आजभन्दा करिब १३ वर्ष पहिला म पहाडी जिल्लाको एउटा उप-स्वास्थ्यचौकीमा काम गर्थें। त्यहाँ काम गर्दाको एउटा घटनाबाट सुरु गर्छु।
एकजना महिला आउनुभयो र पाखुरामा देखाउँदै भन्नुभयो, 'ए डाक्टर! एकातिर संगिनी सुई लगाइदे, अर्कोतिर तागतको सुई लगाइदे।'
म एकछिन अकमक्क परेँ, संगिनी सुई (परिवार नियोजनको साधन डिपो) त थाह छ तर यो तागतको सुई के हो थाह भएन। हाम्रै उप-स्वास्थ्यचौकीमा लामो समयदेखि काम गरिरहनु भएको सिस्टरलाई सोधेँ। अनि बल्ल थाह भो, त्यो तागतको सुई भनेको 'भिटामिन बी कम्प्लेसको इन्जेक्सन' रहेछ।
अब यो घटनाको याद मलाई कसरी आयो भन्ने सोच्नुहोला। केही दिनअघि फेसबुक स्क्रोल गर्दै जाँदा एकजना स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्य संस्थाको बाहिर एउटा बोर्डमा ठूलो रातो अक्षरमा सूचना टाँस्नु भएको रहेछ, जसमा लेखिएको थियो- सेवा औषधीको नामबाट हैन समस्या बताएर लिनुहुन अनुरोध छ।
यो सूचना एकदमै उपयोगी र राम्रो लागेर मैले मेरो फेसबुक पेजमा आफ्नो माथि उल्लेखित घटना समेत राख्दै पोस्ट गरेँ र फलोअरहरूलाई तपाईंहरूका यस्ता कुनै घटनाहरू छन् भने साझा गर्नुहोस् न त भनेर अनुरोध गरेँ। केही समयपछि तीव्र गतिमा कमेन्टहरू आए।
एकदिन पछि करिब १५० भन्दा बढी कमेन्टहरू पढ्ने क्रममा मैले केही रोचक र अनौठा कुराहरू थाह पाएँ। अहिले पनि हाम्रा सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीले नै धेरै औषधीहरू आफैं माग्नुहुँदो रहेछ। फेसबुकको कमेन्टमा पढ्दा बिरामीहरूले स्वास्थ्यकर्मीहरूसित ठिम्राको गोली, शिवजल गोली, चिसोको सुई, रातो गोली, मिठो गोली, मसिनो गोली, बाइलोको सुई, रागनको सुई, निलो पत्तावाला ट्याबलेट, कुफातको औषधी आदि इत्यादि भनेर आफैं माग्नुहुँदो रहेछ।
अझै रोचक तर डरलाग्दो कुरा त स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीहरूले आफ्नो घरमा पालेका कुखुरा र जनावरहरूको रोग विसेक गर्न पनि औषधी माग्नुहुँदो रहेछ। जस्तै एकजना स्वास्थ्यकर्मीले लेख्नुभएको थियो- एकजना आमाले सबै कुरा चेकजाँच गरेर औषधी दिइसके पनि जानेबेलामा ब्रुफिन (दुखाइ कम गर्ने औषधी) माग्नुभयो। किन माग्नुभएको आमा भनेर सोध्दा 'कुखुरा बिरामी छ नानी त्यही भएर' भन्नुभयो।
यसैगरी आफ्नो घरमा भएका गाई गोरु, चौरीका लागि समेत विभिन्न औषधीहरू माग्ने गरिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। झट्ट सुन्दा यो कुरा रमाइलो लाग्छ तर यो घटनामा विभिन्न दृष्टिकोणबाट विश्लेषण हुनुपर्छ र यसको असर कालान्तरमा हामीले सोचेभन्दा अत्यन्त गम्भीर हुनुसक्छ।
जस्तै एउटा पक्षबाट हेरौं- सरकारले स्वास्थ्यचौकी र प्राथमिक केन्द्रबाट तोकिएका सम्पूर्ण औषधीहरू निःशुल्क उपलब्ध गराउँछ तर के ती निःशुल्क रुपमा उपलब्ध गराइएका औषधीहरू सही तरिकाले उपभोग भइरहेको छ त? यसले गम्भीर प्रश्न उब्जाउँछ। के ती औषधीहरू निःशुल्क रुपमा पाइने भएकै भएर यसरी बिरामीहरू माग गरिरहेका छन् त?
अझ बिरामीले 'सेतो होइन निलो ट्याबलेटले बढी काम गर्छ त्यो दिनू' भनेर मागेको सुन्दा के हाम्रा स्वास्थ्य संस्थामा उपलब्ध हुने सबै औषधीहरूको गुणस्तर मापदण्ड बमोजिम छ त? यस बारेमा अझै जान्ने इच्छा भएर नेपालमा भएका अध्ययनहरू खोजी गर्न थालेँ। फेला पारेँ सन् २०२३ मा निलम ढकाल र उहाँको टिमले अध्ययन गरेको लेख। जसमा उहाँहरूको अध्ययनमा सग्लन २० वटा अत्यावश्यक औषधीका २४० वटा व्याचमध्ये २० वटा व्याचको तोकिएको मापदण्डभन्दा कम गुणस्तरको रहेछ। यो समस्यालाई अझै गहन रुपमा हेर्ने हो भने अझै धेरै कुराहरू पत्ता लाग्दै जानेछ।
आफू स्वास्थ्य अर्थशास्त्रको विद्यार्थी भएको हुँदा यो विषयको बारेमा पढेको पनि थिएँ। यसरी बिरामी आफैंले स्वास्थ्य सेवा वा औषधी माग्ने प्रक्रियालाई टेक्निकल्ली पेसेन्ट ड्रिभन डिमान्ड भनिन्छ, अर्थात् बिरामीबाट सिर्जित माग। हाम्रो जस्तो विकासोन्मुख देशहरूले स्वास्थ्य नीति निर्माण गर्दा यस सम्बन्धमा दुई वटा परस्पर विरोधी च्यालेन्ज भोगिरहेका छन्। एकातर्फ धेरै बिरामीहरू आफूलाई आवश्यक परेको बेलामा स्वास्थ्य सेवा लिन जाँदैनन्, अर्कोतर्फ केही बिरामीहरू आफूलाई चाहिनेभन्दा बढी उपचार वा औषधी सेवन गरिरहेका छन्। यी दुई वटा पक्षहरूलाई गहन रुपमा अध्ययन गरेर स्वास्थ्य नीति बनाइनुपर्छ। योसँगै जोडिएर आउने फिजिसियन इन्ड्युस डिमान्ड अर्थात् डाक्टर (स्वास्थ्यकर्मी) बाट सिर्जित माग पनि छ। त्यो आगामी लेखहरूमा चर्चा गरौँला।
अब फेरि फर्किऔं माथि उल्लेख गरिएको घटनाको अर्को तर गम्भीर पाटो। त्यो हो एन्टिमाइक्रोवियल रेसिस्टेन्स वा प्रतिजैविक प्रतिरोध। यसलाई सामान्य भाषामा भन्दा हामीले व्याक्टेरिया, भाइरस, परजीवि र ढुसी आदिका लागि प्रयोग गरिने औषधीहरू उचित ढंगले प्रयोग गरैनौँ भने शरीरमा भएका ती सूक्ष्म जीवहरूले औषधीको प्रतिरोध गर्छन् जसले गर्दा ती औषधीहरूले काम गर्न छोड्छ। जनावरमा लाग्ने रोगहरूको लागि अनावश्यक ढंगले प्रयोग गरिने एन्टिवायोटिकले यो समस्यालाई झनै विकराल बनाउँदै गएको पाइएको छ।
प्रतिजैविक प्रतिरोधकै कारणले सन् २०१९ मा मात्रै विश्वभर करिब १२ लाख मानिसहरूको मृत्यु भएको हुनसक्ने अध्ययनले देखाएको छ। यसको साथै प्रतिजैविक प्रतिरोधले खाद्य सुरक्षा लगायत अन्य आर्थिक र सामाजिक पक्षहरूमा गम्भीर असर गर्ने प्रक्षेपण गरिएको छ।
नेपालमा प्रतिजैविक प्रतिरोधको रोकथाममा केही प्रयासहरू गरिएको छ। तर त्यो प्रर्याप्त छैन। भर्खरै मन्त्रीपरिषद्ले यस सम्बन्धी कार्ययोजना पनि स्वीकृत गरेको छ। यो कार्यान्वयन योजनाको प्रभावकारी कार्यान्वयन हुनु एकदमै महत्वपूर्ण छ। हालसालै काठमाडौंमा गरिएको एउटा समुदायमा आधारित ट्रायलले स्वास्थ्यकर्मीले प्रदान गरेको प्रतिजैविक औषधी सम्बन्धी परामर्शले अनावश्यक रुपमा एन्टिबायोटिकको प्रयोगमा कमी ल्याएको देखाएको छ।
तर अब सोच्नुहोला, 'स्वास्थ्यकर्मीहरूले किन दिएको त जुन औषधी माग्यो त्यही' भनेर। स्वास्थ्यकर्मीहरूको साइडबाट हेर्ने हो भने गाउँघरमा बिरामीहरूबाट आउने प्रेसर थेगिनसक्नु छ। पहिलाको डाक्टरले केही नभनी दिन्थ्यो, तिमीहरूले हाम्रै करको पैसाबाट आएको औषधी किन दिँदैनौ जस्ता यावत खालका जवाफहरू सुन्नुपर्छ।
तसर्थ यो बिरामीबाट हुने औषधी र उपचार सम्बन्धी अनावश्यक मागहरूलाई कम गर्न बृहत रुपमा नागरिकको तहमा जनचेतनाको आवश्यकता छ। नियमित अनुगमन, निरन्तर अध्ययन अनुसन्धान र सोही बमोजिमको कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो।
अन्त्यमा, यो लेख पढिसकेपछि पक्कै पनि तपाईं चाहिँ ठिम्राको गोली वा शिवजल गोली भन्दै स्वास्थ्य संस्थामा जानुहुन्न भन्ने आशा छ। अनावश्यक रुपमा औषधीको प्रयोग नगर्नुहोला, तपाईंलाई प्रतिजैविक प्रतिरोध हुनसक्छ। स्वास्थ्यकर्मीसित राम्ररी सल्लाह गरेर मात्र औषधी सेवन गर्नुहुन्छ भन्ने आशा राख्दछु।
(लेखक युनिभर्सिटी अफ नर्थ केरोनाइना, अमेरिकामा स्वास्थ्य अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन्।)