कक्षा ५ मा पढ्दा सरले एउटा प्रश्न गर्नु भएको थियो- 'तिमीहरू ठूलो भएपछि के बन्छौ?'
डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, कलाकार, गायक, नायक, विदेश, सबैको मुखबाट यस्तै उत्तर आउँदै थियो। सरले मलाई इंकित गर्दै सोध्नुभयो- 'अनि तिमी चाहिँ के बन्छौ नि?'
मैले जुरुक्क उठेर भनेको थिएँ, 'सर, म त सरकारी कर्मचारी बन्छु।'
त्यतिन्जेलसम्म कसैको मुखबाट पनि त्यस प्रकारको उत्तर नआएकोले होला सरले अचम्मित हुँदै फेरि सोध्नुभयो, 'ए! सरकारी जागिरे बन्ने तिमी? राम्रो विचार।'
एउटा साथीले कराउँदै भने, 'सर, मेरो बाबाले भन्नु भएको सरकारी जागिर गर्ने मान्छे त नराम्रो हुन्छन् रे, अरूको पैसा पनि खान्छन् रे।'
मैले जवाफ दिएँ, 'हैन! म त अरूको पैसा खादिनँ, म त देशको लागि राम्रो काम गर्छु।'
सर भन्दै हुनुहुन्थ्यो- जे बने नि असल बन्नू।
यत्तिकैमा घण्टी बज्यो, कक्षा सकियो।
५ कक्षामा हुँदा दिएको त्यो उत्तर र बाल मस्तिष्कमा सरकारी जागिरप्रतिको छाप सम्झिँदा अहिले अचम्म लाग्छ। सानैदेखिको सरकारी जागिरे बन्ने सपनालाई साकार पार्न १२ कक्षा उत्तीर्ण भएदेखि नै तयारीमा जुट्दै गएँ म। पहिलो पटक नायब सुब्बाको परीक्षामा सफल हुन नसकेपछि मैले अभूगर्भ शास्त्र मूल विषय लिएर स्नातक तहमा भर्ना भएँ।
लोक सेवाको न कहिल्यै समयमा परीक्षा हुन्थ्यो न नतिजा प्रकाशित। फारम भरेको दुई वर्षमा बल्लतल्ल परीक्षा भए नतिजा प्रकाशन हुन फेरि अर्को एक, डेड वर्ष। स्नातक तह अध्यनरत हुँदासम्ममा दुई पटक परीक्षा दिएँ तर सफल हुनै सकिनँ। इच्छा र सपना अझै मरेको थिएन। स्नातक सकिएपछि आफ्नै मूल विषयअन्तर्गत सरकारी सेवामा कार्यरत हुने चाहना बढ्दै थियो। तर दुर्भाग्यवश मेरो स्नातक नसकिँदै भूगर्भ शास्त्रअन्तर्गत सरकारी सेवाको लागि न्यूनतम योग्यता नै स्नातकोत्तर गर्नुपर्ने नियम बन्यो।
त्यसपछि स्नातकोत्तरको पढाइ सुरुआत गरियो। सामान्य प्रशासन तिरको परीक्षामा पनि फारमहरू भर्दै थिएँ, जे होस् सरकारी जागिरे बन्ने सपना जो थियो। अहिले स्नातकोतर पनि सकिनै लाग्यो, शोधपत्र मात्र बाँकी छ। हुन त दुई वर्षमा सकिनु पर्ने तीन वर्ष हुन लाग्दा पनि सकिएको छैन। सेमेस्टर प्रणालीमा अध्ययन हुने विषयको पनि यस्तो हालत छ विश्वविद्यालयमा।
यसपालि पनि अधिकृत स्तरको विषयगत लोक सेवाको परीक्षा त दिन नपाइने भइयो। तर फेरि नायब सुब्बा स्तरको विज्ञापनमा दुई जना भूगर्भ शास्त्री मागेको देखेँ। मनमा झिनो आशा पलाइरहेको छ। परीक्षाको तयारी गरिरहेको नै छु। तर फेरि कहिलेकाहीँ आत्मविश्वास नै हराउँछ, जम्मा दुई जना त मागेको छ। कति वर्ष अघिदेखि तयारी गरिरहेका कैँयन् होलान्। म त पहिलो पटक कोसिस गर्दैछु। त्यही पनि यो मौकालाई हातबाट उम्किन नदिन प्रयास गर्दैछु।
उमेर पनि त विस्तारै बढ्दैछ। सोच्दै छु सक्दो प्रयास गर्दा पनि सफल हुन सकिनँ भने अब के गर्ने? फेरि एक डेढ वर्ष लोक सेवाको परीक्षा भन्दै कति बस्ने? त्यत्रो डिग्री पढेकी छोरी छ अब त केको चिन्ता, जागिर राम्रै गरेकी होलिन्, आम्दानी राम्रै होला भनेर आफन्त र छरछिमेकीले भनेका ती सुन्दा मिठा तर तिता वाक्यहरू बुवाआमालाई कतिन्जेल सुनाउनु। बाहिरबाट हेर्नेलाई भित्री घरको र मनको कुरा के थाहा!
अब प्राइभेट कम्पनीमै जागिर गरौँ भने पनि काम पाउन कहाँ सजिलो छ र यो देशमा। दुई चार जना चिनेको ठाउँमा बायोडाटा नबुझाएको पनि हैन। तर आफन्ती र इष्टमित्रहरू भनेको सबै मुखका मात्र हुँदा रहेछन्, नपर्दासम्म म सहयोग गरिहाल्छु नि पहिला पढाइ सक भन्ने, अहिले आएर सबै टाढा।
उमेर बढ्दै छ। विवाह गर्नुपर्ला। घर परिवर्तन, थर परिवर्तन भएपछि मैले मेरा बुवाआमालाई खुसी बनाउन सोचेका सपना पूरा गर्न सकुँला कि नसकुँला। यसको चिन्ता पनि त छ।
त्यसैले अहिलेको अवस्था देख्दा यस्तो लाग्छ, त्यो बेला बाल मस्तिष्कमा सरकारी जागिरे बन्ने सपना किन आयो होला? सरकारी सेवामा आवद्ध भएर देशको सेवा गरी देशमै जीवन बिताउने सपना अहिले तुहिँदै गइरहेको छ। १२ सकाएर अष्ट्रेलिया, अमेरिका गएका साथीहरूको ठूलै प्रगति भइसक्यो। देशको अवस्था देख्दा अहिलैन झिटिगुन्टा कसेर यो देशबाट टाढा पुग्न पाए हुन्थ्यो झैँ हुन्छ।
उमेर विस्तारै ढल्किँदै छ तर परिवारको लागि गर्नुपर्ने कर्तव्य धेरै छन्। घामपानी, दिनरात केही नभनी मेरै भविष्यको लागि जीवन समर्पण गर्नुभएका बुबा र आमाको लागि केही नभए पनि काठमाडौँमा एउटा सानै भए नि घर बनाउन छ। भयो अब आराम गरेर बस्नुस् हामी छौँ नि भन्नु नै छ। फेरि आफ्नै जिन्दगी पनि त जिउनु छ।
आजसम्म त पुस्तक पढ्दैमा जीवन बित्दै छ। सरकारी जागिर खाएर आफ्नै घरबाट बिहान अफिस जाने सपना सायद अब यही देशमा रहेर पूरा नहोला। त्यसैले अब स्नातकोत्तरको शोधपत्र सकिना साथ परदेश जाने सोचमा छु। अब पनि लोक सेवा र सरकारी जागिर भनेर नबस्ने सोचेकी छु। केही समय अघिसम्म अरूलाई परदेशी नहोऊ भन्ने यी ओठले आज कसैले अब के गर्छौ भनेर प्रश्न गर्दा 'म पनि विदेश जाँदैछु, प्रकिया पूरा हुँदैछ' भन्न थालेका छन्।