बैठकबाट आवाज आउँछ, 'मेरो सानु त कति ज्ञानी, कति असल, जे भन्यो त्यही खान्छ, जे भने पनि गर्छ। ल यति खाइहाल त खाना। तिम्रो दिदीले त केही पनि भनेको मान्दिन। कति बदमास छ है। उसलाई अब हामी कतै घुम्न पनि नलैजाने। हामी मात्र जाने है। आऊ अब कति ज्ञानी मेरी कान्छी,' आफ्नी कान्छो नातिलाई खाना ख्वाउन प्रयास गरिरहेकी हजुरआमाको आवाज हो यो।
सर्सर्ती हेर्दा, सुन्दा यो भनाइमा केही खराबी छैन। बच्चाले खाना खाँदैन अनि उसलाई फकाइफुल्याइ खाना ख्वाउने बेलामा यस्ता कुराहरू भनिनु सामान्य हुन् या कम्तीमा हामीलाई सामान्यझैं लाग्छ।
अनि यही कुरा अर्को दृष्टिकोणबाट हेरौं।
त्यही कोठाको अर्को सोफामा अर्को सानै बच्चा बसिरहेको छ। पहिलेको बच्चाजस्तो सानो होइन तर त्यति धेरै ठूलो पनि होइन। बढीमा ५ वर्षको फरक होला। त्यो उही बच्चा हो जसलाई अघिको सानो बाबुसँग तुलना गरिँदै छ। उसले आफ्ना बारेमा गरिएका कुरा सबै सुनि नै रहेको छ। बुझेको हुन्छ कि भाइलाई खाना ख्वाउनको लागि उसलाई नराम्रो बनाइँदैछ, भाइले यस्तो सुनेपछि खुसी भएर खान्छ तर पनि बच्चा न हो। बुझ्दाबुझ्दै, जान्दाजान्दै पनि मनको कुनै कुनामा उसलाई नराम्रो लागि नै रहेको हुन्छ। जहिले मलाई नै नराम्रो भन्नुपर्ने, म नै खराब बन्नुपर्ने, किन केही अरू तरिकाले खाना ख्वाउन नमिल्ने, जेमा पनि मेरै कुरा गर्नुपर्ने भन्ने कुराहरू उसको कलिलो मनमा पक्कै पनि आउँछ।
उतापट्टि किचेनमा काम गरिरहेकी ती बच्चाहरूकी आमा, जो यो सब कुराहरू सुनिरहेकी हुन्छिन्, शायद उनलाई पनि मन परिरहेको हुँदैन यो सब कुराहरू। तर धेरैपटक यसरी बच्चाहरूलाई तुलना नगरिदिनुहोस् न है भनेर सबैलाई भन्दाभन्दा थाकिसकेकी उनी चुपचाप नै लाग्छिन्। आफ्नो ठूलो छोरा आफूनजिकै गएर न्याउरो मुख लगाई मलाई जहिले पनि किन यस्तो भन्ने भनेर पिलपिल गर्दा उनको पनि मन भाँचिन्छ शायद। तर त्यहाँ फेरि आफ्नो कुरा राखेर कत्ति नै आफैंले मात्र बच्चा हुर्काएजस्तो, सबै कुरा आफूलाई मात्र आउँछ जस्तो, आफ्नै मात्र बच्चा छन् जस्तो खालका भनाइहरू सुन्नु छैन उनलाई। लाख कोसिस गर्दागर्दै पनि सोचको अन्तर अनि पुस्तागत भिन्नताले धेरै नै फरक पर्ने बुझेपछि त्यहाँ अब धेरै बोल्दा बच्चाको मात्रै होइन उनकै तुलना सुरू हुन्छ, अरूको बुहारीसँग भन्ने कुरा पनि थाहा छ उनलाई त्यसैले त्यहाँको वातावरण अशान्त बनाउनुभन्दा केही नभन्नु नै उत्तम हुन्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ।
फेरि बच्चाको अगाडि आफूभन्दा ठूलोसँग त्यसरी बोल्दा बच्चाहरू नै दुविधामा पर्छन् भनेर पनि केही भन्ने हिम्मत आउँदैन उनलाई।
परिवारलाई सम्झाउँदा सम्झाउँदा थाकेकी उनी अब आफ्नै बच्चालाई नै सम्झाउन थाल्छिन, 'हैन बाबु, त्यो त आमाले यत्तिकै भन्नुभएको हो। तिमी चिन्ता नगर, हामी सबैलाई थाहा छ नि तिमी कति ज्ञानी छौ भनेर। भाइले त्यति खाना खाओस् भनेर मात्र हो। तिमी त मेरो ज्ञानी बुझ्ने छोरा हो नि।' बच्चालाई सम्झाउँदै गर्दा बच्चाले कति बुझ्छ थाहा छैन तर उनकै मन नै मानिरहेको हुँदैन। उनलाई राम्रोसँग थाहा छ कि बच्चाहरूबीच तुलना गर्नु भनेको उनीहरूलाई आफूबाट पर धकेल्नु हो। तुलनाले कहिले पनि स्वस्थ सम्बन्धको विकास गर्दैन।
बच्चाहरूमा इर्ष्या, जलनको भावना बढाउनमा सबभन्दा बढी कुनै कुराको हात हुन्छ भने त्यो हामी ठूला मानिसहरूले सानैदेखि उनीहरूको तुलना कहिले आफ्नै दाइ-दिदीहरू अथवा अन्य बच्चाहरूसँग गर्ने बानीले हुन्छ।
तेरो दाइले सधैं यति राम्रो नम्बर ल्याउँछ, तँ चाहिँ सधैं बिगार्ने?
हेर बहिनीलाई यति धेरै दुख्दा त रून्न, तिमी भने जाबो यतिमै रूनुपर्छ त?
हेर त भाइ बहिनीले सबै होमवर्क सकिसकी, तिमी चाहिँ टिभी मात्रै हेरेर बस!
'एउटै बा-आमाका सन्तान पनि कोही चाहिँ यति असल अर्को चाहिँ फेरि ठ्याक्कै उल्टो' यस्तो यस्तो कुराहरू सानोबाट नै सुरू हुने हो। हेर्दा सानो नै लाग्छ, सामान्य लाग्छ तर यही कुराहरू कहिले पनि सामान्य भने हुँदैनन्। हाम्रो लागि भए पनि कम्तीमा ती बच्चाहरूको लागि हुँदैन।
अनि जब बच्चा ठूलो हुँदै जान्छ, उसले आफूले नै आफैंलाई अरूसँग तुलना गर्न थाल्छ। मैले यो गर्दा हुन्छ कि के गर्दा हुन्छ भनेर आफ्ना इच्छाहरू पनि दबाउँदै जान्छ अनि अरूलाई खुसी पार्ने चक्करमा आफूलाई कुन कुराले खुसी बनाउँछ भन्ने कुरालाई पनि नजरअन्दाज गर्दै जान्छ।
कुन बच्चा कस्तो हुन्छ, उसको प्रवृत्ति कस्तो छ, कुन कुराले उसलाई बढी नराम्रो लाग्छ, कुन कुराले ऊ बढी खुसी हुन्छ, कुनले उसलाई पिर पर्छ भन्ने कुरा बच्चाको बाबा-आमा या भनौं परिवारलाई नै थाहा हुन्छ। तर विडम्बना नै हो कि सबभन्दा पहिला आफ्नै परिवारबाट नै तुलना गर्न सुरू हुन्छ।
'तिमी त ठूलो हो नि बहिनीलाई देऊ न त्यति'
'भाइले पिट्दा पनि कोही रून्छ त'
'तिम्रो दाइ त तिमीजत्रो हुँदा आफ्नो सबै काम, होमवर्क आफैं नै गर्थ्यो, तिमी चाहिँ यति पनि गर्न सक्दैनौ?'
यस्तै कुराहरू भन्दै बच्चाहरूको इमोसनलाई नै डिसमिस गर्दिने गर्दाखेरि त्यो बच्चालाई हामीले उसको भावनाहरू लुकाउन, आफूभित्रै संग्रहित गरेर राख्न सिकाइरहेका हुन्छौं। यी जम्मा भएका कुन्ठित भावनाहरू एकैचोटि निस्कँदा कुन वेगमा निस्केर के के बडारेर लैजान्छ भन्ने कुरा त हामीले सोचेका पनि हुँदैनौं। त्यो बेलामा ती सबै कुराहरू कहाँ आउँछन् र दिमागमा। किनकि बाबा-आमालाई जहिले पनि आफूले गरेका, बोलेका कुराहरूको मतलबभन्दा पनि त्यो भनाइ या गराइ पछाडिको नियत या उद्देश्यप्रति बढी विश्वास हुन्छ। मैले त जे भने पनि उसकै राम्रो होस्, केही सिकोस् भनेर नै त त्यस्तो भनेको हो नि भन्ने सबैभन्दा सजिलो बहाना हुन्छ।
उदाहरणकै लागि मेरो बाबाले जहिले पनि मलाई सानोमा 'फलानोको छोराले यस्तो गर्यो, परीक्षामा यति अंक ल्यायो, मेरो साथीको छोराले यो गेममा मेडल ल्यायो, सबैले आफ्ना सन्तानको उपलब्धि सुनाउँछन्, म भने सधैं चुपचाप बस्नुपर्छ,' यस्तै कुराहरूले नै उहाँको मप्रतिको माया दर्शाउनुहुन्थ्यो उहाँले।
होलान् उहाँका आफ्नै कारणहरू तर मलाई चाहिँ आफूलाई केही गर्न मन लागेको कुरा उहाँलाई भन्नको लागि पनि अब धेरैपटक सोच्नुपर्थ्यो। साइकल किन्दिनु भन्दा पनि पढ्ने होइन तँलाई साइकल भन्ने पो हो कि, कहीँ घुम्न जाम भन्दा पनि फेरि कोहीसँग तुलना गरेर उनीहरूलाई कहीँ नगए पनि भाको छ तँलाई जानुपर्ने भन्ने हो कि!
अरे मेरो आफ्नो पनि त केही मन हुन्छ, जहिले पनि खाली अरूले जे गर्छन् त्यही गर्नुपर्ने?, जे गर्दैनन् त्यो गर्नै नपाइने? भन्न मन लाग्थ्यो उहाँसँग, बुझाउन मन लाग्थ्यो तर अहिले जसरी यो कुराहरू राम्ररी भन्न सकिन्छ, त्यो बेला त्यसरी बुझाउने हिम्मत पनि भएन। तरिका पनि आएन।
'सबै बच्चाहरू आ-आफ्नो रूपमा खास हुन्छन्,' यो कुरा त ‘तारे जमिन पर’ सिनेमाले जसरी सबै जनालाई बुझाउन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै आफ्नो बालापन सकेर आफ्ना बालबच्चा हुर्काउनेसम्म पुगेको पनि पत्तो नै भएन।
कुनै बच्चालाई उसको दिदी-बहिनी-दाजु-भाइसँग अथवा बाहिरको अरू कोहीसँग तुलना गर्दा पहिलो कुरा हामीले उनीहरूलाई नकारात्मकता सिकाइरहेका हुन्छौं। कुनै अभिभावकहरूलाई लाग्छ कि अरूको बारेमा नराम्रा कुराहरू भनिदियो, उसले जस्तो त तैंले कहिले पनि गर्न सक्दैनस् भनेर होच्याएर अरूसँग तुलना गरिदियो भने इख लिए झन् राम्रो गर्छन्। होला तपाईंहरूले सोचेजस्तो एकछिनको लागि खुब मन लगाउलान् पढ्नमा या तपाईंले चाहेको कुरा गर्नमा तर उनीहरूको व्यक्तित्व र फरकपनालाई कतै अन्तर्मनको कुनामा दबाएर तपाईंले भनेभने जस्तो गरिरहेका छन् भन्ने बुझ्न जरूरी छ।
बच्चालाई कुनै पनि काम गराउन उनीहरूमा ईख र ईर्ष्या पैदा गर्नु परिरहेको छ भने त्यो कहिले पनि दिगो हुनै सक्दैन। बच्चाको मानसिक स्वास्थ्यको लागि त झन् हुँदै हुँदैन।
एउटै घरका सन्तान, दाजु र भाइ, दिदी वा बहिनीलाई आमा-बुवाले उत्तिकै माया, हेरचाह अनि शिक्षा-दिक्षा दिँदादिँदै पनि कोही कस्तो र कोही कस्तो पक्कै हुन सक्छन्। कसैलाई डाक्टर बन्ने इच्छा हुन्छ भने कसैलाई सेफ। कोही परीक्षामा सधैं प्रथम हुन्छन् भने कोही बल्ल तल्ल पास, कोही दूध जस्तो गोरा हुन्छन् भने कोही गहुँगोरा, कोही मोटा हुन्छन् भने कोही पातला, कसैमा रिस एकदम बढी हुन्छ कोही रिसाउनै आउँदैन यो बुवा-आमाबाट भन्दा पनि आ-आफ्नो चारित्रिक विशेषताबाट परिभाषित हुने कुरा हो, मानिसको फरक फरक आचरण, रुचिले परिभाषित हुने कुरा हो।
तर यो कुरा राम्ररी नबुझ्दा केटा केटीको मात्र होइन पछि गएर परिवारकै शान्तिमा असर परेको उदाहरणहरू पनि हामीले प्रशस्त देखेकै छौं, अनुभव गरेकै छौं।
अहिले सानो कुरा मनाउनको लागि, केही कुरा सम्झाउनको लागि, कुनै कुरामा अब्बल भइदिए हुन्थ्यो भनेर अभिभावकको आफ्नै ढंगको अनुमानहरू सही साबित गर्नको लागि बच्चाहरूको तुलना गर्नु हुँदैन। कसैको अगाडि एउटा सन्तानलाई राम्रो देखाउनको लागि हामी अर्को सन्तानको आत्मविश्वासलाई दाउमा पारिरहेका छौं भन्ने कुराको आत्मबोध गर्नु जरूरी छ।
बच्चाहरूलाई कुनै पनि किसिमको तुलना गर्नु भनेको उनीहरूमा एउटा किसिमको विद्रोहको भावनाको विकास गराइरहेका हुन्छौं। स्वस्थ प्रतिस्पर्धा र प्रष्ट निर्देशन प्राप्त गर्नु सबै बच्चाहरूको साझा अधिकार हो र हरेक अभिभावकहरूले आफ्नो बच्चाहरुको मनोविज्ञानको राम्ररी ख्याल गरेर उनीहरूसँग त्यही ढंगले व्यवहार गर्नु नै उपयुक्त छ।
भनिन्छ नि, अभिभावक हुनुको सबभन्दा गाह्रो चिज भनेको बच्चाहरूको नजरमा ठूलो तर हामीहरूलाई सामान्य लाग्ने भावनाहरूलाई सहज बनाइदिनु हो। यदि त्यो कुरामा चुक्यौ भने हामी अभिभावक हुनुको सबभन्दा ठूलो कर्तव्यबाट चुकिरहेका छौं भन्ने मान्नुपर्छ।