पशुपतिनाथको सन्ध्याकालीन आरती हेर्न प्रत्येक साँझ सयौंको संख्यामा मानिसहरूको घुइँचो लाग्ने गर्दछ।
म पहिलोपटक पशुपतिनाथको आरती हेर्न जाँदैछु। म पुग्दा आरती सुरू भइसकेको थिएन। केहीबेर मन्दिर दर्शन गर्ने निर्णय गरेँ। मन्दिर दर्शन गरेर फर्कंदै गर्दा, लास बोकेर एकहुल मलामी मेरो छेवैबाट निस्किए।
बुवा भन्नुहुन्थ्यो- लास छोएको मलामी छोएपछि नुहाउनु पर्छ। माघ महिना सकिनै लाग्दा राजधानीलाई चिसोले छोडेको छैन। मैले बुवा र नुहाउनु पर्ने कुरा एकैपटक सम्झिएँ। मलामी छोइने डरले केहीपर छेउमा उभिएँ।
करिब दुई दर्जन मलामीको बीचमा एउटा अन्दाजी दश वर्षको बालक भावविह्वल हुँदै रोएको कारूणिक दृश्य मेरो आँखा अगाडि उभियो।
सायद मृतकको छोरा हुनुपर्छ मैले सजिलै अनुमान लगाएँ। म ती अपरिचित मानिसहरूको हुलसँग मिसिएर आर्यघाटतर्फ अघि बढेँ। घाटपुग्दा चितामा दाउराहरू राखेर जलाउनको निम्ति ठीकठाक पारिसकेको रहेछ। केहीबेरमा मृतक मानिसलाई चितामा चढाइयो झट्ट देखें महिला रहिछन्। भर्खर तीसको दशक पार गरेको जस्तो देखिने मृतक महिला सोही बालकको आमा भएको बुझियो। मैले मनमनै श्रद्धाञ्जलीको माला चढाएर ढोग गरेँ।
दैवको लिला, भावीको लेखान्त, छैटीमा लेखेको मेटेर मेटिन्न, ढिलो चाँडो एकदिन सबै जानुपर्छ। मानिसहरू मन बुझाउनको निम्ति अनेक बहाना खोजिरहेका थिए। स्वाभाविक मृत्यु नभएकोले मृत्युको कारणबारे जान्ने इच्छा भयो। एक जना भलाद्मी जस्ता देखिने मानिसलाई सोधेँ- अंकल मृत्युको कारण के होला?
उहाँले मसिनो आवाजमा भन्नुभयो- वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेको र उतै मृत्यु भएको।
सँगै उभिएको सुकिलो पोसाक लगाउने मानिस अलि चङ्ख स्वरमा बोल्नुभयो- तीन महिनाअघि मृत्यु भएको रहेछ। मैले केहीदिन अघिमात्र थाहा पाएँ, मन्त्रीलाई भनेर आज बिहान मात्र नेपाल झिकाइएको। ती सुकिलो पोशाक लगाउने मानिस नेपाल सरकारको उच्च तहका कर्मचारी रहेछन्। जसको पहलमा मृतकको शव नेपाल आइपुगेको बुझियो। विवाहमा लमीको भन्दा अस्वाभाविक तडकभडक उनको देखिन्थ्यो।
एक जना केश पाकेको वृद्ध मानिसले अमूर्त कुरा बोल्नुभयो- सरकारले मारेको हो!
छेउको अर्को मानिस बोल्यो- होइन पैसाले मारेको हो। धेरैले धेरै अनुमान लगाए। म एक अपरिचित मानिस मलामी बनेर एउटै लहरमा उभिएको छु।
केहीबेरमा मृतकका श्रीमान आइपुग्नु भयो। रोएर थाकेको बालकले आफ्नो बाबालाई अँगालो हालेर डाँको छोडेर रोएको दृश्य मैले जीवनमा आजसम्म देखेकोमध्ये सबभन्दा कारूणिक दृश्य थियो। आँखा टिलपिल भयो केही थोपा आँसु भुइमा खसे, केही बग्दै गलासम्म आइपुग्यो। मैले दाहिने हातको हत्केलाले आँसु पुछ्दै परिवार सम्झिएँ। परिवारभित्र पनि आमालाई सम्झिएँ। आमा बोल्दै गर्दा झर्को मानेका क्षणहरू सम्झिएँ। आमा सँगसँगै भएर पनि सँगै नभए जसरी बिताएको दिनहरू सम्झिएर निकै भावुक भएँ। आफूले टेकेको धर्ती सम्झिएँ, सत्ताको निम्ति लुछाचुँडी गरिरहेका राजनीतिज्ञहरू र तिनका टाउकाहरू सम्झिएँ।
आजको युगमा पनि गाँस, बास, कपास, बिरामी हुँदा औषधि उपचार र बालबच्चालाई पढाउनको निम्ति न्यून ज्यालामा बेचिन बाध्य नेपालीहरू सम्झिएँ। दैनिक रूपमा विमानस्थल भएर भित्रिने लासहरू र तिनका आफन्तहरू सम्झिएँ।
अघिल्लो वर्ष मात्र स्थायी बसोबासको निम्ति देश छोड्ने सत्तरी हजारभन्दा बढी मानिसहरू सम्झिएँ। भोकभन्दा ठूलो देश नहुने रहेछ, ज्यान रहे जमिन भेटिने रहेछ भन्ने लाग्यो। अन्तिममा आफूलाई सम्झिएँ र आफ्नो भविष्य सम्झिएँ।
एक जना पण्डितले जलाउने तयारी गरे।
कति कठोर कर्तव्यबोध!
बालकले आमालाई दागबत्ती दियो र अन्तिम पटक आमाको अगाडि आमा भनेर बोलायो। आमाले आफ्नो सन्तानले बोलाएको सुनिन् कि सुनिनन् होला?
अन्तिम पटक भेटेर छुट्टिँदै गर्दा आफ्ना पतिलाई भन्नुपर्ने कुराहरू धेरै थिए होलान्। उनले भनिन् कि भनिनन् होला? उनले भनेकी भए पनि उनका पतिले सुनेनन्। आफूले भन्न चाहेका र भन्नुपर्ने कुराहरू, देखेका सपना, इच्छा, चाहनाहरू सबै आफूसँगै लिएर गइन्। आँसु दबाइएका आँखाहरू र पीडा दबाइएको मन लिएर ठिङ्ग उभिएका छन् उनका पति उनकै अघिल्तिर।
आमालाई जलाएसँगै, बालकको बेलुका निदाउने काख जल्यो, सहारा जल्यो, सफलतामा स्याबासीको धाप मार्ने र बिरामी हुँदा निधारसँगै कपाल सुम्सुम्याउने हातहरू जल्यो।
कसैले गाली गर्दै गर्दा पख! आमालाई भन्दिन्छु भनेर धम्क्याउने आधार जल्यो। आमाको भौतिक उपस्थितिबिना, ती अबोध बालकले बिताउने आगामी दिनहरू कस्ता होलान् ?
आमा बिनाको घर कस्तो होला?
आमा नहुँदा छिमेकीले गर्ने व्यवहार कस्तो होला?
आमाबिना समाजले हेर्ने दृष्टिमा परिवर्तन होला कि नहोला?
आमाबिनाको प्राप्त सफलता कस्तो होला?
दुःखको बेलामा आमा नहुँदा कस्तो होला?
आफ्नो विवाहको दिन आमा नहुँदा कस्तो होला?
आफूले पहिलो सन्तान जन्माएको दिन आमा सम्झिँदा कस्तो होला?
आमाबिनाको जीवन साँच्चै कस्तो होला?
आफ्नै पाउमा यी सबै घटना भइरहँदा भगवान् पशुपतिनाथ स्वयंलाई चाहिँ यतिबेला कस्तो लागिरहेको होला?
लाससँगै त्यहाँ उपस्थित हामी सबैको उमेर जलेर आयु घटिरहेको कुरा कसैले याद गरेनौं। यो ब्राह्मण अस्तित्वले सबैलाई समान रूपमा केही चिज दिएको छ भने त्यो मृत्यु हो। सबैले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएको हुन्छ। व्यक्ति स्वयं पनि आफ्नो मृत्युको अन्तिम क्षणबारे अनविज्ञ हुन्छ। मृत्यु रहस्यमय छ कसैले टार्न खोजेर पनि टार्न सक्दैन। भौतिक विज्ञानले पनि आजसम्म मृत्युलाई रोक्न सकेको छैन।
लास जलाउन तल्लीन एक अधबैंसे मानिसले आगोमा घिउ थप्यो। बाँसको छेस्काले जलेर खस्न लागेको मृतकको खुट्टालाई घोचेर पुन:चिताको माथि लगेर तेर्स्यायो कस्तो निर्दयी वर्षौदेखि आफूजस्तै मानिसहरू जलाइरहेको छ। यो पनि त एउटा पेसा हो, उसले आफ्नो पेसाप्रतिको धर्म निकै कुशलतापूर्वक निभाइरहेको थियो। मृत आत्मालाई बोकेर धुँवाको मुस्लो आफ्नो गन्तवयतिर उडिरहेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर दैनिक दुई हजारभन्दा धेरैको संख्यामा मानिसहरू बाहिरिरहेका छन्। तीमध्ये अधिकांश रोजगारीको सिलसिलामा खाडी मुलुक प्रस्थान गर्छन्।
दैनिक औसत पचासभन्दा माथिको संख्यामा मृतकको लासहरू त्यही विमानस्थलको बाटो भएर नेपाल भित्रिन्छ। विविध कारणले गर्दा नेपाल ल्याउन नसकिएको लासको संख्या सयौं होलान्। तिनका आफन्तले काजकिरिया गर्नको लागि पर्खेर बसेको पनि वर्षौ भयो होला।
चिताको खरानी पखालेर घर फर्कन लाग्दा बालकले आफ्नो आमालाई जलाएको ठाउँतिर हेर्दै डाँको छोडेर रोएको दृष्यले मेरो आँसु थामिएन। बाबाले आफ्नो छोरालाई सम्झाउँदै भन्नुभयो- भाग्यमा नलेखिएका रहरहरू चाहँदैमा पूरा नहुने रहेछ अब तिम्रो आमा फर्किन्न छोरा।
ओख्खो! कति भयानक सत्य बोल्नुभएको।
त्यो अपत्यारिलो सत्यलाई बालकले पत्याउन मानिरहेको थिएन।
आँसु पुछ्दै त्यहाँबाट निस्किएँ।
आरती हेर्न छुटाएकोमा पछुतो लागेन!
गौशाला आइपुगेर लामो सास फेरेँ।
थाहा पाउनु र महसुस गर्नु फरक कुरा रहेछ। जीवनमा जति भागदौड गरेता पनि आर्यघाटभन्दा पर गन्तव्य रहेनछ, मैले त्यसदिन महसुस गरें।