सिल्भर जुब्ली (पच्चिस वर्ष), गोल्डन जुब्ली (पचास वर्ष), डाइमण्ड जुब्ली (साठी वर्ष) को त कुरै छाडौं, जम्मा एक वर्षको सहयात्रालाई पनि के के न उपलब्धि र ठूलो खुसी ठानेर प्रत्येक वर्ष म्यारिज एनिभर्सरी मनाउने पश्चिमा मुलुकहरूको संस्कृतिको हुबहु नक्कल गर्ने चलन बढ्दो छ।
तर वर्तमान समयमा हजुरहरूको वैवाहिक सहयात्रा बहत्तरौं वर्षमा प्रवेश गरिरहँदा पनि आफ्नो उपलब्धि र खुसी सन्तानहरूमा मात्र खोज्नुभयो न कि वैवाहिक वर्षगाँठहरूमा।
सम्बन्ध विच्छेदको दर उच्च भएका देशमा एक वर्षीय सहयात्रा ठूलो उपलब्धि होला तर सातौं जन्मको वाचा गरेर अन्जान उमेरबाट सुरू भएको हजुरहरूको सहयात्रा बहत्तर वर्षमा प्रवेश गरेको कुरा यो लेख पढेर हजुरहरूका पनातिहरूले फोनमा ह्याप्पी सेभेन्टी सेकेन्ड इयर म्यारिज एनिभर्सरी जिजु हजुरबुवा जिजु हजुरआमा भनेपछि वा उनीहरूले भनेको नबुझे नाति नातिनीले हजुरबुवा हजुरआमा हजुरहको वैवाहिक सहयात्रा बहत्तर वर्ष प्रवेश गरेकोमा बधाई तथा शुभकामना भनेपछि पक्कै बुझ्नु हुनेछ हजुरहरूको वैवाहिक सहयात्राले नेपालीको औषत आयू पूरा गर्यो।
हो र? कति छिटो! योभन्दा बढी हजुरहरूको प्रतिक्रिया केही हुने छैन पोहोर परारको प्रतिक्रिया जस्तै। न कुनै उपलब्धिको अनुभूति न कुनै अस्वाभाभिक खुसी तर यसपालिको वर्षगाँठ ऐतिहासिक हुनेछ किनकि कुनै पनि देशका जनताले त्यो देशको औषत आयु जति वैवाहिक सहयात्रा पूरा गर्नु धेरै खुसी र उपलब्धि हो।
२०७९ चैत ३० मा सार्वजनिक महालेखा परीक्षकको आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन अनुसार नेपालीको औषत आयू ७१ दशमलव एक रहेको छ।
नेपालको राष्ट्रिय जनगणना अनुसार नेपालीको विवाहको औषत उमेर १९ वर्ष रहेको छ। केटीको विवाहको औषत उमेर अठार वर्ष र केटाको विवाहको औषत उमेर २१ वर्ष रहेको छ। दुवै तथ्याकंलाई आधार मान्दा नेपालीको वैवाहिक सहयात्राको औषत समय करिब ५१ वर्ष तर हालका वर्षहरूमा नेपालमा बढ्दै गइरहेको सम्बन्ध विच्छेदको कारण वैवाहिक सहयात्राको समय पनि कम हुँदै गएको छ।
नेपालीको वैवाहिक सहयात्राको समयभन्दा करिब चालिस प्रतिशत बढी समय हजुरहरूको वैवाहिक सहयात्राले पूरा गर्नु अर्थात् हजुरहरूले सँगसँगै बिताउन पाउनु पनि हामी सबैको लागि गर्वको विषय हो।
वर्षको एकपटक आउने वैवाहिक वर्षगाँठको दिन पनि याद नहुने हजुरहरूलाई हामी सबै सन्तानहरू छोरा, छोरी, नाति, नातिनी, पनाति, पनातिनीहरूको जन्मवार समेत याद हुन्छ।
हजुरहरूको उमेर तीन अंकीय हुनै लागेको आज दिनमा पनि। जन्मवार यो गर्न हुन्छ यो गर्नु हुन्न। हामीलाई अराई सिकाई गरिरहनु हुन्छ। यी मान्यताहरू सत्य असत्य जे भए पनि हजुरहरूको हामी सन्तानप्रतिको माया नै पोखिएको हो सन्तानप्रति।
सन्तानहरूलाई कुनै बाधा नहोस् प्रगतिका बाटा सहज हुन् र उनीहरूलाई कुनै दु:ख नहोस् भनेर।
कपाललाई कालो रंग दिने मेलालिन हर्मोन सकिएर कपाल कपास बने पनि छालालाई जवान राख्ने कोलाजिन सकिएर अनुहारमा जति उमेर उतिनै धर्का देखिए पनि सायद हजुरहरूको दिमाग चाहिँ जवान नै छ। त्यसैले तटस्थ र सक्रिय जीवनयापन गरिरहनु भएको छ आजको दिनसम्म पनि।
भनिन्छ नि उमेर पुगेपछि मन र शरीर छुट्टिन्छन् अर्थात् मनको इच्छा पूरा गर्न पुरानो हुँदै गइरहेको शरीरले साथ दिँदैन तर यो उमेरमा पनि स्वस्थ जीवनयापन गरिरहन मन लागेका कुराहरू पूरा गर्न सम्भव भएको एक असल जीवनसाथीको साथ पनि प्रमुख कारण हो।
जवान परिपक्व भएर एक अर्कालाई चिनेर बुझेर केही समय सँगै बिताएर मात्र बिहे गर्दा पनि वैवाहिक सम्बन्ध दश वर्ष टिक्न पनि गाह्रो भएको आजकालको जमानाका जोडीभन्दा आफैंले आफैंलाई नचिन्ने बाल्यकालमै जोडिएको हजुरहरूको सम्बन्ध अत्यन्त सुमधुर बितिरहेको छ अर्थात् भगवानको वरदान पितृहरूको आशीर्वाद प्राप्त छ।
विवाह गर्नु पार्ट अफ लाइफ हो भने विवाहित जिन्दगी खसीसाथ जिउनु आर्ट अफ लाइफ हो। आर्ट अफ लाइफ सबैले हजुरहरूसँग सिकून्।
हजुरहरूको जोडी सायद स्वर्गबाट तय भएको पूर्वजुनिबाटै जोडीएको सम्बन्ध हो नत्र यति अविरल यति सुमधुर कसरी सम्भव छ?
हजुरहरूको सम्बन्ध जुन युगयुग रहिरहोस्। पच्चिस वर्षको सहयात्रासँगै हुन त अहिलेका पुस्तालाई गाह्रो परिरहेको वर्तमान अवस्थामा हजुरहरूको सम्बन्धबाट सबैले सिकून्।
अनि नि हजुरबुवा हजुरबुआमा तन बूढो भए पनि मन बूढो हुन्न भन्छन् युवा अवस्थमाको रौष के कति बाँकी रहन्छ यो उमेरसम्ममा।
म हजुरहरूसँगै भेटेर कुरा गर्नेछु अर्को लेखमा हजुरहरूको अनुभव लेख्नेगरी। अहिलेलाई हजुरहरूको पनाति पनातिनीहरूकै शब्द सापटी मागेँ- हेप्पी सेभेन्टी सेकेन्ड म्यारिज एनिभर्सरी। बहत्तरौं वैवाहिक वर्षगाँठको धेरै धेरै शुभकामना।