केही समयअघि मेरो जुत्ताले मलाई अचानक सप्राइज दियो। बिहानसम्म ठिकै थियो। एकाएक दिउँसो पूरै जुत्ताले आँ गरेको थियो। जुत्ताको आँले मेरो मुख पनि आँ भयो एकछिन। दायाँबायाँ हेरेँ, फेरि आफैंले खुट्टा हेरेँ, जुत्ताको त्यो रुप देख्दा जुत्ता प्रश्न सोध्ने मुडमा थियो। मैले तुरुन्तै नकारेँ, पछि उपचार गरौंला भनेर जुत्तालाई आँ हुन दिएँ। जुत्ताको आँ देखेर धेरैको मुख एकछिन आँ अवश्य भयो होला। कतिले हाँहाँ गरे होलान्। जेहोस् त्यो दिन मेरो जुत्ताले धेरैको मुखलाई कसरत भने गराएको हुनुपर्छ।
जुत्ताले दुई/तीन दिन अघिदेखि सङ्केत नगरेको होइन। विस्तारै म घाइते हुँदैछु है भनेर केही लक्षण पनि देखाएकै हो। म अटेरी, जुत्तालाई पेल्दै गएँ। अन्ततः जुत्ताले मलाई पेल्यो। दिउँसो मेरो अटेरीपनलाई राम्रै उत्तर दियो। खैर बेलाबखत यस्ता निर्जीव बस्तुले पनि पाठ सिकाउनुपर्छ। हामी विवेकशीलहरूलाई आफ्नो हैसियत निर्जीवले देखाउनुपर्छ। अनि मात्र बस्तुप्रति सम्मान र प्रेम बढ्छ।
खुट्टाको रक्षार्थ खटिएको जुत्ताको आँले केही जुत्ताका कथा मेरो मानसपटलमा घुमाउने काम गर्यो। माथि उल्लेखित जुत्ताको आँ पनि एक कथा न हो। संसारमा थुप्रै कथा छन्। प्रत्येक बस्तुको आआफ्नो कथा अवश्य छन्। ती कथाभित्र तमाम रोदन, वेदना र विकास हुन्छन् नै। जुत्ताको सवालमा पनि उसको आफ्नै उत्पत्ति, कथा रहेको छ।
जुत्ताको विकास किन भयो? यसको उत्तर हाम्रो खुट्टाले जुत्ताको विकास भएयता दिइरहेको छ। एउटा कुरा भने रोचक छ। पहिला जुत्ताको अस्तित्व सीमित थियो। उदेश्य एक थियो। हिजोआज जुत्ताको भाष्य रुप रङ्ग र भाउमा ठूलो परिवर्तन आएको छ। जुत्ता मान्छेको निकै प्रिय अभिन्न बस्तु हुनुपुगेको छ। अझ भन्नुपर्दा जुत्ता बिना मानिसको शृङ्गार अपूरो छ।
जुत्ताका अनेक कथामध्ये एउटा विश्वमा तहल्का मच्चाउन सफल जुत्ताको कथाको सारंश यस्तो छ। १४ डिसेम्बर २००८ इराकको बग्दादतिर लग्यो एकछिन। जहाँ इराकी पत्रकार मुन्ताधर अल-जैदीले अमेरिकाका राष्ट्रपति जर्ज बुसलाई इराकी प्रधानमन्त्री नुरी अल-मालिकीसँगको संयुक्त पत्रकार सम्मेलनमा 'जुत्ता' प्रहार गरेका थिए। उक्त घटनाले पत्रकार जैदीको जुत्ता र झटारो विश्वप्रसिद्ध मिडियामा छाएको थियो। घटनाको केही समयपछि बुसलाई हानेको त्यो जुत्ताको मूल्य लाखौं डलरमा बिक्री भएको थियो। बुसलाई जस्तै बेलाबेलामा जुत्ताले ठूलै मान्छेलाई राम्रै सप्राइज दिनेगर्छ। जुत्ताको माला, झटारो इत्यादीले जुत्ताको आम बुझाइभन्दा केही फरक काम भनेको गरेको छ।
नेपाली समाजमा जुत्ताको आफ्नै कथा र भाष्य छ। अरु जेजस्तो लगाए पनि जुत्ता गतिलो लाउनुपर्छ भन्ने विश्वास छ। अझ ससुराली जाँदा, भोजभतेरमा पुग्दा जुत्ता महङ्गो लगाउने परिपाटी अहिले पनि रहेको छ। आखिर जुत्ता किन महङ्गो लगाउने त? जुत्ता न चल सम्पत्ति हो न अचल। तथापि धेरैलाई के लाग्छ भने महङ्गो जुत्ता राम्रो हुन्छ। सबैको पहिलो नजर जुत्तामा पर्छ। मान्छेलाई पनि व्यक्ति मापन गर्न सजिलो होस् भन्ने भान पर्नसक्छ। सरसर्ती हेर्दा जुत्ताको नेपाली बुझाइ यस्तैयस्तै विचारधाराबाट प्रशिक्षित देखिन्छ।
अर्को कोणबाट हेर्दा जुत्ताको महङ्गो भाष्य सामन्तहरूले आफू अनुकूल बनाएको बाहेक केही होइन। सामान्तसँग पैसा थियो। ऊ अरुभन्दा भिन्न देखिन चाहान्थ्यो। सकेसम्म आम मानिसको पहुँचभन्दा परका सामाग्री प्रयोग गर्थ्यो। ताकि ऊ आम मानिसभन्दा माथि रहेको प्रमाणित गर्नसकियोस्। यस्तै पूँजीवादी सोच भएकाले आफु अनुकूल राम्रोको नाममा आफ्नो विशेषता बढाउने बिलासी बस्तु उपभोग गरेर प्रपञ्ज रचेका छन्। अहिले पनि जुत्ताको भाष्य यस्तै देखिन्छ झल्किन्छ।
जुत्ताको सवालमा अहिलेका गोल्डस्टारदेखि विदेशी गुचि गभाना, लुइभित्तो, बेन्ट्लेलगायतका बिलासी प्रसिद्ध ब्राण्डको छुट्टाछुट्टै पहिचान र उदेश्य छ। आधुनिक मानिसहरू आफ्नो विचारअनुसारका जुत्ता पहिरिने गर्छन्। सामान्य मान्छे आवश्यकताअनुसार जुत्ता लगाउँछन्। सामन्ती, देखावटी व्यक्तिवादी सोच भएकाले रवाफ दम्भ देखाउन कथित महङ्गा ब्राण्डेड जुत्ताका विभिन्न प्रकार रोज्छन्। यी यावत बुझाइभन्दा पर तमाम जुत्ताको प्रयोग एउटै हुन्छ।
सामान्य बुझाइमा जुत्ताको काम खुट्टालाई सुरक्षा दिनु हो। व्यक्तिले जुत्ता लगाउनुको प्रमुख उदेश्य भनेकै यहीँ हो। तर मनोवैज्ञानिक तथा पूँजीवादी कोणबाट मूल्यांकन गर्दा जुत्ताको आफ्नै संसार छ। यसको प्रयोग अनेक छन्। जुत्ताको एउटा फरक आयाम भने गजबको लाग्छ, विश्वव्यापीरुपमै कथित ठूला भनिएकालाई पीडित पक्षबाट आफ्नो आक्रोश पोख्दा प्रहार गर्ने हतियारको रुपमा प्रयोग गरेको पाइन्छ। नेपाल लगायतका विश्वका धेरै भ्रष्टाचारी अराजक अनुहारले जुत्ताको प्रहार खेपेका छन्। जुत्ता यस मानेमा पीडित पक्षको हतियार हो। विद्रोही पक्षको आक्रोशको प्रतीक हो।