करिब ५:३० मै आँखा खुल्यो। एकाबिहानै जाडोमा उठेर के गर्नु भनेर फेसबुक खोलेर हेर्न थालें। अचेल फेसबुक खोल्यो कि विदेशिनेहरू लर्को देख्न पाइन्छ। 'ह्याभ अ सेफ फ्लाइट', 'शुभयात्रा' र '...को बसाइँ सुखद रहोस्' बाहेक अरू पोस्टहरू कमै देखिन्छ। त्यो पनि जापान, अस्ट्रेलिया र क्यानडाका मात्र।
खाडी मुलुक जानेको कसले 'ह्याभ अ सेफ फ्लाइट' र 'शुभयात्रा' लेखोस्। कहिले जान्छन्, कहिले फर्किन्छन् घरका बाहेक कसैलाई अत्तोपत्तो हुँदैन।
करिब १५ मिनेटपछि श्रीमती र छोराको पनि आँखा खुल्यो। 'कति मोबाइल चलाको, सुत्नेबेला पनि, उठ्ने बित्तिकै' श्रीमतीको आवाजमा छोराले पनि 'नि के मम्मी' भन्दै होमा हो मिलाउँदै थियो।
मैले भनें- 'फलानो पनि विदेश गएछ नि।'
'कुन ठाउँ?'
'क्यानडा।'
'म पनि जानुपर्छ क्या हो?' श्रीमतीको प्रश्न।
'त्यसो भए सँगै जाऔं, ल आजसँगै पासपोर्ट बनाउन जाऔं,' मैले हाँस्दै जवाफ फर्काएँ।
'मैले मजाक गरेको होइन, सिरियस कुरा गरेको। बोर्डिङ स्कुलमा पढाएर कसरी जीवन धान्नु? आफ्नो त जसोतसो होला यसको भविष्य नि?'
म निःशब्द भएँ, केही बोलिनँ।
त्यत्तिकैमा छोरा बोल्यो- 'मैले बाबालाई भनेको नि, तपाईं नि विदेश जानू भनेर!'
'उम् के, माबाइल चलाउने मात्र, कस्तो नमान्ने बाबा नि!' श्रीमतीले हाँस्दै भनिन्।
त्यसपछि मलाई छोराले भनेको कुरा याद आयो। एकदिन म अफिसबाट घर फर्किंदै गर्दा ऊ उसको मम्मीसँग गृहकार्य गर्दै थियो। 'सानु होमओर्क सकियो?' मैले प्रश्न गरेको थिएँ।
मेरो प्रश्नको जवाफ उसले फर्काएको थियो, 'बाबा, हजुर नि विदेश जानू के!'
'किन म विदेश जाने?,' मैले भनेको थिएँ।
'समिरले ह्याप्पी बर्थडेमा कति ठूलो केक काटेको हिजो।'
'तिम्ले पनि त केक काटेको नि,' मैले भनें।
'मेरो त कति सानो थियो।'
'हो र?' भन्दै म चुपचाप रहें।
त्यस रात मलाई निद्रा नै परेन। चार वर्ष पुग्न लागेको बच्चाले बाबा विदेश जानू न भन्दैछ। उसलाई बाबा विदेश गएपछि केक ठूलो आउँछ भन्ने छ। तर कहिलेकाहीँ लाग्छ उसले ठिकै भन्दै छ। एनजिओको जागिर कहिले सकिने हो थाहा छैन। देख्नेलाई एनजिओमा काम गर्छ भन्ने छ तर आफ्नो पीडा आफैंलाई थाहा छ। नेपालमै बसेर केही व्यापार गरुँ आफूसँग पर्याप्त रकम छैन्। ऋण निकालेर काम गरौं, बैंकले पत्याउँदैन।
तर अहिलेको अवस्थालाई हेर्ने हो। सबै कुराहरू यही ठिकै चलिरहेको छ भनेर बसौं भने पनि 'कुवाँको भ्यागुतो कुवाँको कुवैँ' भने जस्तै कहीं कतै म मात्र यही छुट्ने हो कि भन्ने लागिरहेको छ। त्यहीमाथि विदेश बसेका र तिनीहरूका अभिभावकहरूले 'यहाँ बसेर त केही हुन्न, जे गर्नु छ समयमै गर्नुपर्छ, कमाउने उमेरमा २५ हजारको जागीर गरेर के हुन्छ?' भनेको सुन्दा त यहाँ बसेर ठूलो गल्ती गरिरहेको छु कि जस्तो लाग्ने रहेछ।
कहिलेकाहीं उनीहरूले भनेको पनि सही जस्तो लाग्छ। यदि अलि ठूलै बिरामी परे त पैसाको अभावले त्यत्तिकै मरिन्छ जस्तो लाग्ने रहेछ। फेरि बुबा, आमासँगै बस्न पाएको छु। उहाँहरूको रेखदेख गर्न पाएको छु। त्यो सोच्दा पनि ठिकै लाग्छ।
दुःख त केमा लाग्छ भने 'आजसम्म नेपालमा बसेर राम्रो गरिरहेको छस्, आफ्नै देशमा पसिना बगाइरहेको छस्' भनेर हौसला दिने मान्छे भेटेको छैन। भेटेको छु त, त्यति पढेर के हुन्छ? कति कमाउँछस्? त्यतिले जिन्दगी चल्छ त? यहाँ बसेर के गरिरहेको? भन्ने मात्र।
फेरि 'बाबु, मेरो औषधि सकिएको छ, घर आउने बेला बजारबाट ल्याइदिनू' भन्ने जमात पनि त्यही हो। थाहा छैन को ठिक हो, उनीहरूको सोच वा म जो नेपालमै बसेर उनीहरूको नजरमा गल्ती गरिरहेको मान्छे। फेरि 'बाबा विदेश जानू न' को उत्तर 'नाई म जाँदिनँ' वा 'हुन्छ म जान्छु' को अहिलेसम्म मसँग छैन।