मलाई त्यस रातको सम्झना छ, जुन अफिसको अतिरिक्त काम सकेर मेरो जिन्दगीमा छोटा निद्रा सुतेको रातहरूमध्ये एक थियो। मध्यरातसम्म भोलिपल्ट हुने हाम्रो व्यवसायिक एक सेवा केन्द्रको साधारण सभामा अतिथि आमन्त्रणका लागि लगभग ५०० निमन्त्रणा कार्डमा नाम र ठेगाना भरेपछि मात्र तीन घण्टाको छोटो निद्रा सुतेर आफ्नो अन्य जिम्मेवारी निभाउन सबेरै अफिसतिर जाँदै थिएँ।
बाँकी बचेका कामहरू सक्न निकै हतारो थियो। अफिस जाँदै गर्दा बाटोमा तीन वर्षदेखि दोहोरो संवाद नभएको बचपनको साथी आकाश (नाम परिवर्तन) ले औपचारिकता बिनै एउटा म्यासेज पठायो- 'साथी तिमीबाट एउटा सहयोगको अपेक्षा गर्छु।'
म उसको ठाडो शिष्टाचार देखेर अतालिएँ। भर्खरभर्खर धनी देशको राष्ट्रियता अंगालेको नागरिकको बौद्धिक गरिबीप्रति दया लागेर आयो। म आफू संघर्ष गर्दै गरेको भूगोल, समाज र परिवेशप्रति गर्व लाग्यो। हतपत कसैलाई नगन्ने, आपतै परे पनि अर्काको भर नपर्ने, उसको व्यक्तिगत स्वभावलाई बुझेको म सायद साथी ठूलै संकटमा फस्यो कि भन्ने अनुमानमा तुरुन्त ‘तिम्रो अपेक्षा के हो सक्दो प्रयास गर्छु’ भन्ने आशयको म्यासेज लेखेँ।
प्रतिउत्तरमा उसले पुनः अर्को म्यासेज लेख्यो। एक पेजको म्यासेजको सार थियो- 'छोरी जन्मिएको महिना दिन भयो, आजसम्म मेरो खानदानी र छोरी सुहाउँदो गतिलो नाम सिफारिस गर्न सकिएन। साथी मैले छानेको नाम भावना (काल्पनिक नाम) लाई मन नपर्ने, उसको च्वाइस मलाई। माफ गर तिम्रो छोराको नाम इभान किन्स हो भन्ने उसैबाट थाहा पाएँ। तिम्रो च्वाइसको भावनाले खुब तारिफ गर्छे। हाम्रा लागि पनि एक यूनिक नाम शेयर गर।’
केही दिनमा अफिसको कामको भार कम भएपछि उसको अनुरोधका लागि केही समय खर्चिएँ। उसका लागि मेरो बहुमूल्य समय खर्चिँदै गर्दा म नाम जुटाइदिने उपयुक्त पात्र हो जस्तो मलाई काहीँ कतै लागेन तर पनि भर्खरै राष्ट्रियता फेरेको साथीले म फरक राष्ट्रियता भएको गलत पात्रलाई रोज्यो भन्ने लागिरह्यो र पनि उसको अनुरोधको सम्मान गर्ने प्रयास गरेँ।
मलाई जीवनमा नामको सवालले पटकपटक अप्ठ्यारोमा पारेको अनुभव छ। म स्वयं आफ्नै नामसँग विवादित पात्र हुँ र स्वयं विवादित पात्रलाई त्यही नाम जुराउने कामको जिम्मेवारी दिएर मान्छेहरू घरीघरी गिज्याँउछन्। मैले मेरो आफ्नो जीवन चलाउँदै गर्दा, जागिरे जिम्मेवारी निभाउँदै र व्यवसाय सम्हाल्दै गर्दा तालतालका नामसँग उठबस गरेको सम्झना छ।
तत्कालीन प्राथमिक शिक्षासम्मको विद्यार्थी रेकर्ड पुस्तिकामा मेरो नाम सम्बन्धी विगत हेर्ने हो भने आज परिचित मेरो नाम त्यहाँ भेटिँदैन। मेरा पिताश्रीलाई पुरेत गुरुले जुराएर दिएको नाम ठूलोदाजुलाई चित्त नबुझेर मेरो नाम डूकुल जंग कार्कीभन्दा सहज विकल्पको खोजीमा कृष्ण कार्की गरीदिन आग्रह गर्दै स्थानीय विद्यालयमा निवेदन गर्नुभएको प्रमाण त्यस विद्यालयमा आज पनि सुरक्षित छ। म आज जहाँ छु त्यहाँ आउनुमा मेरो वैकल्पिक नामले सकारात्मक वा नकारात्मक कुनै त्यस्तो भूमिका खेलेको मलाई कही कतै आभास हुँदैन र पनि मानिसहरू मलाई नाम खोजिदिन अनुरोध र दबाब दुवै दिन्छन्।
गत दशैँमा मेरो दाजु गाउँमा आउँदा मैले नाम फेरेर उपनाम पाउनुको रहस्य जान्ने खुब इच्छा लाग्यो र सोधेँ। उहाँको तर्क थियो मेरो ‘मामाघरका हजुरबुवाले डुकुल शब्द उच्चारण गर्दा सधैं ढुकुर उच्चारण गरेपछि हजुरबुवा पुस्तालाई मेरो नाम उच्चारण गर्न अप्ठ्यारो परेको ठानी भाइको नाम अपभ्रंश नहोस् भन्ने अभिप्रायले वैकल्पिक नाम कृष्ण राखिदिनु परेको’ बताउनु भो जुन नाम आज पनि मेरो वैकल्पिक नामको रूपमा प्रयोग हुँदै आएको छ। अभिभावक पुस्ताको प्राथमिकताका लागि मेरो नाम फाली उपनाम दिने दाजुलाई मेरो कोटीकोटी धन्यवाद।
आजकाल मानिसहरू पृथक नामका लागि निकै संघर्ष गर्छन्। मानौं कि मानिसको नामको आधारमा भाग्य निर्धारण हुन्छ। एउटै नाम भएका बीच सो भाग्य बाँडफाँड हुँदा आफ्नाको भागमा भाग्यको अंश कम पर्छ र त्यसको विपरीत पृथक नामले व्यक्तिको रूप, गुण,भविष्य र भाग्यको अनुपातिक अंश एकमुष्ट एउटै नामका लागि निर्धारण गर्छ।
मेरो श्रीमतीको ममता भण्डारमा हाम्रो उत्तराधिकारी भित्रिएपछि हामी कुल छ या कुलिन्छिन् भन्ने कौतूहलतामा थियौँ। म कामबाट आराम पाएका केही क्षणहरू मेरी उनीसँग बिताउन खोज्दा उनी बच्चाबच्चीका लामा-लामा नाम लिस्ट थमाएर छोरा भए के र छोरी भए कुन नाम उपयुक्त हुन्छ भनी मलाई हैरान बनाउँथिन्।
एकदिन आफ्नो तानतुनको नाता पर्ने स्त्रीरोग विशेषज्ञले पहिलो सन्तानका लागि बधाई दिएपछि हामी सांकेतिक रुपमा पुत्र हुने आकलनको नजिक पुग्यौँ। उनले क्लिनिकबाट घर फर्किँदै गर्दा बाटोमा 'जुनियर..... कार्की कस्तो होस् भन्ने चाहना छ?' भन्ने मौलिक प्रश्न राखिन्। मैले उनलाई कल्पना र परिणामलाई सन्तुलनमा बुझ्न सुझाएँ र कोही कसैसँग समय नआएसम्मका लागि आफ्नो पाठेघरमा हुर्किँदै गरेको सन्तानको सम्बन्धमा अतिरिक्त मनोवाद नपोख्न सुझाएँ।
अर्को महिना ती स्त्री रोग विशेषज्ञ दिदीको क्लिनिकमा हामी आठौँ भेटका लागि जुट्दा उनले आफूसँगको तानतुन नाता सम्बन्धको फाइदा लिँदै पुत्र लाभ हुने घोषणासहित उसको लागि एउटा असल नाम खोज्न सुझाइन्। नामप्रति मानिसहरूको बढ्दो महत्वकाङ्क्षा देखेर म फेरि विचलित भएँ।
घर फर्कँदै गर्दा गर्भवती मनलाई सपार्न 'तिम्रो व्यक्तिगत गुण र रूपको खानदानी उसमा के भइदियो हुन्थ्यो भन्ने कामना गर्छौ?' भनेर सोधेँ। उनले प्रतिउत्तरमा 'आँखाको बनावट मात्र आफ्नो र अन्य सम्पूर्ण खजाना हुबहु तपाईंको होस्। साथै आफूलाई सताउने मानिसहरूको भीडसँग पनि बौद्धिक प्रतिवाद गर्ने गुणै गुणले भरिएको असल छोरो बनोस्' भन्दै मेरो दायाँ कानमा साउती गरिन्।
उनले केही दिनमै मेरो सुझावको विरुद्धमा आफ्ना खुसी सुन्न मान्ने जतिलाई घरमै जमघट डाकेरै सुनाइन् र साथसाथ सबैलाई एक-एक मनपर्ने नाम सुझाउन समेत आग्रह गरिन्। म अफिसदेखि घर फिर्दाको त्यो दिनको माहोल यस्तो लाग्थ्यो मानौँ मेरो घरमा नाम जुराउने प्रतियोगिता हुँदैछ र हामी बाबुआमाको लागि पहिलो प्राथमिकता नाम हो र दोस्रोमा सन्तान। म जमघटलाई छलेर कोठातिर छिरेँ, आफूमा कताकता बेचैनी बढेको महसुस भयो।
नामकै लागि आयोजित भेट्घाटमा जा र नजाको बीच द्वन्द्व चल्यो। म स्वतन्त्रता भित्र पनि प्रतिबन्दका सर्तहरू लागु भएको महसुस गरेर उनलाई कुनै भूमिका नबाधी 'तिमीले नाम चाहेको या सन्तान?' भन्ने म्यासेज लेखेर पठाएँ। प्रश्नलाई बेवास्ता गरेर उनले पाहुना कोठामा आउन अनुरोध गरिन्। म जब त्यस कोठामा छिरेँ उनले आफ्नो दायाँ हातमा रहेको एउटा कागज सोफाकभर भित्र लुकाउने प्रयास गरिन्।
'ओई मैले देखेँ! तिमी के गर्दै थिर्यौ?' मैले प्रश्न गरेँ।
कोही केही बोलेन। उनले मौनता तोड्दै उपस्थितसँग हाम्रो नाता सम्बन्ध बताएर विषयान्तर गर्न खोजिन्। केहीबेरमा उनको ध्यान आफन्ततिर मोडियो। म उनले सोफाकभर भित्र छिपाएको कागज विस्तारै निकालेर गुपचुपमा लगेर हेरेँ जहाँ प्रिय आफन्तहरूले नजन्मिसकेको सन्तानका लागि सुझाएको नामहरूको संग्रह थियो- मार्क, सिल्भर, जोनाथ, ज्याक, अब्बास, रोनी, मोनिका, रिना, अद्घानी, अर्शद आदि।
आफन्तहरू घर फिरेपछि हामी प्राप्त नामसंग्रहका विषयमा छलफल गर्यौं। नामका सम्बन्धमा यी सुझावहरू हाम्रा लागि होइनन् भन्ने हामीबीच एउटै मत बन्यो। त्यत्तिकैमा बा कोठाभित्र छिर्नु भयो। उनी हतारहतार ससुराको सम्मानमा मातृत्व गाउन (गर्भवतीले लगाउने कपडा) फेर्न आफ्नो कोठाभित्र छिरिन् र नेभी ब्लू धोती लगाएर बाहिर आइन्। चलनचल्तीअनुसार बाको गोडा नजिकै पुगेर भुइँ ढोग्न लाग्दा शारीरिक अवस्थालाई मध्यनजर गर्दै बाले नमस्कार गर्दा पुग्ने विकल्प दिनुभयो।
केही समयको मौनतापछि आजकलको उनको दिनचर्या र आजको आफन्त भेटेघाटको विषयवस्तु छलफलको केन्द्र बन्यो। उनले बासँग पनि नातिका लागि सिफारीस नाम मागिन्। केहीछिनमै बाले 'बाउ कृष्ण, आमा संजना र किसान हजुरबाको नातिको नाम। किसनभन्दा उत्तम अर्को के हुनसक्ला?' भन्ने आफ्नो धारणा राखेर विषय टुङ्गाउनु भयो। म बाको सिफारिसमा शतप्रतिशत सहमत भएँ। उनले नामसंग्रहको डायरीमा बाको सुझाव समेत टिपेर राखिन्।
सकुशल जन्मिएर आउँदो हप्ता आफ्नो चौथो जन्मोत्सव मनाउने तयारीमा रहेको छोरोको नाम ती स्त्रिीरोग विशेषज्ञको सुझाव मिलेको तेस्रो साँझ संजनाले ‘इभान’ राख्ने घोषणा गरेर नामप्रतिको भोकको आवेग मत्थर पारेकी थिइन्। गर्भवती मनका इच्छा अनियन्त्रित हुन्छन् भन्ने चाल पाएको म, उनले छोराको नाममा एकाधिकार प्रयोग गरे पनि मैले केही गुनासो गरिनँ। नौ महिनासम्म आमाको न्यानो संरक्षणमा बाँधिएको छोराले आमाबाट अतिरिक्त माया, ममता, सहानुभूति र समर्थन पाउने पहिलो अधिकार राख्छ भनी मेरी आमाले बुवासँग दाबी गरेको सुन्दै हुर्किएको छोरो हुँ म, यो कहिल्यै भुल्दिनँ। त्यसैले आमाले सिकाएको संस्कारप्रति गर्व गर्दै उनको सम्मानमा सधैँ समर्थक बनेर त्यस दिन पनि म मौन बसेँ।
हामीले सन्तान प्राप्ति गरिसकेका आफन्तसँग धेरै सीमा नागेर सम्बन्ध जोड्यौँ र सुझाव मागेर अरुको मन मात्र चोर्यौँ जसको परिणाम अन्तमा छोरोको नाम ‘इभान’ राख्ने सहमती गर्यौँ। ऊ जन्मिएको ६ महिनापछि उसको जन्म प्रमाणको निस्शा लिन गाउँ जाँदा मेरी बहिनीले संजनाको एकाधिकारको समर्थन गर्दै इभान नामलाई अझ पृथक पार्न पुच्छारमा किन्स जोडिदिए र उसको नाम थप जेटिल बनाइदिई। जसलाई आज केहीले ‘इभान किन्स’ र हजुरबुवा पुस्ताले इमान सिंहको उपनामले सम्बोधन गर्छन्।
मेरो व्यक्तिगत बुझाइमा नामले कुनै व्यक्तिको पहिचान र परिचय स्थापित गर्न भूमिका खेल्छ र यसले व्यक्तिगत पहिचान, सामाजिक परिचय, पारिवारिक परिचयको अर्थ र अर्थात्मकता प्रदान गर्ने गर्छ भन्ने लाग्छ। आजसम्म नामका सम्बन्धमा मैले गरेका संघर्षले साथीलाई नाम सुझाउँदा उसको पारिवारीक परिचयसँग मेलखाने र नेपाली पहिचानसहितको नाम सिफारिस गर्नुपर्छ भन्ने मनमा लाग्यो। मैले उसको नामको प्रतिनिधिमूलक शब्द आकाशको अर्थ नभ हुने र नभ नाममा भएको ‘भ’ अक्षरले आमा भावनाको नाम समेत प्रतिनिधित्व गर्ने भएकाले ‘नभ’ नाम नै उपयुक्त ठानेर उसलाई सिफारिस पठाएँ।
केही दिनपछि फेरि साथीको अर्को म्यासेज आयो। उसले म्यासेजमा घुमाउरो अर्थमा नभ नामलाई अस्वीकार गरेको बुझिन्थ्यो। साथीले नामको अर्थ खोज्यो या खोजेन यसको अभिभावकसँग सम्बन्ध के छ भन्ने हेर्यो या हेरेन, उसको सार थियो नभ नाम पृथक नभएको र हिजो मात्र भावनाले ओटावा ट्रेन स्टेशनमा ट्रेन चढ्दै गर्दा भारती मूलकी एक बच्चीको नाम ‘नभ’ स्वयं सुनेका कारण श्रीमतीले अस्वीकार गरी भन्ने उल्लेख थियो।
मैले 'माफ गर साथी, म तिमीले खोजेको उपयुक्त पात्र होइन। तिमीले नाममा शुद्घ पृथकता खोज्छौ भने प्रतिबन्धित नाम रोज या केही वर्ष कुर' भन्ने आशयको प्रतिउत्तर लेखेँ। सायद उसलाई अनर्थ लाग्यो, उसले फेरि लेख्यो- 'साथी, तिमीले मलाई यसपटक सहयोग गर्न नसके तिमीसँग माग्ने मेरो सहयोग अन्तिम हुनेछ।' मैले उसले आफ्नो निजी स्वार्थका लागि मलाई अप्ठ्यारोमा पारेको महसुस गरेँ।
नामका सम्बन्धमा मान्छेका परिवर्तित सोच देखेर झस्किएँ। डुकुललाई ढुकुर र इभान किन्सलाई इमान सिंह सम्बोधन गर्ने मेरा ती हजुरबुवा पुस्तालाई सम्झिएँ। पृथकताका नाममा हाम्रो चलनचल्तीमा नभएका, धर्म संसकारसँग नजोडिएका, गीतसंगीतमा कही प्रयोग नभएका, स्पष्ट अर्थ नदिने, बोल्न र बोलाउन अप्ठेरो हुने नामका पछि लाग्ने आधुनिक पुस्ताका प्रतिनिधि समूहलाई सम्झिएँ।
नामकै लागि अग्रज पुस्ता, साथीभाइ र आफन्तलाई अप्ठ्यारोमा पार्नु हुँदैन भन्ने चेतना मान्छेमा कहिले महसुस होला? त्यो साथीको छोरीका लागि उपयुक्त नाम अब के सुझाउन उपयुक्त होला?