'श्रीमान्-श्रीमतीको झगडा परालको आगो' भन्ने नेपाली चर्चित उखान छ। तात्पर्य के हो भने परालको आगो एकैछिन बल्छ र निभ्छ। श्रीमान्-श्रीमती पनि केही समय झगडा गर्छन्, बोलचाल बन्द हुन्छ, फेरि तुरुन्त बोलिहाल्छन्। यही देखेर नै श्रीमान्-श्रीमतीको झगडालाई एकैछिन् बल्ने र निभ्ने परालको आगोसँग तुलना गरियो होला।
तर पछिल्ला दिनमा भएका केही घटना क्रमले मात्रै पनि उखानलाई असफल सावित गरिदिएको छ भने ती झगडामा अवोध बालबालिकाको समेत जीवन समाप्त पारिएका छन्। केही दिनको फरकमा भएका र संचारमाध्यममा आएका घटना क्रमका केही उदाहरण हेर्ने हो भने पनि यो तथ्य देखिन्छ।
घटना नं. १
श्रीमती र छोराको हत्या आरोपमा प्रहरी जवान पक्राउ– गत माघ २१ गते दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परे। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आफ्नी २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेका थिए।
नेपालगञ्जबाट श्रीमती आएकी छन् भनेर माघ २० गते राति कार्यालयबाट बिदा मागेर गएका उनले घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा श्रीमती र नाबालक छोराको हत्या गरे। २१ गते बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको बताइन्छ।
घटना नं. २
ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या– फागुन ३ गते दाङको घोराहीमा श्रीमानको गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका– १५, दामोदर चोकमा ड्युटीमा रहेको बेला श्रीमानको गोली प्रहारबाट मृत्यु भएको हो।
थापालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको बताइएको छ। तालिम केन्द्र नेपालगन्जमा कार्यरत झाँक्री फागुन ३ गते घोराही आएर थापाको हत्या गरेको थिए। श्रीमान्-श्रीमतीबीच विवादले सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटना नं. ३
आत्मदाहको प्रयास गरेकी महिलाको उपरचारको क्रममा मृत्यु– फागुन ४ गते आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडा घले गाउँकी माया रम्तेलको उपचारको क्रममा मृत्यु भयो। पाँच वर्षीया छोरीसहित शरीरमा पेट्रोल छर्केर आगो लगाई गम्भीर घाइते भएकी २८ वर्षिया माया रम्तेलको उपचारको क्रममा फागुन ९ गते प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो। घाइते छोरीको भने घटना भएको भोलिपल्ट मृत्यु भएको थियो।
श्रीमान् राजन अन्य महिलासँग सम्बन्धमा रहेको भन्दै गत फागुन ४ गते राति साढे ८ बजेको समयमा छोरी वर्षालाई आफ्नै शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।
घटना नं. ४
छोरालाई बाहिर पठाएर श्रीमतीसहित तीन जनाको हत्या– फागुन ९ गते काठमाडौंको सिताइलामा तीन जनाको हत्या भयो। सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका– ६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी विकले तीन जनाको हत्या गरेका थिए।
मृत्यु हुनेमा ३८ वर्षीया इश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन्। अनिसा इश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन्। इश्वरीले काजीसँग दोस्रो बिहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको बताइएको छ।
इश्वरीको अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले सामान किन्न बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ। कक्षा आठमा पढ्ने भनिएका ती बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले सामान लिन पठाएको र फर्केर आउँदा हत्या गरेका थिए।
आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन्। बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। हत्यापछि काजीले इश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका थिए।
यसमा समेत श्रीमती विवाहेत्तर सम्बन्धमा रहेको छोरालाई भिडिओ खिच्न लगाएर बताएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
माथि उल्लेखित पछिल्लो समय भएका केही घटनालाई मात्रै हेर्ने हो भने पनि पारिवारिक मनमुटाव हिंसा र हत्यामा परिणत हुँदै गएको देखिन्छ। यी घटनामा विवाहेत्तर सम्बन्धले बढाएको आशंका र मनमुटाव, डिभोर्स गरेर छुट्टिन खोजेको अवस्था नै प्रारम्भिक रुपमा प्रमुख कारण देखिएका छन्। नेपाली उखानले भने जस्तै श्रीमान्-श्रीमतीको झगडा त केही क्षण वा दिनको लागि हुनुपर्ने हो तर त्यो भइरहेको छैन।
मानिस स्वभावैले स्वतन्त्र प्राणी हो। स्वतन्त्रता सबैलाई मनपर्छ, तर स्वतन्त्रताभित्र कर्तव्य र जिम्मेवारी छायामा पर्यो भने त्यसले अर्कै अवस्था सृजना गरिदिन्छ। घरेलु हिंसाका घटना पहिले पनि भएकै थिए, अहिले पनि भएका छन्। पहिलेको तुलनामा अहिले यस्ता घटना बढेका हुन् वा यस्ता घटना धेरै बाहिर आएका कारण बढेको जस्तो देखिएको हो। यो बहसको विषय हुनसक्छ। पहिले यस्ता घटना नहुने होइनन्। घटना भएकै कारण गन्धर्व दाइले सारङ्गी रेट्दै गीतको माध्यमबाट गाउँ–गाउँ यस्ता खबर पुर्याउँथे। कुनै बेला प्रकाशित हुने सत्य कथा, तथ्य कथा जस्ता म्याग्जिनले पनि पहिलेदेखि यस्ता घटना भइरहेको भन्न बल पुर्याउँछ।
यस्ता घटनामा संलग्न मानिसको मानसिक स्वास्थ्यको अवस्था पनि महत्पूर्ण हुने मानसिक रोगका वरिष्ठ विशेषज्ञ डा. पुष्पप्रसाद शर्माको तर्क छ। डा. शर्माको भनाइलाई आधार मान्ने हो भने यसरी हत्यासम्मको जघन्य अपराध गर्ने व्यक्ति डिप्रेशनको शिकार पनि भएको हुनसक्छ। कडा खालको मानसिक समस्याका कारण कुनै घटनालाई लामो समयसम्म लिइराख्ने, तनाव व्यवस्थापन गर्न नसकेर तुरुन्त उग्र हुने प्रवृत्ति पनि मानिसले देखाउने हुँदा यसलाई मानसिक स्वास्थ्यसँग जोडेर पनि हेर्नुपर्नेमा उहाँको जोड छ।
नेपाल प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले वेबसाइटमा राखेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा मात्रै घरेलु हिंसाका १७ हजार घटना भएको छ। विभिन्न प्रकारका १० वटा वर्गमा विभाजित अपराध जम्मा २१ हजार ३ सय ४२ रहेकोमा घरेलु हिंसा १७ हजार वटा रहेको हो। २१ हजार बढी अपराधमा १७ हजार घरेलु हिंसाको मात्र हुनु एक डरलाग्दो तथ्यांक हो। पछिल्लो समयमा विशेष गरी श्रीमान्-श्रीमतीबीच सामान्य विवाद पनि हत्यामा परिणत हुँदै गएको हालैका घटनाले पनि देखाउँछ। त्यसमा अबोध बालबालिकाले पनि अनाहकमा ज्यान गुमाउनु पर्ने र टुहुराटुहुरी हुनुपर्ने अवस्था सृजना भएको छ।
माथि उल्लेखित चार घटनामा चार जना नै अबोध बालबालिकाले ज्यान गुमाएका छन् भने हाँसखेल गर्नुपर्ने कतिपय बालापन अभिभावकविहीन अवस्थामा पुगेका छन्। श्रीमान्-श्रीमतीबीच सामान्य ठाकठुक नहुने सायदै होलान्। तर सामान्य झगडा पनि हिंसामा परिणत हुन पुगेका घटना समाज देशको लागि पक्कै पनि राम्रो होइन। बढ्दो सामाजिक संजालको प्रभाव, देखावटी, बनावटी, एकै व्यक्तिसँग खुसी हुन नसक्ने अवस्था, स्वतन्त्रता खोज्ने प्रवृत्ति आदिका कारण पनि यस्ता घटना भएको हुन सक्छन्। पछिल्लो समय विवाहेत्तर सम्बन्धको आशंकाले पनि घटना हिंसात्मक बन्न पुगेका छन्।
बढ्दो शहरीकरण, मानिसका असीमित चाहना तथा आवश्यकता, कर्तव्य र जिम्मेवारीविहीन स्वतन्त्रताको खोजी आदिका कारण पनि मानिसहरूमा नकारात्मक सोच हावी हुँदै गएको छ। पछिल्लो समयमा विवाहेत्तर सम्बन्ध बढ्दै गएको पनि देखिन्छ। अर्कोतर्फ आफ्नो श्रीमान् वा श्रीमती अर्को केटी वा केटासँग सामान्य बोलचाल गरेको पनि देख्न नसक्ने अवस्थामा यसले थप शंका उब्जाएर घटना हिंसात्मक बनेका छन्। यस्ता घटना बढ्दै जाँदा सिंगो मानव समाज र सभ्यतालाई असर पुर्याउँछ। यसको समाधानका लागि व्यक्ति स्वयम् सचेत हुने हो।
रोकथामका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमको पनि उत्तिकै जरुरी हुन आउँछ भने कार्यालयहरूमा पनि तनाव व्यवस्थापनका कक्षा र मनोपरामर्श पनि उत्तिकै जरुरी छ। यस प्रकारका घटना रोकथाम र न्यूनीकरणका लागि मानसिक स्वास्थ्य बारेको जनचेतना मनोपरामर्श, आवश्यकता र यथार्थ बीचको भिन्नता बारे पनि आम मानिसमा जनचेतना जगाउनु आवश्यक भएको छ।
(लेखक सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सह–प्रवक्ता हुन्।)