मलाई त अझै पनि लाग्छ ऊ गएकै छैन। ऊ यहीँ छ। यतैकतै।
मेरो जन्म दिन थियो। दिनभरि लागि रह्यो ऊ बेलुका आउनेछ। केक लिएर आउनेछ। गत वर्ष पनि उसले यस्तै गरेको थियो। ऊ घर निकै अबेर आएको थियो।
लागेको थियो उसले मेरो जन्म दिन बिर्सेको छ। म गलत थिएँ। आखिर एक श्रीमानले हरेक कुरा बिर्सन सक्छ,आफ्नो श्रीमतीको जन्म दिन कसरी बिर्सियोस्? ऊ ढिलो आयो। केक लिएर आयो। उपहार लिएर आयो। हामी त्यसपछि सहरको रमाइलोमा गयौं। निकै रमाइलो लागेको थियो। मेरो जीवनको उत्कृष्ट जन्मदिन थियो। किनभने ऊ थियो साथमा।
आज पनि उसले यस्तै गर्नेछ। ऊ अवश्य आउने छ। दिनभरि उसको प्रतीक्षा गर्दै बसिरहेँ। राति खाना बनाएँ। आफैंले बनाएँ। मेरी आमा आज मेरो जाँगर देखेर अचम्म परिरहनुभएको थियो। किन नहुने त उहाँ? धेरै दिनपछि म भान्सामा छिरेको थिएँ। छोरालाई आफैं खेलाउन लागेको थिएँ। छोरो मेरो सामिप्य पाएर निकै खुसी भएको थियो। किन नहोस् त ऊ खुसी? उसले आज धेरै दिनपछि आफ्नो ममीको काख पाएको थियो।
खै आजकाल त जीवन जिउन पनि बिर्सिसकेको छु जस्तो लाग्छ। मेरो सुन्दर परिवार। मेरो वर्तमान र भविष्य आफ्नो आँखासामु हुँदा पनि म एक्लो भएको छु जस्तो लाग्छ।
म तिमीलाई माया गर्छु। मेरो छोराभन्दा पनि बढी। म भन्थेँ। म मेरो मनको वास्तविकता उसलाई सुनाइरहेको थिएँ।
मेरो काला ‘म छोरालाई बढी माया गर्छु’ भन्थ्यो।
आखिर ऊ कसैलाई माया गर्ने रहेनछ। न त उसले आफैंलाई माया गर्न सक्यो। आखिर छोराको पनि माया लाग्ने रहेनछ उसलाई। मलाई त पर जाओस् ऊ आफ्नो छोरालाई पनि छोडेर गयो। आजकाल त लाग्छ जो आफैंलाई माया गर्न सक्दैन, ऊ कसैलाई पनि माया गर्न सक्दैन। आफ्नो आमाबाबालाई पनि माया गर्न सक्दैन। उसले श्रीमतीलाई त कहाँ माया गरोस्? आफ्नो सन्तानलाई पनि माया गर्न सक्दैन।
ऊ झूटो रहेछ। छोराको बढी माया लाग्छ भन्थ्यो। उसलाई छोराको पनि माया नलाग्ने रहेछ।
म किन ऊबाट मायाको अपेक्षा गरिरहेको रहेछु। ऊ निष्ठुरी आफ्नो पनि हुन सकेन। कसैको पनि हुन सकेन।
आजकाल त मलाई मेरो ममीको निकै माया लाग्छ। आखिर उहाँ पनि त एक्लो हुनुहुन्छ। मेरो जस्तै उहाँ कसैको पहिलो माया, पहिलो प्राथमिकता, कसैको हुनुहुँदैन। हामी आमाहरू निकै अभागी छौं।
लाग्थ्यो ‘म कसको पहिलो रोजाइ हुँ त’? आजकाल लाग्छ ‘म कसैलाई पहिलो रोजाइमा राख्दै छु’। कहिलेकाहीँ लाग्छ हामी भाग्यमानी पनि छौं। हामी आमाहरू माया दिन्छौं। कसैबाट माया नपाए पनि हामी हाम्रा सबैलाई माया गर्छौं।
तर मन कहाँ अडाऊँ म। ऊ गएको घाउलाई समयले मल्हम लगाइसकेको छैन। मेरोसामु मेरो छोरो भए पनि मेरो मन उसँगै थियो।
दिनभरि ऊ खरानी नहुँदासम्म हेरिरहेको थिएँ उसलाई। उसको अस्ताएको शरीर बिलायो। केही क्षण अघि बोल्दै गरेको मेरो पहिलो माया केही छिनमा हरायो। मेरो काला कालो बनेर गयो। आँखाका आँसु जसरी पहिरो बनेर गयो।
म भने किनारमा मिल्किएको ढुङ्गो बनेँ। ऊ पानीझैं बगेर गयो। उसले कुन अनन्त खोजेको थियो, उसैमा हराउन गयो। म भने उसको आशामा अझै जीवित छु। उसकै आशा लिएर बाँचिरहेको छु। ऊ आउने छ। कुनै साँझ भन्ने छ- मोनिका ‘खाना पस्की, म आएँ। आज निकै भोक लागेको छ।
त्यो कुनै दिन आज थिएन। उसलाई बनाएको खाना आज पनि सेलाएर गयो।
छोरो दौडदै आयो। साना पाइला पछ्याउँदै आयो।
‘ममी आज बाबाले भाटभटेनी घुमाउन लानु भएको नि।’ उसको अबोध स्वर अझै पनि बाबालाई सम्झँदै थियो। म आजकाल आफ्नो छोरोलाई सँगै लिएर सुत्न पनि सक्दिनँ। मेरो खाटसामु आउने बित्तिकै ऊ ‘बाबा खोइ’ भन्छ।
म कसलाई ‘ऊ बाबा’ भनेर चिनाऊँ। मेरो काला त मेरो सामु छैन।
‘बाबा पैसा कमाउन जानु भएको छ।’ म फकाउन भन्ने गर्छु। म अरू के भनौं?
मसँग उत्तर पनि छैन। सायद ऊ सही प्रश्न गर्ने उमेरको भइसकेको छैन। कुनै दिन ऊ उचित प्रश्न गर्न सक्ने लायकको बन्नेछ। त्यस दिन म के उत्तर दिने छु। म आफैंलाई थाहा छैन।
ऊ कुनै दिन अवश्य प्रश्न गर्नेछ।
‘मामु बाबाले कति पैसा कमाएपछि मलाई भेट्न आउनुहुनेछ ? म बाबाको माया पाउन लायक रहेनछु है। उहाँले मलाई छोडेर जानु भयो। मैले बाबाको माया पाउन के गर्नुपर्छ ममी?
स्कुलमा तिम्रो बाबा खै भनेर प्रश्न गर्छन्। म के भनौं ममी? मेरो बाबा त मेरो 'प्यारेन्ट्स डे' मा पनि आउनु हुन्न। म कस्तो अभागी रहेछु है?'
म के उत्तर दिऊँ।
बिचरा छोरो। ऊ साँच्चै अभागी रहेछ। उसले काँतर बाबा पाएको रहेछ।
जीवन संघर्ष हो। यति सामान्य कुरा बुझ्न सक्ने बाबा पनि पाएको रहेनछ।
इगो सामान्य कुरा हो। आफ्नो मायाभन्दा त निकै तुक्ष भाव हो। उसले त्यति तुच्छ भाव बुझ्ने बाबा पनि पाएको रहेछन्।
ऊ बिनासप्रिय बाबाको छोरो रहेछ। उसले हाम्रो जीवन भताभुंग बनाएर गयो।
उसलाई पनि आफ्नो गल्तीको आभास हुँदो हो। नत्र भए किन ऊ बारम्बार छोरोको सपनीमा आउँदो हो। मेरो सपनीमा पनि आएकै हो।
भन्दै थियो, ‘मेरो आत्माले शान्ति पाएको छैन मोनिका। तिमी तिनीहरूलाई नछाड। तिमीलाई थाहा छ मलाई मार्ने को हुन्!’
म भन्न पनि सक्दिनँ। तिमीलाई मार्ने तिमी आफैं हौ भनेर। हो तिमीलाई त्यो स्थितिमा पुर्याउने अरू कोही थिए। तर त्यो सिलिङमा झुण्डने तिमी आफैं हौ। तिमीलाई कसैले झुण्डाएको होइन। कसैले तिमीलाई मृत्युको बाटो देखाउँछ भने पनि त्यो बाटो हिँड्ने/नहिँड्ने तिम्रो विवेकको कुरा हो। लाग्थ्यो तिमी कमसेकम त्यति बालकको छैनौ जति म तिमीलाई सोच्ने गर्थे। लाग्थ्यो म दुई बालक हुर्काउँदै थिएँ। तर तिमी त मेरो तीन वर्षको छोरा जतिको विवेकी पनि रहिनछौ। म कसरी आफूलाई समालौं काला?
तर म त आमा हुँ। म तिमी जतिको निष्ठुरी हुन सक्दिनँ। म आफ्नो भाग्यले दिएको बाँचिरहेको छु। आफ्नो नभएको पनि पोल्टो थापेर बाँचिरहेको छु। आधा तिम्रो लागि बाँचिरहेको छु। आधा हाम्रो छोराको लागि बाँचिरहेको छु। तिम्रो न्यायको लागि बाँचिरहेको छु। छोरोको भविष्यको लागि बाँचिरहेको छु। नत्र भए त म उहिल्यै तिमीलाई साथ दिन तिम्रो सहरमा आइसक्ने थिएँ।
तर खै म कति दिन यो आशामा बाँचिरहन सकूँला? लागिरहेछ तिमी पुरानो फोटो बन्न सुरू हुँदैछौ। म कति पुछुँ तिम्रो स्मृति। म कति बिर्सन खोजुँ तिम्रो याद। तिमीसँग बिताएका समय।
म निरास हुन्थेँ । तिमी मलाई घुमाउन लान्थ्यौ। मलाई किन्न मन लाग्थ्यो। पसलहरु चहार्न लान्थ्यौ। तिमीलाई सिकाउनै पर्थेन। मेरो निरासा देखाउनै पर्थेन।
मेरो काला थियौ तिमी। मेरो प्रिय थियौ तिमी। मलाई के मन पथ्र्यो सबै थाहा थियो तिमीलाई। तिमी मलाई त्यो सुनसान एकान्तको बाटो लान्थ्यौ जहाँबाट तिमी कुनै दिन उही बाटो जलेर गएका थियौ।
यो घाट आज पनि जलाइरहेछ अनेकका भविष्य। जलाइरहेछ गएका समयहरू। जो आज स्मृतिमा मात्र कैद छन्। तिमीजस्तै।
तिमीले हाम्रो भविष्य आफ्नो अन्त जस्तै बनाएर गयौ।
म बेला-बेला हतोत्साहित हुन्छु प्रिय। तर अझै पनि मैले आशा मारेको छैन। म एक्लो छु प्रिय तर पनि म जाँगरको साथ छु। म लडिरहेको छु। जीवनले जता डोहोर्यायो उतै बगिरहेको छु। आफ्नो न्यायको लागि बाँचिरहेको छु। कुनै दिन मैले पाउनुपर्ने न्याय पाउनेछु। मलाई विश्वास छ।