प्रकाश प्रदूषण भनेको वातावरणमा अत्यधिक प्रकाशको प्रवाह हो। प्रकाश प्रदूषणमा मानवले निर्माण गरेको प्रकाशहरू जस्तै- विद्युतीय उज्यालो, कुनै उत्सव वा मनोरञ्जनको समयमा पड्काइने आतसबाजीको उज्यालो लगायत पर्छ। सहरका ठूला-ठूला भवनहरूमा लगाइने झिलिमिलीको उज्यालो, बाटोमा राखिएको बत्ती आदि प्रकाश प्रदूषणले हाम्रा वरपर रहेको वन्यजन्तुहरूको प्राकृतिक वातावरणलाई असर गर्छ।
प्रकाश प्रदूषणले वन्यजन्तुमा कसरी असर गर्छ?
प्रकाश प्रदूषणले सबैभन्दा बढी असर स्थानधारी जनावर, पंक्षी (चरा) र पुतली प्रजातिलाई गर्छ। पछिल्लो समयमा बढ्दो सहरीकरणसँगै प्रकाश प्रदूषणको असर पंक्षीहरूमा उल्लेखीय रुपमा देखिएको छ। पंक्षीका धेरै प्रजातिहरू एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ गर्ने गर्छन्। यसरी बसाइँ सर्दा धेरै प्रजातिहरू रातिमा बसाइँसराइ गर्ने स्वाभावका हुन्छन्। दिउसो घाम हुने हुँदा पंक्षीहरूलाई बसाइँसराइ गर्दा अत्यधिक बल (उर्जा) लगाउनु पर्ने हुन्छ। रातिमा घाम नहुँदा उनीहरू थोरै उर्जामा पनि धेरै लामो यात्रा गर्न सक्छन्।
अर्को कुरा, पंक्षीका धेरै प्रजातिहरू रातिमा बसाइँसराइ गर्दा सुरक्षित हुने हुन्छन्। उदाहरणको लागि- साना आकारका पंक्षीहरू दिउँसो बसाइँसराइ गर्दा शिकारी प्रजातिको पंक्षीहरू (चिल, बाझ, आदि) बाट खतरा हुने हुँदा उनीहरू रातिको समय नै रोज्छन्। रातको समयमा पंक्षीहरूलाई बाटो पहिचान गर्ने मुख्य माध्यम भनेको आकाशको जून, ताराहरू हुन्। राति बसाइँसराइ गर्ने पंक्षीहरूले आकाशको जून र ताराहरूको दिशालाई पछ्याउँदै निकै टाढा-टाढासम्म जाने गर्छन्। यसरी बसाइँसराइ गर्दा उनीहरू मानव निर्मित अग्ला-अग्ला भवनहरूमा राखिएको बत्तीसँग झुकिन्छन् र भवनमा ठोक्किन पुग्छन्।
कहिलेकाहीँ चराहरू अग्ला भवनहरूमा राखिएको बत्तीतिर आकर्शित हुने गर्छन् र भवनमा ठोक्किएर मर्ने गर्छन्। यसरी प्रत्येक वर्ष लाखौंको संख्यामा पंक्षीहरू मरिरहेका छन्। अमेरिकाको स्मिथ्सोनिअन म्यग्जिनले प्रकाशित गरेको एक तथ्यांकअनुसार अमेरिकामा मात्रै प्रत्येक वर्ष झन्डै १० लाख चराहरूको मृत्युको कारण अग्ला भवन र त्यसमा जडित बत्ती हो। उक्त लेखअनुसार अमेरिकाको सिकागो सहरमा मात्र प्रत्येक रात झन्डै १००० चराहरू अग्ला भवन र त्यसमा जडित बत्तीका कारण मर्ने गरेको छ। यसरी बत्तीका कारण चराहरूको मृत्युदर ठूला-ठूला सहरहरूमा अत्यधिक मात्रामा बढिरहेको छ।
प्रकाश प्रदूषणले रातिमा शिकार गर्ने चराका प्रजातिहरूलाई पनि प्रत्यक्ष असर पर्छ। जस्तै- लाटोकोसेरोले रातिमा आहार गर्छ तर राति अत्यधिक प्रकाशका कारण उसलाई शिकार गर्न सजिलो हुँदैन। प्रकाश प्रदूषणले गर्दा लाटोकोसेरोको शिकार गर्ने क्षमतामा ह्रास आउँछ जसले गर्दा पर्यावरण सन्तुलन बिग्रन्छ। लाटोकोसेरोको धेरै प्रजातिहरू मानव बस्ती वरपर बस्ने हुँदा प्रकाश प्रदूषणको असर लाटोकोसेरो जस्ता चराका प्रजातिहरूमा पनि प्रत्यक्ष रुपमा परिरहेको छ।
चराहरू जस्तै अन्य धेरै प्रजातिमा प्रकाश प्रदूषण छ। सन २०२० मा बायोलोजिकल कन्जर्भेसन नामको जर्नलमा प्रकाशित एक अध्ययनअनुसार रात्रीकालीन बत्तीहरूले गर्दा पुतली प्रजातिको जीवहरूको संख्यामा कमी आएको भेटिएको थियो। उक्त अध्ययनअनुसार पुतली प्रजातिहरूको आनिबानीमा परिवर्तन आउनुका साथै अन्य जीवहरू जस्तै- सर्प, छेपारो आदिले उल्लेख्य मात्रामा शिकार गरेको भेटिएको थियो।
त्यस्तै सन् २०२१ मा साइन्स एडभान्स नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार बाटोमा राखिएको बत्तीको असरले गर्दा पुतलीहरूको प्रजनन क्षमतामा कमी आएको थियो। उक्त अध्ययनअनुसार पहेलो बत्तीभन्दा सेतो बत्तीले पुतली प्रजातिलाई बढी असर गरेको पाइएको थियो।
पुतली प्रजाति जस्तै प्रकाश प्रदूषणको असर ठूला जनावरहरूमा पनि पर्छ। विभिन्न अध्ययनअनुसार प्रकाश प्रदूषणले मांशाहारी जीव जस्तै- बाघ, चितुवा, सिंह आदिलाई शिकार गर्न असहज हुन्छ। राति मात्र बढी सकृय हुने ती जनावरहरू प्रकाश प्रदूषणले गर्दा जरायो, मृग आदिलाई सजिलै शिकार गर्न पाउँदैन जसले गर्दा बाघ, चितुवाहरूले शिकार गर्न धेरै समय र उर्जा खर्च गर्नुपर्ने हुन्छ।
युनिभर्सिटी अफ क्यालिफोर्निया डेविसका अनुसन्धानकर्ताहरूले गेरेको एक अध्ययनअनुसार माउन्टेन लायोन भन्ने एक मांशाहारी जनावरले रातिको समयमा प्रकाश भएको ठाउँहरूमा जान मन पराएको थिएन। माउन्टेन लायोनले शिकार पनि राति प्रायः अँध्यारोमै गर्ने गरेको भेटिएको थियो। त्यस्तै विभिन्न अनुसन्धानकर्ताहरूका अनुसार अफ्रिकाको जंगलहरूमा रात्रीकालीन गाडीको बत्तीको असरले अफ्रिकामा सिंहको आँखामा समस्या आउन सक्ने तर्क निकालेका थिए।
अध्ययनहरूले मानव निर्मित प्रकाश वन्यजन्तुको हितका लागि छैन भनेर भनेको छ। प्रकाश प्रदूषणले जनावरहरूलाई रातिमा आवतजावत गर्न सजिलो गर्दैन। उदाहरणका लागि- राति बाटोमा गुड्ने गाडीको बत्तीको उज्यालोका कारण सडक दुर्घटनाबाट हुने जनावरहरूको मृत्यु दर धेरै छ। पछिल्लो समयमा हाम्रो देशमा पनि राति गाडीको बत्तीको असरले जंगली जनावरहरू मर्ने गरेको भेटिएको छ। खासगरी राजमार्ग तथा निकुञ्ज क्षेत्रमा यसका कारण वन्यजन्तुको मृत्यु दर बढिरहेको छ।
कसरी गर्ने वन्यजन्तु क्षति न्यूनीकरण?
मानव निर्मित प्रकाश हाम्रो लागि अपरिहार्य जस्तै छ। घरमा होस् या बाटोमा हिँड्दा, हामीलाई प्रकाश चाहिन्छ। तर हामीले बनाएको संरचनामा केही परिवर्तन गरेर पनि वन्यजन्तुको क्षति न्यूनीकरण गर्न सकिन्छ। धेरै चम्किलो बत्तीले चरा, पुतलीहरूलाई आकर्शित गर्छ। हामीले बनाउने ठूला-ठूला भवनहरूमा धेरै चम्किलो बत्तीको प्रयोग सकेसम्म कम गर्नपर्छ। बाटो छेउ राखिएको बत्तीहरू पनि सीमित क्षेत्रलाई मात्र केन्द्रित गरेर धेरै उज्यालो नहुने प्रकारको जडान गर्नुपर्छ। राजमार्ग तथा निकुञ्ज क्षेत्रमा गाडी चलाउँदा टाढासम्म देखिने चम्किलो बत्तीभन्दा थोरै पहेलो (अर्थात् डिम लाइट) बत्तीको प्रायोगले वन्यजन्तुहरूको दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।
अन्त्यमा, प्रकाश प्रदूषणको असर विश्वभरि बढ्दो क्रममा छ र यो शताब्दीमा एक प्रमुख समस्याका रुपमा आएको छ। हाम्रो घर आँगनमा बालेको एउटा चम्किलो बत्तीले पनि त्यस क्षेत्रको पर्यावरणलाई असर गरिरहेको हुन्छ। तसर्थ हामीले आफ्नो घर वरपर पनि बत्तीको अनावश्यक प्रयोग नगरेर प्रकाश प्रदूषण न्यूनीकरण सकिन्छ।
(लेखक मोर्गन स्टेट युनिभर्सिटी मेरिल्यान्ड, अमेरिकाबाट जीवविज्ञानमा विद्यावारिधि गर्दै छन्।)