इलामको टुँडिखेल चौरको कान्लाबाट घाम तल झर्दै थियो। महिला फुटबल प्रतियोगिताका लागि अभ्यास गरिरहेका खेलाडीहरू धमाधम ब्याग प्याक गर्दै थिए। स्टेडियमबाट हेरिरहेका दर्शकहरू पनि एकाएक टुँडिखेलबाट निस्किँदै थिए।
एकैछिनमा टुँडिखेल रित्तो भयो। बाँसका प्यारापिट मात्र देखिन थाल्यो। त्यति बेलासम्म घाम अस्ताइसकेको थियो।
शनिबार भएता पनि इलाम सदरमुकाम बजारमा रौनक थियो। टुँडिखेल नजिकैको नाङ्लो क्याफेमा गीत घन्किरहेको थियो। सँगै रहेको चटपटे स्टलमा मान्छेको भीड बढ्दै थियो।
इलाम बजारमा पाइला राखेको एक-आधा घण्टा मात्र भएको थियो। दिनभरिको यात्रामा थकानसँगै भोक लागिरहेको थियो। केहीबेर बजार घुमेपछि जे भेटिन्छ त्यही खाने योजनामा थियौं।
सदरमुकाममा खाने होटलको कमी हुने त कुरै भएन। तर पनि त्यहीँको केही विशेष परिकार खाने इच्छा लाग्यो। हेरेँ, वरिपरि खास त्यस्तो केही देखिनँ।
उकालो हिँड्दै थियौं- एक होटलमा सेकुवा बनाइरहेको देखेँ।
‘पूर्वमा बंगुरको सेकुवा र तोङ्बा नखाई त पूर्व आएको के मज्जा भो र!’
ती होटलकी दिदीलाई सोधेँ- ‘दिदी यहाँ च्वाँचेको सेकुवा पाइन्छ?’
दिदीले छोटो जवाफ दिनुभयो- यहाँ त पाइन्न।
‘यतातिर कता पाइन्छ दिदी? पूर्व आएको बेला खाम् न भनेर खोजेको।’
‘माथि मुना टिपिरहेको चोकमा पुगेर 'यता कता सेकुवा पाइन्छ' भनेर सोध्नुभयो भने जसले पनि भनिदिन्छ। साँच्चि कताबाट आउनुभएको नि!’
काठमाडौंबाट आएको जानकारी दिँदै दिदीलाई धन्यवाद भनेर त्यहाँबाट उकालो लाग्यौं।
चोकमा पुगेपछि यताउति हेर्यौं, कतै सेकुवा पसल देखेनौं।
माछामासु पसल नजिकै ठूलो ठाउँ थियो। त्यहीँ जुनेली रातको उज्यालोको आडमा दुई-चार जना साना भाइहरू फुटबल खेल्दै थिए।
मैले नजिकै गएर सोधेँ- भाइ यता कता च्वाँचेको सेकुवा पाइन्छ?
‘ऊ त्यहाँबाट (दाहिने हातको चोरी औंलाले केही तलको बाटो देखाउँदै) भित्रतिर गयो भने पाइन्छ,’ एक जना भाइले इसारा गर्दै भने।
भोकले पेटमा बेजोडले मुसा कुदिरहेको थियो। त्योभन्दा बढी पूर्वमा च्वाँचेको सेकुवा र तोङ्बा चाख्न मन आतुर थियो।
त्यही भाइहरूलाई 'मलाई कसैले त्यहाँसम्म देखाइदेऊ न' भनेर अनुरोध गरेँ।
एउटा ठूलो भाइले सानो भाइलाई 'जा दिदीलाई पुर्याएर आइज' भनेर अह्रायो।
ऊ पनि खुरूखुरू मलाई बाटो देखाउन आयो।
‘भाइ तिम्रो नाम के हो नि!’
‘सलिम हो’
‘यहाँ के गरिरहेको नि!’
‘साथीहरूसँग फुटबल खेलिराको थिएँ, देख्नुभएन?,’ चंखे भाइले जवाफ दिइहाल्यो।
‘सधैं त्यहीँ फुटबल खेल्छौ हो?’
‘हो।’
‘अनि कति वर्ष भयौ, कति क्लासमा पढ्छौ?’
भाइको आनीबानी देखेर मलाई रमाइलोसँगै जिज्ञासा लागिरहेको थियो, त्यसैले ऊसँग कुराकानी गर्दै हिँडिरहेको थिएँ।
‘१२ वर्ष, फोर क्लासमा पढ्छु। ऊ त्यहाँमाथि पनि थियो एउटा तर आजभोलि बन्द छ। ऊ त्यहीँ (मैनबत्ती बालेको टहरा देखाउँदै) हो, यो बाटै बाटो जानु है!’ भाइले बाटो देखाइदियो।
‘यता मीठो त पाइन्छ नि है भाइ?’
‘खै मैले खाएको छैन के था।’
भाइलाई धन्यवाद भनेँ। उसले नखाएको भएर अफर गरेँ- ‘आऊ तिमी पनि एक दुई पिस खाएर जाऊ न त अब।’
‘नाइँ म त कार्की हो,’ त्यति भनेर भाइ दगुरेर गयो।
मैलै ठूलो स्वरले सोधेँ- ‘कार्की भएर के भो त! खाने चिज नै त हो।’
परैबाट जवाफ फर्कायो- ‘नाइँ म त कार्की हो।’
हामी बेजोडले हाँस्यौं।
खाने कुरालाई जातीय रूपमा लिएर सानो बच्चामा कस्तो असर परिरहेको छ भनेर एकछिन सोच्न बाँध्य भएँ, चकित खाएँ।
खाएर फर्किएपछि किन त्यस्तो भनेको भनेर प्रश्न सोध्न मन थियो। खेलिरहेको ठाउँमा खोजेँ। कतै भेटिनँ। भोलिपल्ट पनि मेरो नजरले उसैलाई खोज्यो, भेटिनँ। तर यो कुराले मेरो मनमा भने कौतुहलता जागिरह्यो।