दिनभर विद्यालयमा उफ्रेर आएकी छोरी अनि कामले थाकेर आएका श्रीमान, दुवै माघको चिसो रातमा न्यानो विस्तारमा पल्टिनसाथ भुसुक्कै निदाए। थकाइ त मलाई पनि नलागेको हैन तर पनि पटक्कै निद्रा लागेन। मनमा विभिन्न रमाइला तरंगहरू लुटपुट गर्दै थिए।
आज साँझ छोरीको विद्यालयमा अभिभावक दिवसको कार्यक्रम थियो। चाँडो-चाँडो काम सक्काएर हामी दुवै विद्यालय पुग्यौं। त्यहाँ पुग्दा मेरी छोरी परी जस्तै सुन्दर भएर हाम्रै बाटो हेरिरहेकी थिई। हामीलाई देख्नासाथ उत्साहमा अँगालो हाली। मैले पनि राम्रोसँग नृत्य, गायन र नाटक गर्नू भनेर शुभकामना दिएँ। नानुले बिहानै चाँडै आएर अगाडिको कुर्सीमा बस्ने सल्लाह दिएकी थिई, सोही बमोजिम हामी समयमै आएर अग्रपङ्तिमा बस्यौं।
रातो पर्दा भित्रबाट बारुले कम्मर मर्काउँदै, कालो चौबन्दी चोली, धोती, पहेंलो पटुकी, शिरमा शिर्बन्दी, फर्के धागो, आँखामा गाजल, निधारमा टीका, ओठमा लाली, हातभरि चुरा, गलामा माला अनि खुट्टामा पाउजु बजाउँदै मेरी परी स्वागत मन्तव्य दिन आइन्। यस्तो कलिलो उमेरमै यति आत्मविश्वासका साथ बोलेको सुन्दा मेरो खुसीको सीमै रहेन तसर्थ वाचन सकिनासाथ जोडले थप्पड बजाएँ। मेरो थप्पड सुनेरै त्यहाँ उपस्थित सबैले मेरी छोरी भन्ने अड्कल काटे होलान्। हामी बुढाबुढी छोरीको पौरख देखेर खुसी भयौं।
एकैछिनमा फेरि उसको नृत्य आयो। गीतको बोल थियो- कलकत्ते काइँयो, केश मेरो बैंयो टेबुलमा ऐना छ। थपडी बजाउँदै म गुनगुनाउन थालेँ। मलाई त पुरै गीत पो कण्ठस्थ रहेछ। अनि झल्यास्स सम्झिएँ, मैले पनि छोरीको उमेरमा यसरी नै यही गीतमा नाचेको थिएँ।
झण्डै २०-२५ वर्ष पुरानो पलको सम्झना आँखाभरि आयो। छोरीको नृत्य सकियो, त्यसपछि एकछिनमा म भूतकालमा फर्किएँ। मेरो विद्यालय अहिलेको जस्तो ठूलो थिएन, यत्तिको तामझाम थिएन तर पनि मैले आजका बच्चा जस्तै अतिरिक्त क्रियाकलपमा भाग लिने मौका पाएँ। मेरा शिक्षक शिक्षिकाप्रति म कृतज्ञ छु। अचानक म, छोरीको आमाबाट ८-१० वर्षको बच्चा बनें।
हाम्रो विद्यालयमा हरेक वर्ष पुस १४ गते पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह देवको जन्मदिनको अवसरमा अभिभावक दिवस मनाइने गरिन्थ्यो। त्यसपछि एक महिना जाडो महिनाको छुट्टी। विद्यार्थीहरूलाई आफ्नो योग्यताअनुसार नृत्य, गायन र नाटकमा छनौट गरिन्थ्यो। म सानोमा निकै टाठी थिएँ रे। त्यसैले नृत्य, गायन अनि नाटक सबैमा उपस्थित हुन्थें।
बुबाआमा मैले केही नभनी समयभन्दा आगाडि नै आएर अगाडिको कुर्सीमा बस्नुहुन्थ्यो। जति व्यस्त भए पनि मेरो कार्यक्रम नसकी त्यो कुर्सीबाट कतै जानुहुन्थ्यो। माइकमा मेरो नाम आउनासाथ वरिपरिका लागि मेरो छोरी आउँछे भनेर पहिले नै थपडी बजाउन तम्सिनुहुन्थ्यो अनि ममाथि गर्व गर्नुहुन्थ्यो। तर दुर्भाग्यको कुरा, त्यो समयमा मोबाइल थिएन अनि हातमा क्यामरा त्यति सहज थिएन। नत्र मैले जस्तै मेरी आमाले पनि मेरो त्यो कलालाई क्यामरामा कैद गरेर राख्नुहुन्थ्यो, घरी घरी खोलेर हेर्नु हुन्थ्यो अनि गर्वसाथ सामाजिक सञ्जालमा राख्नुहुन्थ्यो।
पुराना दिन सम्झँदा सम्झँदै फेरि नानीको गायनमा नाम आयो। म पुनः वर्तमानमा फर्किएँ। हाम्रो समयभन्दा अहिले कार्यक्रम केही फरक थियो। पहिले जो जेमा जान्ने थियो, त्यसले मात्र भाग लिन्थे। बाँकीले पर्दा पछाडि मद्दत मात्र गर्थें। तर आज हरेक विद्यार्थीलाई बराबर मौका दिइन्छ या भनौं प्रतिस्पर्धामा भाग लिन लगाइन्छ। यसको राम्रो अनि नराम्रो दुवै पाटो हुने रहेछ।
सबैलाई भाग लिन लगाउनु राम्रो हो तर कुनै-कुनै बच्चाको अलिक माया पनि लाग्यो। विचरा नाच्न नजाने पनि जबर्जस्ती नाचिरहेका थिए, नृत्यका चाल बिर्सेर अरूको नक्कल गर्दै थिए, उनीहरू नृत्यमा रमाएको भन्दा पनि कहिले सकिएला भनेर हतारिएको देखें मैले।
आज मलाई आफू स्वयममा गर्व लाग्यो। एकातिर छोरीको चौतर्फी प्रगति देखेर छाती गर्वले फुल्यो अनि अर्कोतिर बाल्यकालमा आफ्नो बुबाआमालाई पनि मैले यसरी नै गौरवान्वित बनाउन सकेको रहेछ भन्ने आज मात्र अनुभूति भयो। जीवन कुमालेको चक्र हो भन्थे आज अनुभव गरें।
छोरीको तस्बिर मोबाइलमा हेर्दै घरी आफ्नै बाल्यकालको कल्पनामा हराएँ। तर एउटा कुरा अझै छुटाउनै सकिनँ, म अभिभावक हुँदा धेरै खुसी भएँ या एक असल छोरी हुँदा?