'ओए, तिमीहरूलाई एउटा कुरा भनौं?,' कहिलेकाहीँ साथीभाई बीचको चिया गफमा म खुब फुर्किदैं सोध्नेगर्छु।
'भन्न त!' केटाहरू चाख दिँदै मतिर हेर्थे।
'५ कक्षामा पढ्दा धुर्मुस-सुन्तलीहरूसँग मैले सुटिङ गरेको थिए नि!' छाती चौडा गरेर म भन्थें। 'गफ पनि अलि पत्याउने त दे न यार,' केटाहरू मलाई हावामा उडाउथे।
'साँच्ची हो क्या, गफ हान्या हैन मैले,' म प्रतिउत्तर दिन्थें।
'त्यसो हो भने, ल देखा न त भिडिओ। मोबाइलमा राख्या छस् कि युट्युबमै छ?' उनीहरू प्रश्न गर्थे। म लुरुक्क पर्थें। त्यस प्रश्नको उत्तर मसँग थिएन, र अहिले पनि छैन। मसँग त्यस सुटिङको न कुनै तस्वीर छ, न त कुनै भिडिओ। आखिर के भएको थियो र त्यस्तो?
त्यो दिनको धमिलो याद छ मलाई। कक्षा ५ तिरको कुरा हो! म काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरी विद्यालयमा पढ्थें। दिउँसो तिरको क्लास चलिरहेको थियो। एक्कासी धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) हाम्रो कक्षामा प्रवेश गरे। कक्षाका सबै विद्यार्थी जस्तै म नि आश्चर्यचकित थिएँ।
'मेरी बास्सै' टेलिशृंखला त्यसबेला खुब चर्चित थियो। कहिले शनिबार आउला र 'मेरी बास्सै' हेर्न पाइएला भन्ने हुन्थ्यो। त्यसबेला काठमाडौंमा एकदमै लोडशेडिङ हुने गर्थ्यो। कहिलेकाहीँ टिभी हेर्दा हेर्दै लाइन जान्थ्यो। म मुर्मुरिन्थें, 'कस्तो मान्छे होला त्यो विद्युतमा, खाली लाइन काट्या काट्यै गर्छ!'
टिभीमा हेरिने ती पात्रहरूलाई अचानक आफ्नो आँखा सामुन्ने देख्दा हामी सबैको होस जानु स्वाभाविक नै थियो।
धुर्मुस-सुन्तली र हाम्रो शिक्षिकाबीच केही मिनेटको खुसुरपुसुर चल्यो। 'शिशिर!' म्यामले मतिर हेर्दै भन्नुभयो, 'उहाँहरूलाई एकजना विद्यार्थी चाहिएको रहेछ सुटिङको लागि,ञ तिमी त्यसको लागि छनोट भएका छौ।'
म डरले लगलग काप्न लागेँ। म कसरी सुटिङ गर्न सक्छु! मलाई नै किन रोजेको होला? बोल्न आएन भने के गर्ने? डाइलग बिर्सें भने के होला?
यस्ता प्रश्नहरू मनमा खेल्न थाले। मलाई तल राष्ट्रिय गान हुने ग्राउण्डमा लगियो। त्यहाँ पुग्दा थाहा भयो 'मेरी बास्सै' का अन्य कलाकार पनि आएका रहेछन्। एउटा सेतो भ्यानको छेउ थुप्रै कलाकार उभिएका थिए। मेकअप आर्टिस्टले सबैको अनुहारमा खै के हो दलिरहेका थिए।
म स्कुल ड्रेसमै थिएँ। सुन्तलीले मेरो कपाल मिलाइदिन थालिन्। कम्मरतिर सर्ट मिलेको थिएन, त्यो पनि मिलाइदिइन्। अनि 'मेरो छोरो' भन्दै गालामा म्वाइँ खाइन्। म मुस्कुराएँ। मभन्दा करिब १ मिटरको दूरीमा घुँडासम्म पुग्ने लामो कालो कोट लगाएका एक व्यक्ति चराको गुड जस्तो कपाल पालेका बल्छी ध्रुबे (मरिचमान श्रेष्ठ) सँग कुरा गरिरहेका थिए। ती व्यक्तिले कालो चस्मा लगाएका थिए। एकछिनको अड्कलबाजीपछि मैले ती व्यक्ति अरू कोही नभएर माग्ने बुढा भएको निष्कर्ष निकालेँ।
'अहो! आज त अचम्मै भयो। सबैलाई देख्न पाइने भयो' मनमनै म फुर्किन थालेँ।
म सुन्तलीको हात समातेर उभिरहेको थिएँ। माग्ने बुढा मेरो नजिक आएर मलाई सोधेँ, 'नाम के हो हाम्रो हिरोको?'
'शिशिर अर्याल,' मैले लजाएर उत्तर दिएँ।
'डाइलग राम्रोसँग याद गर है बाबु, बिर्सिने हैन नि त्या फेरि,' माग्ने बुढाले भने।
टाउको दायाँबायाँ हल्लाउँदै आफूले कुरा बुझेको जस्तो गरेँ।
त्यसपछि मैले आफ्नो भूमिका धुर्मुस-सुन्तलीको छोरा रहेको थाहा पाएँ। माग्ने बुढा भने गुन्डाको भूमिकामा रहेछन्। पहिलो सिनको सुटिङ गर्न स्कुल गेटबाहिर रहेको एक किराना पसल अगाडि हामी पुग्यौं। हामी सबैलाई देखेर त्यहाँ मान्छेहरूको भिड लाग्न थाल्यो।
'ओहो, यहाँ त सुटिङ चलिरहेको रहेछ!'
'ओए, यिनीहरू धुर्मुस-सुन्तली हैनन् र?'
बाटोका मान्छेहरू कोही फोटो खिचिरहेका थिए त कोही भिडिओ बनाइरहेका थिए।
एक व्यक्ति मेरो अगाडि एउटा ठूलो सेतो बोर्ड जस्तो लिएर लाइटिङ मिलाइरहेका थिए। अर्का व्यक्ति क्यामेरा समातिरहेका थिए। अर्काको हातमा मेकअपको सामान थियो।
सुटिङ सुरु भयो।
'मम्मी मम्मी, मलाई आइसक्रिम चाहियो,' मैले जिद्दी गर्दै भनेँ।
'हुन्न बाबु, आइसक्रिम खान हुन्न,' सुन्तलीले मलाई सम्झाएको जस्तो गरिन्।
'नाइँ, नाइँ, मलाई चाहियो,' मैले रुन्चे अनुहार पारेर भनेँ।
'ड्याडी ड्याडी, मलाई चकलेट चाहियो,' म फेरि जिद्दी गर्दै कराउन थालेँ।
'चकलेट खायो भने दाँतमा किरा लाग्छ के! खान हुन्न,' धुर्मुसले मलाई सम्झाउन थाले।
पहिलो सिनको यत्ति मात्र याद छ मलाई।
त्यसपछिको सिनको पनि धमिलो याद छ मलाई। माग्ने बुढालाई पुलिसले बाटैबाटो लखेट्दै आइराखेको हुन्छ। मलाई धुर्मुस-सुन्तलीसँगै भाग्न पर्ने थियो। तर यहाँ मैले अलि मेसो पाइराखेको थिइन। 'याक्सन' सुनेसी हामी भाग्न थाल्यौं। बीचमै 'कट' सुनियो!
'बाबु, तिमी यता हेर्दै दौडिने हो, उता तिर हेर्ने हैन,' मलाई सम्झाइयो। यो कसले भनेको मलाई याद छैन। 'हुन्छ,' मैले भनेँ।
'याक्सन'.........'कट'
मैले गर्दा फेरि सिन मिलेन छ।
'ए भातमारा,' माग्ने बुढाले मलाई हेर्दै भने, 'कता हेरेको खालि, अहिले लात्ताले हानेर बारीको पाटोमा पुर्याइदिन्छु अनि थाहा हुन्छ।'
उनले यसो भनेपछि म मुसुक्क हाँसेँ। यो डाइलग 'मेरी बास्सै' हेर्दा खुब सुनिन्थ्यो, बडो हाँसो उड्थ्यो। त्यसपछिको टेकमा मैले आफ्नो गल्ती सुधारेँ, सिन पूरा भयो।
हाम्रो स्कुल छेउमा पासाङ लाम्हु शेर्पा कलेज थियो। त्यस कलेजको गेट छेउ धुर्मुस-सुन्तली र म बसिरहेका थियौँ। अर्को सिनको तयारी हुँदै थियो। त्यही बेला एकजना महिला विद्यार्थी कलेजको गेटबाट निस्किँदै थिइन्। 'ओहो,' भन्दै ती दिदी हामीतिर दौडिन्।
'दाइ नमस्ते, भाउजू नमस्ते,' धुर्मुस-सुन्तली तिर फर्किँदै तिनले सम्मान प्रकट गरिन्।
'अनि यता कसरी आउन भयो त?,' ती महिलाले सोधिन्।
'यहाँ पुलिस स्कुलमा सानो सुटिङ थियो, त्यसैको लागि हाम्रो टिम आएको छ,' धुर्मुसले उत्तर दिएँ।
'अनि यो बाबु को हो नि?,' मतिर औँला देखाउँदै ती महिलाले सोधिन्।
'ए ऊ, ऊ त हाम्रो छोरो हो नि,' सुन्तलीले हाँस्दै भनिन्।
'साँच्ची हो र?,' आश्चर्य मान्दै उनले भनिन्।
'हो नि,' सुन्तलीले मतिर हेर्दै भनिन्। म लजाएँ।
'खासमा ऊ यही पुलिस स्कुलको विद्यार्थी हो, हाम्रो छोराको अभिनय गर्दैछ,' धुर्मुसले सत्य कुरा बताए। एकछिनको कुराकानीपछि ती महिलाले हामी तीन जनाको तस्वीर आफ्नो मोबाइलबाट खिचिन् र त्यहाँबाट बिदा भइन्।
अबको सिन सुन्तलीलाई गोली लागेर मर्न लाएको थियो। सुन्तलीको कुमनिर गोली लागेर घाउबाट रगत बगेको जस्तो मेकअप आर्टिस्टले बनाइदिएपछि हामी सिनको लागि तयार भयौँ।
'याक्सन!'
'तिमीलाई केही हुन्न, म तिमीलाई केही हुन दिन्न,' धुर्मुस मुर्छा अवस्थामा भुइँमा रहेकी सुन्तलीलाई अँगालोमा लिँदै कराइरहेका थिए।
'मम्मी मम्मी, हजुरलाई के भयो?,' मैले सुन्तलीको हात हल्लाउँदै रुन्चे स्वरमा भनेँ।
'केही भा’छैन बाबु, मम्मीलाई केही भा’छैन,' धुर्मुसले मेरो शिर मुसार्दै भने।
'मम्मी मम्मी,' म फेरि रुन थालेँ।
यत्तिकैमा त्यहाँ एम्बुलेन्स जोरजोरले साइरन बजाउँदै आइपुग्छ। सुन्तलीलाई धुर्मुससहित एम्बुलेन्सबाट झरेका दुई व्यक्तिले उठाएर एम्बुलेन्सभित्र लिएर जान्छन्। म पनि एम्बुलेन्सभित्र छिर्छु। एम्बुलेन्स अब हाम्रो स्कुलभित्रको गेटभित्र प्रवेश गर्दै ग्राउण्डको एक चक्कर लगाउँछ अनि झ्याप्प रोकिन्छ।
'ल बाबु, सुटिङ सकियो,' धुर्मुसले मलाई हेरेर भने।
हामी सबै जना गाडीबाट ओर्लियौं। प्रिन्सिपल म्यामसहित अरु दुईजना स्टाफ हामी नजिकै आइपुगे।
'शिशिर, तिमीले राम्रो याक्टिङ गर्यौ,' सुन्तलीले मलाई भनिन्।
'अब तिमी आफ्नो क्लासमा जाँदा हुन्छ,' प्रिन्सिपल म्यामले मलाई हेरेर भन्नुभयो।
'बाई, बाई,' मैले हात हल्लाउँदै धुर्मुस-सुन्तलीलाई बिदाइ गरेँ। 'बाई, बाई,' दुवैले मुस्कान दिँदै भने। म आफ्नो क्लासतिर दौडिएँ।
त्यतिबेला मलाई त्यो सुटिङ किन भएको थियो, सुटिङको विषयवस्तु के थियो, त्यसको बारेमा केही जानकारी थिएन। न मैले कसैलाई सोध्ने प्रयास गरेँ, न त कसैले मलाई जानकारी नै दियो। स्कुलभरि हल्ला फैलिसकेछ, शिशिरले धुर्मुस-सुन्तली र माग्नेबुढासँग याक्टिङ गर्यो भनेर।
'ओए, शिशिर तिमी त हिरो भएछौ रे त! धुर्मुस-सुन्तलीसँग याक्टिङ गरेको हल्ला सुनेथें, हो र?'
'हिरो आयो, हिरो।'
'कस्तो हुँदो रहेछ सुटिङ?'
'को-को थिए? तिमीले के के भन्न पर्यो?'
यस्तै-यस्तै प्रश्नहरू मलाई सोधिन थालियो। पछि हल्ला के चल्यो भने मैले गरेको सुटिङ अब आउने वाला शनिबारको 'मेरी बास्सै'को एपिसोडमा प्रशारण हुँदैछ रे। ओहो, म त टिभीमा आउने पो भएछु भन्दै मक्ख परेँ।
दिन बित्दै गए। शनिबार आयो। घरमा सबैजना उत्साहित थिए, म मेरी बास्सैमा देखिँदै छु भनेर। तर साँझ 'मेरी बास्सै' आउने समयमा 'मेरी बास्सै' नै आएन! अरु केही नै चलिराखेको थियो टिभीमा। आइतबार आउला कि भनेर कुरियो। तर आइतबार पनि आएन। अर्को शनिबार आउला कि भनेर कुरेँ, आएन। अझै अर्को शनिबार आउला कि भनेर कुरेँ, फेरि नि आएन। चार-पाँच हप्ता कुर्दा पनि नआएपछि मैले आश मारें।
सबैले भन्ने गर्थे, 'खै त, मेरी बास्सैमा तिमी त देखिएनौ त। किन के भो?'
म भारी मनले भन्थें, 'खै थाहै भएन!'
करिब ५ वर्षअघिको कुरा हो! त्यसबेला युट्युबमा 'खासखुस' नामको वेब सिरिज म खुब हेर्ने गर्थें। 'खासखुस' का लेखक र निर्देशनको रूपमा माग्नेबुढा (केदार घिमिरे) र विल्सन विक्रम राइ थिए। 'आमा अग्नि कुमारी मिडिया' नामक युट्युब च्यानलबाट 'खासखुस' आउने गर्थ्यो। एक दिन एउटा एपिसोड हेर्दाहेर्दै वर्षौं अगाडि गरेको त्यही सुटिङको याद आयो।
अनि मैले ५, ६ वटा खासखुसका पछिल्ला एपिसोडहरूको कमेन्टमा गएर 'नमस्कार, मेरो नाम शिशिर अर्याल हो। धेरै वर्ष अगाडि मेरी बास्सैको टिम सामाखुसीस्थित नेपाल प्रहरी विद्यालयमा आएर सुटिङ गरेको थियो। त्यसमा मैले धुर्मुस-सुन्तलीको छोराको भूमिका निभाएको थिएँ। त्यो सुटिङ मेरी बास्सैको लागि गरिएको हो भन्ने हल्ला भए पनि मेरी बास्सैमा त्यो कहिले पनि प्रसारण नै भएन! आखिर किन यस्तो भएको थियो? त्यो सुटिङको भिडिओ कोसँग छ? मैले कसरी त्यो भिडिओ प्राप्त गर्न सक्छु? यो मेसेज केदार सरलाई पुर्याइदिनु न प्लिज!' भनेर लेखेँ।
दुई दिनपछि युट्युबमा नोटिफिकेसन आयो, 'आमा अग्नि कुमारी मिडिया रिप्लाइड टु युर कमेन्ट'। त्यो रिप्लाई एपिसोड ३१ मा आएको थियो।
म हतारिँदै रिप्लाइ पढ्न थालेँ, 'त्यो भिडिओ रमेश खरेल साबले (पूर्व डिआइजी) बनाउन लगाउनु भएको हो। हामीले पनि बनाएर उहाँलाई बुझायौं , त्यसपछि के भयो थाहा छैन... -केदार घिमिरे।'
कक्षा ५ को त्यो फुच्चे शिशिरले अभिनय गरेको हेर्ने मेरो धोको अहिलेसम्म पूरा भएन। सायद अब यसलाई मिठो सपनाझैँ मानेर चित्त बुझाउनुको विकल्प अर्को रहेन।