दाङबाट राति पौने ११ बजे काठमाडौं आइपुगेको थिएँ।
यसै त पुस महिनाको जाडो त्यहीमाथि थाकेको ज्यान। बिहान निद्रादेवीलाई छाड्न मुश्किल परिरहेको थियो। फोनको घण्टीले ब्युँझिएँ।
गुडमर्निङसँगै आएका प्रश्नले म जुरूक्कै उठेँ।
'ल ल आइहालेँ' भनेर फोन राखेँ।
हतारहतार फ्रेस भएर दौडिएँ।
उनी थापागाँउको बानेश्वर ब्याङ्केट अगाडि कुरिरहेकी थिइन्। १७ दिनपछि भेट भएको थियो। कहाँ जाने के गर्ने प्लान केही थिएन। थापागाँउबाट ट्याम्पो चढेर फनपार्क अगाडि उत्रियौं। उनले फनपार्कतिर नजर घुमाउँदै भनिन्– यहाँ जाउँ न त हुन्न?
'रोटेपिङ खेल्न मन छ भने जाउँ, नत्र अरू खासै केही छैन, यत्तिकै टिकेट मात्र खर्च हुन्छ।' यति भनेपछि उनले मनसँगै टाउको घुमाउँदै भनिन्– हस् भृकुटीमण्डप जाऊँ।
हामी भृकुटीमण्डपभित्र सस्तो बजारमा छिर्यौं। बजारमा कस्ता कपडाको चलन रहेछ थाहा पनि हुने अनि एकअर्काको हात समाएर हिँड्न पनि पाइने। गफ गर्दै हामी अर्को ढोकाबाट निक्लियौं।
चिसो मौसम, भृकुटीमण्डपमा आराम गर्ने बहानामा घामको मज्जा लिँदै चिया पिउनेहरूको जमघट थियो। हामी पनि त्यही सुस्तायौं। उनले आफ्नो लागि दूध चिया अनि मेरा लागि मरिच हालेको कालो चिया मगाइन्। चिया त फगत हाम्रो मायाको साक्षी न थियो। बिहानी प्रहरको सूर्यको किरण अनि एकअर्काको साथ नै काफी थियो हाम्रा लागि।
उनले केही दिन अघि साथीहरूसँग गएको शिवपुरी हाइकिङको रमाइलो सुनाउँदै थिइन्।
'उकाली ओराली गर्दा तिमीलाई कति मिस गरे....' उनी एकाएक रोकिइन्।
७० को स्पिडमा गुडेको बाइकले अचानक डिसब्रेक हानेझैं। गेटतिर हेरेर टोलाउन पो थालिछन्। केही परबाट कालो ब्याग भिरेको एक अपरिचित अनुहार नजिक आउँदै थियो।
'के हेरेको चिया पिउँ न' मैले भनेँ।
'हेर न त्याँ गाउँको एउटा दाइ आउँदै छ' एकाएक उनको अनुहारमा बादल लागेझैं भयो।
'म एकछिन भित्र जान्छु ल' भन्दै उनी चामलिङ दाइको चिया पसलमा पसिन्।
माया गर्ने वातावरण पनि छैन यार यो देशमा। प्रेमी-प्रेमिका भेट्दा पनि अपराधी लुके जसरी लुक्नुपर्छ। के हामीले अपराध नै गरेको हो र? किन हामी प्रेम सम्बन्धलाई स्वीकार गर्न सक्दैनौं? रिसले चुर हुँदै आफैंलाई प्रश्न गरेँ। ती व्यक्ति रिपोर्टरस क्लबको बाटोतिर मोडिए।
अर्को टेबलमा बसिरहेकाहरू देशको अवस्था फेर्न समाजको तल्लो तहदेखि नै परिवर्तनको खाँचो रहेको गफ लडाउँदै थिए। एक जनाले जोसिलो स्वोरमा भन्दै थियो, 'दाइ ८४ मा त हामीले हस्तक्षेप गर्नै पर्छ.........।'
'चिया चिसो भयो होला है' भन्दै उनी आइपुगिन्।
'धन्न देखेन। उसले मलाई तिमीसँग देखेको भए भोलि गाउँमा के–के हल्ला चलिहाल्थ्यो। फलानाकी छोरी त काठमाडौं गएर बिग्रिसकिछ। रमेशेले देखेको रे। को केटोसँग मस्किँदै चिया खाँदै थिई रे। ओहो! केके भइसक्थ्यो। माया गर्न पनि गाह्रो।' चिसो चियाको अन्तिम घुट्की लिँदै उनले भनिन्।
'कति दिन यसरी लुकेर चिया खाने? बाटोमा सँगै हिँड्दा कति दिन मास्क लगाउनुपर्ने ? स्न्यापच्याटमा ‘हाइड’ गरेर राखेका भिडिओहरू ‘क्यापकट’बाट ‘इडिट’ गरेर कहिले ‘पोस्ट’ गर्ने?' मेरो मुखबाट निस्किहाल्यो ‘बिहेपछि’।
तर, कहिले? थाहा छैन।
साथी रुपेशले गएको मंसिरमा ४ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्यो। ऊ मायाको संसारमा त सफल भयो। तर, अनेकौं सपना बोकेको रुपेश ‘सुटकेश’ भरी लुगा र गरुङ्गो मन बोकेर कतार उड्यो। भिसा लगाउन काठमाडौं आउँदा मलिन हुँदै भनेको थियो, ‘फेन्सी कपडाको व्यापारले ऋण तिर्न मुस्किल भयो यार, पसलको ऋण त थियो नै त्यसमाथि बिहेको ऋणले थेग्न नसक्ने भएको छु। पसल बेचेर भिसा लगाउन आएको हुँ।’
रुपेश भिसा लगाउन काठमाडौं आउँदा मेरै डेरामा बसेको थियो। उसले विवाह खर्च सुनाएपछि खाजा खाँदा दुई हाफ चाउमिनको पैसा तिर्न म आफैं तम्सिएको थिएँ। केही दिनअघि ग्रुप च्याटमा माइजुले सुनाएको सम्झिएँ।
‘भाइको साथीको बिहे रहेछ। करोड खर्च गरेछन्। जन्तीहरूको पनि ड्रेसकोड थियो। अनि दुलही त सुनका गहनाले झपक्कै, डाइमण्डको औंठी रे। उताबाट आएको दाइजोको त कुरै नगरम्।’
माइजुका कुरा सुनेर मम्मीले जिब्रो टोक्दै भन्नुभयो, 'हे प्रभु हाम्रा छोराहरूको कसरी गर्ने होला!'
म पनि सोचमग्न बने।
बसेको ठाउँमा छाया परिसकेछ। उनी चियाको पैसा तिर्न गएकी रहिछन्। रत्नपार्कबाट माइक्रो चढेर हामी बल्खु पुग्यौं। त्यहाँबाट बस चढेर ‘प्लान’ बिना नै टौदह पुगियो। ताल वरिपरि घुमिरहेका हाँसका जोडीलाई जिस्काउँदै हामी माछालाई दाना छर्दै थियौ।
एक बुढीआमा ‘चिया खाने नानी ?’ भन्दै आउनुभयो।
'चिया भर्खर खाएर आएको आमा,' उनले भनिन्।
'के खाने त नानी चाउचाउ, बिस्कुट, पानी?' उनले चाउचाउ मागेपछि आमा खुसी भएर नजिकै बस्नुभयो। बोहनी भएको रहेनछ। उनले चाउचाउसँगै एक बोतल पानी पनि किनिदिएपछि पटुकामा बाधेको सुर्के थैली निकालेर छुट्टा खोज्न थाल्नुभयो।
'अनि आमाको घर चाहिँ कता?' मैले सोधिहालेँ।
'त्यही माथि डाँडामा बाबु।'
'अनि घरमा को–को हुनुहुन्छ?'
‘म र एक नाती छौं बाबु। ऊ पनि काममा जान्छ। अनि म पनि यस्तै छ बाबु। नातिको बिहे गर्ने उमेर भइसक्यो नानी। खर्च उठाउनुपर्यो नि।’ उहाँको कुराले मन खलबलाउन थाल्यो।
आमा बाँकी पैसा उनको हातमा थमाएर हामी नजिकै बसेका अर्काे जोडीतिर लाग्नुभयो।
हामी नजिकै छेउमा एक जना दाजु बसिरहेका थिए। उनले ती बुढीआमा सँगको कुरा सुनिरहेका रहेछन्। उनी गएपछि ठट्यौली पारामा 'मान्छेलाई विवाह भन्ने कुराको कति टेन्सन छ है' भन्दै हामीसँग बोल्न खोजे।
'समय पनि कस्तो आयो। जिन्दगीभरी कमाएको पैसा छोराछोरीको विवाहमा एकै पटकमा स्वाहा। अझ विवाह मात्र कहाँ हो र? ब्राइड टु बि, ब्याचलर्स पार्टी, इन्गेजमेन्ट, हल्दी, मेहेन्दी केके हो केके। हुने खानेले त गरोस् केही भएन तर, नहुनेलाई चाहिँ किन गर्नुपर्यो?’ दाजुले त मतिर पो प्रश्न तेर्साए।
मैले टाउको हल्लाइदिएँ।
उहाँको कुरा पनि ठीकै हो। मेरो पनि मनमनै विभिन्न कुरा खेल्न थाले। उहाँ पुन बोल्न थाल्नुभयो, ‘हो जीवनमा एक पटक गरिने हो विवाह। यसलाई यादगार बनाउनु पर्छ। अनि पुगेसम्म आफ्ना रहर पनि पूरा गर्ने हो। तर, हैसियत पनि बिर्सनु भएन नि। मैले पनि भर्खरै छोरीको विवाह गरेँ। धन्न छोरो समयमै बेलायत गएको थियो र खर्च जुटायो। हामीलाई टिकटकमा सेलिब्रेटीहरूको बिहे हेरेर उस्तै नक्कल गर्नुपर्या छ। रहर त सबैलाई लाग्छ नि। त्यसो भन्दैमा आफ्नो अवस्था अनि भविष्य पनि सम्झिनु त पर्ने हो। आजभोलि त बिहेवारी ऋणको भारी भनेझैं भएको छ।’
दाजुको भाषण सकिने छाँट थिएन। उनलाई ‘बोर’ लागेछ क्यार चिमोट्न थालिहालिन्। त्यो त हो दाइ भनेर सहमति जनाउँदै अलि पर गएर बस्यौं। तर, उनले भनेको कुरा मनमा काँडाले झैं घोचिरहेको थियो।
'साँच्चै हो त है। सारै महंगो भयो यो विवाह। जसरी भए पनि हामी एक हुनु त हो। हामी चाहिँ त्यसरी नगरौं है।' उनले अनुहार बिगारिन्।
'सोच न एकपटक। विवाहको ऋण तिर्न हनिमुन पनि नमनाई एयरपोर्टमा लाइन बस्नु रहर होला कि बाध्यता? मलाई पनि त्यही लाइनमा बसेको हेर्न चाहन्छौ र? समाजलाई देखाउने वा आफ्नो रहर पूरा गर्ने चक्करमा बा–आमा ऋणमा डुबेको किन देख्दैन अहिलेको पुस्ता? हामी समाजलाई दोष दिन्छौं। के हामीले सुटुक्क बिहे गर्दा चाहिँ भोज खुवा न ए कान्छा भन्दै समाज घर घेर्न आउँछ र?'
'भयो हजुर। डेटिङ आएको कि लेक्चर दिन ?' उनले मलाई रोकिन्।
अनि विस्तारै भनिन्- अरू केही नगरे पनि कतै गएर फोटोसुट चाहिँ गर्नुपर्छ है? फेसबुक, इन्स्टा अनि टिकटकमा हाल्न परिहाल्यो नि। अनि जीवनमा एकपटक हुने कुरा पछिसम्म याद पनि त हुन्छ।’
उनको आग्रहमा मैले सहमति जनाएँ।
टौदह माथिको आकाश मडारिँदै थियो। चराहरू गुँड फर्किने तर्खरमा थिए। दिनभरी आएका मान्छेले दिएको चारोले अघाएकाले होला माछाहरू पनि देखिन छाडिसकेका थिए। एकाद जोडीहरूबाहेक कोही थिएन त्यहाँ। शान्त तलाउ भएको थियो दह।
'जाउँ अब फेरि गाडी पाइँदैन' भन्दै उनी धुलो टक्टकाउँदै उठिन्।
चाउचाउको खोल र पानीको बोतल डस्टबिनमा हालेर हामी बाहिर निक्लियौं। बल्खु, कालिमाटी, त्रिपुरेश्वर, आरएनएसी, रत्नपार्क रत्नपार्क भन्दै बस आइपुग्यो। बसमा सिट त थिए तर, खाली थिएनन्। कीर्तिपुर पुगेपछि लास्ट सिटमा जसो तसो अटाइयो। रात छिप्पिँदै थियो। बस आरएनएसीमा रोकियो। हामी त्यहीँ उत्रियौं।