गत वैशाख ९ गते मेरो साथीले 'ए टु जेड क्यामेरा हाउस' मा गोब्रा क्यामेरा देख्यो। उसले त्यसको मूल्य बुझ्न उक्त अनलाइन क्यामेरा हाउससँग कुराकानी गर्यो। क्यामेराको मूल्य ३० हजार रुपैयाँ पर्ने जानकारी पायो। क्यामेरा खरिद गर्न १५ हजार रुपैयाँ डिपोजिट गर्न भनियो। उसकी श्रीमतीले क्यामेरा हाउसबाट पठाएको क्युआर कोडमार्फत १५ हजार पठाइन्। तर त्यसपछि ती अनलाइन व्यवसायी सम्पर्कविहीन भए। न सामान आइपुग्यो न तिरेको रकम फिर्ता।
त्यसैगरी जोमसोमस्थित एक होटलमा हेल्परको काम गर्दै आइरहेका एक व्यक्तिलाई सवारी चालक अनुमती पत्र आवश्यक पर्यो। यसका निम्ति फारम भर्ने तयारी गर्दा गण्डकी यातायात कार्यालयको फेसबुक पेजमा मनोज गुरुङ नाम गरेको व्यक्तिले 'सवारी चालक अनुमती बनाउनु परेमा सम्पर्क गर्नुहोला' भनि पोष्ट गरेको देखे। उनले म्यासेनजरबाट सम्पर्क गरी फोन नम्बरमा समेत कुराकानी हुँदा पैसा, नागरिकता र फोटो पठाउन भनियो। उनले पटक-पटक गरी खल्ती एपमार्फत ६५ हजार रुपैयाँ पठाइदिए। अहिले सम्पर्क गर्दा 'तपाईं ठगिनु भयो, पैसा फिर्ता गर्दिनँ, लाइसेन्स पनि प्रोसेस भएको छैन' भन्दै 'अब आइन्दा फोन नगर्नू, गरेमा राम्रो हुने छैन' भनि धम्की पाए।
यस्तै गत मंसिर २६ गते अर्का एक व्यक्तिलाई ह्वाट्स एपमा दुबई जमजम शपबाट आइफोन प्रो म्याक्स र अल्ट्रा वाच चिट्ठा परेको भनी फोन आयो। त्यो उपहार पाउन करबापत ४८ हजार ६०० रुपैयाँ उनीहरूले भनेको खातामा जम्मा गर्नुपर्छ भनिन्छ। ती व्यक्तिले पनि अपरिचित व्यक्तिले भने झैं पैसा पठाउँछन्। पैसा अपरिचित व्यक्तिको खातामा जम्मा भएपछि सामाजिक सञ्जालबाट सम्पर्कविहीन हुन्छन्।
त्यस्तै अर्का एक व्यक्तिको फेसबुक आइडी ह्याक भयो। अनाधिकृत व्यक्तिले उक्त फेसबुकमा अश्लील भिडिओहरू पोष्ट गरी उनको इज्जत प्रतिष्ठामा आँच आएको महसुस भएपछि अनाधिकृत व्यक्तिको खोजतलास गरी कानुन बमोजिम कारबाही गरी पाउँ र उक्त फेसबुक आइडी ब्लक समेत गराइ पाउँ भन्ने निविदन प्रहरीमा दिए।
मोबाइल फोनमार्फत संचालनमा रहेका सामाजिक सञ्जालसँग सम्बन्धित रही मानिस पीडित हुनु परेका माथि उल्लेखित घटनाहरू त केबल प्रतिनिधि घटना मात्र हुन्। सामाजिक सञ्जालको सही तरिकाले प्रयोग गर्न नजान्दा वा अपरिचित मानिसहरूसँग सामान्य चिनजानमै विश्वासमा परी ठगी, चरित्र हत्या लगायतका घटनाहरू दिनानुदिन हुने गरेका छन्। त्यसमध्ये पनि केहीले त मृत्युवरणसम्म गर्नु परेको तथ्य छ। कतिपय उजुरीमार्फत प्रहरीकोमा पुग्छन् भने कतिले इज्जत जाने डरले उजुरी नै गर्दैनन्।
टाढा रहेका आफन्त वा अन्य कामकाजको रुपमा मानिसहरूसँग कुराकानीको लागि सहज माध्यमको रुपमा रहेको मोबाइल फोन समयको विकाससँगै अहिले कम्प्युटर र ल्यापटपले गर्ने कार्य पनि यसैबाट हुने गरेको छ। पहिले काम गर्नको लागि कुनै अफिस वा घरको कोठा अपरिहार्य मानिन्थ्यो भने अहिले बाटोमा हिँड्दाहिँड्दै वा कसैसँग गफिएर बस्दाबस्दै पनि मोबाइलबाट गर्न सकिन्छ। यो सबै नयाँ-नयाँ प्रविधिको विकास, समयको अत्यधिक माग र आवश्यकताले गर्दा सम्भव भएको हो।
विज्ञानको अद्भुत विकाससँगै आविष्कार भएका नयाँ-नयाँ तथ्यहरूको प्रयोग यदि सही तरिकाले गरिएन भने त्यसले विनाश वा खराबी पनि निम्त्याउने अवश्यम्भावी छ। कुनै रोग लागेको बिरामीले प्रेस्क्रिप्सन गरेको औषधिको मात्राभन्दा बढी सेवन गर्यो भने त्यसले शरीरमा विषको काम गर्छ। अर्थात् परिणाम नकारात्मक पनि निस्कन्छ। त्यसैगरी इन्टरनेटको माध्यममार्फत संचालित सामाजिक सञ्जालको सही तरिकाले प्रयोग गर्न नजान्दा वा यसको दुरुपयोग गरेको कारण पछिल्लो समयमा मानिसहरू अत्यन्त पीडादायी जीवन बिताउन बाध्य छन्।
नेपाली समाज पनि सामाजिक सञ्जालको गलत प्रयोगको विकराल समस्यामा जेलिइसकेको छ। मानिसले आफ्नो भावनालाई नियन्त्रण गर्न नसकी सामाजिक सञ्जालमा अनियन्त्रित हुँदा अकालमा ज्यान समेत गुमाउनु परेको दृष्टान्त जगजाहेर नै छ।
अहिले मोबाइल जो कोहीको लागि पनि प्रिय बनेको छ। समय यस्तो छ कि दुधे बालकको लागि आफ्नो आमाको अमृत तुल्य दूधभन्दा पनि मोबाइल अत्यन्त प्यारो खेलौना बन्न पुगेको छ। ऊ त्यसप्रति यतिबघ्न मोहित भइदिन्छ कि मानौं अब यो संसारमा मोबाइल बाहेक अर्को कुनै प्यारो बस्तु नै छैन।
अलि पहिले नेपाली समाजमा प्रहरी भन्ने बित्तिकै जो कोहीलाई पनि डरको भावना पैदा हुने गर्दथ्यो। बालबालिका रुँदा पनि 'बाबु नरोऊ, अब रोयो भने म पुलिस बोलाइदिन्छु' भन्यो भने त्यो बालक जानेर हो वा नजानेर चुप लाग्ने गर्दथ्यो। तर आज उसलाई फुल्याउन प्रहरीरुपी डर भन्दा मोबाइल र त्यसमा आउने थरीथरीका गेमहरू नै सर्वप्रिय बनेका छन्।
काँधमा झोला बोकेर स्कुल जाँदै गर्दा झोलामा किताबको भारी सहित विद्यालय पुगे पनि बालबालिकाको आधाउधी ध्यान आमाबुवा वा दाजुको मोबाइलमा नै हुन्छ। विद्यालयमा पनि अध्ययन तथा गृहकार्यको बारेमा भन्दा पनि आजकल नयाँ-नयाँ आविष्कार भएका अनलाइन गेमको बारेमा बढी चर्चा हुने गर्दछ। विद्यालयबाट घरमा पुग्दै गर्दा उसको पहिलो कार्य गृहकार्य हुनु पर्ने हो तर त्यसमा उसको खासै ध्यान हुँदैन र मोबाइलमा पहिल्यै डाउनलोड गरी राखिएको गेम खेल्नु वा हतार-हतार नेट अन गरी कुनै नयाँ गेम डाउनलोड गरी एक चरण त्यसमा लिप्त भइहाल्नु हुन्छ।
बालबालिका मात्र होइन, अहिले हरेक व्यक्तिको प्रिय मोबाइल बनेको छ। जे गर्दा पनि मोबाइल आवश्यक पर्ने अवस्था सिर्जना भइसकेको छ। मोबाइलको प्रयोग अत्यधिक रुपमा हुन थालेदेखि एकाघरका पारिवारिक सदस्यहरू बीच दोहोरो सम्वाद तथा भेटघाट कमै हुने गरेको छ। प्रविधिको व्यस्तताले श्रीमान, श्रीमती र छोराछोरी बीचमा समेत सम्वादहीनता र जिम्मेवारी, अनुगमन तथा कर्तव्यमा समेत सुस्तता आएको छ।
बुवाआमालाई तेश्रो तलामा रहेका छोराछोरीले पढेका छन् वा सामाजिक सञ्जालको गलत प्रयोग गरेर कुनै हिंसा अथवा पीडामा पर्दैछन् भन्ने निगरानी गर्ने फुर्सद पनि छैन। छोराले मध्यरातसम्म कोठाको चुकुल भित्रबाट लगाई कानमा एयरफोन लगाएर पब्जी वा फ्रिफायरमा मस्त भएको कुरा नियमित अनुगमन नगर्दा 'छोराले आधा रातसम्म पनि पढेको छ' भनेर अभिभावक मख्ख पर्ने अवस्था छ।
खासगरी पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न अपराध तथा विकृतिहरू हुने गरेको पाइएको छ। इमेलमार्फत जथाभावी धम्की दिने, चरित्र हत्या गर्ने र नगद माग गर्ने, फोटोशपको माध्यमबाट विभिन्न किसिमका नग्न तस्बिर व्यक्तिको मुहार जोडी इन्टरनेटमा राख्ने, विबिभिन्न सर्जक तथा रचनाकारका सर्जकका मौलिक सिर्जनाहरू तथा आलेखहरू चोरी गरी प्रतिलिपि बनाउने तथा अबैध रुपमा बिक्री गर्ने, विभिन्न किसिमका अश्लील सामाग्रीहरू विविध माध्यममार्फत इन्टरनेटमा राख्ने तथा अरुलाई पठाइ व्यक्तिलाई आत्महत्या गर्न सम्म प्रेरित गर्ने, मोबाइलमार्फत धम्कीपूर्ण एसएमएस पठाउने तथा एसएमएसमार्फत जुवा, लट्री तथा विभिन्न किसिमका अनलाइन गेमहरू संचालन गर्ने, सरकारी तथा अन्य संस्थाहरूको वेबसाइट ह्याक गर्ने र सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गरेर फेक आइडि बनाइ बेइज्जत गर्ने र दुःख दिने लगायतका कार्यहरू हुने गरेका छन्।
साइबरको प्रयोग गरी सामाजिक सञ्जाल चलाउँदा अत्यन्त सुझबुझका साथ यसलाई केबल सूचना र सञ्चार बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्ने, फेसबुकमा साथी छनोट गर्दा आफ्नो नातागोता र भरपर्दो साथीलाई मात्र साथी बनाउने, कुनै पनि विश्वास योग्य सम्बन्ध नहुँदासम्म फेसबुक तथा इमेलको पासवर्ड कसैलाई पनि सेयर नगर्ने, इन्टरनेटको जथाभावी प्रयोग नगर्ने, कसैले अनुमान गर्न नसक्ने खालको पासवर्ड राख्ने र समय समयमा परिवर्तन गर्ने र सामाजिक मर्यादा विपरीत कुनै पनि सन्देश तथा फोटो कसैलाई पनि नपठाउने, फेक आइडी नखोल्ने लगायतका साबधानी अपनाउन सकेको खण्डमा साइबरको प्रयोग प्रभावकारी बन्न सक्दछ र आफू पनि पूर्णरुपमा सुरक्षित बन्न सकिन्छ।
(लेखक प्रहरी नायब उपरीक्षक हुन्।)