हरेक अभिभावकहरू आफ्ना बालबालिका असल बनून् भन्ने चाहन्छन्। आफ्ना सन्तान सत्मार्गमा हिँडून्, अध्ययनशील बनून्, संस्कारी बनून् र गरिखाने होऊन् भन्ने चाहना पनि अभिभावकहरूमा हुन्छ। धेरै पढेर डाक्टर, इन्जिनियर, पाइलट, हाकिम, प्रशासक तथा प्रशस्त आर्थिक उन्नति गर्न सक्ने क्षेत्रमा आफ्ना सन्तानलाई देख्न चाहने रहर पनि धेरैजसो पाका पुस्ताका अभिभावकमा रहेको देखिन्छ।
सरकारी जागीरमा मात्र आफ्ना सन्तानको भविष्य देख्ने अभिभावकहरू पनि प्रशस्त भेटिन्छन्। तर अहिलेका नयाँ पुस्ता भने अभिभावकको अपेक्षामा भन्दा आफ्नो रुचिअनुसारको क्षेत्रमा अघि बढ्न चाहन्छन्। विश्वपरिवेशका परिवर्तित आयामहरूलाई आत्मसात् गरिरहेको युवा पुस्ता र सीमित क्षेत्रमा मात्र सुरक्षित भविष्य हुन्छ भन्ने मनोविज्ञान बोकेका पुराना/पाका पुस्ताबीचको बुझाइअन्तरले पनि असहज पारिवारिक स्थिति निर्माण हुने गरेको छ।
यसबाट परिवारमा पुस्तौनी विचार–बेमेल झांगिने उपक्रमसँग युवा पुस्ता र पुराना पुस्ताबीच अविश्वास बढ्न पुग्छ र पारिवारिक कलह पैदा हुन पुग्छ। र, सन्तान परिवारबाट टाढिने र पारिवारिक संरचना नै तहसनहस हुने परिस्थिति बन्न सक्छ।
जीवन निर्वाहका विभिन्न क्षेत्रहरूलाई नजिकबाट नियालिरहेको अहिलेको नयाँ पुस्ता शिक्षक/अभिभावकले दिएको निर्देशनभन्दा समकालीन विश्वमा स्थापित भएका नयाँ क्षेत्रमा सम्लग्न हुन चाहन्छन्। खेलकुद, कलाकारिता, सूचना प्रविधि, विकास परियोजना, अनुसन्धानमूलक कार्य, परियोजना, व्यापार, स्वरोजगार, उद्यमशीलता, आविष्कार जस्ता अनेकौ क्षेत्रबाट नाम र दाम दुवै कमाउन सकिने वास्तविकता पहिचान गरेका युवा पुस्ताले अभिभावकीय एकाधिकारलाई चुनौति दिनुलाई अन्यथा भन्न मिल्दैन।
यसो हुँदा आफ्नो रुचिको क्षेत्रमा अघि बढ्न खोज्ने आजका पुस्ता र आफ्नै दृष्टिरेखामा जबरजस्ती हिडाउन खोज्ने पाका पुस्ताको द्वन्द्वले पनि पारिवारिक तथा सामाजिक समस्या पैदा गरिरहेको छ। हामीले बुझ्नुपर्ने कुरा त के हो भने प्रत्येक व्यक्तिमा केही विशेष गुण र क्षमता हुन्छ। रुचि र पूर्वज्ञान हुन्छ। कुनै क्षेत्रमा राम्रो गर्न सक्ने कौशल हुन्छ। आफ्नो रुचिको क्षेत्रमा जसरी पनि सफल हुने हुटहुटी हुन्छ। यही वास्तविकतालाई अघिल्लो पुस्ताले बुझ्न सक्ने हो भने पनि नयाँपुस्ता र पुरानो पुस्ताबीचको विचारअन्तरको दूरी कम हुनसक्छ।
पुराना पुस्ताको मेहनत, योगदान र कर्तव्यपालनाले नै नयाँ युगको अनुभव गर्न पाएको यथर्थातलाई नयाँ पुस्ताले स्वीकार्न सकेमात्र पनि पुस्तौनी अन्तरको बेमेल न्युनीकरण हुने सम्भावना रहन्छ। विश्वव्यापीकरणको बढ्दो प्रभावसँगै सूचना र प्रविधिको बेलागम विकास र विस्तारले अहिलेको पुस्तामा कृत्रिम बौद्धिकताको प्रभाव पर्नु स्वभाविक नै हो।
संसारमा विकास भएका नवीन कार्यक्षेत्र विस्तृतीकरणलाई हेरिरहेको नयाँ पुस्ता कतै आफ्नो स्वाधीनता, पहिचान र राष्ट्रियतासंग टाढिने पो हो कि भन्ने यक्ष प्रश्नले पाका पुस्ता चिन्तित भएको पनि देखिन्छ। ग्लोबल भिलेजको अवधारणासंगै हुर्केका अहिलेका पुस्तामा नेपालीपन हराएर पहिचानविहीन बन्ने खतरा बढ्न सक्ने संशय पनि पुरानो पुस्तामा देखिएको छ।
यस्तो अवस्थामा अग्रजहरूको बुझाइ, विचार, दृष्टिकोण, भोगाइ र अनुभवलाई आवश्यकतानुसार परिवेशसापेक्ष बनाउनतर्फ क्रियाशील हुन आवश्यक हुन्छ- समयसँगै आएका बद्लावहरूलाई धरातलीय यथार्थको जगमा नियालेर। अहिलेको परिवर्तन र सम्भावनाहरूको बढोत्तरीमा अघिल्लो पुस्ताको योगदान रहेको वास्तविकता बुझेर, बुझाएर। पुस्तौनी वैचारिक बेमेल कारण र कारकमाथि अर्थपूर्ण विमर्श गरेर। अग्रजको विचारको सम्मान गर्दै वर्तमानको वास्तविकता आत्मसात् गरेर। आफ्नो मौलिक पहिचानको रक्षा गर्दै विश्वव्यापी परिवर्तनलाई यथार्थको कसीमा उपभोग गरेर।
कतिपय अवस्थामा पाका पुस्ताका अभिभावकहरू कुनै बच्चा पढ्नमा तीक्ष्ण भएको, कुनै क्षेत्रमा सफल भएको भनेर सोही बमोजिम आफ्नो बच्चालाई अरुसँग तुलना गरेर कमजोर सावित गर्न खोजेको पनि पाइन्छ। आफ्ना पालामा आफूले अभाव र समस्यामाझ पनि प्रगति गरेको उदाहरण दिएर सहज वातावरणमा पनि बालबालिकालाई असहज परिस्थितिसँग सामाना गर्न उक्साउने अभिभावकहरू पनि पाइन्छन्।
अर्कातिर आफू नयाँ युगसँग परिचित भएकोले आफूले बुझेको, देखेको, जानेको र भोगेको कुरा मात्र ठिक हो भन्ने अहमताले पनि नयाँ पुस्ता समस्यामा परेको देखिन्छ। आफ्नो स्तर, क्षमता र कौशल पहिचान नगरी देखासिकीमा लाग्ने युवा पुस्ता आफ्नो लक्ष्यमा पुग्न नसकेर भौतारिएका उदाहरणहरू पनि प्रशस्तै देखिन्छ। आफ्नो ल्याकत र औकातभन्दा ठूलो सपना देख्ने र सपना सफल बनाउन सार्थक पहलकदमी गर्न नसक्ने कतिपय युवाहरूको जिन्दगी बर्बाद बनिरहेको अवस्था पनि छ।
वैयक्तिक भिन्नता, रुचि, चाहना, अपेक्षा र दक्षताको समुचित कदर गर्दै बालबालिकामा भएको विशेष गुण र रुचिको आधारमा मार्गदर्शन गर्न सके उनीहरू आफ्नो क्षेत्रमा सफल हुन सक्छन्। बालबालिकाहरूलाई आफ्नो औकात र क्षमताभन्दा धेरै ठूलो सपना देखाउने र सोहीअनुसार अघि बढ्न उक्साउने काम अभिभावकले गर्नु हुँदैन।
अहिलेका विद्यार्थी/युवा पुस्तालाई उनीहरूकै क्षमता, रुचि र अभिक्षमताका आधारमा अघि बढ्न दिनु अनुभवी पुस्ताको प्रमुख दायित्व हो। यसैगरी आफ्ना अग्रजहरूको मार्गदर्शनलाई आफ्नो क्षमता र रुचिसापेक्ष आत्मसात् गर्नु हरेक नयाँ पुस्ताको कर्तव्य हो।
दुवै पुस्ताले बुझ्नु पर्ने कुरा त के हो भने संसारमा धैरै कार्यक्षेत्रहरू छन्। कुनै पनि क्षेत्रमा राम्रो गर्न सके जीवन सार्थक बनाउन सकिन्छ। यस्तो क्षेत्र कृषि कर्म हुन सक्छ। व्यापार हुन सक्छ। समाजसेवा हुन सक्छ। राजनीति हुनसक्छ। कलाकारिता हुनसक्छ। खेलकुद हुनसक्छ। अध्ययन–अनुसन्धान हुनसक्छ। उद्यमशीलता हुन सक्छ। व्यापार हुनसक्छ। अरु धेरै क्षेत्र हुन सक्छन्।
अनुभवी पुस्ता/अभिभावकले आफ्नो क्षमताले धान्न सक्ने क्षेत्र पहिचान गर्न सघाउने र सो प्राप्तिका लागि योजनावद्ध ढंगले अगाडि बढ्ने वातावरण सिर्जना गर्न सके नयाँ पुस्ता/बालबालिकाहरू सफल जीवन जिउन सक्छन्।