एमडी अन्तिम वर्षमा पढिरहेको छ ऊ।
कामको दशक अवधिमा हजारौं बिरामीका सयौं रोग निदान गरिसकेको ऊ आफ्ना दारी फुलेका प्रोफेसरले भनेको सम्झिन्छ — रोग लागिसकेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम हो।
जिल्ला अस्पतालको तीनमहिने पोस्टिङमा सिन्धुली पुगेको छ ऊ। नयाँ ठाउँ, नयाँ मानिसका बीच अध्ययन र सीप निखार्न आएको उसको पोस्टिङको धेरै समय अस्पतालको इमर्जेन्सीमै बित्छ।
सरकारी अस्पतालको इमर्जेन्सीमा सधैं दौडधुप हुन्छ। अनेथरीका बिरामीको पीडा कम गर्न र कुरूवाको हरेक प्रश्नको उत्तर दिन भ्याइनभ्याइ हुन्छ। यहाँ दैनिक सरदर तीसदेखि पचास जना बिरामी आउँछन्।
इमर्जेन्सीको डाक्टरका रूपमा काम गरिरहेको उसले पछिल्ला दुई महिनामा भएका तीन फरक दृश्यमा ध्यान केन्द्रित गरेको छ।
दृश्य एकः
साँझ ७ बजे। इमर्जेन्सीका मेडिकल अधिकृतलाई अक्सिजन कम भएका दुई जना दमका रोगी बाहरू, तीन जना ज्वरो र खोकी भएका बच्चाहरू हेर्न भ्याइनभ्याइ छ।
त्यति नै बेला दुइटा टेम्पोबाट रगताम्मे खुट्टा समाउँदै आठ जना मानिस भित्र छिरे। उनीहरू १२ देखि ५८ वर्षका थिए।
'सबैलाई बेवारिसे छाडेको कुकुरले झम्टियो, एकैछिनमा आठ जनालाई टोक्न भ्यायो,' उनीहरूमध्ये ४५ वर्ष जतिका पुरूषले अत्तालिँदै भने।
व्यस्त मेडिकल अधिकृतले हेल्थ असिसटेन्टलाई इशारा गर्दै हेरिदिनू न भने।
हेल्थ असिस्टेन्टले सधैंझैं एकै सासमा भने, 'तपाईं यता आउनू, म टिकट बनाइदिँदै गर्छु। बिरामी सबैलाई बाहिर धारामा साबुनपानीले मज्जाले १५ मिनेटसम्म घाउ सफा गर्न लगाउनू। त्यसपछि म घाउ सफा गरेर सुई लगाइदिन्छु। अर्को सुई लगाउन टेकु जानुपर्छ, यहाँ पाइँदैन।'
दृश्य २ः
राति ९ बजे।
आवासीय चिकित्सक अस्पतालको मेसमा खाना खाएर इमर्जेन्सीका केस हेरेर क्वार्टर जान लागेका थिए।
एक जना ३५-४० वर्षका व्यक्ति आए र चिच्याउँदै भने, 'डाक्टर साब, मेरो काकाको खुट्टामा कुकुरले चोक्टा निकाल्ने गरेर टोकेछ। दुई पाउन्ड ब्लड त गयो होला। छिटो टाँका लगाइ दिनुपर्यो।'
डाक्टरले भने, 'कुकुरले टोकेको घाउमा टाँका लाउन हुँदैन। हामी घाउ सफा गरेर ब्यान्डेज गरिदिन्छौं। रेबिजविरूद्धको पहिलो खोप र टिटनासको सुई लगाइदिन्छौं। अनि एउटा अर्को सुई लगाउन ७२ घन्टाभित्र टेकु लैजानुपर्छ। बाँकी तीन र सात दिनको डोजको सुई फर्केर लगाउँदा हुन्छ।'
दृश्य ३ः
बिहान १० बजे।
चौबीस घन्टे ड्युटी सकेर डाक्टर अर्को डाक्टरलाई काम सुम्पिएर हल्का महसुस गर्दैछन्।
नयाँ डाक्टर एक दिन, एक रात कसरी कट्छ भन्ने सोचमा छन्। इमर्जेन्सीका सबै बेड भरिभराउ छन्। डाक्टर, नर्स राउन्डमा बिरामी जाँच्न व्यस्त छन्।
ढोकाबाट दुई जना बच्चा र एक जना अधवैंसे महिला हात र मुखमा घाउ देखाउँदै भन्छन्, 'बाँदरले टोक्यो, रेबिजको सुई लगाउनुपर्छ?'
नर्सले उनीहरूलाई पहिला बाहिर गएर साबुनपानीले १५ मिनेटसम्म घाउ सफा गर्न भनिन्। अनि सुई लगाइने जानकारी दिइन्। बाँदरले टोकेको तीन वटा 'केस' छ भनेर राउन्डमा व्यस्त ड्युटी डाक्टरलाई पनि जानकारी दिइन्।
त्यत्तिकैमा कार्यालय सहयोगी दिदीको मुखबाट आवाज निक्लिन्छ, 'यो मधुटारको बाँदर घरमा पालेको भन्थे, गाउँभरिका मान्छेलाई टोक्छ कि क्या हो? तीन दिनमा १०-१२ जना आइसके होलान्। यहाँ आएर मात्रै कहाँ पुग्थ्यो, बिपी राजमार्गको घुमाउरो बाटोबाट काठमाडौं पुग्नुपर्छ घाउमा एउटा सुई लगाउन। कति सास्ती हो मान्छेलाई!'
विगत दुई महिनामा सिन्धुली जिल्ला अस्पतालमा देखिएका यी प्रतिनिधि दृश्य मात्र हुन्। कुकुरले टोकेकाहरू यहाँ दैनिक चारदेखि दस जना आउँछन्। उनीहरूमध्ये ८० प्रतिशतलाई एन्टिरेबिज इमुनोगोलोबुलिन सुई लगाउनुपर्ने हुन्छ। यो सुई यहाँ छनै। बिपी राजमार्गको घुमाउरो बाटो हुँदै काठमाडौंको टेकु पुग्नुपर्छ।
कुकुर टोकाइबाट उत्पन्न हुन सक्ने समस्याको उच्चतम बिन्दु रेबिज हो। यो रोगबाट संसारभर बर्सेनि दस हजार जनाको मृत्यु हुन्छ। सबभन्दा धेरै एसिया र अफ्रिकामा हुन्छ। अरू केही जनावरहरूको टोकाइबाट पनि रेबिज हुन्छ। तर मानिसमा ९९ प्रतिशत रेबिज कुकुरबाट सर्ने गरेको छ।
रेबिज घातक हुन्छ, लागिसकेपछि मानिस बाँच्न असम्भव प्रायः छ। यो रोग लाग्न नदिन खोप लगाइन्छ।
रेबिजको भयले होला, इमर्जेन्सीमा बिरामीहरू अनौठा कुरा भन्न आइपुग्छन्।
कहिले कुकुरले टोकेर भैंसी मर्यो, हामी गाउँका सबैले त्यही भैंसीको दूध खाएका थियौं, हामीलाई रेबिजविरूद्धको सुई लगाय दिनुपर्यो भन्छन्।
कहिले मेरो मुखमा अपरिचित व्यक्तिको थुकको छिटा पर्यो, उसले भर्खरै रेबिजविरूद्धको खोप लगाएको थियो, अब मलाई पनि लगाइदिनू भन्छन्।
यी प्रश्नको उत्तर दिन स्वास्थ्यकर्मीहरूलाई धर्मसंकट नै हुन्छ।
नेपाल सरकारको रेबिजबारे राष्ट्रिय दिशानिर्देशमा यस्ता बिरामीले रेबिजविरूद्ध खोप लगाउन नपर्ने लेखिएको छ। यसले प्रमाणमा आधारित अभ्यास गर्न स्वास्थ्यकर्मीलाई धेरै मद्दत गर्छ। यसैलाई आधार मानेर मृत्युको भय शान्त पार्न कोसिस गर्ने हो।
रेबिज मानिसबाट मानिसमा टोकाइ र थुकको माध्यमबाट सर्छ भन्ने कुरा सैद्धान्तिक रूपमा सम्भव छ तर व्यवहारमा अहिलेसम्म प्रमाणित छैन।
सरकारी अस्पतालहरूमा बिरामीको चाप धेरै हुन्छ, दरबन्दी धेरै कम। रेबिज वा कुनै रोगको बेग्लै विभाग हुँदैन। संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकता भवन निर्माण र मेसिन किन्न मात्र छ। दक्ष जनशक्ति नियुक्ति र सेवा प्रवाहतिर भए सायद सिन्धुली अस्पतालमा पनि कुकुरले टोकेका बिरामीका लागि छुट्टै विभाग कल्पना गर्न सकिन्छ।
मेडिकल सुपरिटेन्डेन्ट र विकास समितिका पदाधिकारीले चाहने हो भने त सपना जस्तो लाग्ने डेडिकेटेड विभाग अझ छिटो स्थापना गर्न सकिन्छ। यति हुनेबित्तिकै इमर्जेन्सी विभागको २० प्रतिशत भार घट्छ। सेवा प्रवाहमा केही सहजता पक्कै हुन्छ।
देश संघीयतामा छ। सिन्धुलीका तल्लो स्तरमा काम गर्ने जनताले गाउँगाउँमा सिंहदरबार भन्ने भाषण आफ्ना नेताहरूको मुखबाट सुनेको धेरै भयो। तर व्यवहारमा यो देखिएको छैन। समस्याहरू जहाँको त्यहीँ छन्, दुःख जस्ताको त्यस्तै छ। कुकुर टोकाइबाट पीडितका लागि पनि समस्या त्यस्तै छ। एउटा खोप लगाउन टेकु पुग्नुपर्ने बाध्यता हट्न सकेको छैन।
लाग्छ — यो एउटा खोप 'इमुनोगोलोबुलिन' को बोझ सिंहदरबारजस्तै टेकु अस्पतालले एक्लै बोकिरहेको छ।
बिपी राजमार्गको घुमाउरो बाटो हुँदै सिन्धुली- टेकु- सिन्धुलीको लर्को रोकिन अझै कति वर्ष कुर्नुपर्ला — एमडी अन्तिम वर्षमा पढिरहेको ऊ सोचिरहन्छ।
फेरि सम्झिन्छ आफ्ना दारी फुलेका प्रोफेसरले भनेको — रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हो।
अब रोग लाग्न नदिने कुरामा कुकुर जोडिन्छ, यसको टोकाइ जोडिन्छ।
सिन्धुलीमा कुकुरको टोकाइ समस्याको गहिराइ मापन गर्न सिन्धुली अस्पतालदेखि डाक्टर बस्ने क्वार्टरको आधा किलोमिटर दुरी नै काफी छ।
राति फर्किने स्वास्थ्यकर्मीहरूले कुकुर छल्न के के गर्नुपर्छ!
कार्यालय सहयोगी दिदी भन्छिन्, 'साँझको ड्युटी सकेर घर जाँदा बाटोमा दस-बाह्र वटा कुकुर पार गर्नुपर्छ। झम्टिन खोज्छन्। ठिंग उभिन्छु। कुकुर आफ्नो बाटो लाग्छ अनि बिस्तारै अगाडि बढ्छु।'
मेडिकल अफिसर भाइले भने, 'मैले त प्रि-एक्सपोजर भ्याक्सिन लिएँ। कुकुरको धेरै डर लाग्छ।'
आवासीय डाक्टर बस्ने क्वार्टरमा पहिले एनेस्थेसिया असिस्टेट बस्ने रहेछन्। त्यो क्वार्टर राम्रो भए पनि कुकुरकै डरले अस्पतालभित्रै सरेका रहेछन्।
भने, 'तपाईं हिँड्दा लठ्ठी नभए ढुंगा बोकेर हिँड्नु है राति।'
मेडिकल अफिसर बहिनीले भनिन्, 'दाइ, म त रात पर्यो कि हातमा बिस्कुट लिएर हिँड्छु, त्यो पनि खोलेर।'
सबैका आआफ्ना नमिठा अनुभव छन् तर यो समस्यासँगै बाँच्ने बानी परेको छ जस्तो छ। समाधानका लागि समाजले उत्तरदायित्व बोध गर्दैन। अव्यवस्थित सहर, चोकचोकमा भएका रेस्टुरेन्टले गर्दा पनि बेवारिसे कुकुरको संख्या धेरै भएको हुन सक्छ।
कमलामाई नगरपालिकाले काठमाडौं महानगरपालिकाबाट सिक्न सक्ने धेरै कुरा छन्।
बेवारिसे कुकुर पहिचान गरेर ट्याग लाइदिने, कुकुरलाई खोप दिने, स्नेहा केयरजस्ता कुकुर संरक्षण गर्ने संस्थासँग समन्वय गर्ने, पशु सेवा कार्यालयले पनि कुकुर र कुकुर टोकाइका समस्या निराकरण गर्न ठोस सहयोग गर्ने लगायत काम गर्न सकिन्छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पनि यो समस्यामा निर्णायक भूमिका निर्वाह गर्न सक्छन्।
अझ जिल्ला जनस्वास्थ्य कार्यालयले रेबिज रोकथाममा धेरै ठूलो भूमिका निर्वाह गर्न सक्छ।
यहाँका जनप्रतिनिधिले पनि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर धेरै काम गर्न सक्छन्। बेवारिसे कुकुर व्यवस्थापन गर्ने, कुकुर पाल्नेलाई पूर्ण खोपका लागि उत्तरदायी बनाउने, कुकुर टोकाइबाट बच्न जनचेतना अभियान चलाउने, बच्चाबच्चीलाई कुकुरसँग नजिकिन नदिने र कुकुरले टोकेको बिरामीका लागि चाहिने खोप, इमुनोगोलोबुलिनको सहज उपलब्धता सुनिश्चित गर्न सकिन्छ।
लेखकको ट्विटरः @imsagar10