अनुभूति:
सम्बन्ध पनि कति खाले हुन्छ हौ यो मान्छेको जुनीमा? मान्छे–मान्छेको सम्बन्ध कैले धुमिल भैजाने, कैले माधुर्य भैजाने। चोट्टाहरूसँग साइनो बने हेर्दा मख्ख स्वादमा टर्रो हुने।
कहिले यसो घरमा पालेको कुकुर र बिरालोसँग मनको सम्बन्ध गाँसो दुई चार दिनमा हेप्न थालिहाल्ने। हेपाहा आफूलाई पिटिक्कै मन नपर्ने। कहिले बाख्राका पाठा र गाईका बाछाबाछीसँग यसो मनको साइनो गाँसो त्यो नि नटिक्ने। बाख्राको पाठाको चकचक त हजुरलाई थाहै होला? थामिनसक्नु! गाईका बाछाबाछी घाँसका अनिकालसँगै हिउँद लाग्न सुरू भएसी बेच्न पर्ने। मनै चस्स पारेर...। मेरो केहीसँगको पनि साइनो उत्ति फापेको मलाई अनुभव छैन। मान्छेसँगको साइनो त झन् टिक्दै टिकेन। १६ वर्षे उर्लिंदो बैंसमा लगाएको प्रेम त १८ नपुगी चैट्। उमेरको दोस्तानी पनि मेरो मुताबिक नचले चैट्।
जीवनमा मेरो नि त घनिष्टता रह्यो होला नि कोहीसँग, केहीसँग भनी खोजी हेरेँ। डुली हिँडेँ आफू क्याम्पस जाँदा–आउँदा हिँडेका बाटाहरू, प्रेमिकाका हात समाइ घुमेका गल्लीहरू, छङ्छङ गुच्चा बजाउँदै दौडिएका पाखा र कन्दराहरू। मेरो मनको स्थायी साथी भनौं या नातेदार खोज्दै एकदिन निद्रामा चोर बाटो हिँडेको सपना देखें। चोर बाटाका बारेमा यसो सोची ल्याउँदा, यही पो हो कि मेरो स्थायी नातेदार भन्ने लाग्यो? लाग्यो मात्र के भन्नु तमाम कुराहरू सोची ल्याउँदा यही हो मेरो प्रिय भन्ने ठहर भयो। लु अब पढ्नुहोस् मसँग प्रगाढ साइनो रहेको प्रिय चोर बाटो सँगको मेरो यात्रा।
अरे... अरे... ‘मेरो यात्रा’ शब्द देख्दा नियात्रा होला जस्तो लाग्यो हो तपाईंलाई? नियात्रा त ज्यान गए हैन।
पख्नुस्....पख्नुस्....! मुद्दामा प्रवेश गर्न पूर्व ‘चोर बाटो’ शब्द माथि अर्थ विमर्श गर्नपर्ने भो। ‘चोरबाटो चोर र बाटो दुई शब्द मिली बनेको नेपाली शब्द हो जसको अर्थ मूलबाटो भन्दा छिटो पुगिने, अन्तरकुन्तरको बाटो, छड्के बाटो भन्ने लाग्छ।’ यो भाषाविद्हरूको तर्क हो। प्रज्ञा प्रतिष्ठानले बनाएको शब्दकोषले चोरबाटो शब्दको अर्थ यहीँ लेखेको छ। तर, हामी उम्रिँदैका चारपात भाषाविद्हरूको तर्क के हो भने ‘चोरबाटो छोटो र बाटो दुई शब्दहरू मिली बनेको बौद्धिक नेपाली शब्द हो जसको अर्थ विभिन्न फलफूल नि:शुल्क खाँदै विद्यालय छिटो पुगिने बाटो भन्ने हुन्छ।’ भएन त आश्चर्य? हामीले कक्षा पाँचमा पढ्दा अधेँरी खोलाको डिलमा बसेर अघेँरी खाँदै सेतो सटलाई अघेँरी रङको बनाउँदै यो शब्दको अर्थ यहीँ हो भन्ने निष्कर्ष निकालेका थियौं। कुनै विज्ञहरूको अन्य त्यस्तो टोली छ हाम्रो मुलुकमा जसले एकै बसाइँमा निष्कर्ष निकाल्न सकोस्?
हाम्रा दाइदिदीका गोडा हाम्रा भन्दा लामा थिए। सायद उहाँहरूका उद्देश्य पनि हाम्रोभन्दा लामै भएर हामीलाई त्यस्तो लागेको पनि हुन सक्छ। उहाँहरू हामीभन्दा बडो रफ्तारमा हिँड्नुहुन्थ्यो। विद्यालय जाँदा–आउँदा। लमक, लमक!
दगुर्दै उहाँहरूलाई पछ्याउँदा पनि हामी छुटी हाल्थिम्। हामीले दाइदिदीहरूभन्दा पहिला विद्यालय पुग्न आफ्नै फास्ट ट्रयाक खोल्यौं। हाम्रा भाषा नजानेका दाइदिदीले उक्त फास्ट ट्र्याकलाई चोर बाटो भनिदिए। उहाँहरू हामीलाई कता हिँड्या घारी–घारी चोर जस्तो चोर पो हिँड्छ त यस्तो बाटोमा भन्नुहुन्थ्यो। उहाँहरूको कुरा छुमन्तर! हामी पहिला विद्यालय पुगिहाल्थिम् क्यार। दाइदिदीले सिकाएको शब्द माथि हामीले अघेँरी विमर्श गरेर शब्दको अर्थ प्रतिपादन गरेर आउँदो पुस्तालाई गुण लगाएका थियौं। गुण लागेको पुस्ताले कुनै दिन हामीलाई सम्मान गर्ने निर्णय गर्यो भने हामी मख्ख परौंला।
चोर बाटोको यात्रा बडो रमणीय आँप, लिची, अम्बक, किम्बू, कटहर, भुइँ कटहर, कफी, जलपाई, सुपारी, नरिवल र अघेँरी सब पाइने। कहिलेकाहीँ विद्यालयमा प्रियर लाइन बस्न नभ्याए यसो पछाडिबाट झ्यालको बाटो हुँदै छिर्न नि सजिलो। झन् सबसे फाइदा त विद्यालयको ड्रेस नलाउँदा सुटुक्क पछाडिबाट लुकेर कक्षा कोठामा छिर्न पाइने। छुट्टी हुँदा पनि मूल बाटोबाट हिँड्नेहरू बाहिर निस्कन ढोकामा लाइन बस्नुपर्ने हामी चोर बाटो हिँड्ने झ्यालबाटै फाल हानी कुद्न पाइने। मलाई सबभन्दा पहिले चोर बाटोप्रतिको मोह विद्यालय जाँदा जागेको हो।
बाटामा पाइने फलफूलले मलाई चोर बाटोपट्टि आकर्षण गरेको हो। सायद मेरा साथीहरूको पनि उत्प्रेरक त्यही होला?
प्रसंग– २
कक्षा सातको वार्षिक परीक्षा सकिएको समय नजिकको निन्दा खोलामा जेसिभीले खाल्डो खनेर स्वीमिङ पुल बनाएको थियो। अलि ठूला दाइहरू त्यो पोखरी एक बाँस गहिरो छ भन्थे। त्यत्रो गैरोमा उनीहरूले पौडी खेलेको देखेर म त चकित भइगएँ। मलाई पनि उनीहरूले जस्तै पौडी खेल्न मन लाग्यो। मलाई पनि पानीमा खेल्ने हाँस हुन मन लाग्यो। छेउछेउमा पौडी खेल्दाखेल्दै मैले चाँडै पौडी सिकेँ। सिकेँ मात्रै के भनौं एक बास गहिरोमा पौडी खेल्ने भइगएँ। अब आएन त मजा?
गाउँमा हामीले खोला धाउन थालेको कस्ले कस्ले एक कान दुई कान गर्दै मैदान बनाइदिए छ। अब सकियो मजा। ममाथि घरबाट विशेष निगरानी सुरू भयो। तर, के रोकोस् यस्ता निगरानीले सानैबाट ट्र्याक खोल्न निपूर्ण मैले खोला जाने नयाँ ट्र्याक खोलेँ। यसो बारी घुमेको नाटक गर्ने बाँसघारी–बाँसघारी लुक्दै खोलातिर कुद्ने। बाँसघारीको बाटो मूलबाटोभन्दा अलि लामो थियो। मैले पौडी खेल्न जाँदा बनाएको चोर बाटोको लम्बाईसँग पहिले बनाएको अर्थले तालमेल राखेन मैले तत्काल निन्दा खोलाको डिलमा बसेर अर्को अर्थ विमर्श गरिहाले।
‘चोर बाटो बाँसघारी र बाटो दुई शब्द मिली बनेको मनोरम शब्द हो जसको अर्थ भागेर पौडी खेल्न जाँदा प्रयोग हुने बाटो भन्ने हुन्छ। यो बाटो सामान्यतय मूलबाटोभन्दा लामो हुन्छ।’
आफैंले खोलेको ट्र्याकबाट खोला पुगियो पौडी खेलियो। दाइहरूले सुन्दरीहरूको कुरा गरेको सुनियो। आश्चर्य! उत्तेजना हुन्छ भन्ने कुरा निन्दाकै बगरमा जानियो। सँगैका साथीभन्दा अलि अगाडि पुगियो अवसर पाउँदा कहिलेकाहीँ केटाहरूलाई उच्छृंखल बनाउने गफ जोतियो।
लुकीचोरी खोला पुगेको घरमा थाहा नपाए पनि पौडी खेलेको मान्छेको आँखा अलि रातो हुने। कपालमा टिलिली बालुवा टल्किने। टल्किएको बालुवा देख्दा चोरी पक्राउ हुने करिब करिब सधैं जसो मामुको भाटा भेटिने। यति हुँदा पनि पौडी खेल्न पल्किएको म भागेर खोला पुगिहाल्ने। मलाई दोस्रो पटक पानीमा हाँसझैं पौडिने अभिलाषाले चोर बाटोप्रति आकर्षण गर्यो। त्यस बेला बा–आमालाई छोरो डुबेर बित्ला कि! भन्ने कति पीर भयो होला है?
प्रसंग – ३
चोर बाटोसँग मेरो अर्को साइनो पनि छ। यो साइनो उर्लंदो बैंसले जोडेको हो। मान्छेको जीवनमा एकपटक आउँदो रहेछ आफूलाई सबभन्दा अब्बल वा काबिल मान्ने उमेर। त्यस उमेरमा कसैको राम्रो भविष्यप्रति मुखरित हुने सुझाव विषतुल्य लाग्दो रहेछ। यस्तो सुझाव दिनेहरूले आफ्नो स्वतन्त्रता वा भनौं खुसी हेर्न नचाहेको भन्ने भान मान्छेलाई पर्दोरहेछ क्यारे? जीवनको शाश्वत सत्यदेखि लिएर भविष्यप्रतिको कल्पना पनि उरन्ठ्याउले हुने। अलि राम्रो विपरीत लिंगी मान्छे देख्दा प्रेमिल गफ गर्न तत्पर भइहाल्ने। प्रेमले मदहोस हुँदा डाँडाकाँडा काट्ने कसमदेखि लिएर सारा संसारसँग एक्लै भिड्ने कसमसम्म खान भ्याइने। यस्तो विषम उमेरमा मैले मेरो प्रिय चोर बाटोसँग अर्को साइनो बनाएको छु।
यस किसिमको विचित्र उमेरमा मेरो नि कसैसँग माया बसेको थियो। अनुभवी दाइहरू यो मायाको बाटो उत्रो गतिलो नहुने जिकिर गर्थे। मलाई तिनको जिकिरको के वास्ता? मैले एक सुन्दर कन्यासँग माया बसाएको थिएँ। कहिलेकाहीँ उसलाई मप्रति भरमग्दूर विश्वास दिलाउन खाने गर्थें बेसुरा कसमहरू पनि। कसमले मात्र साइनो टिकाउने स्थिति नबनेपछि भेट्ने योजना बन्यो। कहाँ भेट्ने भनी चिन्तन गर्दा एउटा पार्कलाई टुंगो लगाइयो। मनको साइनो गाँसेको लामो समयपछि भेट हुने कल्पनासम्मले पनि मेरो तनमन फुरूङ्ग भएको थियो।
त्यो पार्क सार्वजनिक यातायातमा चढेर जाँदा नि हुने हो तर, उर्लंदो उमेरको प्रेमी बाइक चढी प्रेमिका भेट्न भनी हान्निएँ। दुर्भाग्य भनौं या अहोभाग्य आधा बाटोमा पुग्दा अगाडि ट्राफिक प्रहरी दाइहरू हुनुहुन्छ।
उहाँहरूबाट छल्लिन मैले बाइकको वेग र दिशा दुवै परिवर्तन गर्नुपर्ने भयो। जसले गर्दा मैले कालोपत्रे सडक छाडी ग्राभेल प्रवेश गरे। यस्तो अवस्था कयौंपटक बेहोरेपछि यसभन्दा अगाडि चोर बाटो शब्दमाथि मैले विभिन्न समयमा गरेका सबै अर्थ विमर्शहरूले फेल खाए। जस कारण मैले तनावग्रस्त स्थितिमा ‘चोर बाटो’ शब्दको पुनः अर्थ विमर्श गरेको छु।
उक्त विमर्शमा ‘चोर बाटो बच्न र बाटो दुई शब्द मिली बनेको आपतकालीन शब्द हो। जसको अर्थ प्रेमिका भेट्न जाँदा ट्राफिक प्रहरीबाट बच्न प्रयोग गरिने बाटो भन्ने लाग्छ।’
यस शब्दको प्रभाव पनि मेरो अध्ययनको दायरामा परेको छ।
उक्त प्रभाव यस प्रकार रहेको छ: यस प्रकारको चोर बाटोको प्रयोग गर्दा पार्कसम्म पुग्ने दूरी र समय दुवै बढ्न जान्छ। जसले गर्दा प्रेमिका घर फर्कन सक्छिन्। यसै दिनको रिसमा उनले केही समयमा प्रेमी फेर्न पनि सक्छिन्। यद्यपि यस प्रकारको चोर बाटोको प्रयोग बाध्यकारी हो। मान्छेले प्रेमिका भेट्नुको सिवाय अन्य कामको लागि पनि यस प्रकारको चोर बाटोको प्रयोग गर्दै आएका मेरै आँखाले देखेका छन्। कानले त झन् कति हो कति कहानी सुनेका छन्।
प्रिय पाठक वर्ग, मेरो जीवनमा चोर बाटोसँगको अझै धेरै घटना रहेछन्। यसैले मेरो प्रिय चोर बाटोप्रति यो लेख समर्पित छ। तर, आजकल हाम्रो मुलुकमा नेतासँग फेटो खिचाई फोटो देखाएर चोरबाटोमार्फत् राजनीतिक अभिष्ट पूरा गर्नेहरूको होडबारे तपाईंले ख्याल गर्नुभएको छ?