वर्षदिनभरि जुन विद्यार्थीले दिनुसम्म दु:ख दिएर सताइरहे, उहीँ विद्यार्थीले हल्लाएका बिदाइका हात र त्यो झ्याप्प अंगालोले जतिसुकै निष्ठुरी र ढुंगाको मनलाई पनि पगाली दिँदो रहेछ। त्यसमा हामी शिक्षकको लागि एउटा विद्यार्थीको खुसी, माया र प्रगति नै सबथोक अनि अमूल्य सम्पत्ति हो।
एउटा मानवमा जति रिस घमण्ड भए पनि त्यसको दस गुणा बढी सहनशीलता हुन्छ। उसमा छिनमै पग्लिन सक्ने अथाह शक्ति पनि हुन्छ र क्षणभरमै पग्लिदिन्छ, जसरी तातो घाममा राखेको घ्यू पग्लिन्छ। जुन मानिसमा मानवता हुँदैन त्यो मानिस नै होइन। हामी कस्तो दानव जस्तो सजिलै भनिदिन्छौँ तर सबै दानवमा अवगुण नहुन सक्छन्। एउटा मानव सफल हुनलाई सहनशीलता त हुनैपर्यो।
एक शिक्षकलाई उसको विद्यार्थी अत्यन्त प्रिय हुन्छ। शिक्षकले आफ्नो विद्यार्थीको हरेक अवगुणलाई सदैव माफी दिन्छ र विद्यार्थीले पनि आफ्नो शिक्षकसँग कहिल्यै रिस राख्न सक्दैन, जति गाली गर्यो कराए पनि छिनमै शिक्षकसँग बेरिन आइहाल्छन्। कस्तो निश्चल प्रेम यो।
यस्तो अनुभव लिइरहँदा आफ्नो शिक्षकले आफूलाई गरेको माया अझै ताजा भएर आउँछ। तर अहिलेका बच्चाले गर्ने व्यवहार र हामीले गर्ने मायाको व्यवहार फरक थियो। हामीले मनमै राख्थ्यौं। शिक्षकसँग आँखा जुधाउन सक्दनथ्यौं। अहिलेका बच्चा झ्वाम्मै अंगालोमा बेरिन आउँछन्।
विद्यार्थीले गरेको गुनासोप्रति एउटा शिक्षक सदैव चिन्तित हुन्छ। सदैव उसको सफलताको सपना बुनि नै रहन्छ। किनभने जुनसुकै विद्यार्थी जुनकुनै विषयमा पनि सफलता चुम्छ, एउटा शिक्षकलाई आफैंले संसार जितेको आभास हुन्छ।
मैले दिएको शिक्षामा मेरा बच्चाहरूले हजारौं गुणा थपेर महसुस गर्न सकून्। त्यो मेरा लागि जित हुनेछ, धर्म हुनेछ र संसारको सबैभन्दा अमूल्य सम्पत्ति हुनेछ। मेरो महिनादिनको तलब त मेरो लागि क्षणिक आनन्दको दबाइ मात्र हो जसले सिर्फ क्षणिक आनन्द दिन्छ। मेरा कारण कसैमा सफलता मिल्छ नि, त्यो जीवन्तसम्म रहिरहन्छ। त्यहीँ नै मैले कमाएको अनमोल सम्पत्ति हो।
मैले आज जुन संर्घष, मेहनत र परिश्रम गरिरहेकी छु, त्यसमा मभन्दा मेरो कारण अरुमा आएको सकारात्मक परिवर्तन नै मेरो जीवनको सफलता हुनेछ। शिक्षकले आफ्नो मायाको पोको आफ्ना विद्यार्थीमा सुम्पेको हुन्छ। यो मेरो अनुभवले मलाई दिएको अर्को मिठो अनुभव हो। सबैको फरक-फरक निष्कर्ष आउन सक्छ।
यो संसारमा मायाको रुप पनि कति हो कति। आफ्नो महसुस जुन चिजमा पनि हुन्छ। जुन चिजमा पनि आफ्नोपन हुने र आत्मीयताको भाव आइहाल्ने। आफूसँग भइसकेको कुरालाई हामीले कहिल्यै पनि आफूबाट टाढा नहोस् भन्ने सोच्छौँ। यो माया पनि कस्तो अचम्मको हुने क्या, सम्झेर पनि अचम्म लाग्ने। एउटा विद्यार्थी स्कुल तथा कलेज परिवर्तन गरेर जानु टाढाको कुरा, अर्को कक्षामा पुग्दा गर्व सँगसँगै मनमा खिन्न हुन्छ किनकि उसले छोडेर गएको आभास हुन्छ।
शिक्षकलाई आफ्ना विद्यार्थी सदैव प्रिय हुन्छन्। विद्यार्थीले अंगालो मार्दै बोलेका शब्दले उसका अवगुणहरू सबै बिर्साइदिन्छ। जब रुँदै अंगालो मार्छन्, साँच्चिकै त्यो क्षणले मन अत्यन्त भावुक बनाइदिन्छ। जीवनका भोगाइ पनि कति अनौठा अनौठा! कति अचम्म छ, सोच्दा अनि भोगाइमा पनि।
आफूले गरिरहेको पेसाको म सदैव सम्मान गर्छु। किनकि यहाँ मैले सदैव सम्मान पाएकी छु। गोरक्ष निखिल ज्योति दिव्य विद्याआश्र विद्यालय परिवार, सहकर्मी साथीहरू तथा मेरा प्रिय विद्यार्थीहरूसँग बितेका ती मिठा पल, मैले पाएको माया र आदर सम्मान सम्झदा मन साह्रै आनन्दीत हुन्छ। कयौं यस्ता मिठा पलहरू छन् गनेर साध्य छैन।
यस्ता मिठा पलहरू मध्यको त्यो अविस्मरणीय क्षण हो मेरो कक्षाको बच्चा पेम्बा, जसले आमाको नाम लेख्नु पर्ने ठाउँमा मेरो नाम लेखेकी थिइन्। उनले गरेको त्यो माया सम्झेर उनलाई अंगालोमा बेरेर खुब रोएकी थिएँ। आफूले ल्याएको खाजाको सानो भाग लिएर मेरो कक्षा बाहिर मलाई कुरेर बसेका ती मेरा बच्चाहरू मेरो लागि कति प्रिय थिए त्यो वर्णन गरी साध्य नै छैन। जसको मूल्य तिर्न सक्ने क्षमता ममा छँदा पनि छैन। जुन माया, आदर र सम्मानको म सदैव ऋणी हुनेछु।
म आफूले आफूलाई संसारकै भाग्यमानी व्यक्ति ठान्छु। किनकि आजसम्म मलाई कसैले पनि नराम्रो भनेको सुनेकी छैन। मेरो अनुपस्थितिमा भएको कुरामा म त्यति विश्वास गर्दिनँ र विश्वास गर्नु पनि उचित होइन। सदैव सबैले आफूलाई माया र आदर गरेको महसुस मात्र हुन्छ। सबैको यति धेरै माया नै मलाई जीवन जिउनको लागि प्रेरणा हो। मेरो अनुपस्थितिमा गरेको कुराले मलाई केही फरक पार्दैन।
कहिलेकाहीँ हामीले आफ्ना जन्मदाता जसलाई हामी जिउँदो भगवान मान्छौँ। उहाँका कुरा आफ्ना दिदीबहिनीसँग पनि साटासाट गरेका हुन्छौँ। चित्त कहिलेकाहीँ जोसँग पनि नबुझ्न सक्छ। त्यसलाई कुरा काटेको भन्न मिल्दैन। कुरा काटेको त्यस्तालाई भनिन्छ जसलाई आफ्नै सम्झेर दुःखसुख साटासाट गर्छौँ, उसले बीचमा नकारात्मक भूमिका खेलिरहेको हुन्छ। बिनासित्ती दुःखको खाडमा धकालिदिइरहेको हुन्छ। त्यो नै कुरा काट्ने खराब व्यक्ति ठहरिन्छ।
कहिलेकाहीँ कसैसँग दुःखसुख साटासाट गर्न पनि त मन लाग्छ। कति गुम्सिएका कुरा बाहिर निकाल्दा आनन्द प्राप्त हुन्छ। मान्छेको मन सदैव कहाँ एकनास हुन्छ र? यसरी मानिसको जीवन चलिरहेको हुन्छ। जसको भर नै छैन। चलिरहेको घडीको सुई कुन सेकेन्डमा गएर रोकिन्छ, जीवनको चक्र पनि त्यसरी नै रोकिन्छ। जन्मेपछि यही एउटा कुरा त सत्य छ, बाँकी सबै झुट र जीवन भोगाइका अनुभव हुन्छ।
शिक्षक विद्यार्थीको लागि जति महत्त्वपूर्ण हुन्छ, त्योभन्दा महत्त्वपूर्ण त एउटा शिक्षकको लागि विद्यार्थी हुन्छ। शिक्षकले विद्यार्थीको उज्ज्वल भविष्य खोजिरहेको हुन्छ जसले उनीहरूको भलाइको निम्ति रातदिन लागि परिरहेको हुन्छ र सुनौला सपना बुनिरहेको हुन्छ। विद्यार्थीको खुसी र सफलता नै उसको सबैभन्दा अमूल्य उपहार हुन्छ जहाँ उसको कर्तव्य र दायित्व लुकेको हुन्छ।
राम्रो विद्यार्थीको जति प्रशंसा हुन्छ, त्यसको दस गुणा चिन्ता सदैव कमजोर विद्यार्थीकै हुन्छ। किनकि उसले कसरी उसमा राम्रो हुन्छ? कसरी उसलाई एक सफल बनाउने सदैव पीर हुन्छ। आफ्नो चिजमा केही कमजोरी हुँदा कसैले छुस्स केही भनिदिओस् न, मन धमिलो र पिरो हुन्छ। संसारमा आफ्नो चिज किन सबैलाई कति प्रिय भएको होला?
म शिक्षण पेसामा लागेको वर्षौं बितिसक्दा पनि आफ्नो पेसामा गर्व महसुस हुन्छ। आजसम्मको मेरो धन सम्पत्ति भनेको विद्यार्थी तथा अभिभावकले दिएको माया र आदरसम्मान हो। मेरा विद्यार्थीले दिएका ती अमूल्य उपहार मेरो मन मन्दिरमा सजाएर राखेकी छु। जसको मूल्य नै अनमोल छ। न किन्न पाउँछ न त पाए पनि किन्न सकिन्छ। 'क' अक्षरबाट आज मलाई यो स्थानसम्म पुर्याउने आमाबुबादेखि सम्पूर्ण शिक्षकहरूलाई हृदयदेखि सदैव सम्मान अनि धेरै-धेरै मायासँगै पलपलमा सम्झिरहन्छु।
संयोगले म कक्षा एकमा पढ्ने बेलाको मेरो विद्यालयको प्रधानाध्यापक भुवन पौडेल सरसँग भेट भयो। उहाँ आफ्नो बारेमा जीवनका तितामिठा पलहरू सुनाउँदै हुनुहुन्थ्यो। म पनि त्यहाँ सामेल भएर उहाँका कुरा सुनिरहें। धेरै समय भएकोले सरले मलाई चिन्नु भएन। जब मैले मेरा बाल्यकालका ती मिठा पल सुनाएँ, म आज शिक्षक भएपछि थाहा भयो एउटा शिक्षकलाई आफ्ना विद्यार्थी कति प्रिय हुन्छ भनेर।
आफूले अनुभव साट्दा बुझ्न सकेँ, सर भनिरहँदा उहाँ खुसीले धेरै रुनुभयो। अहिले पनि सम्झेर आँखा भरिएर आउँछ। बाल्यकालका सबै शिक्षक र अहिले पनि म एउटा विद्यार्थी हो। मलाई उहाँहरूले गरेको मायाको खुब सम्झना आयो। धेरैसँग भेट हुँदा यस्तो अनुभव संगालेकी पनि छु। वर्षौंपछिको भेटमा पनि सम्मान घटेको हुँदैन, झन्-झन् बढेको आभास हुँदोरहेछ।
म आज शिक्षक सँगसँगै विद्यार्थी पनि हुँ जहाँ मैले धेरै नै अनुभव संगालेकी छु। कुनै नमिठा पलहरू पनि हुनसक्छन् तर ती न सम्झनामा छन् न त सम्झन नै चाहन्छु। सबैभन्दा राम्रो पेसा शिक्षण पेसा जसले अरुलाई ज्ञान दिन्छ। दिनभरिमा हजारौंको नमस्कार खान्छन्। कसले नमस्कार खान्छन् शिक्षकले जति? कसैले यस्तो भनिरहँदा आफू त धर्ती होइन आकाशमा उडिरहेको महसुस हुन्छ। कुनै दिन मन खिन्न हुने क्षण पनि नआउने होइन तर यो पेसा परिवर्तन गर्न न हिम्मत आउँछ न त साहस नै।
हाम्रो जमानाको शिक्षा र अहिलेको शिक्षामा कति धेरै परिवर्तन आएको छ। शिक्षा त उहीँ नै हो तर नयाँ प्रविधिको विकासले धेरै नै परिवर्तन आएको छ। हिजोको हाम्रो भोगाइ त आज मेरा बच्चाहरूलाई सुनाउँदा ती सबै एकादेशको कहानी भएको छ र आफैंलाई पनि अनौठो महसुस हुन्छ। अनौठा ती दिन र आजको यो नयाँ अनुभव लिन पाउँदा निकै गर्व महसुस हुन्छ। अहिले युरो स्कुलको शिक्षिका हुन पाउँदा पनि अत्यन्त हर्सित छु किनकि हाम्रो पालाको कुरा र अहिलेका बच्चाहरूले पाइरहेको सेवा सुविधा त आकाश पातालको फरक छ। यो सब प्रविधिले ल्याएको परिवर्तन हो।
थाहा छैन मैले माया दिएको अनुभव मेरा विद्यार्थीले गरेका छन् कि छैनन् तर मैले मेरा अभिभावक, विद्यार्थी र मेरो विद्यालय परिवार तथा सहकर्मी साथीहरूबाट सोचेभन्दा धेरै माया, आदर र सम्मान पाएकी छु।
आफूले जीवनमा हरेक सपना पूरा नभए पनि एउटा असल व्यक्ति र शिक्षक बन्न सकुँ। मलाई संसार देखाउने पूजनिय मातापिता, सदैव हौसला दिने घर परिवार, आफन्त तथा सहयोगी साथीभाइ सबैलाई ह्दयदेखि नमन। मेरा सम्पूर्ण गुरुहरूले दिएको माया र आर्शीवाद शिरमा राखेर हिँड्न पाउँ।