चिया खाँदै गर्दा एकजना दाजुले भनेका थिए, भाइले राम्रो लेख्छ तर लेख्न किन छोडेको आजभोलि?'
'खै दाजु, जबर्जस्ती लेखेको मलाई मिठो लाग्दैन। मन आजभोलि कता अन्तै बरालिरहेछ, लेख्नै खोज्दैन।'
उनले हाँस्दै भने, 'बिहे गर्ने बेला भयो त्यही भएर मन यताउति बरालिएको होला।'
उनले सस्तो हाँसोले माहोल बिगारेका थिए। त्यसको कुनै प्रतिउत्तर दिनु उचित ठानिनँ र जबर्जस्ती उनको हाँसोलाई हाँसेको भावमा समर्थन गरेँ। लागिरहेको थियो कि ब्रान्च म्यानेजर (बिएम) को चित्त दुख्छ भनेर। बिएमको हाँसो नउठ्ने जोकमा नि उनी मातहतका कर्मचारीहरू एपरेजलको बेलामा हाँसेको जस्तो हाहा।
उनी प्रश्न गर्छन्, 'बिहे कहिले गर्ने त?'
म सुनेर नि नसुनेझैं गर्छु। वास्तवमा यो प्रश्नको उत्तर मसँग थिएन या दिन चाहिनँ। अविवाहित दाइहरूको संगतबाट सिकेको थिएँ, कसैले यस्तो प्रश्न गरेमा नसुने जस्तो गर्नू।
सोही प्रश्न पूर्ण रुपमा फेरि मैतिर तेर्स्याएर भने, 'कहाँ टोलाएको भाइ? बिहे कहिले गर्ने?'
यतिबेलाको उत्तर के हुन्छ? यसको उत्तर नहुनु नै मेरो मौनताले बुझ्नु पर्ने तर उनलाई मेरो मुखारविन्दबाट सुन्नु थियो। उनी भाव बुझ्दैन थिए।
'हेरौं न दाइ, सोचेकै छैन,' टाउको कन्याउँदै भन्छु।
उनी फिक्का ज्ञान बाट्दै भन्छन्, 'भाइ हेर, बिहे चाहिँ बेलैमा गर्नुपर्छ।'
एक हिसाबले दाइको कुरा नि हो जस्तो लाग्यो। होको भावमा मुन्टो हल्लाएँ।
उनी फेरि थप्छन्, '५०/५५ मा बिहे गरिस् भने एक डेढ वर्षको छोरा तेरो लासको छेउमा बसेर बुवा बित्नु भो, बुवा बित्नु भयो भन्दै ताली बजाउँदै बस्ला नि। हाहाहा...'
हिन्दी फिल्मको थर्ड क्लास डायलगले मेरो फाल्टु मजाक बनेको थियो। यतिबेला म फर्स्ट बलमै विकेट उडेको ओपनर जस्तै भएको थिएँ।
'हस् दाइ, म गएको है' भन्दै निस्किएँ त्यहाँबाट।
मानिसको उमेर सँगसँगै उसलाई समाजले गर्ने प्रश्न हुँदो रहेछ। एक सानो बोल्न थालेको बच्चालाई उसको नाम सोधिनु, एसइई दिएकालाई परीक्षा कस्तो भयो? प्लस-टु दिएकोलाई अब के गर्ने? भर्खर जागिरमा लागेकोलाई कति तलब छ? यस्ता-यस्ता प्रश्नहरू गरे झैं जागिर गतिलै खाएको तर २५ देखि ३० वर्ष काट्न लागेको अविवाहितलाई सोधिने प्रश्न चाहिँ- 'बिहे कहिले गर्ने नि? भोज कहिले खुवाउने नि? केटी खोज्न थालुँ त? कि खोजेरै राख्या छ? तैट! जाबो एउटा केटी नि पट्याउन सकिनस्?'
यी सबै शब्दको अर्थ फरक-फरक भए नि यो प्रश्न गर्ने व्यक्तिको तात्पर्य चाहिँ बिहे कहिले गर्छस् हो।
कहिलेकाहीँ यसो खान बस्दै गर्दा आमाको थाकेका आँखामा यहीँ प्रश्न हुन्छ, बाको हिमालै बोकेका कादमा एक जोड गह्रुंगो गाठो यहीँ देखिन्छ। जुन भारी बिसाएर उनी हलुंगो हुन चाहन्छन्। अझ कौसीमा बिस्कुन सुकाउँदै गरेकी हजुरआमाको खोकीमा नातिनी बुहारीको मुहार हेरेर मर्न पाउँ भन्ने हुन्छ। त्यो खोकीमा नि यहीँ प्रश्न हुन्छ।
वास्तवमा विवाह भनेको त एक जीवनको नयाँ यात्रा हो, जुन यात्रामा आजभोलिका युवाहरू सफर गर्नै डराउँछन्। उनीहरूले देखेका छन् वैवाहिक दाजुहरूको खोसिएको स्वतन्त्रता। दाजुहरूले गरेका फुस्रो व्यथा। अमिलो, पिरो, तितो र भयलाग्दो वैवाहिक जीवनको गलत ज्ञान। जसले गर्दा सिङ्गो एक पुस्ता नै डराएको जस्तो। एक गलत शिक्षाले सिकाएको ज्ञानले मैलो बनेको छ।
विवाह गर्ने सही उमेर कुन हो? यो आफैंमा एक प्रश्न हो। जुन प्रश्नको उत्तर फरक-फरक व्यक्तिले फरक-फरक शैली र सिद्धान्तमा दिन्छन्।
एक डाक्टरलाई सोध्यो भने २३-२७ भन्ला। एक वकिललाई सोध्यो भने केटीको २०, केटाको २२ भन्ला। तर एक सन्यासीलाई सोघ्यो भने उसले उमेरमा हैन, व्यक्तिको विचारमा परिपक्वता आएपछि उसले जुन उमेरमा नि गर्दा हुन्छ भन्छ, भलै त्यो १२ वर्षको किन नहोस् भन्ने उत्तर दिन्छ। त्यसैले विवाह गर्ने सही उमेर भएर मात्र हुँदैन। त्यस व्यक्तिको विवाह गर्ने मन पनि हुनुपर्छ। अन्यथा त्यो केवल प्रश्न मात्र हुन्छ।
मेरा हजुरबुवाको १२ वर्षमा विवाह भएको थियो रे। मेरा बाको विवाह २२ वर्षमा भएको थियो। तर मेरो थाहा छैन, मैले सोचेको छैन।
भारतका एक मोटिभेटर आभाद ओझालाई एक सेमिनारमा प्रश्न गर्छन्, 'विवाह गर्नुपर्छ या नगर्दा नि हुन्छ?'
ती व्यक्तिलाई उनले एउटा कथा सुनाउँछन्।
एक दाजुलाई भाइले त्यही प्रश्न सोध्छ। उसले भाइलाई पहाडमा रहेका बाबा भएको ठाउँमा लान्छ। उसले ती बाबाको छेउमा गएर नाम सोध्छ- 'बाबा, हजुरको नाम केहो?'
'गोपाल दास!'
ऊ फेरि ओरालो लाग्छ र ती बाबालाई पुनः प्रश्न गर्छ- 'बाबाजी, हजुरको नाम के हो?'
बाबाले फेरि भन्छन्, 'गोपाल दास!'
तीन/चार चोटि फरक-फरक ठाउँमा बाबाजीलाई उही प्रश्न गर्छ। र, अन्त्यमा पहाडबाट तल आएर सोही प्रश्न गर्छ। बाबाजीले नाम बताउँछन्।
त्यसपछि ती भाइलाई दाजुले देखाउँदै के भन्छ कि, 'जीवनमा जुन दिन यति धैर्य एकिकृत हुन्छ नि, हो त्यही दिन विवाह गर्नू।'
विवाह एक माध्यम हो दुई व्यक्तिलाई एकै आँगनमा जोड्ने। त्यसमा न उमेरको बाधा हुन्छ न त समय। दुई व्यक्तिबीच समझदारी हुन आवश्यक हुन्छ। एकले अर्कालाई बुझ्न जरुरी हुन्छ। एकले अर्कालाई सम्हाल्न जरुरी हुन्छ र ती सम्हाल्ने व्यक्ति भेटिनु जरुरी हुन्छ सर्वप्रथम त। कुनै कुरालाई थाहा पाउनु भनेको बुझ्नु मात्र हुँदैन, उसका विचार तथा सिद्धान्तलाई बुझनु उसको भाव बुझ्नु पनि असल मित्र या जीवनसाथी हो।