सदरमुकाम पुग्ने पैदल बाटोको सम्झना
पहिला त्यो बाटोमा मानिसहरू दिनहुँ हिँड्थे। कति सपनाहरू यही बाटो भएर पूरा भएका होलान् कति टुटे पनि होलान्। यो बाटोमा शनिबार र बुधबार झन् भिडभाड हुन्थ्यो। यिनै बार त थिए जुन दिन सदमुकाममा हाट लाग्थ्यो।
हाम्रो त बाल्यकालको संस्मरण त्यो बाटोबिना पूरा हुनै सक्दैन। त्यही बाटो हो कपी, कलम र किताब ल्याउने, मीठो कुरा मम, चाउमिन खाने र कहिलेकाहीँ खाद्यले दिने चामल बोक्ने, कृषि भण्डारले दिने मल बोक्ने। तर अब त्यो बाटो त्यस्तो छैन। भिडभाड छैन। गाउँमा सडक पुग्यो। मोटर गाडीहरू त्योभन्दा तलको सडकमा हुइँकिरहेका हुन्छन्।
सायद बाटो केही छुटेको महसुस गर्दो हो। कसैको साथ नपाएको गुनासो गर्दो हो। कयौं भरियाको भारी बिसाउने चौतारीमा अब पहिलो जस्तो बिसौनीको आड नहोला। तोक्मा अड्याउने ढुङ्गाहरू यताउता पुगे होलान्। पहिला जस्तो पानी पिउने ढुंगे धारा नहोला भए पनि लेउ जम्मा भएको होला घारीमा परिणत भैसकेको होला। ती खाजा पसल विस्थापित भए होलान्। विकाससँगै यसको औचित्यमा प्रश्न उठेपछि यो आफैंलाई विलीन भएको महसुस गर्दो हो।
यहाँ कुरा हुँदैछ ओखलढुंगा जिल्ला हालको सिद्धचरण नगरपालिका २ ठूलाछाप निशंखेदेखि सदरमुकाम ओखलढुंगासम्म जाने पैदल बाटोको।
३ घण्टा १५ मिनेट जति हिँड्नु पर्थ्यो त्यो बाटो। हाम्रो गाउँ निशंखेको चौतारीबाट हिँडेपछि बाटोको सुरूमै ठूलो मौवाको रूख पर्थ्यो। हाम्रो बाल्यकालमा मौवाको बोट पनि हाम्रो साथी थियो। हामी स्कुलको छुट्टीमा कहिलेकाहीँ त भागेर नै खेल्न जान्थ्यौं। अनि साथीहरूबीच कहाँ जाने कुरा हुन्थ्यो। एकै स्वरमा भन्थ्यौं मौवाको रूखमुनि अनि मस्त खेलिन्थ्यो गुच्चा।
हो त्यही मौवाको रूखमुनिबाटै बाटो सुरू हुन्थ्यो सदरमुकाम ओखलढुङ्गा जाने। मौवाको रूखबाट १०/१५ मिनेट हिँडे बासको झाङमुनि पानी जम्मा हुने ठाउँ पुगिन्थ्यो जसलाई हामी सानो आहाल भन्थ्यौं। सदरमुकामबाट गाउँ फर्किंदा यही ठाउँ आइपुग्दा लाग्थ्यो अब घर आइपुगियो। गलेर लखतरान भएको ज्यानमा स्फूर्ति आउँथ्यो। दुखेका खुट्टामा मालिस भएको भान हुन्थ्यो। पाइला बिस्तारै लम्किँदै गर्दा अलि घुमाउरो बाटो २५ मिनेट जति कस्सिएर हिँडेपछि अर्को आहाल पुगिन्थ्यो। यसलाई हामी ठूलो आहाल भन्थ्यौं। थाहा छैन किन भनेको तर ठूलो भएर हो कि! यसमा बर्खामा बाहेक पानी चाहिँ मैले कहिल्यै देखिनँ।
यो ठूलो आहालबाट थोरै उकालो बढी तेर्सो र घुमाउरो बाटो ३०/४० मिनेट हिँडेपछि छरछरे भन्ने स्थान पुगिन्थ्यो। यो ठाउँ गजबको थियो। यो ठाउँमा ठूला ठूला ढुङ्गाहरू हुन्थे। सानामा कल्पना गरिन्थ्यो यसको एउटै ढुङ्गामा पनि घर बनाएर बस्न सकिन्छ होला लाग्थ्यो। कति ढुङ्गाहरू त परिचित हुन्थे, थाहा हुन्थ्यो यो ढुङ्गा कट्यो अब यो ढुङ्गा आउँछ भन्ने। यहाँ जङ्गल पनि भएकोले सानामा यो ठाउँ पार गर्न खुब डर लाग्थ्यो। यो ठाउँ पार गरेर गाउँ नभेटेसम्म मुटु ढुकढुक गर्दथ्यो। छरछरेबाट तेर्सो करिब ४०/५० मिनेट हिँडेपछि नारायणस्थानको अँधेरी गाउँलाई तय गर्दैगर्दा यहीँबाट सुरू हुन्थ्यो अँधेरीको उकालो। लाग्थ्यो यो उकालो डा.तारानाथ शर्माले वर्णन गरेको घनघस्याको उकालो नै हो।
हामी यो उकालो तीनरचार ठाउँ नबिसाइकन कट्न सक्दैनथ्यौं। यही उकालोमा अँधेरी खोलो पनि पर्थ्यो यो खोला वर्षाको समयमा ठूलै हुन्थ्यो। हामी त तर्न सक्दैन थियौं कसैको सहायता चाहिन्थ्यो। यहाँको अर्को समस्या पहिरोको थियो। वर्षा याममा यो उकालोको पहिरोदेखि सारै डर लाग्थ्यो। लाग्थ्यो सायद पहिरो खस्ने त हैन। कति ठाउँ त कुदेर पहिरो कटिन्थ्यो। यो उकालो कट्न हामीलाई ४०/५० मिनट लाग्थ्यो। यसको शिर भागमा बर र पिपलसहितको चौतारी थियो। यो उकालो हिँड्ने जो कोही पनि थकाइ मार्ने ठाउँ।
यसको गुन त भुलिनसक्नुको थियो। यहीँबाट कहीँ नछेकिएको फाँट रुम्जाटार पनि देखिन्थ्यो। त्यहाँ प्लेन बसेको र उडेको हेर्न छुट्टै मज्जा आउथ्यो। यसको आडैमा धारा पनि भएकोले पानी खाने अड्डा पनि थियो। चौतारीमा एकछिन थकाइ मार्दै चिसो बताससँगै सुस्तायो अनि एकछिनपछि पानी खायो। त्यसपछि लाग्थ्यो केही जितियो। शायद अनुभूति बाल्यकालमा त सगरमाथाको चुचुरो चुमेको जस्तै हुन्थ्यो। यसको छेवैमा एक पसल पनि थियो। कति त यो पसलमा थकाइ मारी चिया नास्ता पनि गर्थे।
यही उकालो चढेपछि अब सदरमुकाम आएको भान हुन्थ्यो। जति जति हिँड्यो सदरमुकाम उतिउति नजिक लाग्थ्यो। चौतारोबाट केही उकालो र र घुमाउरो तेर्सो बाटो ३०/४० मिनेट हिँडेपछि सदरमुकाम देखिन थाल्थ्यो। गलेका खुट्टामा ऊर्जा थपिन्थ्यो। पुगियो है भन्ने लाग्थ्यो। हुन त त्यहाँबाट पनि ३०/४० मिनेट हिँडेपछि मात्र सदरमुकाम पुगिन्थ्यो। यसको बीचभागमा ढुङ्गे धाराको पानी थियो। आउँदा होस् या जाँदा यो ढुङ्गे धारामा तिर्खा मेटाइन्थ्यो। यसमा जुका लाग्ने डर हुनाले अग्रजले टाँसिएर हैन अञ्जुली बनाएर पानी पिउन सिकाउनु हुन्थ्यो। अब यहीँबाट ३०/४० मिनेट लगातार हिँडेपछि भेट हुन्थ्यो युगकवि सिद्धिचरण श्रेष्ठको 'मेरो प्यारो ओखलढुङ्गा'।
हतार हुन्थ्यो हाट बजार हेर्ने, किताब कलम किन्ने, आनन्दसाथ थुक्पा मम खाने, गलेको ज्यानलाई थकाइ मार्न दिने। यसरी तीन चार घण्टा बिताएपछि फेरि सुरू हुन्थ्यो बाटोसँगको अन्तर्क्रिया अन्तर्क्रिया यसरी नै चलिरहन्थ्यो पटक पटक।