बाँच्न हामी सबैले केही न केही संघर्ष गर्नैपर्छ। हामी जो कोहीले पनि आफूले राम्रो काम गर्ने सोच राख्नु पर्छ। देशमै केही राम्रो गर्नुपर्छ भन्ने सोच राख्ने मध्ये म पनि एक पात्र। मलाई केही गर्ने हुटहुटी मनभित्र बेलाबेला चलिरहेको हुन्छ। तर त्यस्तो अवसर भने अहिलेसम्म पाएको छैन।
बजारमा बसेर पढ्न थालेको पनि अब एक दशक जति पुग्न थालेछ। हेर्दाहेर्दै समय बितेको थाहै भएन। अहिले बल्ल थाहा भयो। उमेर बित्दै गयो, जिम्मेवारीहरू थपिँदै गए। रोजगारीको टुंगो लागेन, पढाइलाई निरन्तरता दिन नसक्ने बाध्यतामा पुगियो। विभिन्न चपेटाहरू झेल्नुपर्ने अवस्था सिर्जना भयो। आर्थिक, समाजिक, पारिवारिक जस्ता धेरै चपेटाहरू आइलागे। जीवनका हरेक मोडहरूमा अब विस्तारै यस्ता चपेटा थपिँदै छन्।
आफूलाई समस्यामा पारेको आर्थिक चपेटालाई केही हदसम्म कम गर्न र पढाइलाई निरन्तरता दिन काम गर्ने इच्छा व्यक्त गर्दै केही संघ-संस्था र जब सेन्टर समेत धाएँ। समय, परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै चुनौतीको सामना गरेर अगाडि बढनु पर्छ नत्र पछि दुःख पाइन्छ भन्ने लाग्यो। धैर्य गरेर समय परिस्थितिलाई सामना गरे एकदिन सफल भइन्छ भन्ने मान्यता राखिरहें। जीवन निर्वाह गर्न हरेक प्राणीले आ-आफ्नो कर्म निर्वाह गरेकै हुन्छन् र मैले पनि आफ्नो कर्म निर्वाह गर्नु नै पर्छ भन्ने मान्यता मनभित्र थियो।
नेपालमा रोजगारी बिना बस्नु रहर होइन, बाध्यता बनेको छ। रोजगारी नहुँदाको अप्ठ्यारो वा बेइलमको असजिलो अवस्था, काम नपाउँदाको कठिनाई धेरैलाई थाहा नै छ। देशको बढ्दो बेरोजगारी समस्याले चर्चा पाइरहेको समयमा अस्थिर राजनीति र राजनीतिक दलप्रतिको वितृष्णा, मैले प्राप्त गरेको शिक्षा त्यसबाट हासिल ज्ञान, सीप, क्षमता र दक्षता आदिको कारण स्नातकसम्मको पढाइ पूरा हुँदा पनि न स्वरोजगार बन्न सकें, न त कुनै सरकारी/गैरसरकारी निकायमा जागीर खाने तारतम्य मिल्न सक्यो। कमजोर आर्थिक अवस्था र घरगाउँमा कम उत्पादकत्व क्षेत्रमा हुर्केको म स्वरोजगार बन्न नसक्नु मेरो प्रमुख कारण बन्यो।
निजी संघ-संस्थाहरूमा राजनीतिक प्रभाव र दबाबका आधारमा कर्मचारी भर्ना तथा छनोट गरिन्छ मेरो देशमा। सरकारी क्षेत्र अर्थात् स्वच्छ प्रतिस्पर्धा हुने लोक सेवा आयोगमा निकै प्रतिस्पर्धा भएकाले दिनरात नभनिकन मेहनत गर्नुपर्छ। नाम निकालेर जागिरे भन्न केही समय धैर्यता गर्नुपर्ने हुन्छ। स्नातकोत्तर पास हुँदासम्म उमेर २५/२६ वर्ष पुगिसकेको हुन्छ। फेरि लोक सेवा पास गर्न २/४ वर्ष लाग्छ।
२०७८ सालको जनगणनाले देशको जनसंख्या बढेको देखाए पनि नेपालमै बस्ने युवाहरूको संख्या भने कम हुँदै गइरहेको देखिन्छ। अस्थिर सरकार, राजनीतिप्रतिको वितृष्णा, अव्यवहारिक शिक्षा प्रणाली, देशमा मोलाउँदै गएको भ्रष्टाचारले गर्दा बेरोजगारीको समस्या दिनहुँ जटिल बन्दै गएको छ। रोजगारीको लागि विदेशी भूमिमा जानैपर्ने बाध्यता बनेको छ। विदेशिएका दाजुभाइ, दिदीबहिनीहरूको अनेकौं पीडा र समस्याहरू छन्। कतिलाई दलालले ठगेको छ भने कतिलाई आफ्नै भाग्यले। कतिपय नेपालीले विदेशी भूमिमै ज्यान गुमाउनु परेको तितो यथार्थ पनि हामीसामु छ।
अर्कातिर बेरोजगारीका कारण काम र मामको खोजीमा विदेशी भूमिमा पसेकाहरूको पारिवारिक स्थिति भताभुंग भएको दृश्य देख्न सकिन्छ। कतिपय युट्युबरलाई भने यी र यस्तै भिडियो निर्माण गरेर कमाइ खाने भाडो बनेको छ। यस्तै पीडाले धेरै परिवारहरूमा निराशा छाएको छ भने गाउँघर पनि शून्य भएको छ। बुढा बा-आमालाई गाउँघरमा दुःख गरेर एक छाक टार्न कठिनाइ छ, छोराछोरीलाई विदेशी भूमिका पसिना बगाएर र काम गर्न कठिन छ। कृषि प्रधान भनेर नामाकरण गरिएको मेरो देश न अहिलेसम्म उत्पादनको स्तरमा वृद्धि भएको छ न त उत्पादकत्व बढाउने रोजगार सिर्जना गर्न प्रयास भएको पाइन्छ। न हाम्रो चासो छ, न सरकारको चासो। कोही कसैले चासो राखेको देखिन्न। हाम्रो देश छिमेकी मुलकहरूमा निर्भर छ।
सरकार खालि कृषि कर्जा र अनुदान दिने कुरा मात्रै गर्छ। त्यहीमाथि पनि उक्त अनुदान कसले पाउँछ पाउँछ, वास्तविक किसानहरूको आफ्नै छुट्टै पीडा छ। किसानले वर्षभरि दुःख गरेर उत्पादन गर्छ तर बिचौलियालाई कमाउन ठिक्क छ। उत्पादन गर्ने किसानलाई बजार व्यवस्थापन गर्न कठिन अवस्था देखिन्छ जसको उदाहरणमा जुम्लाको स्याउलाई लिन सकिन्छ।
देशमै केही गर्ने उदेश्य बोकेर कृषि प्राविधिक पढेका धेरै विद्यार्थी तथा कृषि व्यवसायीको स्थिति बिजोग छ। राजनीतिक अस्थिरता, सामाजिक भेद तथा जातीय र लैङ्गिक असमानता रहेकोले शैक्षिक बेरोजगार झन् विकराल बनेको छ। पढेलेखेकाभन्दा पहुँच हुनेहरूले जागीर पाउने प्रणाली यथावत छ। तीनै तहका सरकारका जनप्रतिनिधिहरूलाई आ-आफ्ना मान्छेहरू भर्ती गर्ने ठिक्क छ। गरिब दुखीका छोराछोरीलाई काम खोज्दाखोज्दा वाक्कदिक्क छन्। न चिनजान छ, न आफ्नो मान्छे छ। धनीमानी हुनेखानेहरूका छोराछोरी अहिले अमेरिका, अस्ट्रेलिया छन्। केही नहुनेका सन्तान कि त भारत कि विभिन्न खाडीमुलुकमा छन्।
हाम्रो देशमा खासमा राजनीतिक नियुक्ति कस्ताले पाउँछन्, यो विषयमा पनि सबै परिचित नै छन्। कुनै एउटा पार्टीको पुच्छर, नेताको नजिकको प्रतिनिधिको पात्र भएमा मात्र करार जागीर सुनिश्चत छ। योग्यता, क्षमता भएकोले त्यो अवसर पटक्कै पाएका छैनन्। जनताको काम गर्छौं भनेर कसम खाएका जनप्रतिनिधि र लोक सेवा आयोग पास गरेर आएका कर्मचारीले करार कर्मचारी भर्ना गर्दा स्वच्छ प्रतिस्पर्धा गराएर योग्य र सक्षम व्यक्ती नियुक्ति गर्नुपर्ने होइन र?
यसरी राजनीतिकै अधारमा रोजगार दिने र नियुक्ति गर्ने हो भने यहाँ योग्यता क्षमताको अर्थ के रहयो र? जहाँ काम पाउनको लागि माओवादीले जितेको क्षेत्रमा माओवादी मात्र, काङ्ग्रेसले जितेको क्षेत्रमा काङ्ग्रेस, एमाले जितेको क्षेत्रहरूमा एमाले आदि पार्टीले जितेको क्षेत्रमा त्यही पार्टी बन्नुपर्छ भने यो कस्तो विडम्बना हो! योग्यता र क्षमताको मूल्यांकन नै नगरेर रोजगार पाउनलाई कुनै पार्टीको झोले नै बन्नुपर्ने हो र? स्वतन्त्र भएर आफ्नो क्षमता योग्यता देखाउन नपाइने, आफ्ना कार्यकर्तालाई मात्रै कर्मचारीकारुपमा भर्ती गर्नुपर्ने, दक्ष जनशक्तिको मूल्यांकन नै नहुने यो कस्तो समाजिक सेवा हो हाम्रो नेपालको?
एकपटक हामी सबैले आफै मूल्यांकन गरौं त हाम्रा देशका विभिन्न राजनीतिदलका प्रतिनिधिहरूले गरेका काम कार्यहरू हेरौं। उहाँहरूले जितेको क्षेत्रहरूमा बुझौं, गएर हेरौं। उहाँहरूका क्रियाकलापहरू छर्लङ्ग छन्। त्यसैले यो प्रणाली विरुद्ध सबै सशक्त भएर वास्तविकता बुझ्नुपर्ने होइन र? सबै नागरिक सचेत हुनुपर्ने होइन र? रोजगारीमा राजनीति पावर वा पहुँच हुनेहरूका लागि मात्र हो भने हामी जनताका छोराछोरीले पढेलेखेर के गर्ने हो र?
हामीले डिग्री पढे पनि रोजगारी पाउने अर्थात् जागिरे हुने अवसर लोक सेवा पास मात्रै हो र? होइन भने योग्यता र क्षमताका आधारमा रोजगारी स्वच्छ प्रतिस्पर्धामार्फत दिनुपर्छ र पाउनुपर्छ। औपचारिकता निभाउन परीक्षा गराउने र भर्ना आफ्नो मान्छे गराउने प्रवृत्तिको अत्यन्त हुनुपर्छ। यस्ता गलत प्रवृत्तिको अन्त्य नहुँदासम्म युवाहरू विदेश पलायन हुने क्रम कम हुँदैन। नेपालमै बसेर केही गर्ने इच्छा भएका व्यक्तिलाई राज्यले रोजगारको व्यववस्था गर्नुपर्छ। यस विरुद्धमा सबै एकजुट भएर सचेतना जगाउनुपर्छ।
कुनै पार्टीको झोले बनेर जागीर खाने होइन, योग्यता, क्षमता, दक्षताका आधारमा जागीरमा अवसर पाउनुपर्छ। योग्यता भएका तर कुनै पनि दलको पार्टीमा आवद्ध नभएकै कारण काम गर्ने रोजगारको अवसर नपाउने सरासर गलत प्रवृत्ति हो। यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्छ। खुला प्रतिस्पर्धाका आधारमा योग्यता प्रणालीअनुसार जागीर खान सक्ने हैसियत भएका जोसुकैले सहज रुपमा रोजगार पाउनु पर्छ।