धूपको सुगन्धले हावा भरिएको थियो। स-साना घण्टीहरू मधुर हावामा धुन बजाउँदै थिए।
तिनीहरूमाथि, सनातनी झण्डा आकाशको नीलो सागरमा नाचिरहेका थिए। तिनीहरूका रंगहरू हावामा फैलिएर एक अलग्गै वातावरणको बनिरहेको थियो। म मन्दिरको अग्लो ढोका अगाडि उभिएर आनन्दले रमाएँ।
यो कुनै साधारण मन्दिर थिएन। यो मिथिलाको पौराणिक भूमि, पौराणिक देवी सीताको जन्मस्थान, जानकी नगरको जानकी मन्दिर थियो।
म जानकी मन्दिरको बारेमा बुझ्न धेरै इच्छुक थिए।
जब मभित्र पसेँ। मलाई अचम्मको अनुभूति भयो। यो संसार बदलिएको जस्तो भयाे। एक विशेष प्रकारको ऊर्जाले भरिएँ म।
मन्दिरको चारैतिर बनाइएका सुन्दर काष्ठकला अनि वास्तुकलाका अद्भूत दृश्यले सूर्यको किरणलाई पनि गिज्याइरहेकाे थियाे।
ती कलाले पुस्ताका गाथा, कला र सीपका गुनगान गाइरहेका थिए। मेरो नजर त्यो भव्य मन्दिरमा तानियो। त्यहाँको चम्किलो सेतो संगमरमरहरू अचम्मको भाव प्रकट गरिरहेझैँ लाग्दथ्याे।
भित्र गाढा र चमेलीको सुगन्ध, लगभग धूपको बादलजस्तै मेरो वरिपरि घुमिरहेको थियो। राम्रा लुगामा सजिएका भक्तहरू मन्दिरमा पूजामा मग्न थिए। तिनीहरूका रङ्गीन साडी र धोतीहरूले जीवन्त वातावरणमा थपियो।
प्रत्येक तह र ढाँचाले विश्वास र परम्पराको कथा बताउँदै थियो। महिलाहरू गरगहनाहरू सुसज्जित देखिन्थे। तिनीहरूका सुनका चुराहरू र हारहरू तिनीहरू हिँड्दा खेरी नरमीले ढल्किरहेका थिए। पुरूषहरूको अनुहार भक्तिका रेखाहरूले कोरिएका थिए तिनीहरूले हातमा माला समातेका थिए, तिनीहरू हातमा मोती लिएर औंला चलाउँदै अभ्यास गरिरहेका थिए। मेरो वरिपरि चलेको हावाबाट प्रार्थनाको सुगन्ध आइरहेको थियो।
मन्दिर भित्रका प्रत्येक स्तम्भ, प्रत्येक शिलालेखले प्रेम, बलिदान र भक्तिका कथाहरू फुस्फुसाइको अनुभूत म गर्दथेँ।
शताब्दीयौंदेखि प्रस्तुत भजन र प्रार्थनाका प्रतिध्वनिहरू हावामा मिसिएझैं लाग्दथ्याे। मेरा आँखाहरू अनमोल रत्नहरूले सजिएको देवी सीताको सुनौलो मूर्तिमा तानिएका थिए।
मन्दिरको सारमा बगिरहेको शान्ति र अनुग्रहको आभा फैलाउँदै थिए।
त्यो क्षणमा बाहिरको संसारको चिन्ताहरू पखाल्दै ममा गहिरो शान्तिको भावना पलायो।
जानकी मन्दिर पूजा गर्ने ठाउँ मात्र थिएन।
यो संस्कृति र परम्परा, रीतिरिवाज, संस्कारको धागोले बुनेको पूर्वीय सभ्यता आदि थलाे थियाे।
मन्दिरको परिसरमा घुम्दा म मन्दिरको आत्माबाटै उठेको भजनको सुमधुर गायनले मोहित भएँ।
ढोलकीको लयबद्ध आवाज हावामा मिसिरहेको थियो र मुटुको धड्कन जुन मेरो शरीरको हरेक रेशासँग समाहित भएझैं लाग्दै थियाे।
भक्तहरू हर्षोल्लासका साथ पूजामा मग्न देखिन्थे। तिनीहरूका अनुहारहरू शुद्ध भक्तिको भाषा कोरिएका थिए। न कुनै हतार, न कुनै चाहना, न कुनै लाेभलालसा। म ती कुराबाट साँच्चिकै सम्माेहित भइरहेछु। भइरहेछु।
मेरो भ्रमणको केन्द्रहरूमध्ये एक राम जानकी विवाह मण्डपमा थियो। मण्डपको प्रतिकृति जहाँ राम र सीताले भाकल गरेका थिए। यहाँ युवा जोडीहरू उनीहरूको मायाले चम्किरहेको आँखाले दिव्य जीवनको आशीर्वाद मागिरहेका थिए। त्यस मण्डप वरिपरिको हावा प्रेमले मिसिएको थियो।
मेरो यात्रा मन्दिरको पर्खाल पारी जनकपुरको मुटुसम्म फैलिएको थियो। मलाई मेरी सानिमाले घरमा स्वागत गर्नुभयाे। उनीहरूसँग मैले अनुभव गरेका पलहरू बाँडेँ। परम्परागत मिथिलाका परिकारहरू आफ्नो बास्नाले मलाई तान्दै हेरिरहेका थिए।
मैले तिनीहरूको संस्कृति, तिनीहरूको अटुट विश्वास, र तिनीहरूको जुन पुस्तादेखि चलिआएका परम्पराहरूबारे सिकेँ।
एक साँझ, चम्किरहेका ताराहरू मुनि, घरका बुढापाखाहरूसँगै बसेर रामायणका कथाहरू सुन्दै मग्न थिएँ।
दिनहरू हप्तामा परिणत हुँदै जाँदा जानकी मन्दिर र मिथिलावासीहरूप्रतिको मेरो माया झनै बलियो हुँदै गयो। यो ठाउँ एक पर्यटकीय गन्तव्य मात्र थिएन। यो मेरो स्वर्ग बनेको थियो, एउटा आश्रयस्थल जहाँ म शान्ति, प्रेरणा र आफूभन्दा धेरै ठूला कुरासँगको सम्बन्धित भएकाे पाएँ।
अब चाहिँ घर फर्किने समय हुन लागेको थियो। अन्तिम पटक जानकी मन्दिर दर्शन गर्ने इच्छा उत्पन्न भयो। दर्शनपछि जानकीधाम छोड्दा मन तितो-तितोजस्तो हुन लाग्यो। अन्तिम पटक अग्लो ढोकाबाट हिँड्दा मिथिलाको टुक्रा बोकेर हिँडें।
मैले जीवन्त रङ्गहरू, मधुर गीतहरू, मानिसहरूको न्यानोपन र यस पवित्र स्थलको हरेक कुनामा फैलिएको अटल विश्वास बोकेको थिएँ।
जानकी मन्दिरले नयाँ संसार, समृद्ध संस्कृति, परम्परा र अटल भक्तिको संसारमा मेरो आँखा खोलेको थियो। यसले मलाई विश्वासको शक्ति, समुदायको महत्त्व र उद्देश्यका साथ बाँचेको जीवनको सुन्दरता देखाएको थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा यसले मेरो मनमा अचम्मको भावना जगाएको थियो।
मलाई यो सम्झना गराएको थियो कि संसारमा जादू र भगवानप्रतिकाे माया, स्नेह, सम्मान र आदर साँच्चिकै प्रेरक रहेको छ। जसलाई हामीले भक्तिको हृदयले खोज्यौँ भने पत्ता लगाउन सक्छौँ कि!
यो मेरो लागि रोमाञ्चक यात्रा मात्र बनेन। यसले कला, सभ्यता, संस्कृतिकाे अनुपम धराेहरकाे मिठास चखायाे।
म कुन धरातलमा रहेछु। मेराे पहिचान के हाे? थाेरै भए पनि जान्ने अवसर दियाे। यो सीता नगरीको अनुभव मैले मेरो हृदयमा सधैँको लागि कोरेर राख्नेछु।
याे अनुपम अनुभूति के शब्दमा कैद गर्न सकिएला र !
फगत प्रयास! प्रयास ! प्रयास !
फेरि पनि
प्रयास नै सफलताकाे जननी पनि हाे भन्छन् नि!
हाेइन र!