पढ्ने, लेख्ने कुरा जब स्वत:स्फूर्त रूपमा जागृत हुन्छ तब मान्छेले सृजना गर्छ। जब हृदयको तारमा संवेदनाको औंला चलायमान हुन्छ तब साहित्य जन्मिन्छ। सफल र असफल कोही हुँदैन। सफलता कसैले पनि पूर्णता प्राप्त गर्दैन। असफलता प्रयासको समाप्ती पनि होइन। सन्तुष्टि र असन्तुष्टिको प्रभाव हामीमा पर्छ, हुन्छ। हरेक दिन चौबीस घण्टाको हुन्छ। हाम्रो हातमा छ समयको कुन्जी। जसले समयको व्यवस्थापन गर्न सक्छ उसले उपलब्धिमूलक दिन निर्माण गर्छ। अनि हरेक मान्छेले वाञ्छनीय फलप्राप्ति गर्छ। विद्वानहरू सम्झाउँछन्- 'चौबीस घण्टामा मात्र एक घण्टा आफ्नो लागि सदुपयोग गर्ने गर। त्यो परमशक्तिको अनुभव गर, तेइस घण्टा सार्थक हुन्छ। आफूलाई नै हेर्ने गर। शान्तिको अभ्यास गर। सबै कुरा सहज हुन्छ।'
अनि हरेक दिनम मेरो मार्गदर्शकको मार्गनिर्देशनमा हिँड्ने कोसिस गर्छु।
अहो! साँच्चै त रहेछ। ब्रह्ममुहूर्तमा उठेर ध्यान, योग र प्रणायाम गर्दा सन्तुष्टि मिल्छ। योगमय बिहानीलाई स्वागत गर्दा दिनभरि ऊर्जाशील भइन्छ। घरको काम समयमा नै समापन हुन्छ। समयको महत्त्व बुझ्न सकिन्छ। अनि गर्न खोजेको काम सहजै समयमा गर्न सकिन्छ।
म गृहिणी मात्र हुँ, मेरो काम टुङ्गिने निश्चित समय नै छैन। अन्त्यहीन कामको सिलसिला नाइल बनेर बगिरहन्छ तर पनि म विचलित हुन्न। दुई वर्ष अगाडि पनि त्यही चौबीस घण्टा मेरो हातमा थियो आज पनि चौबीस घण्टा मात्र छ। हिजो त्यही समयमा म घरको मात्र काम गर्थेँ। आज अर्को जिम्मेवारी थपिएको छ। मेरो हातमा हिजो भात,भान्सा, सन्तान, सम्बन्ध, कुचो, लुगा, पोछा, मात्र थिए। आज मेरो हातमा माधवी, द्रौपदी, सुम्निमा, महत्ताहीन, कल्याणी धर्ती, सिद्धार्थ, मार्खेज, कामु पनि आएका छन्।
हिजो बोकेका औजारले भन्दा पछिल्लो समयमा बोकेका औजारले मलाई पहिचान दिएको छ। पहिचान र पैसा पनि अलग अलग रहेछन् भन्ने बोध भएको छ। अस्तित्वको चेतना जगाएको छ।
घरभित्रबाटै नौलो संसार हेर्न सकेकी छु। मैले नभोगेको समय भोगेकी छु। महान् मान्छेका जीवनलाई नजिकबाट छामेकी छु। अरूले भोगेको महत्त्वपूर्ण जीवन पढेकी छु। पठन र लेखनको संसारमा आएपछि म धन बिना नै कुवेर भएकी छु। आज म निकै सम्पन्न र समृद्धशाली भएको महसुस गर्छु। किताब मेरो ऊर्जा भएर आएको छ।
लेख्ने, पढ्ने रहरले मलाई जाँगरिलो बनाएको छ। उमङ्ग र उत्साह जगाएको छ। जीवनले लक्ष्य भेटेको छ। किताबको सङ्गतले आफ्नै अक्षरहरू किताबको रूपमा आउन लागेको छ। हर्षले भरिएकी छु। केही नहुँदा पनि धेरै थोक पाए जस्ती भएकी छु।
तर यो समाजले मेरो खुसी पटक्कै देख्दैन। भौतिकतामा पाइला राखेर पनि आन्तरिकताको यात्री भएकी छु। समाजको आँखाले मेरो आन्तरिकताको स्वर्ग देख्दैन। ऊ भौतिकतासँग मात्र मलाई तौलन खोज्छ। सन्तुष्टि र खुसीलाई पैसासँग जोख्न थाल्छ। कुवेर भएकी मलाई जहिले भिखारी देख्छ। पैसाले कुवेर भएको उसलाई म पनि मगन्ते नै देख्छु। जति भएर पनि असन्तुष्ट नै देख्छु। सम्पन्नतामा पनि मागिरहन्छ। अझ ऊ नै मलाई माग्ने बन्न सिकाउँछ। मन्दिरभित्र गएर प्रसाद खाने मान्छेलाई मन्दिर बाहिर थाल ठटाउन सिकाउँछ। कचौरा थाप्न सिकाउँछ। म प्रसादमा विश्वस्त भएको देखेर ऊ अट्टाहास गर्छ र गर्जिन्छ-'पुजारीहरू लोभी भैसके तैंले अब माग्नै पर्छ। तैंले कचौरा थाप्नै पर्छ।'
म फिस्स हाँस्दै किताब पल्टाउँछु, 'डाक्टर गोविन्दराज भट्टराईको 'मेरो दोस्रो बेलायत यात्रा’ मा यात्रारत छु। म ढुक्क छु। शान्त छु। आनन्दमा छु। दङ्ग परेर पढिरहेकी मलाई बेबकुफ भन्दैछन् असन्तुष्ट मनहरू।
'समयलाई भजाउन जानेका चलाख मान्छेको हातबाट अब कठपुतली बन्दैछस् तँ' भन्छ अनियन्त्रित मनहरूले।
म हाँसिरहेकी छु। पुस्तकबाट फुत्त एक जना चिरपरिचित बा निस्किछन्। आशीर्वादले मेरो निधार चुम्छन्। मैले लेखेका फुट्कर रचनाहरू पढ्छन्। स्निग्ध हाँसो मुहारभरि छरेर भन्न थाल्छन्–' मलाई चिनेकी छौ?'
म भ्रमित हुन्छु। गोविन्दराज भट्टराई सरको किताबबाट को निस्कियो ऊ त हँ ? गोविन्द सरलाई त मैले भेटेकी छु। उहाँको अनुहार त परिचित छ। बेलायत भ्रमणमा सरले धेरै साहित्यकार र कलाकारहरूसँग परिचित गराउनु भएछ। पक्कै तिनै स्रष्टामध्ये कोही होलान् भन्ने सोच्दै छु। ती पुस्तकका बा पुनः बोल्छन्, 'नानी! हातमुख जोर्न पाएकी नै छौ, मनहरूको कुरा नसुन साहित्यको साधना गर। लक्ष्मी प्रसादले भनेको बिर्सियौ? 'साग र सिस्नु खाएको बेस आनन्दी मनले।’ त्यो आनन्द, शान्ति र सन्तुष्टि पो तिम्रो सम्पत्ति हो त! तिम्रो जस्तो जीवनको त म पनि कामना गर्थेँ। तर मलाई सम्भव भएन। तिमी तिम्रो विश्वासमा पूर्णविश्वस्त भएर हिँड। मनको मति अनेक हुन्छ। हृदयको कुरालाई सुन। भट्टराईले मेरो परिचय तिमीसँग गराएनन्?'
झल्याँस्स हुन्छु। पुलुक्क हेर्छु ती स्रष्टाको मुहारमा मृदुल हाँसो देख्छु। काँधमा कोट बोट भिरेको, चस्मा लगाएको, सेतो सर्ट, कालो पाइन्ट, पहेँला र सेता फूलका माला लगाएका। मेरा दृष्टि सचेत हुन थाल्छन्। यी भद्र व्यक्ति कतै लैनसिंह बाङ्देल त होइनन्?
'घत् हुस्सु !’ भन्दै, आफ्नै टाउकोमा प्याट्ट हिर्काउँछु। आफ्नै आँगनको फूल चिन्न नसक्ने म कति बेहोसी! अहो! नेपालीमा यति मजाले बोल्ने स्रष्टा कहीँ बेलायती हुन्छन्? यी त 'मुलुक बाहिर म’ का लेखक लैनसिंह बाङ्देल नै हुन्। म नजिकै सोफामा आएर बसेका छन्। साठी वर्ष अगाडि युरोपको आफ्नो यात्रा मलाई छोटकरीमा सुनाउँदै छन्।
म भट्टराई सरको दोस्रो बेलायत यात्रा सुनाउँदै छु। मेरो हात चपक्क समातेर बाङ्देल 'मेरो दोस्रो बेलायत यात्रा’ को पृष्ठ सत्रलाई दोहोर्याएर पढ्न लगाउँछन्।
म सस्वर वाचन गर्न थाल्छु,'कैले त यस्तो इच्छा हुन्छ- जीवनमा केबल हातमुख जोर्ने मात्र साधन आफूसित भए आफ्नो सारा जीवन, सारा जीवनका ती अमूल्य घडीहरू, पलहरू केबल साहित्य-साधनामा मात्र खर्च गर्ने थिएँ हुँला। यो आनन्दभन्दा अरू ठूलो आनन्द मलाई केही हुनेछैन। ( मेरो दोस्रो बेलायत यात्रा ( पृष्ठ १७ )
'यो कसले भनेको थाहा छ नानी!' आनन्दित भएर भन्छु लैनसिंह बाङ्देल। मुसुक्क हाँस्दै मेरो टाउकोमा हात राखेर पुनः पुस्तकमै अलप हुन्छन् बाङ्देल बा। म पूर्णरूपमा ढुक्क हुन्छु। अब मलाई हल्लाउन आउने मनसँग मलाई कुनै चिन्ता नै छैन। मेरो मनको अवस्था देखेर सुभाष सर भन्नुहुन्छ- अरूको कुरा नसुन्। पैसाभन्दा ठूलो मान हो, प्रतिष्ठा हो। खुरूखुरू आफ्नो बाटोमा हिँड।
म अझ ढुक्क हुन्छु। जसले मेरो दाल, भात र डुकुको जिम्मा लिएको छ, उसले मलाई बुझे भैहाल्यो नि!
भोलि एउटा साहित्यिक कार्यक्रममा जानु छ। तयारी सबै पूरा भैसकेको छ। अस्ति नै आएका मित बा टुप्लुक आइपुग्नुहुन्छ। उहाँ नेपाली साहित्य पढाउने घागडान प्रोफेसर। विदेश भ्रमण बाक्लै छ। पैसा पनि चाहिँदो छ।
हिजो मित बाले नै भन्थे, 'एमए गरेकी मान्छे घर बसेर काम नलाग्ने भई।' आज पनि भन्दै छन्, 'काम नपाएर के लखर लखर त्यो नचाहिने साहित्यिक कार्यक्रममा हिँडिरा। पैसासैसा दिन्छन्? कि खाली ताली मात्र ठोक्न जाने हो?' मलाई केही बोल्न मन लाग्दैन। खाना पकाएर खुवाउँछु। घरको काम पनि सक्छु। हिजो उहाँ आउँदा गर्ने मानमनितोमा कुनै कसर नहोस् भनेर सक्दो लागिपरेकी छु। आज पनि कान भर्न छोडेनन् मित बाले। कठैबरी! राम्रो हेर्न र मिठो बोल्न यो उमेरसम्म जानेनन्।
हिजो गृहिणी मात्र हुँदा पनि यिनीहरूलाई मेरै पीर थियो, आज दुई अक्षर लेख्दा पनि यिनीलाई नै पीर छ। मलाई कति माया गरेका हे प्रभु! हिजोसम्म केही काम छैन भन्नेहरूले अब त यसको पनि काम छ नि भन्लान् भन्ने सोचेकी थिएँ। तर म त भ्रममा बाँचेकी रहेछु। आज पनि मेरो अवस्था दुरूह नै देख्छन् असन्तुष्ट आँखाहरू। जागिरे महिलाहरू गृहिणी, साहित्यकार हुनु र गृहिणीहरू साहित्कार बन्न खोज्नु कति फरक कुरा रहेछ। जागिरे महिलाका चपेटा धेरै भए पनि आत्मसम्मान छ। स्वाभलम्बी छन्। मलाई सन्तोषले पूर्ण भए पनि समाज आउँछ दुर्वाशा बनेर। वचनरूपी भाला रोपिरहन्छ। शान्त तलाउ भएर बसेकी हुन्छु छुस्स छुस्स ढुंगा फ्याक्न पछि पर्दैनन्। म त काम नभएकी मान्छे रे। पैसाबिनाको काम त यो लोकमा वर्जित नै रहेछ।
अब समयको खोलाले मलाई बगाएर धैरै पर पुर्याइसक्यो। म समयको मुहान भेट्न सक्दिनँ। म जहाँ पुगेकी छु, मेरो मुहान त्यहीँबाट आरम्भ भएको छ। पुस्तकले मेरो ज्ञानको दायरा फराकिलो पार्दैछ। म निकै खुसी छु। अध्ययन र लेखनको क्षेत्रमा लागिपेरकी छु। कानमै मित बा बोल्छन्– पैसाबिना किन लेख्छेस्। पैसा नआउने पनि कुनै काम हुन्छ? साँच्चै तेरो काम नभएर साहित्य पढ्छेस्। काम नभएर नै तँ साहित्यिक कार्यक्रममा जान्छेस्।
मित बा बोल्दै जान्छन्,'हेर त मलाई पनि बोलाउँछन् साहित्यिक कार्यक्रममा प्रमुख अतिथि बनाएर। म जान्छु किनकि त्यहाँ पैसा छ। खाममा पैसा हालेर दिन्छन्। त्यसैले त्यो त मेरो काम हो। मेरो काम नभएको भए मलाई पैसा दिँदैनन् थिए।'
मित बा कुटिल हाँसो हाँस्छन्।
म छक्क पर्छु।
साहित्यिक कार्यक्रम तीर्थस्थल हो। गृहिणीले साहित्यिक कार्यक्रममा जाँदा काम नभएर गएकी बेकम्मा मान्छे भएँ?
त्यो दिन साहित्यिक कार्यक्रमबाट घर आउँदै गर्दा बाटोमै भेट्छु कामकाजी साथीहरूलाई।
बाटोमा पनि निकै प्रश्नहरूले घेरिन्छु, 'अचेल त काम छ होला नि? निकै देखिन्छ सामाजिक सञ्जालमा फोटाहरू? कति हुन्छ तलब?' म फिस्स हाँस्छु, नजिकै बसेकी अर्को साथी मुसुक्क हाँस्दै भन्छे- बीस हजार हुन्छ लेखेर?
म बीस हजारको कुरा सुनेर विस्मित हुन्छु। अनि आफ्नै मनलाई खुसुक्क सोध्छु, 'ए मेरो मन भन त, म के उत्तर दिऊँ।'
मेरो मनले रोष प्रकट गर्दै भन्छ, 'बीस हजार होइन, चालीस पचास हजार हुन्छ भन्दे न, तिल्मिलाऊन्।'
म निर्भीक भएर उनीहरूको अगाडि आफ्नो धारणा अभिव्यक्त गर्छु, 'पहिलो प्राथमिकतामा मेरो परिवार छ। मैले मेरै समय जोगाएर साहित्यको साधना गर्छु। अब त लत बसिसक्यो पढ्ने लेख्ने कुरा। मलाई रमाइलो लाग्छ साहित्यिक कार्यक्रमहरूमा कहिलेकाहीँ जाँदा।'
दुवैका ओठ लेप्रिएको देख्छु। आँखा सन्काएको देख्छु। मेरो उपहास गरेको पनि चाल पाउँदै छु। घरभित्र होस् या बाहिर गृहिणीको काम आखिर पहिचान नभएको काम नै हुनेरहेछ। पैसासँग जोडिएर आएका रहर मात्र रहर हुने रहेछन्। मेरो रहर त काम नभएर गरिएको फोकटिया रहर रहेछ।
हस्याङफस्याङ गर्दै घर आउँछु, बुढा भएका ससुरा बा पनि केही ल्याएकी छ कि बुहारीले भनेर मुख मिठ्याउँदै आउनुहुन्छ। धन्न केही खाने कुरा किनेर झोलामा घुसारेकी हुन्छु। झिकेर दिन्छु आज बुहारीलाई पैसा दिएछन् भनेर ससुरा बा खुसी भएको देख्छु। झोलामा पापा देख्दा सबैका मुहारमा खुसी ओइरिन्छ। म हाँस्दै भान्सामा उक्लिन्छु। बिहानै घरबाट निस्किएकी हुन्छु, घरभरि कामले मलाई नै पर्खिएर बसिरहेका हुन्छन्। अनि म अर्को रचना गर्न थाल्छु। म आफ्नै सिर्जना कोर्न थाल्छु।