केही महिना अगााडिबाट मेरी आमा बिरामी भइन्। उनी यसरी बिरामी भएको सायद पहिलो पटक हुनसक्छ। उनी ६५ वर्षकी भइन् रे। समय-समयमा उनलाई लागेको रोग भनेको ज्वरो आउने मात्र हो जस्तो लाग्छ। त्यो सामान्य मानिसलाई हुन्छ नि।
खोइ उनको र मेरो नाता पूर्वजन्मबाट थियो होला, उनलाई ज्वरो मात्र आएको खबर आएमा मेरो मनमा नानाथरीका कुराहरू आउँथे। मेरो शाान्त मन पनि एकैछिनमा उथलपुथल हुन्थ्यो। म उनकी कान्छी छोरी भएता पनि म नै उनलाई एउटा आमाले छोरीलाई गर्ने हेरचाह गर्थें।
हुन त म उनीसँग कक्षा १२ पढ्दासम्म मात्र बसें। उनले मेरो निकै ख्याल गर्थिन्। म पढ्ने समयमा उनले मलाई धेरै नि सहयोग गरेकी छिन्। त्यो गुण त म कसरी बिर्सन सक्छु र! उनले मलाई कहिले पनि कुनै काम 'तिमी छोरी हो, यस्तो गर्नुपर्छ अनि यस्तो गर्नुहुन्न' पनि भनिनन्। मनमा त थियो होला नि कति कुराहरू भन्न तर कहिल्यै निस्केन त्यस्ता वाक्यहरू उनका मुखबाट।
जब म कक्षा १२ सकेर काठमाडौं बस्न थालें, उनले मलाई धेरै नै सम्झिन्थिन् रे। मलाई उनले खाना बनाउने काम छोडेकी थिइन्। म नि ज्ञानी थिएँ। लगाएको काम गर्थें। उनलाई मैले बनाएको खाना एकदम मन पर्थ्यो। म उनको छेउमा बस्दा नि उनलाई आनन्द लाग्थ्यो रे। खोई मलाई त कहिल्यै भनिनन्।
वर्षमा एकपटक घर जान्थें दसैंमा, १५/२० दिन बसेर फर्किन्थें। जब म घर जाने दिन आउँथ्यो, मभन्दा बढी उनी खुसी हुन्थिन्। घरमा बसुन्जेल मेरो पहिलो प्राथमिकता उनको खुसी हुन्थ्यो। धेरैजसो समय म उनीसँगै बस्थें। म फर्किने दिन उनी मलाई टीका लगााउँदै आँखाबाट आँसु झार्थिन्। के सोचेर रुन्थिन् त्यो उनैलाई थाह होला।
म काठमाडौं आएपछि आफ्नै पारामा हुन्थें। कोरोनाको समयमा उनी निकै डराएकी थिइन् रे। विचरी नडराउने पनि त कुरा भएन, उनका छोराछोरी साथमा जो थिएनन्। उनले त्यो समय आँखाको बिमारीका कारण दुःख खेप्नु परेको थियो। उनलाई मोतीविन्दु भएको थियो। उनी निकै डराउँथिन् रे अब आँखा देख्दिनँ होला भनेर। बूढेसकालमा म छोराछोरीको लागि बोझ हुन्छु होला भन्थिन् रे।
त्यो समयमा नि मैले उनको सेवा गर्ने मौका पाएको थिएँ। कोरोनाका कारण जागीर बिदा भएको थियो, लगभग दुई महिना काठमाडौं बसें। त्यो समय मेरा लागि आफूलाई चिन्ने समय भएको थियो। सधैं व्यस्त समय बिताएकी मैले आपनो लागि समय के हो भन्ने नि थाहा पाएकी रहिनछु। निरन्तर योग, प्रणायम, ध्यान र विभिन्न प्रकारका किताबहरू पढ्ने मौका पाएकी थिएँ।
त्यो समयलाई धन्यवाद दिनैपर्छ मैले जुन समयले आजको म बनाउनमा सहयोग गर्यो। त्यो समयमा म आफ्नो परिवारसँग बस्ने र समय बिताउन उपयुक्त ठानी घर गएँ। उनको अवस्था खासै राम्रो थिएन। उनलाई अस्पताल लगेर अपरेसन गराएर ल्याएँ। एक हप्ता डाक्टरले भनेअनुसार आराम गराई उनलाई निको बनाउनमा सहयोय गरेकी थिएँ।
उनको जीवनको पहिलो शल्यक्रिया थियो यो। उनलाई न कुनै दीर्घरोग लागेको थियो न कुनै प्रकारका रोगको नियमित रुपमा औषधि नै खान पर्थ्यो। यसपालि उनी घुँडा दुख्ने बिमारीले थलिन्। सुरुमा त उनलाई सामान्य लागेको थियो यो बिराम। सानोतिनो बिमार त उनी यत्तिकै पचाउँथिन। यो बिमारलाई उनले यस्तै साधारण सम्झेकी थिइन्।
मेरी आमा कहिले नथाक्ने। तर यो बिमारले उनलाई थकाइदियो। काम नगरी बस्न नसक्ने मेरी आमा अब काम त परै जाओस्, बसेको ठाउँबाट पनि उठ्न अरु कसैको सहारा लिन आवश्यक पर्ने बनाइदियो। उनलाई बुवाले आफूले सक्ने र थाहा पाएको झापाका विभिन्न डाक्टर, वैद्य, धामी, झाक्री सबै गर्दा नि उनको रोग पत्ता लगााउन सकिएन।
अब काठमाडौंको यात्रा सुरु भएको थियो। धेरैपछि काठमाडौं आएकी उनी एयरपोर्टमा देख्दा अनुहारमा केही खुसी थिएन। सायद बिरामले उनको अनुहारको खुसी सबै लगेको थियो।
अब सुरु भयो उनका काठमाडौंको अस्पताल धाउने दिनहरू। मेरो कोठा ३ तला माथि थियो। उलाई ३ तलाबाट तल ल्याउन र माथि लानमा यति गाह्रो हुन्थ्यो कि कुरै छोडौं। कति गाह्रो हुन्थ्यो, त्यो उनको अनुहारबाट स्पष्ट देखिन्थ्यो। सहन नि कति सक्थिन् होला। सायद यो बिमार मलाई भएको भए ठूलो जात्रै हुन्थ्यो होला।
उनलाई हामीले कहाँ लग्दा सबैभन्दा छिटो निको बनाउन सकिन्छ, त्यहाँ लग्ने प्रयास थियो। आर्युवेद, होमियोप्याथी, अस्पताल। बि एण्ड बि हस्पिटलमा देखायौं। त्यहाँका डाक्टरअनुसार आमालाई ठूलो रोग लागेको थिएन। एमआरआई गराउँदा पनि हल्का इन्फेक्सन मात्र देखियो।
आमालाई १५ दिन फिजियो थेरापी गराउँदा उनको बिराम निको हुनुको साटो झन् बिरामले च्यापिरहेको थियो। उनको टाउको यति पोल्थ्यो रे, टाउकोमा पानी हालेको हालै गर्थिन्। १५ दिनपछि उनको घुँडाबाट पिप निकालियो। त्यस दिन उनलाई गाह्रो भयो। तर दिनहरू बित्दै जाँदा उनलाई निको भएको थियो।
उनी घर गइन्। अब उनी विस्तारै निको हुँदै थिइन्। उनका शरीरमा नयाँ उर्जा आइरहेको थियो सायद। गुमाएकी थिइन् होला आशाहरू, अब विस्तारै पलाउँदै थिए। २/३ महिनामा उनी राम्ररी नै ठिक भइन्। चाडपर्वहरू आउँदै थिए। उनी आफ्नो काममा मज्जाले रमाइरहेकी थिइन्।
दसैं आउन लागेको थियो, उनलाई फेरि त्यही बिरामले च्याप्न थालेको थियो। दसैंमा घरमा रमाइलो त थियो तर उनको पीडा अनुहारबाटै देखिन्थ्यो। उनी भन्न त भन्थिन् गाह्रो भएको कुरा। कति रहर हुन्थ्यो उनलाई आफ्ना छोराछोरी नातिनातिनीलाई खुवाउन, उनीहरूका लागि काम गर्न। तर यो दसैंमा उनले आफ्ना रहरका कामहरू गर्न सकिनन्।
सायद दसैंको तेस्रो दिन हुनपर्छ, हाम्रो घरमा खसी काट्ने दिन थियो। घरमा रमाइलो वातावरण थियो। पाहुना त्यत्तिनै आइरहेका थिए। मेरी आमालाई भने बिरामले निकै च्यापेको थियो। म भान्सा कोठामा थिएँ। उनलाई मैले पटक-पटक नियालिरहेको थिएँ। यति गाह्रो भएको थियो उनी घरबाट पर गएर बमिट गर्दै थिइन्। सायद अरुले नदेखून् भनेर पनि हुनसक्छ।
रमाइलो वातावरण फेरि उनको कारण नबिग्रियोस भनेर पनि हुनसक्छ उनी घरबाट पर गएकी थिइन्। मैले उनलाई नियालिरहेकीले देखें, हतपत्त उनलाई उठाउन गएँ। उनका आँखामा आँसु थिए। मैले केही नबोली उनलाई उठाएर लगेँ। उनका आँखाको आँसु सहन सकिनँ। भान्सामा एक्लै भएकाले म नि रोएँ। एक्लै रोएँ।
आमालाई दसैं सकिने बित्तिकै होमियोप्याथी लगें। औषधी गराएर ल्याएँ। उनी अहिले त्यही औषधी खाइरहेकी छिन्। अहिले नि उनलाई समय-समयमा धेरै नै गाह्रो हुन्छ रे। अब आमालाई दीर्गरोग लाग्यो। मैले फोन गर्दा ठिक छ भन्छिन्, आमाको मन न हो। छोराछोरीलाई आफूलाई गाह्रो भएको खबरले पीडा नहोस् भनेर झूट बोल्न नि पछि पर्दिनन् मेरी आमा।