शुक्रबारको साँझ। भोलिपल्ट बिदा भनेपछि साँझ फिल्म हेर्नुपर्ने बानी।
'बाबा, आज एउटा मुभी हेरौं न,' छोरीले आग्रह गरी।
'कस्तो मुभी?'
'कुकुर सम्बन्धी' उसले भनी।
'ल, त्यसोभए 'हाची' भन्ने फिल्म हेर न त। राम्रो छ,' मैले भनें।
उसले हुन्छ भनी। नेटफ्लिक्समा त्यो फिल्म लगाइदिएँ।
एउटा कुकुर कतिसम्म बफादार हुन्छ आफ्नो मालिकप्रति भन्ने सत्य घटनामा आधारित रहेर बनेको एउटा साधारण फिल्म थियो त्यो। करिब १२ वर्ष अगाडि हेरेको थिएँ मैले त्यो फिल्म। राम्रो लागेको थियो।
सोफामा बसेर फिल्म हेरिरहेका थियौं। फिल्मको अन्त्यतिर छोरी रोइरहेको देखें।
सोधेँ- 'के भयो? किन रोएकी?'
'कस्तो भावुक बनाउने मुभी रहेछ। मलाई त साह्रै मन पर्यो,' आँसु पुछ्दै उसले भनी।
'अँ, म पनि भावुक भएको थिएँ एकैछिन,' मैले भनें।
'अनि रुनु भयो त?' उसले सोधी।
'रुन त रोइनँ,' मैले भनें।
'यु आर नट इभन इमोसनल,' उसले भनी।
'त्यस्तो होइन, भावुक त हुन्छु तर आँसु झर्दैन आँखाबाट। जबर्जस्ती रुने हो र? स्वत: झर्नु पर्छ आँखाबाट आँसु,' मैले आफ्नो बचाउ गर्न खोजें।
'आजसम्म कहिल्यै रुनुभएको छैन त?' उसले फेरि सोधी।
'रोएको छु, सानोमा। एक पटक एउटा साथीले नाक फुट्ने गरी मुक्का हान्दा रोएको छु।'
'ठूलो भएपछि?' फेरि सोधी।
'ठूलो भएपछि त्यसरी रोएको त छैन तर आँखाबाट आँसु झरेको भने छ।'
'त्यो त उहीँ कुरा भयो नि,' उसले भनी।
'होइन, एउटै होइन। रुनु र आँसु झर्नु फरक कुरा हुन्।
'नो, इट इज नट' फरक होइन भन्ने कुरामा जिद्दी गर्दै थाली, 'एनि वे, टेल मि अबाउट इट।'
आफिसको मिटिङमा एकजना सहकर्मीको प्रस्तुति चलिरहेको थियो। एक्कासी मेरो दाहिने आँखाबाट आँसु झर्न थाल्यो। मैले टिस्यु पेपरले पुछ्दै गर्दा उसले देख्यो। रोएको होला भन्ने ठानेर सोधिहाल्यो 'आर यु ओके?'
अरु दिन घरबाटै काम गरे पनि हरेक मंगलबार अफिस जानुपर्छ। त्यसैले स्टाफ मिटिङ प्रायः महिनाको पहिलो मंगलबार हुनेगर्छ। यस पटकको मिटिङमा छलफलको विषय अलि संवेदनशील थियो। कसैको मृत्युसँग सम्बन्धित स्थलगत रिपोर्टहरू तथा पोस्टमार्टम रिपोर्टहरू हेरेर डाटा निकाली डाटाबेसमा राख्नु पर्ने।
कतिपय घटना विवरणहरू अलि कारुणिक हुन्छन र बेलाबेलामा भावुक बनाउँछन्। त्यस्तै कारुणिक एउटा घटनाको बारेमा त्यो सहकर्मीले प्रस्तुतिमा भनिरहेको थियो। उसले ती विवरणहरू भन्दै गर्दा मेरो आँखाबाट आँसु झरेको थियो।
स्प्रिङ सिजन सुरु हुन लागेकोले जताततै रुख बिरुवाहरूमा फूल फुल्न सुरु भैसकेको थियो। यो सिजनमा हावा पनि अलि बढी चल्ने हुनाले १०-१२ माइल प्रतिघण्टा चल्ने हावा त सामान्य नै हो। चिसो मौसम अनि हावाले उडाएर ल्याउने पोलेनका कारण यो समयमा रुघाखोकी र एलर्जीले सताउने गर्छ।
कस्तो भने नाक चिलाएर हाच्छ्युँ आउन खोज्ने, आइहाल्छ जस्तो हुने तर नआउने। आइहाल्यो भने लगातार ६-७ पटकसम्म आउने। अनि बेलाबेलामा आँखाबाट आँसु झरिहाल्ने। एलर्जीको औषधि खाएन भने दुई/तीन दिन अलि गाह्रो नै गराउँछ। तीन दिन अघिदेखि सुरु भएको एलर्जी मंगलबारसम्म निकै सुधार भैसकेकोले औषधि नखाई अफिस गएको थिएँ त्यो दिन।
तेह्रौं तलामा अफिस, अठ्ठाइसौं तलामा मिटिङ कक्ष। एलिभेटरमा माथि जाँदै गर्दा दुई जना सहकर्मी सँगै थिए। उनीहरूलाई भनेको थिएँ- 'मिटिङ हुँदाहुँदै मेरो आँखामा आँसु देखियो भने त्यो एलर्जीले हो है, रोएको नठान्नू!'
'हा हा' एउटीले हाँस्दै भनेकी थिई- 'यो समपयमा मेरो श्रीमानलाई पनि एलर्जीले सताउँछ।'
अर्किले हाँस्दै थपेकी थिई, 'थ्यान्क्स फर द हेड्स अप। होप, योर टियर्स डन्ट फल ड्युरिङ द मिटिङ!'
मिटिङमा मलाई हेर्दै उसले आर यु ओके भनेर सोधेपछि सबैले मतिर हेरे।
'आएम गुड! आई एम नट क्राईङ्ग। इट्स जस्ट ड्यु टु एलर्जी,' म रोएको होइन भन्ने जनाउन एलर्जीलाई दोष दिंदै मैले भनेँ।
मिटिङ सकेर एलिभेटरमा तल झर्दै गर्दा सहकर्मी एभिले हाँस्दै भनी, 'तपाईंको आँसु ठ्याक्क समयमै झर्यो, हा हा!'
'यस, राइट एट द मोमेन्ट!' हल्का ठट्यौली पारामा मैले थपें।
सँगै निस्केकी सुपरभाइजरले थपी 'हामीलाई पहिल्यै भनेर राम्रो गर्नुभयो गुड थिङ्ग यु हाड टोल्ड अस अहेड। एटलिस्ट वि न्यु यु वर नट क्राइङ।'
त्यतिन्जेलसम्म एलिभेटर तेह्रौं तलामा आइसकेको थियो।
एलिभेटरबाट निस्केर 'सि यु लेटर' भन्दै म आफ्नो कार्यकक्ष तिर लागें।
~~~
'ओके, ड्याट डजन्ट काउन्ट याज क्राईङ्ग। ईट ह्याज टु बि अ स्याड सिट्युएसन। यु नो, ईट्स गुड टु क्राई सम्टाईम्स। यु ह्याभ टु लेट योर ईमोसन फ्लो थ्रु टियर्स।' उसले भनी। आधा शताब्दी उमेर पुग्नै लागेको बाउलाई एक तिहाई पनि उमेर नपुगेकि छोरीले सम्झाउँदै थिई।