यात्रामा कति मान्छे भेटिन्छन्, कति छुटिन्छन्। लेखाजोखा हुँदैन। गरिँदैन पनि। तर, पनि कति भेटहरू यस्ता हुन्छन्, जसलाई जतिसुकै बिर्सौं भने पनि बिर्सिन सकिन्न रहेछ।
आफैंले भोगेको एक घटना।
जीवनको ऊर्जाशील समयहरू विगत थुप्रै वर्षदेखि अरूको देशमा बिताउँदै छु। आजको मितिसम्म। वैदेशिक जीवन गुजारा ठीकैको थियो भन्नुपर्छ। कसैले बदनियतपूर्वक घिसारेर ल्याएको होइन। आफूखुसी आफ्नै चाहनामा आएको हुनाले धेरै खिसिटिउरी गरेको मीठो नलाग्ला।
चाहेको, सोचेको जस्तो नभए पनि पराई मान्छेको दया र मायामा अटेको थियो तात्कालिक जिन्दगी।
परदेशमा कामको प्रकारभन्दा पनि कामलाई पूजा सम्झेर गर्ने रहेछ। काम जस्तोसुकै किन नहोस्।
म युरोपेली युनियनमा आबद्ध सानो टापु साइप्रसमा कार्यरत छु, साइप्रस युरोपेली मुलुक भए पनि ठ्याम्म्मै युरोप जस्तै छैनभन्दा फरक नपर्ला। एसियाली मुलुक लेबनानदेखि आधा घण्टा हवाई यात्रा गरेपछि पुगिने ठाउँ हो। लगभग गर्मीयाममा खाडीमा जत्तिकै गर्मी हुने गर्छ। गर्मीमा समुन्द्रको किनारा औधी प्रिय हुन्छ।
मेरो कर्मको इमानदारिता देखेर केही वर्ष पहिलेको समर भ्याकेसनमा बोसले उनीहरूसँगै समुन्द्री बाटो हुँदै ग्रिस घुम्न जाने निम्तो दियो। म खुसीले दंग थिए।
सन् २०१८ को अगस्ट महिनाको पहिलो हप्ता हाम्रो यात्राको मिति तय गरियो। उनको आफ्नै व्यक्तिगत सेलिङ बोट थियो। त्यही बोटमार्फत् जाँदै थियौं हामीहरू ग्रिस। बोसको साथीहरू र मसहित गरेर त्यो यात्रामा हामी सात जना थियौं।
अगस्टको पहिलो हप्ताको शुक्रबार हामी भेला भयौं। लिमासोल सहर छेउमा अवस्थित सन्तरफाल मरिनामा।
उनीहरूभन्दा म धेरै उत्साहित थिएँ। किनभने त्यो मेरो जीवनको पहिलो यात्रा थियो। पानीको बाटो हुँदै टाढासम्म जाने।
टुटेफुटे अंग्रेजीमा संवाद गर्दै बोट मरिनाबाट निस्केर समुन्द्रमा पुग्यो। बिस्तारै आफ्नो रफ्तार सुरू गर्न थाल्यो। सेलिङ बोटको स्पिड त्यति धेरै नहुँदो रहेछ। प्रतिघण्टा ६-७ माइल हिँड्ने रहेछ।
शान्त सागरको मौनता भंग गर्दै हामी हाम्रो गन्तव्य ताकेर पश्चिमतर्फ बग्दै थियौं समयसँगै पानीको बाटो हुँदै। यताउता हेर्ने भनेको आँखाको दूरीले भ्याएसम्म पानी नै पानी हो। उँभो देखिने भनेको नीलो बिराट विशाल कतैकतै सेतो बादलको बुट्टाले सजिएको आकाश।
बेला-बेलामा मन आत्तेर आउथ्यो। जीवनमा कहिल्यै त्यसरी पानीको यात्रा नगरेको भएर होला सायद। बिहान दश बजे सुरू गरेको यात्रा साँझ हुनै लाग्दा हामी लाच्ची हार्बरमा पुग्यौं। जुन ठाउँ भनेको साइप्रसको अन्तिम भूमि हो।
हामी त्यो रात त्यहीँ बिताएर भोलिपल्ट बिहानै जाने निधो गर्यौं। म अवाक् थिएँ, दिनभरिको यात्राले लोद थाकेर।
लाच्ची हार्बरमा पार्क गरेको बोटमा रात बिताएँ। बिहान तीन बजेतिर उठ्यौं सबै जना। लाइफ ज्याकेट लगाउन दिइयो। लाइट ब्रेकफास्ट खाएपछि मलाई बान्ता रोक्ने औषधि दिइयो।
मैले त्यो औषधि खाएँ।
अनि सुरू गर्यौं यात्रा ग्रिसको लागि। अँध्यारो थियो बिस्तारै-बिस्तारै तय गर्यौं यात्रा। केही घण्टापछि सूर्यको उज्यालो पोखियो धर्तीमा। पर-परसम्म पानी-पानी देखिन्छ। माथि खुला आकाश।
'भिभाल्दी' नाम गरेको बोट समुद्रको छालसँगै बग्दै ग्रिस ताकेर चल्दै थियो। हामी सँगै यात्रा गर्नेहरू प्राय: सबै जीवनको उत्तरार्ध पुगिसकेका व्यक्तिहरू थिए।
बोस भिक्टोर बडा रहुसे मान्छे भएकोले उत्ति साह्रै अप्ठ्यारो महसुस भएको थिएन मलाई। बेला-बेलामा ठट्टा गर्थे उनी।
'तिम्रो देशमा समुन्द्र छ?' भनेर सोध्थे।
मैले 'छैन' भनेर मुन्टो हल्लाउने गर्थें। र, साथसाथै भनिदिन्थेँ 'हाम्रो देशमा माउन्ट एभरेष्ट छ। तर, समुन्द्र छैन।'
भिक्टोरले भन्थे, 'कुनै दिन जाउँला तिम्रो देशको माउन्ट एभरेष्ट हेर्नलाई।'
बोटको क्याप्टेन चाहिँ तन्नेरी नै भएकोले समय कटाउन उति मुस्किल भएन।
बोटमा ग्रिस भाषाको गीत गुन्जँदै थियो। भाषा नबुझे पनि संगीतमा म पनि डुब्थेँ।
निरन्तर कुदिरहेको थियो बोट आफ्नै गतिमा। बिहान तीन बजे हिँडेका हामी लगभग आधा दिन हुँदै गर्दा बोस भिक्टोरले भने- अझै लाग्छ आठ-दस घण्टा गन्तव्यमा पुग्न।
म अलिअलि आत्तिएको थिएँ। हल्का रिंगटा चलेको थियो मलाई। वाकवाकी लागेको थियो।
अझै त्यत्ति टाढा...।
घाम पश्चिम क्षितिजतर्फ ढल्कँदै गर्दा मेरो मनमा चिसो पस्यो। कतिखेर पुग्ने होला त्यो ठाउँमा, जुन ठाउँमा म पहिलो पटक पुग्दैछु।
घाम डुब्यो, रात पर्यो , बोटको अगाडि हेर्ने बत्ती बल्यो। चिसो बढ्दै थियो। हावा चलेर बोटको सेल अनियन्त्रित भएर दु:ख दिएकोले क्याप्टेनले बोटलाई अटोमा चलायो। सेल बन्द गरेर। अँध्यारोमा अलि कठिन हुँदो रहेछ बोटलाई। कतै केही वस्तुमा ठोकिन्छ कि भनेर।
बेला-बेलामा बोस भिक्टोरले सोध्थे- आर यू ओके मिस्टर लामा?
छोटो जवाफ दिन्थेँ- आईएम ओके।
उनीहरू आफ्नै भाषामा बोल्थे। धन्न बोट क्याप्टेन साइप्रसको नभएर बुल्गेरियन नागरिक भएकोले मलाई बोल्न साथी भएको थियो।
रातको एघार बजेतिर हामी पुग्यौं त्यो दिनको गन्तव्यमा। जुन ठाउँलाई 'क्यास्टलोरिजो' आयरल्याण्ड भन्दा रहेछन। साइप्रसबाट जाँदा भेटिने पहिलो ग्रिसको आयरल्याण्ड रहेछ त्यो ठाउँ। हामी लगभग बीस घण्टाको सफरपछि पुग्यौं।
त्यो रात बोटलाई हार्बर लगेर पार्क गर्न मिलेन। अँध्यारो रात अनि हुरीका कारणले। त्यहीँ ठाउँमा पार्क गर्यौं। बोटमा जडान अंकुशसहितको आइरन चेनलाई पानीभित्र खसालेर । मलाई केही ज्ञान थिएन बोट बारेमा। म त बस् अन्जान यात्री न थिएँ।
बोट पार्कपछि खाना खाएँ। क्याबिनमा गएर सुतेँ। थाकेर होला बिउँझिँदा उज्यालो भैसकेको रहेछ। भोलिपल्ट सूर्यले दर्शन गरायो सुन्दर ठाउँको।
साँच्चै साह्रै सुन्दर थियो त्यो ठाउँ। कोलाहल थिएन बिल्कुल। एक सय हाराहारीमा होला सुन्दर सानो-सानो ग्रिक स्टाइलका घरहरू। ठूलो मरिना थिएन त्यहाँ। सानो हार्बर, केही सय होलान् मान्छेहरू।
उठेर एक चक्कर लगाएँ। कफि पिएँ। क्याप्टेनसँग दोस्ती जमिसकेको थियो।
हामी त्यो ठाउँमा दुई रात बसेपछि मात्रै अघि बढ्ने कुरा गरे बोसले। त्यहीँबाट लिनु पर्दो रहेछ यात्राको लागि अनुमति पत्र।
सानो ठाउँ एक-दुई घण्टा यताउति गर्दैगर्दा परिचित ठाउँ जस्तो लाग्यो।
दिउँसो खानाको लागि छेउमै रहेको एउटा रेष्टुरेन्टमा गयौं म र बोट क्याप्टेन। समुन्द्र किनारमा अवस्थित रेष्टुरेन्ट सुन्दर थियो। केहीबेरको बसाइपछि हामी बसेको टेबुलमा एउटी वेट्रेस आएर मेनु दिइन्। अनि खानाको बारेमा बुझाइन् हामीलाई।
हामीले केही खाना अर्डर गर्यौं। खाना ल्याइन् हाम्रो लागि। खायौं अनि हिँड्यौं हामी त्यहाँबाट।
साँझ-बिहान त्यहीँ रेष्टुरेन्टमा खाना थालेको भोलिपल्ट ती वेट्रेसले मेरो साथीलाई भन्दा मलाई विशेष गरी बोली। सम्भवत मेरो फरक नसलको कारणले होला।
उनले सोधिन्- तिमी कुन ठाउँबाट आएको हो?
'मेरो घर नेपाल हो। काम साइप्रसमा गर्छु, त्यहीँबाट आएको हो,' मैले भनेँ।
मैले नि सोधेँ- तिमी चाहिँ?
उनले भनिन्- म ग्रिसबाटै हो तर, मेरो घर एथेन्समा पर्छ।
फेरि उनले सोधिन्- तिम्रो नाम?
मैले आफ्नो नाम भनेँ।
मैले पनि उनको नाम सोधें।
'सोफिया मेरो नाम,' उनले भनिन्।
हामीबीच कुरा चल्दै थियो। अर्को टेबुलमा गेष्ट आयो। उनी उतै गइन्। फेरि कुरा गरौंला भन्दै।
यसरी दुई दिनको बसाइमा त्यो अनकन्टारमा उनीसँग परिचय भयो। एक प्रकारको टाढाको साथी बन्यौं। साथी बन्नुको कारण उनको बा हिमाल चढ्न केही वर्ष पहिले नेपाल गएका रहेछन्।
उनलाई नेपालको बारेमा केही थाहा रहेछ। त्यसैले हाम्रो मित्रता कायम भयो भनौं। संयोग बस।
क्यास्टलोरिजोमा दुई दिनको बसाइपछि हाम्रो यात्रा सुरू भयो। ग्रिसमा यत्ति धेरै टापुहरू छन्। जसलाई घुम्न निकै समय लाग्छ रे।
क्यास्टलोरिजोबाट हिँड्यौं हामी। हिँड्दा सोफियालाई फर्केर आउँदा भेटौंला भनेर।
हाम्रो दोस्रो गन्तव्य थियो सिमी आयरल्याण्ड।
त्यहाँ पुग्न लगभग दिन लाग्दो रहेछ। यात्रा बढो रमाइलो थियो। समुन्द्रको बीच-बीचमा स-सानो पहाडहरू देखिन्थे। कतैको पहाडमा जंगल हुन्नथ्यो। कतैको पहाड केबल चट्टानै चट्टानको। बेलैमा पुग्यौं। बास बस्यौं। यसरी थुप्रै आयल्याण्डहरूमा पुग्ने सौभाग्य पाएँ। म पहाडै-पहाडले बनेको देशको मान्छे। मेरो देशलाई समुन्द्रले छोएको छैन। तर, मेरो देशमा संसारकै उच्च शिखर सगरमाथा छ।
जीवनमा पहिलो पटक त्यति धेरै पानीको संसार घुम्न पाएकोमा खुसी नहुने कुरै भएन। बोटबाटै बल्छी खेल्थ्यौं। थरीथरीका माछा बल्छीमा पारेर थुप्रै प्रकारको स्वाद चाख्ने मौका मिल्यो।
यात्रा बडो चाखलाग्दो र अविस्मरणीय बनेको थियो। प्रत्येक आयरल्याण्डको अलगअलग विशेषता पाउँथें। कतै हरियाली जंगलको सामीप्यमा हुन्थ्यो, कतै काला पत्थरको चट्टानै-चट्टानले बनेको थियो। कतै झट्ट हेर्दा सेतो देखिने बालुवाले घेरिएको टापु भेटिन्थ्यो।
यसरी थुप्रै आयरल्याण्डहरू जस्तै सिमी, फाल्गी, रोड्स, लिन्डोस क्रिट, बालेख बीच, मिलोस आदि...आदि थुप्रै ठाउँ घुम्ने सौभाग्य मिल्यो जीवनमा।
यसरी जीवनमा पहिलो र अन्तिम पटक नै भनौं, सायदै अब पुगिन्न होला ती ठाउँहरूमा फेरि-फेरि। तीन हप्ताको यात्रा पूरा गरेर फेरि हामी उहीँ पहिलेको क्यास्टलोरिजो टापुमा आइपुग्यौं।
उहीँ ठाउँको हार्बरमा बस्यौं।
उहीँ रेष्टुरेन्टमा खानाको बहाना बोकेर गएँ। सोफियाले उत्साहित भएर सोधिन्!- कस्तो लाग्यो ग्रिस?
'साह्रै सुन्दर!,' मैले उत्साहित हुँदै भनेँ।
फेरि सोधिन्- -सकियो तिम्रो होली डे?
'सकियो। अब भोलि जाँदैछु साइप्रस।'
त्यो दिन निकै कुराकानी भयो उनीसँग। उनले आफ्नो इमेल आइडी दिइन्। सामाजिक सञ्जालमा साथी बन्यौं।
उनले समय मिलाएर साइप्रस आउने कुरा गरिन्। अनि पछि नेपाल पनि घुम्न जाने कुरा गरिन्।
मैले उनले भनेका सबै कुरालाई 'हुन्छ' भनेर जवाफ दिएँ।
भोलिपल्ट अर्थात् अगस्ट अन्ततिर हाम्रो टिम फर्कियो साइप्रस। उहीँ बाटो जुन बाटो हुँदै गएका थियौं हामी।
निकै मीठो अमिट क्षणहरू संगालेर आइपुग्यौं कर्मभूमप। साइप्रस फर्केपछि पुनः सुरू भयो काम। व्यस्त हुन थालेँ। कहिलेकाहीँ म्यासेज हुन्थ्यो सोफियासँग। उनी बिस्तारै मेरो राम्रो साथी बनिसकेकी थिइन्।
हामी दुई अलगअलग देशको भए पनि,अलगअलग समाजबाट आएको भए पनि। निकै राम्रो मित्रता जमेको थियो हामीबीच।
केही महिनापछि सोफिया साइप्रस घुम्न आउने कुरा भयो। उनी आइन् भनेकै मितिमा केही दिनको छुट्टी लिएर। भेटघाट भयो। मलाई भन्दा बढी जानकारी थियो साइप्रसको बारेमा उनलाई।
बस् मैले त केवल साथी बनेर साथीको भूमिका निभाएँ। बरू उनले घुमाइन् साइप्रसको नयाँ-नयाँ ठाँउ। म कहिल्यै नपुगेको पुरानो गाउँ-गाउँ जहाँ पहिले कहिल्यै पुगेको थिइनँ। उनको छुट्टी छोटो थियो। छुट्टी सकाएर उनी फर्की ग्रिस। मीठो सम्झनाहरू छोडेर। फेरि-फेरि भेट हुने वचन छोडेर।
दिनहरू बित्दै थिए आफ्नै गतिमा।
परदेशसँगको नाता भनेको काम हो। बिना काम दुई दिन कोठामा बस्यो भने साहुले अनेक प्रश्न तेर्साएर हैरान पार्छ। सकि- नसकी निभाउनु पर्छ आफ्नो भूमिका। जुन उनीहरूले छुट्टाएको हुन्छ व्यक्तिको भागमा।
समर सिजन सकिएर अटम सिजन सुरू भयो। बिस्तारै गर्मी घट्दै थियो। फाट्टफुट्ट कहिलेकाहीँ पानी पर्न सुरू भयो। साइप्रसमा मनसुनी वर्षा हुँदैन रहेछ। एक प्रकारको खाडी मुलुक नै हो भन्दा फरक नपर्ला।
हाम्रो देशमा जस्तो जगतै रंगिने गरी हरियाली छाउँदैन रहेछ। विरक्तलाग्दो उजाड स-सानो थुम्कीहरू र समुद्रको किनारमा बसेको स-सानो सहरले बनेको छ ठीक्कको सानो राज्य हाम्रो देशको एउटा अञ्चलले ओगटेको भूगोल जत्रो।
त्यही सालको दसैं-तिहारमा घर जाने कुरा थियो मेरो। समर होली डेमा सोफियासँग भएको भेटघाटको कारणले मेरो त्यो साल घर आउने कुरा क्यान्सिल गरें। किनभने उनले अर्को वर्ष म पनि नेपाल जान्छु भन्ने कुराले।
भौतिक रूपले टाढा भए पनि हामी दैनिकजस्तै अनलाइनमार्फत् कुरा गर्थ्यो। उनले उनको बारेमा सुनाउँथी। मैले मेरो बारेमा।
निकै घनिष्ठ बनेको थियो मित्रताको सम्बन्ध। सबै कुराहरू सेयर गर्थिन् उनले। हुनु त उनीहरूको सामाजिक माहोल नै अलग छ। हाम्रो पूर्वीय समाजभन्दा।
निकै फरासिली थिइन् सोफिया। मन जस्तै सुन्दर थियो उनको शारीरिक बनावट। अग्ली, बान्की परेको शरीर, ठूला -ठूला आँखा। सिपालु मूर्तिकारले समय लगाएर बनाएको सुन्दर मूर्तिजस्तै।
सन् २०१८ को अगस्टमा भएको थियो हाम्रो भेट। केही महिना नयाँ साल लाग्यो। त्यही सालको अन्ततिर उनले नेपाल आउने योजना बनाएकी थिइन्। उनले राम्रो योजना बनाएकी थिइन् नेपाल घुम्ने बारेमा। हिमाल नचढ्ने तर हिमालको फेदीसम्म ट्रेकिङ जाने, हाइकिङ, मिले राफ्टिङ जाने भन्ने कुराहरू गर्थी। उनकै कारणले घर छुट्टी एक वर्ष पर सारेर म आफ्नो कर्ममा तल्लीन थिएँ।
समय आफ्नै गतिमा बगिरहेको थियो। समयसँगै मान्छेको जिन्दगीहरू पुरानो हुँदै थियो।
सोफिया काममा निकै व्यस्त भएको सुनाउँथिन्। होलिडे जानुको निम्ति अतिरिक्त पैसा जोहोको निम्ति भनेर।
त्यो वर्ष आधा हुँदै गर्दा उनले नेपाल जान टुरिष्ट भिसाको लागि एप्लाई गरेको कुरा सुनाएकी थिइन्। खुसी हुँदै।
उनी भन्दै थिइन् मलाई 'म भन्दा अगाडि तिमी पुग्नु पर्छ नेपाल। म नेपाल आउँदा तिमीले रिसिभ गर्न आउनु पर्छ' भन्थी।
गजबको छ, जिन्दगी कति धेरै भावनामा डुबेर कोर्छन् भविष्यमा तय हुने योजनाहरूको कोरा खाकाहरू। कति सफल हुन्छन्। कति असफल।
नोभेम्बर महिनाको दोस्रो हप्ताको एक साँझ सोफियाले कल गरी मलाई।
सबै कुराहरू तयार भयो। भिसा पाइन्। सपिङ गरिन्। टिकट बुक गरिन्। खुसी थिइन् उनी धेरै। सबै कुरा मलाई सुनाइ रहेकी थिइन्।
उनको खुसीमा म पनि सहभागी भएँ। म पनि त पाँच वर्षपछि आफ्नो जन्मभूमि जाँदैछु।
यसरी संयोगबस एउटा रेष्टुरेन्टमा भेट हुन पुग्यो। साथी बनियो। उनको नेपालप्रतिको प्रेम। उनको बाको नेपाल यात्रा आदि कारणहरूले गर्दा हामीसँगै नेपाल घुम्ने बनाएका थियौं योजना। यसरी बनाएको हाम्रो योजनामा एक्कासि पीडा र वेदनाको बादल मडारिन थाल्यो। त्यो विरहको बादल केवल हाम्रो मात्रै जिन्दगीमा परेको थिएन। यो पूरै धर्तीलाई चुनौती दिएको थियो।
कस्लाई के थाहा? भोलि के हुन्छ भनेर?
त्यस्तै अज्ञात भोलिले संसारलाई नै बिचलित हुने गरी कोभिड-१९ लिएर आएको थियो। यसले नै हामीलाई अघि बढ्ने योजनाको गोरेटोमा तगारो हाल्यो।
हाम्रै छिमेकी मुलुकबाट सुरू भएको त्यो भयंकर महामारी रोग संसारभरी फैलिएको थियो। एक देशबाट अर्को देश जाने जल मार्ग, थलमार्ग, हवाई मार्ग पूर्ण रूपमा बिस्तारै बन्द भयो।
प्रकृतिलाई चुनौती दिने मै हुँ भन्ने मान्छेहरूको अभिमानलाई अदृश्य भाइरसले चुरचुर बनायो। मान्छेहरू मान्छेसँग तर्सिएर एक-अर्काबीच दूरी बढाए।
कोरोनाको कारण मेरो छुट्टीमा घर जाने कुरालाई थाती राख्यो। उता सोफियाको नेपाल घुम्न जाने सपनालाई बीचैमा स्थगित गरिन्। त्यो निर्दयी कहालीलाग्दो दिनहरूले ल्याएको प्रत्येक पलहरूलाई स्वीकार्नुको विकल्प थिएन। कोठा-कोठामा थुनिएको थिए मान्छेहरू।
मेरो रोजगारी एक प्रकारले खोसिएको जस्तै भएको थियो। उता सोफिया काम गर्ने रेष्टुरेन्ट बन्द भएर क्यास्टलोरिजोबाट आफ्नै घर फर्केको खबर म्यासेजमा पठाएकी थिइन्।
मैले पनि म्यासेज रिप्लाई गरी पठाएँ। आफ्नो अवस्था बारेको। निकै सकस परेको थियो। जीवन चलाउन। धन्न खान र बस्नको चाहिँ व्यवस्था गरिएको थियो काम गर्ने ठाउँले।
चैत- वैशाखको जंगलमा लागेको डढेलो जस्तै गरी सल्केको थियो, दुनियाँभरी कोरोना महामारी।
बेला-बेलामा कुराकानी हुन्थ्यो सोफियासँग। एकले अर्कालाई सतर्कता अपनाउनु भनेर सल्लाह दिन्थ्यौं।
उनले सुनाउँथी ऊ भएको ठाउँको हाल खबर। बिस्तारै इटाली, स्पेन हुँदै उनको देशमा पनि कोरोना भाइरस भित्रेको खबर सुनाउँथी।
मैले पनि म भएको ठाउँको कुरा सुनाउँथी। साथसाथै नेपाल गएर घुम्ने कुराहरूको बारेमा पनि कुराकानी गर्थ्यौं।
कोरोनाको प्रकोप तीव्र रूपमा फैलिएको कारण अनिश्चितकालको लागि लकडाउन गरियो।
झन त्रसित भयो स्थिति। जिउँदो मान्छेहरूको सहरमा सन्नाटा छायो। अस्पतालहरूमा बिस्तारै बिरामी भरिन थाले।
केही दिन भएको थियो। सोफियासँग नबोलेको। म्यासेज पठाएँ। दुई दिनसम्म म्यासेज सीन नै भएन। कल गरी रिङ जान्छ कल रिसिभ हुँदैन।
उनीसँग त्यस्तो कुनै औपचारिक नाता र सम्बन्ध नगाँसेको भए पनि किन किन उनीप्रति म निकै समर्पित भएको थिएँ। थाहा छैन किन त्यस्तो भयो भनेर।
उनले म्यासेज रिसिभ नगरेको झण्डै हप्ता दिन भैसकेको थियो। ममा निकै छटपटी बढेको थियो।
अचानक मलाई उनको फेसबुक प्रोफाइलमा भिजिट गर्न मन लाग्यो। तत्काल म उनको फेसबुक प्रोफालमा गएँ।
स्क्रोल गर्दै जाँदा केही समय पहिले उनी र उनकी एउटी साथीसँग बसेर खिचेको फोटो देखेँ। संयोगले जुन फोटो सोही युवतीलाई ट्याक गरेको रहेछ।
ती युवतीको नाम 'नतासा' रहेछ।
मैले हत्तपत्त फ्रेण्ड रिक्वेस्ट पठाएँ। केही दिनपछि उनले एसेप्ट गरिन्। सायद सोफिया म्युचअल फ्रेण्ड देखाएर होला।
सोफियाले अझै म्यासेज सिन गरेकी थिइन। झन् कल के उठाउँथी। त्यसैले मैले सोफियाको बारेमा बुझ्नको लागि नै पठाएको थियो नतासालाई फ्रेण्ड रिक्वेस्ट।
मैले नतासालाई म्यासेज पठाएँ।
'हाई नतासा!'
निकैबेरपछि उनले म्यासेज रिप्लाई गरिन्।
'हलो को हो तिमी?'
'म सोफियाको साथी। झण्डै हप्ता दिनभन्दा बढी भयो उनीसँग कन्ट्याक्ट हुन सकेको छैन, त्यसैले तिमी उनको साथी रहेछौ, उनको बारेमा जान्न पठाएको हो म्यासेज तिमीलाई।'
उताबाट नतासा बोलिन्- सरी सी इज नो मोर!
मैले 'ह्वाट' मात्रै भनेँ।
सन्नाटा छायो। बोल्ने हिम्मत गरिनँ। फोन काटेँ।
अनि उनले विस्तारमा म्यासेज पठाई मलाई।
'उनलाई अचानक कोभिड भयो। परिवारले हस्पिटल भर्ना गर्यो। रोगले च्याप्दै गयो रे। आइसियूमा राखेर उपचार गर्दै थियो रे। आइसियूमा राखेर उपचार गर्दागर्दै उनको निधन भयो। दु:खको कुरा उनको फ्युनेरेलमा कोही पनि उपस्थित हुन पाएनन्।'
उनको पूरै म्यासेज पढेँ र भनेँ- खबरको लागि धेरै- धेरै धन्यवाद नतासा।
केही दिनको चिनजान भएको मलाई त यस्तो हालत बनायो भने उता उनको परिवारको हालत कस्तो होलान्। केवल कल्पना गर्न मात्रै सक्छु।
बिस्तारै लकडाउन खुकुलो हुँदै गयो। सरकारले पिसिआर रिपोर्ट बोकेर यात्रा गर्न मिल्ने बनायो। सोफियाको मृत्यु भएको लगभग एक वर्षपछि छुट्टीमा घरमा आएँ। घर आउँदा एयरपोर्ट आइपुग्दा सम्झेको थिएँ सोफियाले भनेको कुरा।
'तिमी नेपाल पहिला जाने अनि म आउँदा तिमीले मलाई रिसिभ गर्न आउने।'
अब सोफिया कहिल्यै नेपाल घुम्न आउने छैनन्। तर उनले गरेको कुराहरूको सम्झना सायद जीवनभरी आइरहन्छ होला....