पोर्तुगिस नागरिकताको लागि औंठाछाप गर्नुभन्दा केही हप्ता अगाडिदेखि मनमा अनौठो खालको बेचैनी सवार भइरहेको थियो। मन स्थिर थिएन, दिमाखमा धेरै कुरा खेलिरहेका हुन्थे। आफ्नो देशको नागरिकता त्यागेर विदेशी नागरिकता आखिर केका लागि?
मैले अहिले यताको नागरिकता लिएँ भने कानुनतः नेपालको नागरिकता स्वत: रद्द हुनेछ। त्यस पछाडि भविष्यमा के होला? आफ्नै देशमा पासपोर्टमा भिसा लगाएर कसरी जानु? कतै मैले गलत कदम त चाल्दै छैन? आदि इत्यादि प्रश्नहरूले धेरै लामो समयसम्म लखेटिरहे।
फेरि सोचेँ, जसरी मैले विदेशी नागरिकता किन लिने भनेर विदेश आएको सात वर्ष पछाडि सोच्दै छु त्यसरी नै सात वर्ष अगाडि विदेश आउनुपूर्व पनि त आफ्नो देश र आफ्नो माटो छोडेर किन विदेश जाने त भनेर लामो समय सोच विचार गरेर, देशमा उज्वल भविष्य नदेखेरै मैले विदेश जाने निर्णय गरेको थिएँ। त्यसकारण अहिले आएर धेरै सोच्नु वा पछुताउनुको के अर्थ? अर्को कुरा विदेशी नागरिकता लिने पहिलो नेपाली पनि त म होइन। अरुको जीवन जसरी चलेको छ, मेरो पनि त्यसरी नै चल्दै जाला।
पोर्तुगिस नागरिकता पनि प्राप्त गरेँ। विदेशी नागरिकता अथवा रातो पासपोर्ट पाउँदा मनमा जुन हर्ष र उत्साह हुनु पर्थ्यो, त्यो थिएन। किनभने आफ्नो माटोबाट कानुनी रुपमा अलग्गिँदाको पीडा त मनमा थियो नै, मलाई सामाजिक संजालमा रातो पासपोर्टको फोटो राखेर बधाई थाप्नु पनि थिएन। रातो पासपोर्ट मेरो महत्वाकांक्षा नभई बाध्यात्मक परिस्थितिको उपज थियो।
विदेशी नगरिकता लिइयो। कानुनी रुपमा युरोपियन नागरिकको हैसियत पनि प्राप्त गरियो। संसारकै शक्तिशाली मध्येको पासपोर्ट बोकेर यात्रामा निस्कन पनि योग्य बनियो। पोर्चुगल छोडेर अन्य मुलुकमा गयो भने आकर्षक कमाइ पनि गर्न सकिने भइयो। तर अबको आगामी यात्रा कता? यो प्रश्नले फेरि सताइरह्यो।
कागजमा त परिचय फेरियो, मन सोच र बुद्धि अनि रगत त नेपाली नै छ। मुटुभरि माया त नेपालको नै छ। हरेक दिन नेपालमा के हुँदैछ त्यता मात्र ध्यान छ। नेपालका दु:खद् खबर सुन्दा मन त दुखेकै छ। मैले पो विदेशी नगरिकता लिएको हुँ, बाँकी कुरा त सबै उस्तै छन् पहिले जस्तै। आफ्नो घरदेश, आफन्तजन, साथीसङ्गी र जिउने परिवेश उस्तै रहेपछि भौतिक रुपमा कागजी परिचय बदलिए पनि दैनिक जीवनमा कुनै फरक पर्दो रहेनछ।
पोर्चुगलमा बिताएका सात वर्ष सिकाइका हिसाबले कुनै विश्वविद्यालयभन्दा कम रहेन। चाहे नेपालमा पनि कहिल्यै नभोगेको कष्ट भोगेर होस्, चाहे ओलिभ टिप्ने जोखिमपूर्ण कामदेखि केही संसारकै ठूला मध्येका केही कृषि फार्म अनि कम्पनीमा काम गरेर होस्, धेरै कुरा सिक्न अनि भोग्न पाइयो।
गर्भवती महिला, नवजात शिशुदेखि लिएर वृद्धावस्थाका व्यक्तिका बारेमा होस्, चाहे सानोतिनो व्यवसाय गर्दा होस्, चाहे बिरामी पर्दा होस्, चाहे काम गुमाएर बेरोजगार हुँदा होस्, सरकारको उपस्थिति र सहयोगले एउटा आम नागरिकको जीवनको गुणस्तर र उसलाई यदि मलाई केही अप्ठ्यारो पर्यो भने सरकार मेरो पछाडि अभिभावक बनेर खडा भएको छ भनेर सोच्न पाउँदा हुने आत्मविश्वास र आत्मसम्मान पनि महसुस गर्न पाएँ।
पोर्तुगिस नागरिकता प्राप्त गरेपछि झन् सुन्दर भविष्यको आशामा डेनमार्कतर्फ हानिएँ। नयाँ देश, फरक माहोलमा घुलमिल हुन फेरि केही महिना लाग्ने नै भयो। म त्यहाँ करिब आठ महिना जति बसेर काम गरेँ। धेरै जनाको सपनाको देश र आकर्षक गन्तव्य डेनमार्क। डेनमार्कमा जति धेरै मेहनत गर्न सक्यो, कमाइ त्यति नै धेरै हुँदो रहेछ।
करिब आठ महिना लामो डेनमार्कको बसाइँमा मैले धेरै कुरा देख्न, भोग्न अनि महसुस गर्न पाएँ। लोककल्याणकारी राज्य व्यवस्था रहेको संसारकै सुखी अनि खुसी मानिसहरू बस्ने भनेर चिनिने देशमा सरकारले जनतालाई के-कस्ता सुविधा दिँदो रहेछ, विद्यालय, कलेज, बाटोघाटो, स्वास्थ्य सुविधा, काम गर्ने तौरतरिका, आम्दानी र खर्च, बेरोजगार हुँदा र सेवानिवृत्त भएपछि पाइने पेन्सन लगायत यातायातका साधनमा जनताको पहुँच जस्ता आधारभूत विषयमा राज्यले आफ्ना नागरिकलाई कसरी सुविधा दिन सक्दोरहेछ, केही अध्ययन र अनुभव बटुल्न पाएँ।
कर्मचारीतन्त्र र तिनले सेवाग्राहीलाई प्रदान गर्ने सेवादेखि ठूला र नाम चलेका कम्पनीमा कामदारले काम गर्ने तरिका, सुरक्षा मापदण्ड, कामदारको हकहितदेखि वृत्ति र विकास बारेमा अनि माथिल्लो पदका कर्मचारिले तल्लो तहका कामदारसँग गर्ने व्यवहार बारे आफैंले भोगेर अनुभव गर्न पाएँ।
देश विकास हुनलाई र जनता सुखी हुनलाई चाहे सरकारी होस् वा निजी क्षेत्र, एउटा खाले नियम, कानुन, पद्धति र अनुशासन चाहिँदो रहेछ भने जनतालाई पनि सरकारले गर्ने हरेक कार्य र निर्णयप्रति भरोसा हुनु पनि मुख्य कुरा रहेछ।
सेप्टेम्बर महिनामा म घुम्ने सिलसिलामा क्रुज यात्रामार्फत नर्वेको राजधानी ओस्लो पुगेँ। ओस्लोमा भएका भौतिक विकास, सार्वजनिक यातायातको पहुँच बढाउँदै कार्बन उत्पादनमा कमी ल्याउन सरकारले गरिरहेको गृहकार्य, न्यून प्रदुषण क साथमा हुँदै गरेको दिगो विकास अनि केही प्रसिद्ध पर्यटकीय गन्तव्य र शैक्षिक केन्द्रहरूलाई सरसर्ती पर्यटक भएर नियाल्दा धेरै नै अद्भुत लाग्यो।
स्विडेनको प्रसिद्ध सहर माल्मो पुगेर त्यहाँ भएको विकास देख्दा अनि अबको एक दशक भित्रमा माल्मोले वातावरण मैत्री दिगो विकासमा फड्को मार्न अगाडि सारेका योजनाहरू बारे जानकारी लिँदा बदलिँदो विश्व अर्थतन्त्र र ग्लोबल वार्मिङको चुनौतीका बीच वैकल्पिक उर्जाको प्रयोग गर्दै हरियालीपूर्ण सुन्दर सहर बनाउन सरकारले के गर्न सक्दो रहेछ नियाल्ने अवसर पनि मिल्यो। स्विडेनले विद्युतीय सवारी साधन बाटोमा दौडिँदा आफैँ चार्ज हुने प्रविधि र बाटोको निर्माण पनि गर्दै रहेछ जुन योजना आफैंमा प्रविधि र पर्यावरण संरक्षणको लागि एउटा नमुना योजना पनि हो।
केही महिनायता बेल्जियमका केही मुख्य सहरहरू घुम्ने अवसर पाएँ। युरोपियन युनियनको र नाटोको समेत हेडक्वार्टर रहेको शक्तिशाली मुलुक बेल्जियमको विकास पनि लोभलाग्दो रहेछ। यहाँ रहेका अत्यन्तै कलात्मक पुराना संरचना, आधुनिक गगनचुम्बी महलहरूदेखि यातायतको संजाल, सुन्दर पर्यटकीय सहरहरू, संसारकै उत्कृष्ट मध्यका केही विश्वविद्यालय रहेको बेल्जियम अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि पनि आकर्षक गन्तव्य रहेछ। औषधि, खाद्यान्नदेखि हिराको व्यापारमा बेल्जियम अगाडि रहेछ। लोक कल्याणकारी राज्य व्यवस्था रहेको बेल्जियममा जनताले राज्यको उपस्थिति कसरी महसुस गर्दा रहेछन् त्यो अध्ययन गर्दैछु।
युरोपका धेरै मुलुकका अध्ययन गर्दा सबै देशहरू र सरकारहरू जनतालाई अधिकतम भौतिक सुख सुविधा दिने, नागरिकका आधारभूत आवश्यकताको ग्यारेन्टी गर्दै देशको दिगो विकासमा लागेको पाइन्छ। निजी सवारिसाधनको प्रयोगमा कमी ल्याउने, डिजेल पेट्रोलको खपत कम गराउँदै विद्युतीय साधनको प्रयोगमा जोड दिँदै कार्बन उत्सर्जनमा कमी ल्याउने, वृक्षारोपण गर्ने, सोलार तथा हावाबाट विद्युत उत्पादन गर्ने र धेरैभन्दा धेरै जनतालाई साइकल चढ्न उत्प्रेरित गर्न त्यहीअनुसारको सहर र बाटोघाटो निर्माण गर्ने काम गरिरहेको देख्न सकिन्छ।
असोज महिनामा म नेपाल गएको थिएँ अनि मैले वंशजको आधारमा लिएको नागरिकता प्रशासनमा पेश गरेर गैरआवासीय नेपाली नागरिकता लिने क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेको हातबाट नागरिकता प्राप्त गर्ने बेला मैले उहाँ लगायत अन्य पत्रकारहरूसँग भनेको थिएँ कि अब म विदेश फर्किएपछि नेपालबाट विदेशतर्फ हुने पुँजी पलायनलाई रोक्दै विदेशमा रहेका नेपालीलाई आफूले कमाएको केही प्रतिशत रकम नेपालमा पनि लगानी गर्न र आफूले वर्षौं लगाएर विदेशमा कमाएको धन, सिकेका सिप र देखेर भोगेर बटुलेका अनुभवहरू नेपालमा विभिन्न माध्यमबाट भित्राएर देश विकासमा टेवा पुर्याउनको लागि आह्वान गर्दै कलम चलाउने छु।
विकसित भनेर चिनिएका केही देशहरू घुमेर नेपालसँग तुलना गर्दा नेपालमा विकास गर्नलाई भौगोलिक हिसाबले केही अप्ठ्यारो त हुन सक्ला तर अथाह सम्भावना पनि रहेछन्। सेता हाँसेका हिमाल, ठूलाठूला पहाड, उचाइबाट खस्ने झरना अनि गहिराइमा बग्ने नदी, वनपाखाहरू देख्दा भन्न मन लाग्दोरहेछ- आहा! नेपाल। संसार घुम्नुस् अनि महसुस हुन्छ हामीलाई प्रकृतिले बनाउनै नपर्ने कयौं चिज निशुल्क दिएको रहेछ जुन विकसित देशमा खर्बौँ डलर खर्चेर पनि बनाउन सम्भव नै छैन।
हामी त जन्मिँदै भाग्यमानी रहेछौं, आफैंले आफैंलाई चिन्न नसकेर भनौँ वा सही नेतृत्व नभएर हामीले केही पनि गर्न सकिरहेका छैनौं। फलस्वरुप सिङ्गो देश नै खाली हुने स्थितिमा पुगेको छ।
म न कुनै विषयविज्ञ हुँ न त कुनै अन्तर्राष्ट्रिय बजारमा उच्च सिपयुक्त कामदार। तैपनि म देश र आफू जन्मेको माटोका लागि केही योगदान गरौं भन्ने चाहना राख्दछु। मैले कमाएको पुँजी र देखेका अनि भोगेका अनुभव आफ्नो माटोका लागि कसरी प्रयोग गर्न सकिन्छ भनेर सधैं सोचमग्न छु।
आज विदेशमा रहेका, आर्थिक हिसाबले सम्पन्न भएका अनि ज्ञान र दक्षता हासिल गरेका हरेक प्रवासी नेपालीले देश विकासको अभियानमा आफ्नो भूमिका खोज्दै योगदान गर्न तयार रहने र नेपालको सरकार पनि देश र जनताप्रति मनबाटै इमान्दार भएर लाग्ने हो भने नेपाल विकास हुन समय नै लाग्ने छैन। अब हरेक प्रवासी नेपालीले सोच्न अनि सोध्न आवश्यक छ, 'सरकार म देशको लागि के गर्न सक्छु?'a