वन्यजन्तुलाई चिन्ने विभिन्न तरिकाहरू मध्ये पाइला अथवा पदचिन्हको अध्ययन पनि एउटा महत्वपूर्ण विधि हो। अंग्रेजीमा पाइला अथवा पदचिन्हलाई फुट-प्रिन्ट, पगमार्क आदि भनिन्छ। मांसाहारी प्रजातिमा पर्ने जनावरहरू जस्तै- बाघ, चितुवा, हुडार, आदिको पाइला अथवा पदचिन्हलाई पगमार्क भनिन्छ। मैले यो लेखमा पदचिन्हको साटो पाइला भनेर सम्बोधन गरेको छु।
पाइलाको अध्ययनबाट हामी वन्यजन्तुहरू जस्तै, बाघ, चितुवा आदि सजिलै छुट्याउन सक्छौं। अझ पाइलाको आकार स्पष्ट छ र चिन्न मद्धत पुग्ने अन्य गुणहरू छन् भने हामी बाघ र चितुवामा पनि भाले वा पोथीसम्म छुट्याउन सक्छौं। हामीले पाइलाको अध्ययनबाट बाघ, चितुवा लगायतको अनुमानित उमेर समूह (बच्चा, अर्धवयस्क, वयस्क) सम्म भन्न सक्छौं।
बाघ, चितुवा लगायतको पाइलाको अध्ययनले ती जनावरहरू त्यस क्षेत्रमा पाइन्छ कि पाइँदैन भन्ने कुरा देखाउन सहयोग पुर्याउँछ। हाम्रो गाउँघर छेउछाउको वनजंगलमा कस्ता-कस्ता जनावरहरू पाइन्छन्? के बाघ, चितुवा, आदि पाइन्छन्? यस्तै-यस्तै केही प्रश्नहरूको उत्तर यो बाघ र चितुवाको पाइलाको अध्ययनले दिन्छ।
कसरी चिन्न सकिन्छ त बाघ र चितुवाको पाइला?
अनुसन्धानकर्ताहरूले बाघ, चितुवा, आदिको पाइला अध्ययनका लागि भिन्न तरिकाहरू अपनाएका छन्। तर समग्रमा, सजिलो तरिकाबाट बाघ र चितुवाको पाइला चिन्ने तरिकाहरू मध्ये हत्केलाको आकार, औंलाको आकार, अगाडि र पछाडिको पाइला बीचको दूरी, औंलाहरू बीचको दूरी, आदि मुख्य कुराहरू हुन्। चित्र १ मा बाघको अगाडि र पछाडिको पाइलाहरू बीचको फरक देखाउन खोजिएको छ जहाँ हत्केला र औंलाहरूको बनावट वा आकारमा फरक देखिएको छ।
चित्र १: बाघको अगाडि र पछाडिको पाइलाहरू
चित्र २: बाघको दायाँ भागको अगाडि र पछाडि भागको पाइला।
चित्र २ मा बाघको दायाँ भागको अगाडि र पछाडि भागको पाइला बीचको फरक देखाएको छ। यो चित्रमा औंला २ र ३ को टुप्पो बीचको दूरीमा फरक छ। पोथीको तुलनामा भाले बाघको पाइला पोथीको भन्दा ठूलो र औंलाहरू बीचको दूरी (जस्तै औंला १ र २ बीचको दूरी) पनि बढी हुन्छ। भाले र पोथी बाघको पाइलालाई हेर्ने हो भने भाले बाघको औंलाहरू थोरै गोलाकार आकारका हुन्छन् भने पोथीको थोरै चुच्चो परेको हुन्छ (चित्र ३)। पोथी बाघको हत्केला र औंला बीचको दूरी भालेको तुलनामा थोरै छ।
चित्र ३: भाले र पोथी बाघको औंलाहरू बीचको फरक।
बाघको पाइला र चितुवाको पाइलाबीच भिन्नता:
चित्र ४: बाघ र चितुवा बीचको पाइलाको मोटामोटी लम्बाइ।
बाघ र चितुवाको पाइलामा धेरै वा थोरै समानता हुन्छ। झट्ट हेर्दा उस्तै देखिए पनि बाघ र चितुवा बीचको पाइलामा धेरै फरक हुन्छ। उदाहरणको लागि पाइलाको लम्बाइ र चौडाइको नाप। बाघको जसरी नै चितुवाको पाइला पनि पाइलाको बनावट, आकार आदि हेरेर चिन्न सकिन्छ। तर चितुवाको पाइला समग्रमा बाघको पाइलाभन्दा सानो हुने हुन्छ। अर्धवयस्क बाघ वा बच्चा बाघसँग चितुवाको पाइलासँग आकारमा केही मिल्न जान्छ। चित्र ४ मा देखाए जसै, वयस्क बाघको लम्बाइ झन्डै १० सेन्टिमिटरदेखि १६ सेन्टिमिटरसम्म हुन्छ भने चितुवाको लम्बाइ ८ देखि १० सेन्टिमिटरको हाराहारीमा हुनेगर्छ। पाइलाको लम्बाइ र चौडाइलाई मात्र हेरेर बाघ र चितुवाको पाइला छुट्याउन सकिँदैन। लम्बाइ र चौडाइ बाहेक अन्य गुणहरू खास गरी औंलाहरू बीचको दूरी, औंलाको बनावट आदि पनि हेर्नै पर्ने हुन्छ।
पोथी बाघको पाइला, पर्सा राष्ट्रिय निकुञ्ज। (तस्बिर: शिविश भण्डारी)
उदाहरणका लागि मैले यहाँ पोथी बाघको फोटो राखेको छु। यो फोटोमा बाघको औंलाको आकारहरू अलि चुच्चो परेको छ। पाइलाको लम्बाइ र चौडाइको अनुपातमा चौडाइको नाप थोरै छ। दुई वटा औंला बीचको दूरी पनि थोरै छन् तसर्थ यो फोटो पोथी बाघको हो।
भाले चितुवाको पाइला, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। तस्बिर : शिविश भण्डारी
यो भाले चितुवाको तस्बिरमा पाइलाका औंलाहरू गोलाकार छन् तथा औंलाबीच केही दूरी देखिएको छ। बायाँ औंला २ र् ३ को लम्बाइ पनि त्यति धेरै फरक छैन। यहाँ चितुवाको हत्केला र औंला (१, २ र ३) बीचमा केही दूरी देखिएको छ साथै पाइलाको लम्बाइ र चौडाइ बीचको नापमा पनि धेरै फरक छैन।
पाइला चिन्नका लागि मैले माथि प्रस्तुत गरेको कुराहरू मोटामोटी सामान्य हुन्। पाइलाको अझ थप अध्यनका लागि माथि प्रस्तुत गरेको गुणहरू बाहेक अरु पनि धेरै गुणहरू हेर्नु पर्ने हुन्छ। जसले गर्दा हामी बाघ वा चितुवाको पाइलाको अध्ययनबाट त्यो जनावरको अनुमानित उमेर समूह पनि पत्ता लगाउन सक्छौं। यसबाहेक पाइला चिन्न राम्रो अनुभब पनि चाहिन्छ। धेरै वर्ष काम गरेको मान्छेहरू पनि कहिलेकाहीँ पाइला चिन्न झुक्किन्छन्।
अर्को कुरा पाइला कस्तो ठाउँमा छ भन्ने पनि हो। उदाहरणका लागि खोलाको बगर, धुलो माटो भएको बाटो, आदिमा पाइला छन् भने पाइलाको चिन्न्ह स्पष्ट हुन्छ। जसले गर्दा पाइलाका गुणहरू जस्तै औंला, हत्केलाको लम्बाइ, चौडाइ आदि सजिलै नाप्न वा हेर्न सकिन्छ। डुंगा भएको बाटो वा घाँसे मैदानमा पाइला राम्ररी चिन्न सकिँदैन।
यसरी हामीले सामान्य रुपमा बाघ वा चितुवाको पाइलाको अध्ययनबाट हाम्रा गाउँघर वरपरको वनजंगलमा बाघ चितुवा छ/छैन भनेर भन्न सक्छौं।
(लेखक मोर्गन स्टेट युनिभर्सिटी मेरिल्यान्ड, अमेरिकाबाट जीवविज्ञानमा विद्यावारिधि गर्दैछन्।)