। अस्पताल बसाइँ कसरी राम्रो हुन्थ्यो! न सुत्नको ठेगान, न खानको ठेगान। उल्टो म आफैं बिरामी हुने अवस्थामा पुगेँ। चौथो दिन बिहान हजुरआमाको अप्रेसन गर्ने निष्कर्ष डाक्टरको समूहले निकाले। अप्रेसनको लागि आवश्यक सम्पूर्ण औषधीको व्यवस्था भयो।
औषधी जिम्मा लगाएसँगै डाक्टरका समूहले हामी सबै परिवारलाई हजुरआमालाई अप्रेसन हलमा लग्यौँ। अब अप्रेसन हुन्छ धैर्य गर्नुस् भन्दै आश्वासन दिएर बिदा भए। हामी भगवानसँग प्रार्थना गरिरहेका थियौं। हामीबाट बिदा भएका डाक्टरहरूको समूह दुई मिनेट बित्न नपाउँदै बाहिर निस्किए। हाम्रो नजिक आउँदै हजुरआमाको उमेर धेरै भएकाले अप्रेसन गर्न ठूलो चुनौती रहेकाले अप्रेसन सम्भव नरहेको जानकारी दिए।
हजुरआमा ८४ वर्षको हुनुभयो। पोलेको ठाउमा टाउकाको मासु काटेर लेर आएर हाल्नपर्ने रहेछ। जुन सम्भव भएन। अब विकल्प के भन्ने प्रश्नले हामीलाई पिरोल्न थाल्यो। जन्मदिने बुबा गुमाइसक्नु भएको फुपू दिदीको आँखा रसिला थिए। दिदीको अगाडि दिदीलाई सान्त्वना दिँदै हामी रुन्चे हाँसो प्रस्तुत गरिरहेका थियौं। म र ठूलोबुबाको छोरा मुख्य डाक्टरलाई भेटेर अबको उपचार के हुनसक्छ भनेर सोधखोज गर्न गयौं। अप्रेसन नहुने भएकाले अब थप उपचारले काम नगर्ने र आफन्तलाई भेटघाटको लागि बोलाउनु भन्दै डाक्टरले जानकारी दिए।
आँखाभरि टिलपिल आँसु पारेर हामी बाहिर निस्कियौँ। बाहिर रहेका परिवारका सदस्यलाई हौसला दिँदै हजुरआमालाई छिट्टै ठिक हुने आशा देखायौँ। केबल आशा मात्रै थियो। डाक्टरको सल्लाह बमोजिम हामीले हाम्रा परिवारलाई क्रमशः अस्पताल बोलाउन थाल्यौं। परिवारदेखि चिनेजानेका सबै आफन्तले हजुरआमासँग भेटघाट गरे।
अस्पताल बसाइँ पाचौं दिनमा प्रवेश गर्यो। बसाइँ बालकोट, अस्पताल कीर्तिपुर। कष्टकर दिन बितिरहेको थियो। डाक्टरको कुराले मन भक्कानिरहेको थियो। एकैछिन आ-आफ्नो कामसँगै सबैजना पालैपालो अस्पताल गइरहन्थ्यौँ। आइसियूको बिरामी भेटघाटको लागि अलि बन्देज लगाइएको हुन्थ्यो। हजुरआमाको त्यो हसिलो मुहार हेर्न सबै प्रतीक्षामा हुन्थ्यौँ। डाक्टरहरूलाई बिन्ती गर्दै पालैपालो हजुरआमा भेट्न जान्थ्यौँ।
छैटौं दिन सुपसहित म हजुरआमा भेट्न पुगेँ। खानेकुराको लागि पाइप लगाइएको थियो। हजुरआमाले पानी खुवाइदे भन्नुभयो। मैले दुई चम्चा पानी खुवाइदिएँ। पानी खुवाएसँगै हजुरआमाले रुँदै मलाई भन्नुभयो- 'नाति, म बाँच्छु होला त?'
आँखाबाट तप्प आँसु झरे। मैले आफूले आफैँलाई सम्हाल्न सकिनँ। मन त थियो हजुरआमालाई अंगालो हाल्दै रहर पुग्ने गरी रुन तर मैले आफूले आफैँलाई सम्हाल्नुपर्ने थियो किनकि डाक्टरहरूले बिरामीलाई सकभर नछुनु भनेका थिए। हत्तनपत्त आँखा पुछ्दै मैले हजुरआमालाई अब ठिक भैसक्यो भोलि घर जानुपर्छ भनेर आश्वासन दिएँ। सबै नातिहरूलाई सधैं मेरो आशीर्वाद लागोस् भन्दै हजुरआमा हाम्रो निम्ति भगवानसँग कामना गरिरहनु भएको थियो भने म हजुरआमालाई छिट्टै ठिक पारिदिनुस् भन्दै भगवानसँग कामना गरिरहेको थिएँ।
छैटौं दिन दिउँसो डाक्टरले हजुरआमालाई घर लैजानुस् भन्दै हामीलाई बारम्बार भनिरहे। न ठिक हुन्छ कि भन्दै हामीले घर लैजान मानेनौँ। फागुन २४ गते अस्पताल बसाइँ आठौं दिनमा प्रवेश गर्यो। डाक्टरहरूले अब अस्पताल राखेर उपचार पनि नहुने र घरमा नै लगेर दिनमा एकपटक घाउ सफा गर्नुस् भन्दै हामीलाई सूचना दिइरहेका थिए। डाक्टरको सल्लाह मान्नैपर्यो। हामी सबैले हजुरआमालाई घर लैजाने सोच बुन्यौँ।
अन्ततः आठौं दिन बेलुकी कीर्तिपुर अस्पतालको बसाइँलाई बिट मार्दै हजुरआमा, दाइ, भाउजू र हजुरआमाको तीन छोरा बाह्रबिसे प्रस्थान हुनुभयो। सँगै हामी बस्ने थलो बालकोटतर्फ लाग्यौँ।
अस्पतालमा राति नौ बजेतिर एकपटक खाना पुर्याउन गएपछि हामीलाई भेट्नको निम्ति बन्देज लगाइएको थियो। जब रात पर्दैजान्छ तब हजुरआमालाई गाह्रो हुने रहेछ। अस्पतालबाट घर लगेको रात हजुरआमाले अस्पतालमा पोख्न नपाएको पीडा आफ्नो परिवारसँग पोख्नुभएछ। कहिले अस्पताल कहिले कता दौडधूपले ज्यान सिथिल थियो। २५ गते घरमा नै आराम गर्ने बाहेक अर्को कुनै विकल्प थिएन। बेलुकी ८ बजेको थियो। हजुरआमालाई गाउँमा अलि गाह्रो भयो भन्ने खबर आयो। भगवानसँग ठिक पारिदिनुस् भनेर प्रार्थना गर्दैमा रात बित्यो।
बिहान घडीमा ६:३० भएको थियो। सुरुमा ममीले फोन गर्नुभयो। जोसुकैले फोन गरे पनि मलाई एकाबिहानै आएको फोन उठाउन डर लाग्छ। डराइडराई फोन उठाएँ। ममीले रुँदै भन्नुभयो- 'कान्छा, हजुरआमा रहनुभएन।'
ममीको यो एक वाक्य सुनेपछि संसार मेरै काँधमा खसेझैँ भयो। थच्च भुइँमा बसेँ। हरेक पटक आइसियूको बेडमा हजुरआमा भेटेको दृश्य चौतर्फी आइरहेको थियो। हतारहतार हामी स-परिवार बाह्रबिसे आयौँ। घाटमा चित्तामाथि हजुरआमा हुनुहुन्थ्यो, हँसिलो मुस्कानसहित।
मैले जिन्दगीमा पहिलोपटक हो यसरी मृत्युलाई नजिकबाट नियालेको। विश्वासले चलेको छ यो संसारमा, सत्य छ त केबल मृत्यु। तर पनि हामी सोही मृत्युलाई विश्वास त के कल्पना समेत गर्न सक्दैनौँ। हो, त्यस्तै भयो हजुरआमा बित्नुभएको खबर पनि। झुटो होस् जस्तो लाग्ने तर झुठो हुन नसक्ने। केबल बाँकी रह्यो उही सम्झनामा मात्रै।