गत असोज ८ गतेको साँझ लोक सेवा आयोगबाट एउटा म्यासेज आयो। सो म्यासेज अरु केही नभएर मेरो वर्षौंदेखिको सपना पूरा भएको म्यासेज थियो। अर्थात् म शाखा अधिकृत छनौट भएको म्यासेज।
उक्त म्यासेज आइरहँदा मेरा आँखाभरि आँसु छचल्किएको थियो। खुसी बाँड्न सकिरहेको थिइनँ। एकछिनपछि आमालाई फोन गरेर शाखा अधिकृत भएको सुनाएँ। मैले यति भनिरहँदा मेरी आमाको बोली हरायो। 'आमा! आमा!' भनेर बोलाउँदा समेत जवाफ आएन। केहीबेर पछि सुक्कसुक्क गरेको आवाजका साथ 'धेरै-धेरै बधाई छोरा' भन्नुभयो र बुबासँग बोल्न भन्नुभयो।
बुबा पनि बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन। रुन्चे आवाजमा 'तेरो इच्छा पूरा भएछ, धेरै बधाई छोरा' भन्नुभयो। मेरो खुसीमा खुसी हुने मिसिका, अप्सरा, लोकेन्द्र, देवेन्द्र लगायत पनि कम्ती खुसी थिएनन्।
लोक सेवा तयारी गर्ने हरेकको सपनाको घरको रुपमा स्टाफ कलेज रहेको हुन्छ। स्टाफ कलेज पुग्ने र उक्त कलेजको निलो भित्तामा गइ तस्बिर खिची प्रोफाइल चेन्ज गर्ने एउटा ट्रेण्ड र इच्छाशक्ति रहेको हुन्छ हरेकमा। त्यस्तो सपना ममा पनि थियो। उक्त इच्छा पूरा हुँदा मनमा कम्ती खुसी छाएको थिएन।
असोज ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियुक्ति पत्र बुझियो। त्यसको केही दिनपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट भाइबर लिंक प्राप्त भयो। उक्त लिंकमा जोडिएपछि प्रतिष्ठानबाट संचालन हुने तालिम सम्बन्धी जानकारी हुने रहेछ। असोज १४ गते जानकी समूह नाम गरेको अर्को भाइबर लिंक प्राप्त भयो। उक्त समूहमा जोडिने अवसर प्राप्त हुनुका साथै ४ महिनासम्म उक्त समूहकै एक सदस्यको हैसियतमा तालिम प्राप्त गरियो।
असोज १७ गतेबाट बिएटी- ३७ का अधिकृतहरूका लागि स्टाफ कलेजले तालिमको आयोजना गरेको थियो। मलगायत १९७ जना भर्खरै पास गरेका अधिकृतहरू सपनाको घरमा पुगेका थियौँ, मनभरि हर्ष र उमंगको वर्षाका साथमा।
स्टाफ कलेजको मूल गेटमा नै स्वागतको व्यानर राखिएको थियो। अलि भित्र अडिटोरियम हल नजिक पुगेपछि त्यहाँ पनि स्वागतको गेट थियो। हामी सबैलाई बिहानको ११ बजे अडिटोरियम हलमा छिर्नु भन्ने आदेश थियो। सोही मुताविक हामी ११ बज्न केही मिनेटअघि नै उक्त हलमा छिर्यौं। उक्त हलमा सामान्य प्रशासन मन्त्री, महालेखा नियन्त्रक, एनएएससीका कार्यकारी निर्देशक लगायत अन्य सिनियर सर/म्यामहरूले बधाई तथा शुभकामनाका साथ केही निर्देशनहरू समेत दिनुभयो।
त्यसको केही समयपछि उद्घाटन सत्र समापन भयो। हामी सबै अधिकृतहरूलाई आ-आफ्नो कोर्डिनेटरहरूले कक्षाकोठामा लानु भयो। कक्षाकोठामा पुगेपछि परिचयात्मक कार्यक्रम सुरु भयो।
जानकी समूहमा २७ जना प्रशिक्षार्थी अधिकृतहरू थिए। तर एकजना साथीले नियुक्ती लिनु भएन भने अर्का एकजना साथीले तालिम लिनु भएन, जसका कारण तालिम लिने हामी २५ जना प्रशिक्षार्थी अधिकृतहरू थियौँ।
असोज १९ गतेबाट हाम्रो होस्टेल बसाइँ सुरु भयो। होस्टेल बस्ने हामी प्रथम समूह थियौँ। होस्टेल बस्ने क्रममा हामीलाई अनुशासनका कुराहरू सिकाइयो। स्वस्थ जीवनशैली यापनका लागि भक्तपुरको रानीकोट हाइकिङका लागि लगियो। राजदरबारको इतिहास बुझ्न नारायणहिटी दरबार संग्रहालय लगियो। ग्रेटर नेपाल चिन्नका लागि सो सम्बन्धी वृत्तचित्र देखाइयो।
विपद व्यवस्थापन तथा उद्दार कार्यको अनुभव सेयरिङ तथा सिकाइका लागि शसस्त्र प्रहरीको विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटार लगियो। डाइनिङ एटिकेट सिक्नका लागि सिल्भर माउन्टेन, लैनचोर लगियो। होस्टेल बसाइँको क्रममा औपचारिक सेसनभन्दा अन्य समयमा बिहान योग र पिटिपरेड गराइयो। बेलुका अतिरिक्त क्रियाकलाप अन्तर्गत डान्स, खेलकुद, चित्रकला, संगीत, आदिको अभ्यास गराइयो। हरेक दिन साँझ नेपाल प्रहरीद्वारा रोलकल गराइन्थ्यो। होस्टेल बसाइँकै क्रममा हाजिरी जवाफ कार्यक्रम, साहित्य महोत्सव आदि कार्यक्रमहरू पनि गरिए।
दैनिक सिकाईका क्रममा स्टाफ कलेजले हामीलाई जीवन जिउने कला, कार्यस्थलमा गएर काम गर्ने तरिका, मास फेस गर्ने तरिका, कुशल सार्वजनिक सेवा प्रवाहका तरिका लगायत कयौँ ज्ञानगुनका कुराहरू सिकायो। अनुशासन, सदाचार, नैतिकता लगायत जीवन दर्शनका कुराहरू पनि हामीले सिक्ने अवसर पायौँ।
देश विकासमा एउटा अधिकृतले निर्वाह गर्नुपर्ने भूमिका, पालना गर्नु पर्ने कर्तव्य, इनोभेटसभ आइडिया सृजना लगायतका कैयौँ कुरा यस तालिमको अवसरमा सिक्ने मौका पाइयो। नगर सभा र गाउँ सभा सञ्चालनका तरिका, स्थानीय तहमा बजेट बनाउने र सो को कार्यान्वयनका तरिका, सेवा प्रवाह सम्वन्धमा सेवाग्राहीका गुनासो र सोको सम्वोधनको उपाय लगायतका कुराहरू प्रयोगात्मक तवरले सिक्ने मौका यस तालिमको दौरान प्राप्त गरियो।
अहिलेको विश्वव्यापीकरणको समयमा नेपालको सार्वजनिक प्रशासन आइसोलेट भएर रहन सक्दैन र एउटा अधिकृतले अंग्रेजी भाषा समेत जान्नुपर्छ भन्ने उद्देश्यका साथ अंग्रेजी भाषाका कक्षाहरू स्टाफ कलेजले हामीलाई उपलब्ध गरायो। यस अंग्रेजी कक्षामा हामी प्रशिक्षार्थी अधिकृतहरूलाई अंग्रेजी बोल्न अधिकतम अभ्यास समेत गराइयो।
विकास व्यवस्थापनका लागि समेत यो तालिम महत्वपूर्ण रह्यो। नेपालको वर्तमान विकासको अवस्था, अब चाल्नु पर्ने कदमहरू, विश्वका अन्य देशको विकास प्रक्रिया र नयाँ-नयाँ मोडेलहरू लगायतका विविध विषयवस्तुहरू यस तालिमको दौरान सिकाइयो। नेपालको विकासको मोडल देखाउन गुह्येश्वरीस्थित फोहोर प्रशोधन केन्द्रमा लगेर हामीलाई सोको व्यवस्थापन तरिका समेत सिकाइयो।
नेपालको सीमा सुरक्षा के कसरी भइरहेको छ, के कस्ता समस्या र चुनौतीहरू छन्, नेपालको भन्सारको व्यवस्थापन तथा सुरक्षा के कसरी भइरहेको छ भन्ने विषयको ज्ञान समेत यस तालिममा हामीलाई सिकाइयो। सीमा सुरक्षा तथा भन्सार सुरक्षाको मुख्य काम गरिरहेको सशस्त्र प्रहरीको मुख्यालयमा लगेर हामीलाई त्यहाँका एसपीले क्लास दिनुभयो। साथै सशस्त्र प्रहरीको मुख्यालयमा रहेको सिसिटिभिबाट देशमा प्रमुख भन्सार नाकाहरूको निगरानी भइरहेको कुरा हामीलाई प्रत्यक्षरुपमा देखाइयो।
स्थानीय तहको सेवा प्रवाह, सेवाग्राहीको गुनासो लगायतका यावत विषयवस्तुको अध्ययनका लागि हामीलाई कीर्तिपुर नगरपालिकामा लगेर प्रत्यक्ष रुपमा सिकाइयो। त्यहाँका जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीहरूसँग समेत प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिलाइयो।
यस समूहलाई देश दर्शन कार्यक्रमअन्तर्गत स्याङ्जा र पाल्पाको अवलोकन भ्रमणका लागि लगिएको थियो। यस समूहले स्याङ्जा र पाल्पाका महत्वपूर्ण र ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा प्राकृतिक स्थलहरूको अवलोकन भ्रमण गर्ने अवसर प्राप्त गरेको थियो। सरकारी निकायबाट प्रवाह हुने सेवासुविधाको अवस्था, देखा परेका समस्या र चुनौतीहरूको अवस्थाबारे जानकारी हासिल गराउन जिल्ला प्रशासन कार्यालय पाल्पा र तानसेन नगरपालिकाको वडा नं. ८ स्थित मदन पोखरा लगिएको थियो।
यी स्थल जाँदा हामीले महत्वपूर्ण ज्ञान हासिल गर्ने मौका पाएका थियौँ। यस्तै दलित महिलाहरूको अवस्था, सरकारी कार्यालयहरू जाँदा भोग्नु परेका समस्या तथा हामी प्रशिक्षार्थी अधिकृतहरूमाथि उहाँहरूले राखेका अपेक्षाको बारेमा जानकारी लिन स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका वडा नं १ मा रहेको दलित बस्तीमा समेत पुगेका थियौँ।
असोज १७ देखि माघ १९ सम्म हामीलाई कोअर्डिनेटरको रुपमा एनएएससीबाट शैलजा उपाध्याय र सरोजा शाक्य म्यामले गाइड गर्नुभयो। उहाँहरूले एउटा कुशल अभिभावकको भूमिका निर्वाह गर्दै यो चार महिनासम्म गाइड गर्नुभयो। उहाँहरूको मार्गनिर्देशनमा रही यो चार महिने अविधमा हामीले आफ्नो कर्तव्य निर्वाह गरेका थियौँ।
समग्रमा भन्नुपर्दा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बिएटी- ३७ का लागि तालिम प्रदान गर्न विभाजन गरेका ७ वटा समूहमध्ये जानकी समूह एक महत्वपूर्ण समूह हो। यस समूहमा रहेका प्रशिक्षार्थी अधिकृतहरू निकै क्षमतावान र सक्षम छन्। भोलिको निजामती सेवा हाक्ने खुबी भएका कैयौँ नवजवानहरूले यो समूह भरिएको छ।
यसै समूहबाट भोलीको दिनमा सचिवदेखि मुख्य सचिवसम्म हुने सम्भावना समेत देखिन्छ। यो चार महिनासम्म हामीलाई मार्ग निर्देशन गरी महत्वपूर्ण तालिम प्रदान गर्ने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरलाई धेरै धन्यवाद।