'यो लेख लेख्नुको उद्देश्य कसैलाई दोषी ठहर गर्नु नभई सरकारी निकायबाट प्रदान गरिने कुनै पनि कागजातहरू लिँदा राम्रोसँग चेकजाँच गरेर मात्र लिनुहोला ताकि भविष्यमा मैले जस्तो झमेला ब्यहोर्न नपरोस् भनेर जनचेतनाको लागि मात्र लेखिएको हो।'
नेपालको संविधानमा गाँस, बास, कपास, रोजगारीलगायत नागरिकले प्राप्त गर्ने मौलिक हकको लामो सूची छ। राज्यले नागरिकलाई अनिवार्य रूपमा प्रदान गर्छु भनेर संविधानमा वाचा गरेको मौलिक हकहरूमध्ये अधिकांश बाचाहरू, पूरा गर्न सकेको छैन।
सरकारले रोजगारी सिर्जना गर्न नसक्नु सरकारको कमजोरी रहने नै भयो। त्यसमाथि भएका सार्वजनिक संस्थान र सरकारी निकायमा पनि राजनीतिक दबाब र प्रभावले आफू निकटका मान्छे भर्ती गरिन्छ। उपयुक्त र इमानदार मान्छेले अवसर पाउने अवस्था छैन। प्राइभेट सेक्टरले केही थोरै मानिसलाई रोजगारीको अवसर प्रदान गरे पनि पर्याप्त मात्रामा गर्न सकेको छैन।
व्यक्ति आफैंले पनि स्वरोजगारको निम्ति लगानी गर्न बैंकले प्रदान गर्ने ऋण लिनको लागि झन्झट उस्तै छ। केही रकम बैंकले पत्याइहाल्यो भने पनि व्यवसाय गरेर लगानी सुरक्षित हुने वातावरण छैन।
दैनिक हजारौंको संख्यामा मानिस विदेश जानुले निकट भविष्यमा नै उत्पादित सामग्री उपभोग गर्ने मान्छेको अभाव हुने देखिन्छ। अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति नहुँदा सानो लगानीमा खुलेका स-साना उद्योगहरू धमाधम बन्द हुँदै गइरहेका छन्। लगानी डुब्ने डरले हालको अवस्थामा जोखिम उठाइहाल्ने आँट कसैसँग छैन।
कृषिमा केही आत्मनिर्भर देखिएता पनि भारतबाट निर्वाध रूपमा भित्रिने तरकारी र फलफूलले नेपाली बजार छपक्कै ढाक्छ। नेपालमा उत्पादन गर्न लाग्ने लागत बराबरको मूल्यमा भारतीय व्यापारीले भारतबाट ल्याएको तरकारी र फलफूल बेचेर नाफा कमाएर लैजान्छ। कृषिमा अनुदान नहुनु, युरिया मलको अभाव र पर्याप्त मात्रामा सिँचाइको सुविधा उपलब्ध नहुनु कृषिका समस्या हुन्।
यी र यस्तै निराशाले अरूलाई जस्तै मलाई पनि छोयो। ब्याचलर तेस्रो वर्ष पढ्दै गर्दा, विदेश जाने सोच पलायो। विस्तारै सोच सपनामा परिणत भयो र जापान जाने सपना बोकेर राजधानीको एउटा कन्सल्टेन्सीमा जापानिज भाषाको कक्षा लिन थालेँ।
केही समय भाषा पढेपछि कन्सल्टेन्सीले पासपोर्ट, सर्टिफिकेटलगायत अन्य डकुमेन्टहरू माग्यो मैले भने बमोजिम सबै लगेर बुझाएँ। ब्याचलर पढ्दै गरेको हुनाले कलेजबाट 'रनिङ लेटर' लेखेर बुझाउनुपर्ने भयो त्यो पनि बुझाएँ।
केही महिना पढेपछि जापानिज भाषाको 'N5' परीक्षा दिएँ। रिजल्टमा राम्रो नम्बर ल्याएर पास भएँ। बल्ल जापान जाने सपनाले पहिलो खुड्किलो पार गरियो भन्ने लाग्यो।
मसहित चार जना साथीहरूले एउटै स्कुलमा जाने निधो गरेर 'जुन/जुलाइ इन्टेक' को लागि एकैसाथ अप्लाई गरियो र रिजल्टको पर्खाइमा बसियो।
इन्टरनेटको माध्यमबाट गुगलमा आफू जाने स्कुल, बस्ने होस्टल, वरपर रहेका पार्क, घुम्ने ठाउँ, नजिकको समुन्द्री तटीय क्षेत्र, रेल स्टेसन, सुपरमार्केट, बाटोघाटो, नजिकको रेष्टुरेन्ट, इत्यादिको बारेमा खोजबिन गरेर साथीहरूबीच ग्रुपमा कुराकानी हुन थाले। किनमेल गर्ने सामानको लिस्ट नै तयार पारियो। गाउँ, टोल, छर-छिमेक, साथीभाइ, आफन्तहरूसम्म कुरा पुगेर फोन सँगसँगै शुभकामना, शुभयात्रा र बधाई आउन थाल्यो। मैले रिजल्ट आउन बाँकी भएकोले जाने निश्चित नभइसकेको जानकारी गराएँ।
एकदिन बिहानै कन्सल्टेन्सीबाट फोन आयो। हजुरको एजुकेसनमा समस्या देखाउँदै क्यान्सिल भएको छ। म हतार-हतार कन्सल्टेन्सी पुगेँ। हजुरको प्रोभिज्नल सर्टिफिकेटमा 'कन्ट्रोलर अफ एक्जामिनेनल' को सहीछाप रहेनछ। हामीले पनि याद गरेनौं हाम्रो पनि कमजोरी रह्यो। त्यसैले हजुरको सिओई आएन। एउटै स्कुलमा अप्लाई गरेको मबाहेक अरू तीन जना साथीको आयो मेरो आएन अर्थात् मेरो जापान जाने यात्रा रोकियो।
म छाँगाबाट खसेकोझैं भएँ, स्नातक तहमा भर्ना भएर तेस्रो वर्ष पढ्दै गरेको विद्यार्थी, भर्ना गर्दा होस् वा त्यसपछिका यी तीन वर्षमा कलेजले कहिल्यै प्रोभिज्नल सर्टिफिकेटमा सहीछाप छैन भनेर जानकारी गराएन।
सरकारले प्रदान गर्ने कागजात त्यो पनि शैक्षिक प्रमाणपत्र जस्तो संवेदनशील चिज सहीछापबिना वितरण गर्यो होला भनेर, मैले कल्पना समेत गरेको थिइनँ। जापान क्यान्सिल भएको केहीदिनपछि राष्ट्रिय परीक्षा बोर्ड सिनामंगल पुगेर सर्टिफिकेटमा सहीछाप गरिदिन आग्रह गरें।
एक जना कर्मचारीले केहीबेर बस्दै गर्नुहोस, भनेर मैले दिएको सहीछाप बिनाको सर्टिफिकेटमा सहीछाप गरेर ल्याइदिनु भयो। सर्टिफिकेट लिएर कोठा बाहिर निस्कने बेलामा भनेँ- 'हजुरहरूको कारणले मेरो विदेश यात्रा रोकियो अब आइन्दा यस्तो लापरबाही नहोस् मैलेजस्तो अरूले दु:ख झेल्न नपरोस्।'
उहाँले उल्टै मलाई थर्काउँदै भन्नुभयो- हजुर आफैं लिन आउनु भएको रहेछ। सर्टिफिकेटहरू राम्रोसँग चेकजाँच गरेर लैजानु पर्थ्यो। यस्तै हो, कहिलेकाहीँ मानवीय त्रुटि हुन्छ।
मैले थप सवाल-जवाफ गर्न चाहिनँ किनकि कारण जे सुकै भए पनि, परिणाम मेरो जापान यात्रामा पूर्णविराम लागेको ताजा यथार्थ मेरो सामुन्ने थियो।
राष्ट्रिय परीक्षा बोर्डबाट बाहिर निस्कँदै गर्दा, गौतम बुद्धको एउटा भनाइ याद आयो - 'तिम्रो सम्पूर्ण दु:खको कारण तिमी आफैं हौ!'
त्यसदिन मैले जापान यात्रामा पूर्णविराम लाग्नुमा आफैं दोषी भएको स्वीकार गरेँ।