बैठक सुरु गरे लगत्तै प्रमुखज्यूले एजेण्डाका लागि खेलकुद अध्यक्षलाई अनुरोध गरे। अध्यक्ष बोल्न खोज्दै थिए, भूमेबाट विरोध भयो- 'पहिला गत सालको समीक्षा गरौं।'
कौशलजी जर्याकजुरुक उठे। 'हाम्रा पदक कहाँ छन्? किन रेस्पोन्स गरिएन?'
सिस्नेकाले पनि आफ्ना कुरा राखे। पुथाकाले पनि तर्क-वितर्क गरे। खेलकुदका अध्यक्ष पनि बोल्न थाले। एउटाले एउटा कुरा राखे,अर्काले अर्कै कुरा राखे। बैठक एकाएक गरमागरम भयो।
खासमा गत सालको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विवाद भएपछि भूमे गाउँपालिकाले पदक नलिई हिँडेको रहेछ। आफूले हालेको निवेदनको सुनुवाइ नभएको भन्ने उक्त पालिकाको गुनासो थियो। यसपटकको प्रतियोगिता सञ्चालनका लागि गत १४ गते प्रजिअ कक्षमा आयोजित जिल्ला स्तरका सरोकारवालाहरूको बैठकमा माथिको दृष्टान्त देखिएको हो।
रुकुम पूर्व लगायत धेरै जिल्लाहरूमा यतिबेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू सञ्चालन भैरहेका छन्। रुकुम पूर्वको सन्दर्भमा पुथा उत्तरगङ्गा गाउँपालिकाले गत माघ ६ गतेदेखि उक्त खेलकुद आयोजना गर्यो। भूमे गाउँपालिकाले १५ गते गर्यो भने सिस्ने गाउँपालिकाले २१ गते देखि सुरु गर्दैछ। जिल्ला स्तरीय खेल भने २६ गते उद्घाटन हुनेछ।
चिसो मौसमका कारण पुथा उत्तरगङ्गा गाउँपालिकामा ३ दिनका लागि तय भएको कार्यक्रम ६ दिनसम्म तन्कियो। भूमे गाउँपालिकाको कार्यक्रम १८ गतेको हिमपातले प्रभावित भयो। न्यूनतम पूर्वाधार पनि नभएको अवस्थामा एकातिर खर्चपानीको अभाव र अर्कातिर अनावश्यक विवाद र उल्झनले प्रतियोगिता सञ्चालनमा चुनौती थपिएका छन्। जेहोस् चिसो मौसम भए पनि खेलकुदले जिल्ला तातिएको छ। खेलकुदका नाममा हुने विवाद, हानथाप र तिगडमले आगोमा घिउ थप्दो रहेछ। खेलकुदलाई स्वच्छ र व्यवस्थित गर्ने कुरा चुनौतीपूर्ण मात्रै होइन सकसपूर्ण समेत देखिएको छ।
विद्यालयहरू खेलाडी उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र हुन्। प्रत्येक विद्यार्थी प्रकारान्तरले खेलाडी पनि हुन। तिनको पहिचान, परख र विकासका लागि यस प्रकारका प्रतियोगिताहरू कोशेढुङ्गा सरह हुन्छन्। नेपालमा २०६५ साल सम्म तत्कालीन राजाको नाममा वीरेन्द्र शिल्ड सञ्चालन हुन्थ्यो। २०६६ सालबाट भने यसलाई राष्ट्रपति रनिङ शिल्ड भन्न थालिएको छ। नाम जे भए पनि विद्यालय स्तरका खेलाडीको खेल प्रतिभाको विकास र प्रस्फुटन गराउने यी प्रतियोगिताहरूको अभिष्ट देखिन्छ। तर तिनको सञ्चालन र व्यवस्थापनमा भने प्रभावकारीता हुनैपर्छ।
खेलकुदको महिमा अपरम्पार छ। व्यक्तिको शारीरिक र मानसिक स्फूर्तिका लागि खेलकुदभन्दा प्रभावकारी सायद अर्थोक हुन सक्दैन। व्यक्तिको नेतृत्व विकास होस् या सामाजिकीकरण, खेलकुदको भूमिका अतुलनीय हुन्छ।
विद्यार्थीमा समूह भावना जगाउन, भाइचारा, सहयोग र सेवाभाव बढाउन एवम् मानवीयता र सहअस्तित्व सिकाउन खेलकुदको स्थान अग्रणी देखिन्छ। जीवनलाई सहज र प्रभावकारी बनाउन व्यक्तिलाई विभिन्न वैयक्तिक र सामाजिक गुण र सिपहरू आवश्यक पर्छन्। पाठ्यक्रमले समेत समेट्न नसक्ने त्यस्ता कतिपय व्यवहारकुशल सिपहरू समेत खेलकुदले सहजै सिकाउन सक्छ।
धैर्यता र स्थिरता, समझदारी र सद्भावना, लचकता र विनयशीलता अनि सपना र आशावादीता आदि त्यस्तै मध्येका महत्वपूर्ण सामाजिक सिपहरू हुन जो खेलकुदबाट सहजै सिक्न/सिकाउन सकिन्छ। त्यसकारण खेलकुदको अर्थ प्रतियोगितामा भाग लिनु र पदक जित्नु मात्रै होइन, यो त जीवन कला सिक्ने क्षेत्र पनि हो भन्न सकिन्छ।
रुकुम पूर्व जिल्लामा पालिका स्तरबाट यस प्रकारको खेलकुद प्रतियोगिता आयोजना गर्न थालेको पाँच वर्ष भइसकेको छ। प्रत्येक वर्ष सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगिताले खेलाडी विद्यार्थीमा उत्साहको सञ्चार गर्छ भने विद्यालयहरू बीचमा छुट्टै रौनकता देखिन्छ। आफ्नै क्षेत्र र परिधिभित्र खेल प्रतिभाको पहिचान भै जिल्ला, प्रदेश र केन्द्रका लागि छनौट हुनु जो कोहीका लागि गौरवको विषय हो र भावी क्षमता विकासका लागि अवसर पनि हो। आजका साना प्रतिभाहरू पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय तहका खेलाडी बन्ने र बनाउने यो फोरम विद्यालय क्षेत्रको एक महत्वपूर्ण कडीको रुपमा रहेको छ। यसलाई सहज, स्वाभाविक, प्रभावकारी र उत्पादनशील बनाउनु भने चुनौतीपूर्ण छ।
रनिङ शिल्ड सञ्चालनका लागि थुप्रै समस्याहरू छन्। अहिले पनि यो सक्नै पर्ने कर्मकाण्डको रुपबाट माथि उठ्न सकेको छैन। अर्कोतिर, विद्यालय, पालिका र जिल्लाहरूले समेत फर्जी खेलाडी प्रयोग गर्ने समस्या सबै भन्दा ठूलो समस्याको रुपमा रहेको छ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदा २०६५/०६६ सालतिर डोल्पा जिल्लामा रनिङ शिल्ड भयो। तर विवाद यति धेरै कि खेलकुद गर्नै हम्मेहम्मे। फर्जी विद्यार्थी परख गर्न हामी कक्षा ८ को लेजर बोकेर खेल स्थल जान्थ्यौं। गलत गर्नेहरूलाई विभागीय कारबाही पनि हुन्थ्यो। अहिले इएमआइएस प्रणालीले धेरै सजिलो भएको छ। तैपनि कतिपय विद्यालयहरूले यथावत विवरणमा छुट्टै व्यक्तिको फोटो टाँस गरी फर्जी विद्यार्थी खेलाउने गरेका गुनासाहरू आइरहन्छन्। प्रविधि बद्लिए पनि प्रवृत्ति नबद्लिएपछि समस्या यथावत हुँदो रहेछ। सबै त उस्तै हुँदैनन् नै तर कतिपयको हर्कत यो विषयमा अक्षम्य देखिन्छ।
कागज केरमेट गर्नु, जन्ममिति सच्याएर पेश गर्नु, झुटा र फर्जी कागजात बनाउनु र एउटाको विवरणमा अर्कैको फोटो टाँस गरी पेश गर्नु प्रचलित कानुनअनुसार दण्डनीय कार्य त हुन् नै, अर्कोतिर यस्तो कार्य वास्तविक बालबालिकाप्रतिको धोकाधडी र उनीहरूको अधिकारको हनन पनि हो। यो कुरालाई चिर्न सकिएको छैन।
खेलको दौरानमा भिडबाटै निर्णय प्रभावित गर्ने, रेफ्री र आधिकारिक अफिसियलका निर्णयहरूलाई नमान्ने, उल्टै हातपात र काटमारमा उत्रिने अराजकता पनि यो क्षेत्रमा समस्याका रुपमा बढिरहेको छ।
केवल आफैंले मात्रै जित्नु पर्छ भन्ने मान्यता मनोवैज्ञानिक विकार हो र यही विकार खेलकुदमा झगडा र कलहको मूल आधार बन्ने गरेको देखिन्छ।
खेलकुदका नाममा हुने खर्च विद्यालयका लागि ठूलो चुनौती बनेको छ। एकातिर विद्यालयमा यसका लागि बजेटको व्यवस्था हुँदैन/छैन भने सरकारहरूले पनि न्यूनतम खर्च पूर्ति गरिदिन सकेका छैनन्। विद्यालयहरूलाई आर्थिक बोझ/ऋण थोपर्ने माध्यमका रुपमा पनि यस्ता खेलकुद प्रतियोगिताहरूलाई लिन थालिएको छ।
लैङ्गिक संवेदनशीलताको दृष्टिकोणले किशोरीहरूको सुरक्षा र उनीहरूले सहजताका साथ खेलकुदमा भाग लिनसक्ने अवस्थाको सुनिश्चितता यो क्षेत्रको अर्को समस्या हो भन्न सकिन्छ।
विद्यालयहरूमा खेल पूर्वाधार छैन नै भन्दा हुन्छ। सन् २०१९ मा मैले साङ्घाईका विद्यालयहरू हेर्ने मौका पाएको थिएँ। प्रत्येक विद्यालय खेलकुद पूर्वाधारले युक्त भएको देखिन्थे। हाइटेक प्रविधि र सामग्रीले भरिपूर्ण भएका। तर हाम्रो अवस्था धेरैतिर अहिले पनि ढुङ्गेबलको छ। कहाँ चीनका ती विद्यालय, कहाँ हाम्रा यी विद्यालय! कहिलेकाहीं त सम्झँदा पनि भाउन्न हुन्छ। विद्यालयहरूलाई न्यूनतम पूर्वाधार पनि दिन नसक्ने हामी के व्यवस्थापक? के सरकार?
एकातिर राज्यको कमजोर लगानी र अर्कोतिर अभिभावकको उदासीनता यो क्षेत्रका बाधक जस्तै छन्। यही अवस्थामा विद्यार्थीहरूमा खेलाडी खोज्ने कार्य एक प्रकारले दुरुहता जस्तै छ।
विश्वव्यापी रुपमा हेर्दा विद्यालयमा खेलकुदको प्रयोग बढ्दो मान्यताकै रुपमा देखिन्छ। छिमेकी मुलुक भारतमा 'सबैका लागि खेलकुद'का नाममा होस् वा 'खेलो इन्डिया युथ गेम'का नाममा होस् अन्तरविद्यालय खेलकुद प्रतियोगिताहरू वर्षेनी आयोजना हुन्छन्। प्रत्येक बच्चामा 'मिल्कासिं' खोज्ने यी प्रतियोगिताहरू भारतमा प्रभावकारी रुपमा सञ्चालन हुन्छन्।
हङकङमा 'हङकङ स्कुल स्पोर्टस फेडरेसन'ले विद्यालयहरूबाट तरुण प्रतिभा खोजी गर्दछ। अमेरिकामा स्वच्छ खेलको मूल्य मान्यता प्रबर्द्धन गर्न, नेतृत्व, समूह भावना, समय व्यवस्थापन र शारीरिक तन्दुरुस्तीमार्फत शैक्षिक उपलब्धिमा सुधार गर्न खेलकुदले भूमिका खेल्ने विश्वास गरिन्छ।
खेलकुदले व्यक्तिको दिमागमा डोपामाइन, नोरपाइनफ्रिन, सेरोटोनिन जस्ता रसायन बढाइदिन्छ जसले एकाग्रता बढाउँछ र विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि हुन्छ भन्ने अमेरिकी विश्वासमा सत्यता देखिन्छ।
खेलकुदले खेलाडीहरूमा सामूहिक भावना, साथीत्व र नेतृत्वका साथै आत्मविश्वास र आत्म सम्मान जगाउँछ। खेलकुदका माध्यमबाट विद्यार्थीहरूले सहकार्य, सहयोग, सञ्चार र समस्या समाधानका सिप सहजै सिक्न सक्छन्। स्वस्थ आनीबानीको विकास एवम् तनाव र द्वन्द्व निवारण/व्यवस्थापनका लागि पनि खेलकुदले महत्तम सहयोग गर्दछ।
नेल्सन मण्डेलाले खेलकुदमा संसार बदल्ने शक्ति हुन्छ भनेका थिए। त्यसैगरी माहात्मा गान्धीले खेलकुदलाई सामाजिक र राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण साधनको रुपमा लिएका थिए। वास्तवमा खेलकुद क्षेत्र आफैंमा एक अर्थ राजनीतिको क्षेत्र पनि हो। संयुक्त राष्ट्र संघले यसलाई सामाजिक सशक्तीकरणको एउटा माध्यमको रुपमा लिंदै गरिवी निवारणमा समेत यसको महत्वपूर्ण भूमिका हुने जनाएको छ। युनेस्कोले त झन् यसको महत्वलाई ध्यान दिंदै राष्ट्रिय शिक्षा प्रणालीहरूले अनिवार्य रुपमा खेलकुदलाई समेट्नु पर्ने सिफारिस गरेको पाइन्छ।
संसारका प्रायः सबै देशहरूमा खेलकुदले विद्यार्थीहरूमा फाइदा गर्छ भन्ने विश्वास नै बेसी देखिन्छ र त्यसै अनुरुप खेलकुदलाई उपयोग गरिन्छ। तथापि विद्यालय केन्द्रित खेलकुदका सुधारात्मक पक्षहरू पनि छन्।
विद्यालय वा स्थानीय स्तरमा पर्याप्त पूर्वाधारको अभावमा जथाभावी खेल्नु पर्दा विद्यार्थीहरू घाइने हुने वा उनीहरूलाई चोटपटक लाग्ने सम्भावना भइरहन्छ। पर्याप्त वार्मिङ अप र तयारी बिना खेल्नु पर्दा विद्यार्थीहरूमा गम्भीर इन्जुरीको समस्या देखिन सक्छ। बारम्बार हुने यस्ता घटनाले विद्यार्थीहरूमा 'माइक्रोट्रम्याटिक ड्यामेज' हुन सक्छ।
खेलकुद एकातिर आफैंमा महङ्गो छ भने अर्कोतिर यसले विद्यार्थीको महत्वपूर्ण समय व्यतीत गरिदिन्छ। यसले विद्यार्थीहरूमा संवेगात्मक र मानसिक प्रेसर पनि सृजना गर्न सक्छ। वावु,आमा, शिक्षक र अभिभावकहरूले पर्याप्त सपोर्ट नगर्दा विद्यार्थीहरूमा नैराश्यता बढ्न सक्छ।
अमेरिका जस्ता विकसित देशहरूमा विद्यार्थीहरूले विभिन्न समूहबाट बारम्वार खेलकुदमा भाग लिइरहनु पर्दो रहेछ। कतिपय विद्यार्थीहरूले यसलाई आवश्यकताभन्दा बढी लोडको रुपमा लिने र विद्यार्थीहरूमा हुने माइक्रोट्रम्याटिक ड्यामेजले पछिसम्म असर गर्न सक्ने सम्भावना हुँदो रहेछ। र, कतिपयले यसलाई जीवनको महत्वपूर्ण समय खेर जाने माध्यमको रुपमा पनि लिँदा रहेछन्।
तथापि खेलकुदको महत्व यसको कमजोरीभन्दा धेरै गुणा बढी नै होला। कतिपय कमजोरीहरूलाई व्यवस्थापन पनि गर्न सकिन्छ। नेपाल जस्ता विकासशील देशहरूमा यसको महत्व अवश्य पनि बढी छ। तर यसको उपयोग र व्यवस्थापन भने प्रभावकारी रुपमा गर्नै पर्दछ।
खेलकुदको महत्वलाई ध्यान दिएरै राष्ट्रिय खेलकुद परिषदले 'स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद' भन्ने नारा तय गरेको छ। विद्यालयको पाठ्यक्रममा खेलकुद विषयलाई समेटिएको छ। संविधानले समेत खेलकुदको विकासका लागि आवश्यक नीतिगत व्यवस्था गरेको देखिन्छ।
खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउने मात्रै होइन, यो देश चिनाउने माध्यमको रुपमा समेत रहेको हुन्छ। यसलाई विश्वव्यापी रुपमा मर्यादा र गौरवको विशिष्ट क्षेत्रको रुपमा पनि लिइन्छ।
नेपालमा विद्यालय तहमा सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगिताहरू खेलाडी जन्माउने आधारहरू हुन। त्यसकारण यी शिल्डहरू व्यवस्थित र प्रभावकारी हुन जरुरी छ। यसका लागि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन निर्देशिकाको कडाईका साथ कार्यान्वयन गरिनु पर्छ भने यस क्षेत्रको बजेट पनि बढाउनु पर्ने देखिन्छ। यसका साथै, फर्जी कागजात र नक्कली खेलाडी प्रयोगलाई शुन्य सहनशीलतामार्फत निस्तेज पारिनु अपरिहार्य छ।
यी प्रतियोगिताहरूलाई सक्नै पर्ने वा गर्नै पर्ने बोझका रुपमा होइन, जीवन सिप सिकाउने अवसरका रुपमा र निगाह र बक्सिसको पट्के कार्यक्रमको रुपमा होइन, विद्यालय शिक्षाको एक महत्वपूर्ण कडीको रुपमा व्यापक र वृहत स्वरुपमा सञ्चालन गरिनु पर्छ। नीति, योजना, कार्यक्रम, बजेट र जनशक्तिको संरचनाबाट यीनको कार्यान्वयनलाई सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता पनि हो।
विगतका कार्यक्रमहरूबाट पाठ सिक्दै गल्ती र कमजोरीहरूमा सुधार गरिनु पर्छ। न्यूनतम खर्च व्यवस्थापन, खेल क्यालेण्डरको उपयोग, सरोकारवाला सबैसँगको समन्वय, नक्कली खेलाडीप्रति शून्य सहनशीलता, खेलकुदमा विविधता र सङ्ख्यामा वृद्धि, खेलाडीहरूको मेन्टोरिङ, कोचिङ र ग्रुमिङ, दण्ड र पुरस्कारको समुचित प्रयोग, सही मौसमको छनौट, किशोरीहरूको सुरक्षा जस्ता कार्यहरूवाट यी खेलकुद प्रतियोगिताहरूलाई प्रभावकारी र उत्पादनशील बनाउन सकिन्छ।
जहिलेसुकै होस् वा जहाँसुकै होस्, खेलकुदले हार्दिकता बढाउनु पर्छ। हार्दिकता, सदीक्षा र सहकार्यबाट मात्रै यो क्षेत्रका जटिलताहरूलाई हटाउन सकिन्छ। यसका लागि हामी सबैको इमान्दार प्रयास भने अपरीहार्य देखिन्छ।
(लेखक शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका प्रमुख हुन्।)