एउटा हातमा लोक सेवाको किताब अनि अर्को हातमा आइइएलटिएसको सर्टिफिकेट। एउटै झोलामा लोक सेवा आयोगको परीक्षाको प्रवेश पत्र अनि सँगै पासपोर्टको फर्म। मलाई लाग्छ म एक प्रतिनिधि पात्र मात्र हुँ, सायद आजका दिनमा लाखौँ युवा देशमै केही गरिहाल्न सक्छु कि भन्ने सोच अनि फेरि होइन केही छैन बाँकी अब मैले गर्न सक्ने भन्ने विचारसहित विदेशिने परम्पराको।
हाम्रो देश कृषिप्रधान देश। सबैभन्दा धेरै मानिसको पेसा भएको यो विषय पढ्यो भने धेरै अवसर र बाटोहरू खुल्छन् भन्दै सुन्दर भविष्यको खोजिमा कृषि विषय पढेको मान्छे म। आज जसरी कृषि पेसा हेपिएको छ, त्यसरी नै म आफू पनि हेपिएको महसुस हुन थालेको छ। सबैभन्दा धेरै मेहनत गर्ने र दिनरात आफ्नो भूमिमा पसिना बगाउने किसानकै जीवन सबैभन्दा कष्टकर देखिन्छ। उनीहरूको उत्पादनमा उनीहरूको मेहनतमा जीवन सुधार्ने र पैसा कमाउने अरु नै हुनपुगेका छन्।
१०० रुपैयाँमा उत्पादन गरेको तरकारी ५० रुपैयाँमा बेच्न बाध्य छन्। हैन भने बाटोमा बगाउन र खन्याउन बाध्य छन्। उद्यमी बन्ने रहर त हो नि अनि हेर्छु फर्म दर्ता गर्नेदेखि ऋण प्रकृया, सरकार र सरकारी निकायसम्मका प्रकृयाहरू, उत्पादनदेखि बजारीकरणसम्मको बाटो अनि आफ्ना कार्यकर्ता पालनको लागि वर्षेनी सरकारले बाढ्ने अनुदानहरूको दुरुपयोग। यस्तै-यस्तै कुराले विरक्त बनाउँछ। अनि त विदेशको बाटो उपयुक्त लाग्न थाल्दछ।
जो जति छिटो यो देश छाड्न सफल हुन्छ त्यति राम्रो गर्यो महसुस गर्न बाध्य भएको एक युवा हुँ म। बाआमाको एक्लो छोरा, मान्छु उहाँलाई मेरो खाँचो पर्नेछ, मेरो साथ आवश्यक हुनेछ तर पनि अहिलेको अवस्था देखेर मलाई सोध्नुहुन्छ, 'सबै गए, तँ कहिले जाने? कुन देश जाने? कति पैसा खोज्नु पर्ने?'
उहाँले पनि बुझ्नु भएछ सायद, अब रोक्नुको कुनै फल छैन, यहाँ कुनै भविष्य छैन।
कोसिस नगरेको पनि होइन, यो विदेशिने भेलमा नबग्ने। तर अन्त्यमा यो भेलमा कसले आफूलाई कहिलेसम्म अड्डाएर राख्न सक्छ भन्ने मात्र हो जस्तो लाग्न थालेको छ। आज नभए भोलि यो भेल ठूलो हुँदैछ, जति ठूलो भयो उति धेरै मान्छे बगाउने त होला।
यो भेलले बगाएको मान्छेको संख्या दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर गन्दा हुन्छ। दिनहुँ भारी मन लिएर उड्ने हवाईजहाजलाई गन्दा हुन्छ। यही भेलमै बगेर जाउँ जस्तो लाग्छ। फेरि अर्को मनले भन्छ, मलाई लिएर गएको विमानले मलाई फिर्ता लिएन भने? आँखाभरि आँसु लिएर मलाई बिदाइ गर्ने मेरा बाआमाका आँखाले फेरि मलाई कहिल्यै देख्न पाएनन् भने? यस्तै प्रश्नहरूले मनमा तितोपन ल्याउँछ र सोच्न विवश गराउँछ।
मेहनत गरे सुब्बा अफिसर बन्न नसक्ने त होइन, तर पनि त्यही जागिर छाडेर विदेशिनेका खबर पनि त सुन्छु। कानुन विपरीतका कामहरू गर्न लगाएर विवश पारेका उदाहरणहरू देख्छु। अनि आत्मा मरेर आउँछ। जिन्दगीभर जागिर गर्दा पनि आफ्नो जीवन सुधार नभएका घटनाहरू देख्छु। पैसाको लोभ गर्दा जिन्दगी जेलमा बितेका समाचार पनि त सुनिन्छ।
बाहिर गएका साथीले महिनामै लाखौँ कमाएका, रमाएका, जीवन सुधारेका पनि त यी नै आँखाले देख्छन्। अनि सोच्न बाध्य बनाउँछ, कतै मेरो देश प्रेमले मलाई पछि पारेको त छैन? सबै अघि बढ्दा कतै म पछि छुट्ने त होइन? मेरै कारण म पछिका सातौँ पुस्ता पछि पर्ने त होइनन्?
पेसाले शिक्षक म, सयौँ विद्यार्थीको भविष्य बनाउन खोज्दा कहिलेकाहीँ आफ्नो भविष्य सोच्ने रहेछु। मेरो एउटा भाइले मैले यस्तै-यस्तै कुरा गर्दा सुनाएको एउटा कथा याद आउँछ।
कथामा एउटा समुद्रमा भर्खर छाल आएर हजारौँ माछाहरू किनारमा ल्याएर फालेको हुन्छ। त्यहाँ एउटा सानो बच्चाले ती माछा समाउँदै फेरि समुद्रमा फाल्दै गरेको हुन्छ। यो देखेर एउटा मान्छेले त्यो बालकलाई भन्छ, 'यति धेरै माछा तिमी एक्लैले बचाउन सम्भव छैन, २/४ माछाको ज्यान बचाएर तिमी संसार बदल्न सक्दैनौ।' त्यो बच्चाले उत्तर दिन्छ, 'हो अङ्कल, म संसार बदल्न त सक्दिनँ तर म जति माछालाई बचाउँछु, ती माछाको संसार बन्नसक्छु।'
यी र यस्तै कुराहरू सुन्दा र महसुस गर्दा हो यहीँ बसेर केही व्यक्तिको भए पनि संसार बदल्न सहयोग गरौँ, केही भए पनि गरौँ हुन्छ। तर जब धरातल हेर्छु, देशको परिस्थिति हेर्छु, विश्वमा भष्टचार, शान्ति, मानव विकास, शिक्षा लगायतका सूचांकमा आफ्नो देशको ठाउँ खोज्छु, महिनेपिच्छे फेरिने सरकार र दिनहुँ सुनिने भाषणले वाक्क पर्छु अनि मन खिन्न पारेर बस्छु। विदेशिने मन त गर्छु तर फेरि सोच्छु, के म विदेशिएर कसैको जिन्दगीको सुधार्न सकुँला त? म आफू त केही बनौँला तर कसैको संसार बन्न सकुँला त? यहाँ रहेर विद्यार्थी पढाउँदा जुन सन्तुष्टि पाएको छु, त्यहाँको कामले पाउँला त?
कतै समयमै निर्णय लिन नसकेर देशमा भौतारिएको दाइहरू देख्छु, फेरि 'बाहिर नआऊ है यहाँ धेरै दुःख छ' भन्ने साथी भेट्छु। भन्छु- आऊ न त फिर्ता त्यस्तो दुःख नै छ भने, गाह्रो नै भएको छ भने। बल्ल उनीहरूको उत्तर आउँछ, 'त्यहाँ आएर के गर्नु, त्यहाँभन्दा यही ठिक छ।'
आजकल त छिमेकी अनि आफन्तले पनि सुनाउँछन्- 'सबै कता-कता गए, तँ कहिले जान्छस्?' उनीहरू सायद सोच्दछन् म नसकेर गएको छैन। म यही बस्छु, केही गर्छु भनेर धेरै कुरा त्याग गरेर बसेको थिएँ। अब सोच्न बाध्य भएको छु, कसैलाई सही अथवा गलत प्रमाणित गर्न होइन, आफ्नै लागि सोच्ने बेला आएको छ।
मलाई अनेक कुराको डर छ, कतै सबै छुट्टिएर एक्लै त पर्दिनँ यहाँ! कतै आफ्नै देशमा एक्लो त हुँदिनँ? हुन त आधा एक्लो भैसकेको छु, कतै पूरै एक्लै त हुँदिनँ कुनै दिन? फेरि सोच आउँछ, कतै उतै गएर उतै एक्लै त पर्दिनँ?
हो मैले अघि नै भनेँ, यस्तै-यस्तै हजारौँ प्रश्न मनमा लिएर म एउटै झोलामा लोक सेवाको किताब र पासपोर्ट लिएर हिँडेको मान्छे हुँ। भोलि मलाई कुनै सरकारी जागिरको परीक्षा दिइराखेको देख्दा छक्क नपर्नू होला। अथवा, भोलि मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा खादा ओडेर झोला गुडाउँदै गरेको देखे पनि अचम्म नमान्नू होला। म, म मात्र होइन। यो देशका अधिकांश युवाहरूको प्रतिनिधि पात्र हुँ। म आफ्नो राष्ट्रप्रेमप्रति प्रश्न उठाउँदै, यो देशमा बाँचिराखेको युवा हुँ।