जसोतसो मास्टर सकियो! खुसी आफ्नो ठाउँमा छ तर मन भित्रैबाट प्रश्नले सताइराख्यो 'अब के गर्छस्, केटो?'
सायद म एक्लोको मात्र प्रश्न होइन यो, मसँगै मास्टर सकेका हजारौं बीच पनि यही अन्यौलता छ!
उता घरका खुसी छन् खुसीभन्दा धेरै आशावादी। अब छोरोले केही गर्छ भन्दै बेग्लै खुसी छन्, खुसी हुनु स्वाभाविक हो। ममाथि घर परिवारको २५ वर्षको लगानी छ। लगानी गरेपछि प्रतिफलको आश कसलाई हुँदैन?
यता पढ्दापढ्दै आधा उमेर सकिन्छ, उता बाआमाको उमेर पनि ढल्किँदै गइराखेको हुन्छ। पढाइ नसकिँदासम्म त पढ्दैछु भन्ने हुन्छ तर जुन दिन पढाइ सकिन्छ जिन्दगीको नेक्स्ट लेभलको तनाव सुरू हुन्छ।
बाआमा बाँचुन्जेल पैसा कमाएर इच्छा आकांक्षा पूरा गर्दिम् भनेर सोच्यो, सोझो हिसाबको कमाइले त्यो पनि भनाइमा मात्र सीमित हुन्छ। अनि लाग्दैन विरक्त, अनि लाग्दैन विदेश जान मन?
घरमा फोन गर्दा हालखबरपछि बर्सिने प्रश्न हो 'अनि अब के गर्ने सोच्दैछस्? यसो सानो तिनो केही भेटिन्छ भने गर्दै गर, आफ्नो खर्च पुर्याउँदै गर।'
हामी मध्यम वर्गीय परिवारको समस्या यही छ!
सानोतिनोमै अल्झेर आफ्ना अरू सपना बिर्सिनु पर्ने! खान लगाउन पुग्ने कही कतै केही गरौं भन्दा पाइला पछाडि सार्ने! जुन ठाउँमा छौं त्यही नै पिल्सिनुपर्ने, ठ्याक्कैभन्दा कुवाको भ्यागुतो जस्तो जिन्दगी!
बाटोमा कोही चिनेको भेटियो भने 'के छ के गर्दैछस् आजकल, पढाइ सक्कियो होलान्त?' भन्दै मुटु च्वास्सै पार्छन्! बिरालोले बाटो काटेको त बहाना हो, दिन बिगार्दिने त यिनीहरू हुन्! अब त बाटामा हिँड्दा नि कोही भेटिहाल्छ कि भन्दै डराउँदै हिँड्न पर्ने स्थिति छ।
अर्कोथरि हुन्छन्, 'कति पढेको अब त अलि अलि कमाउनु पर्यो' भन्नेहरू। पैसा अलि अलि किन? दिन आएसी टन्नै कमाउला। यो व्यक्तिगत कुरामा कति चासो ल्याएको? पैसा कमाउन थालेको हेर्न सकिन्छ त?
ल मैले भोलि पैसा टन्नै कमाइहालें भने, आज बाटा बाटामा केरकार गर्नेहरू भोलि भेट हुँदा बोल्नै छाड्छन्। अनि २/४ जना बसेर कुरा काट्न थाल्छन्। २/४ पैसा के कमाउन थालेको थ्यो, मान्छेलाई मान्छे गन्दैन भन्दै। तपाईं भ्रममा हुनुदो रैछ, म पैसा नकमाउँदा नि तपाईंलाई मान्छे गन्दिनथें, भोलि कमाउन थालेपछि पनि गन्दिनँ। समाजमा वितृण्षा जगाउने, रिस डाहा गर्ने समाज भड्काउने मान्छेलाई म कसरी मान्छे गनूम्?
बुढा, तिम्रो छोरा केटीको चक्करमा परेर जिन्दगी ध्वस्त पार्न आँटेको छ, उता ध्यान देऊ, बुढेसकालको लठ्ठी बचाऊ। अब त कसैले के गर्छस् अब पढाइ सकियो भनेको सुन्दा नि, बे गर्छु खै छोरी देऊ तिम्रो भन्दिन मन लाग्छ!
ठिक छ अब त म पनि जिम्मेवारी बहन गर्ने परिस्थितिमा छु। केही गरौं यतै केही भेटिन्छ कि मेरै फिल्डको काम भन्दै यताउता भन्दै खोजेँ। सिर्फ पढाउनेबाहेक अन्य विकल्प देखिएन।
वास्तवमा भन्दा मैले शिक्षक पेशालाई नराम्रो चाहिँ मान्दिनँ। कक्षा कोठामा उपस्थित सबैलाई छर्लङ्गसँग बुझाउनु एउटा कला हो जुन कला सबैसँग हुँदैन। के थाहा यो कला मसँग पनि छैन कि?
तर मेरो गुनासो हाम्रो समाजप्रति छ। के गर्दैछस् आजकल भनेर कसैले सोध्यो भने- 'फलानो फलानो ठाउँ पढाउँछु' भन्नुस् त अनि उसको जवाफ के आउँछ थाहा पाइहाल्नु हुन्छ।
गाउँ घरतिर कुरा काट्न सुरू हुन्छ! तेत्रो पढेर पनि लास्टमा पढाउन पो थालेछ भन्दै!
म आफूलाई जानेको कुरा सिकाउन रमाइलो लाग्ने मान्छे, समाजले शिक्षक पेसालाई काम जस्तो नै गन्दैन त, यसमा मेरो के दोष? उस्तै परे उदाहरण दिँदै 'फलानोको छोरोले तेत्रो पढेर उता उति भौंतिरिँदैछ' त्यही भएर पढेर काम छैन भन्दै हिँड्छन्! बुढा न आफू पढ्न सके न तिन्का छोराछोरीले पढ्न सके, अर्काको छोराछोरीले पढेको देखेर डाहा गर्न त भए नि?
आजकाल यसै कारण साथीभाइले महिनौंपछि भेट्न बोलाउँदा नि भेट्न मन लाग्दैन! भेट्यो कि के छ प्लान अब भन्दै केरकार गर्छन्! अब कसैले 'के गर्छस् अब' भनेर सोध्यो भने पख तिमीहरूलाई मेरो जन्ती जानेको लिस्टबाट नाम काट्दिन्छु!
साँच्चिकै भन्नुपर्दा आखिर गर्ने चाहिँ के अब? लगानी गरौं पुँजी छैन, ॠण ल्याएर कतै काम गरौं भनौं बैंकले पत्याउँदैन। कृषि गरौं हामी जस्ता किसानका तरकारी बारीमै कुहिरहेका छन्। कतै पढाउँछु भनेर आवेदन दियो, अन्तर्वार्तामै सीमित बनाउँछन्, अनि जागिर चाहिँ आफ्नै चिनेजानेकाहरूलाई सुम्पिन्छन्। हामीजस्ता पहुँच नभएकाहरू चाहिँ यो देशमा के गर्नु?
यसको उत्तर भेटाउन नसकेर वर्षौं हजारौंको संख्या विदेसिन बाध्य छन्। भोलिको दिनमा सायद म पनि तीमध्ये एक हुन सक्छु!