सानो छँदा (२२–२४ वर्षअघि) सिन्धुलीको साविक जलकन्या गाविस चपौलीस्थित (हाल कमलामाई नगरपालिका ३) हाम्रो बारीका पाटा, कान्ला र गराहरूमा जुनार र सुन्तलाका बोटहरू प्रशस्त थिए। हिउँद लागेपछि ती पाटा र गराहरूमा लटरम्म पहेँलपुर पाकेका जुनारले मन नै उद्धेलित बनाउँथ्यो।
यहाँबाट दोलखा जिल्लाको गौरीशंकर हिमालमा टलल हिउँ टल्केको देखिन्छ। समुद्री सतहबाट कति उचाइमा जुनार राम्रो उत्पादन हुन्छ भन्ने थाहा नभए पनि हिमाल देखिने ठाउँमा जुनार–सुन्तला राम्रो उत्पादन हुन्छ भन्ने यहाँका बुढापाकाहरूको विश्वास थियो।
उतिबेला जुनार बेचेरै घरमा लुगा, भुटुन, चिनी, चियापत्ति, मरमसला आदिको जोहो गर्नुपर्थ्यो। आमाबुबा र घरका अन्य सदस्यहरू सिन्धुली बजारमा लाग्ने शनिबारे साप्ताहिक हाटमा बिक्रीका लागि डोकोमा बोकेर जुनार लाने गर्नुहुन्थ्यो। आजकलको जस्तो सडक र सवारी कहाँ हुनु उतिबेला!
चपौलीबाट सिन्धुली गढी, आड, ढुंग्रेभन्ज्याङ (हालको विपी राजमार्गको सेल्फी डाँडा) सिरवनी फेदी, चियाबारी, ढुंग्रेबास, ग्वाङ खोलाको बगर हुँदै हाटेचौरीमा चार घण्टाको पैदल दूरी हिँडेर जुनार बिक्री गर्नु पर्थ्यो। उतिबेला जुनारको भाउ पनि निकै सस्तो। अलि सप्रेका ठूल्ठूला दाना भए रुपैयाँ गोटा, नभए मोहोर गोटा। साँझसम्म बिक्री भएनन् भने त सुका गोटा पनि बेच्ने गरेको हजुरबुबाले उस बेला सुनाउनु हुन्थ्यो। अहिले पो विपी राजमार्ग र त्योसँगै बनेका सहायक मार्ग, कृषि सडक आदिले गर्दा गाउँमै मोटर पुगेको छ।
उमेरले त्यतिबेला करिब ९/१० वर्षको हुँदो हुँ। त्यो क्षण अझै स्मरणमा ताजै छ। एक पटक बारी, कान्ला, पाटाका बोटहरूमा जुनार धेरै फले। बिक्रीका लागि बोकेर चार घण्टा सिन्धुलीमाढी पुर्याउन पनि हैरान हुने, मूल्य पनि सस्तो हुने भएकाले हजुरबुवा, बुवा र ठूलोबुवाले एउटा जुक्ति निकाल्नु भयो। जमिनमा गहिरो र फराकिलो खाल्डो खनेर फल्याक ओछ्याउने र त्यहाँ पराल बिछ्याएर जुनार भण्डारण गर्ने। अहिलेको भाषामा भन्दा यस्तो लाग्छ त्यो मौलिक पाराको शितभण्डार (कोल्डस्टोर) थियो।
जुनारको सिजन सकिएपछि भण्डारण गरिएको खाडलबाट झिकेर बेच्दा राम्रो पैसा हात पर्छ भन्ने अभिभावकहरूको विवेक राम्रो थियो त्यो। तर करिब तीन महिनापछि जुनारको खाडल उघारी हेर्दा त जुनार सिनित्तै। अधिकांश कुहिएका। पछि केही सद्दे दानाहरू बिक्री भए। पैसा भने सोचेजति कमाउन सकिएन। भण्डारण गर्ने तरिका नमिल्दा र जुनार रुखबाट टिप्दा भुइँमा दाना थेचारिएकाले गर्दा कुहिएको निस्कर्ष उहाँहरूले निकाल्नुभयो।
त्यसो त ‘जुनारको राजधानी’ भनेर चिनिएको सिन्धुलीका जति पनि स्थानमा जुनार खेती हुन्छन्। ती सबै ठाउँमा सुन्तला तथा अन्य अमिलो जातका फलफूल पनि उत्पादन हुने गर्दछ। सिन्धुलीको जुनारमा उतिबेला आजकालको जस्तो औँशा पर्ने रोगहरू देखा परेका थिएनन्। बुबाले सिकेचरको मद्दतले जुनारका बोटका हाँगाहरू छाँटेको र बोटका फेदमा निलोतुथो दलेको केही बोटमा कलमी गरेको भने मैले देख्ने गरेको थिएँ।
मध्य मंसिर–पुस महिना लागेसँगै सिन्धुलीका पहाडी भूभागमा पुग्ने जोसुकैलाई पाकेको स्वादिलो जुनार देख्दा मुख नै रसिलो बनाइदिने गरेको छ। बारी, खेत, कान्ला र पाटाहरूमात्र होइन विपी राजमार्गका बिभिन्न स्थानहरू खनियाँखर्क, रातमाटा, झागाझोली, सोलाभन्ज्याङ, गोलान्जोर, खुर्कोट, सिन्धुलीमाढी लगायतका सडक छेउमा स्वादिलो जुनार बिक्री भैरहेको देख्दा सो राजमार्ग हुँदै यात्रा गर्ने यात्रीहरूले एकैक्षण भए पनि सवारी साधन रोकेर जुनार खरिद गर्दे र खाँदै गरेको दृष्य देख्न सकिन्छ। अहिले त राजमार्ग छेउका होटलहरूमा जुनारको जुस पनि बिक्रीका लागि राखिएको देखिन्छ।
जुनार नेपालमा पाइने एक मौलिक फल हो। संसारमा अमिलो (सिट्रस) जातको फलफूलको इतिहास करिब तीन करोड वर्ष भएता पनि नेपालमा जुनारको इतिहास लगभग दुईदेखि तीन सय वर्ष पुरानो रहेको अनुमान गरिएको छ।
प्राकृतिक रुपमा नै सुन्तला जातको फलफूललाई ‘हाइब्रिड’ गरेर नयाँ फलको उत्पत्ति भएको हुन सक्ने जलकन्याका केही स्थानीय कृषकहरू बताउँछन्। सुन्तला, ज्यामिर, भोगटे, बिमिरो, निबुवा र कागती पहिलेदेखि नै घर बगैँचामा लगाउँदै आएता पनि उक्त फल भने पाइएको थिएन भन्ने स्थानीय बयोवृद्धहरूको भनाइ छ। आफ्नो करेसामा छुट्टै विशेष किसिमको रङ, आकार र विशेषता भएको स्वादिलो नयाँ फल फल्न थालेपछि त्यसलाई आफन्त, मान्यजन, र ठूलाबढालाई कोसेलीको रुपमा ज्यूनार गर्न लैजाने चलन भयो।
तत्कालीन समयमा खानको लागि आदरपूर्वक अनुरोध गर्दा ‘ज्यूनार’ भन्ने चलन रहेको हुनाले त्यसैबाट यो फलको नाम जुनार रहन गएको हो भन्ने कुरा चपौलीका स्थानीय जुनार कृषक तिर्थलाल फुयाल बताउँछन्। पूर्व कृषिमन्त्री हरिबोल गजुरेल पनि जुनार फल विदेशबाट नेपाल भित्रिएको हुनसक्ने बताउँछन्। गजुरेलका अनुसार सुरुमा राणाकालीन शासन व्यवस्थामा राणाहरूले विदेशबाट फल ल्याई आफ्ना मान्यजनहरूलाई सौगात स्वरुप ज्यूनार होस् (खानु हवस्) भन्दा भन्दै यो रसिलो फलको नाम अपभ्रंश भइ जुनार रहन गएको हुनसक्छ।
जनश्रुतीअनुसार सिन्धुली जिल्लाको नाकाजोलीका मगर जातिहरू राणा दरबारमा रहेकाले त्यो रसिलो फलको बीउ संकलन गरी आफ्नो गाउँमा ल्याइ रोपे। त्यसपछि विस्तारै त्यहाँबाट अन्य क्षेत्रमा फैलँदै गएको हुनसक्ने अनुमान रहेको छ।