नेपालमा डिग्री पढाइ हल्का लागेर हो वा बाध्यता भएर हो त्यो कुरा त समय आएपछि पक्कै थाहा होला। उता भारतमा बनेको 'ट्वेल्थ फेल' मूभीको तहल्का पनि हामी धेरैलाई थाहा नै छ।
केही दिन सामाजिक सञ्जालमा व्यापक चर्चामा रह्यो 'ट्वेल्थ फेल'। यता म भने शैक्षिक प्रमाणपत्रको मात्र काम नहुने अवस्था देखेर स्नातकोत्तरको पढाइलाई थोरै समयको अनुभवमा सीमित राख्दै अहिलेलाई अध्ययनको यात्रालाई यहीँ टुंग्याउने निधो गरिरहेको छु।
माध्यमिक शिक्षा रोल्पाको दुर्गम गाउँमै अध्ययन गरेको म प्रमाणपत्र र स्नातक तहसम्मको पढाइ भने दाङमै रहेर पूरा गरेँ।
स्नातक तह सम्मको पढाइ पूरा गरेको ऊर्जासँगै स्नातकोत्तर तहको पढाइ पनि पूरा गर्ने उद्देश्यका साथ मार्क कलेज घोराही दाङबाटै पूरा गर्छु भनेर प्रवेश गरेँ।
अध्ययन गर्नेहरूका लागि राम्रो वातावरण भएको, आफ्नो छुट्टै पहिचान बनाएको कुरा सुनेर उत्साहित म स्नातकोत्तर अध्ययन यही प्रतिष्ठित कलेजबाट पूरा गर्छु भन्ने उत्साहको साथ यात्रा सुरू गरेको थिएँ। अहिले भने म बीच बाटोमा नपुग्दै अलमलिएको छु।
कलेजको भौतिक संरचना, प्रशासनिक व्यवस्थापन, प्राध्यापकहरू, अनि सँगै अध्यापनरत साथीहरू सबै पक्षहरू सकारात्मक थियो। अध्ययनको वातावरण सकारात्मक हुँदाहुँदै पनि मेरो अध्ययनको रहर र मार्क कलेजसँगको यात्रालाई यहीँ टुंग्याउने सोचेमा पुग्दैछु।
करिब १६ वर्षको लामो अध्ययनको संघर्षमय यात्रामा आधा समय छिमेकी जिल्ला दाङमा रहेर अध्ययन गरेको छु। मेरो स्नातकोत्तरको पढाइ लामो समय त भएन करिब तीन-चार महिना मात्र अध्ययनको समय बनेको छ।
दुर्गम गाउँबाट सहर छिरेको म, अध्ययनको समयमा थुप्रै कुराहरू सिक्ने अवसर पनि पाएँ, दु:ख कष्टकर भए पनि यात्रामा निरन्तर दौडिन प्रयास गरेँ। अहिले म दुई वर्षको स्नातकोत्तर अध्ययनको दुई वर्षको पढाइलाई पूरा गर्न नसक्ने बाध्यात्मक परिस्थितिमा पुगेको छु।
मानव जीवनमा बाँच्नका लागि हामी सबैले केही न केही सङ्घर्ष गर्नैपर्छ, जो कोहीले पनि आफूले राम्रो काम गर्ने सोच राख्नु नराम्रो होइन, म पनि देशमै केही राम्रो गर्नुपर्छ भन्ने सोच राख्ने पात्रमध्ये एक हुँ।
मलाई केही गर्ने हुटहुटी मनभित्र चलिरहेको हुन्छ। तर त्यस्तो अवसर भने अहिलेसम्म पाएको छैन। बजारमा बसेर पढ्न थालेको पनि आधा दशक जति पुग्न थालेछ हेर्दाहेर्दै समय बितेको थाहा नै भएन। अहिले बल्ल थाहा भयो उमेर बित्दै गयो, जिम्मेवारी थपिँदै गयो रोजगारको टुंगो लागेन। पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगियो। विभिन्न चपेटामा परियो आर्थिक चपेटा, सामाजिक चपेटा, पारिवारिक चपेटा, यस्ता थुप्रै चपेटाहरू छन् जो जीवनका हरेक मोडहरूमा अब बिस्तारै थपिँदै जाने छन्।
अहिले सबभन्दा समस्यामा पारेको पहिलो चपेटा हो आर्थिक चपेटा। यसलाई केही हदसम्म कम गर्ने सकिन्छ कि भन्ने सोच आयो। अब बजारमा बसेर पढेर मात्रै हुँदैन, आफ्नो लागि आफ्नो खर्च आफैंले जुटाउनु पर्छ भने लाग्यो। अनि एउटा सामान्य स्तरको भए पनि काम चाहिँ गर्नु नै पर्छ भन्ने सोचे मनमा आयो। त्यसपछि ब्याचरल पास गरेका डकुमेन्ट र बायोडाटा सबै तयार गरेँ। चिनेजानेका र मैले ठूला मानेका र ठानेका सबै समक्ष सम्पर्क, भेटघाट गरेँ आफ्ना समस्या दु:ख, पीडा, गुनासो पोखेँ, काम गर्ने इच्छा व्यक्ति गरेँ, केही संघसस्था र जब सेन्टरमा समेतमा धाएँ। चिन्ने जानेका सयभन्दा बढी व्यक्तिसमक्ष समस्या राखेर कामको भिख मागेँ, दर्जनौं वटा जति संघसंस्था र जब सेन्टरहरूमा पनि त्यसैगरी पुगेँ।
समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्दै चुनौतीहरूको सामना गरेर अगाडि बढ्नुपर्छ नत्र पछि दु:ख पाइन्छ भन्ने लाग्यो। धैर्य गरेर समय परिस्थितिलाई सामना गरेर एकदिन सफल भइन्छ भन्ने मान्यता राखेँ।
नेपालमा जो कोही व्यक्तिलाई रोजगारबिना बस्नु रहर होइन बाध्यता बनेको छ। रोजगार नहुँदाको अप्ठ्यारो वा बेइलमको असजिलो अवस्था र काम नपाउँदाको कठिनाइ धेरैलाई थाहा नै छ। देशको बढ्दो बेरोजगारी समस्याले चर्चा पाइरहेको समयमा, अस्थिर राजनीति र राजनीति दलहरूप्रतिको वितृष्णा, मैले प्राप्त गरेको शिक्षा त्यसबाट हासिल ज्ञान, सीप, क्षमता र दक्षता आदिको कारणले स्नातक सम्मको पढाइ पूरा हुँदा पनि न त स्व-रोजगार बन्न सकेँ, न त कुनै सरकारी गैरसरकारी निकायमा जागिर खाने तारतम्य मिल्न सक्यो।
कमजोर आर्थिक अवस्था र घर गाउँमा कम उत्पादकत्व क्षेत्रमा हुर्केको र स्वरोजगार बन्न नसकेकोले स्नातकोत्तर अध्ययन पूरा गर्न सकिनँ।
उज्ज्वल भविष्यको चाहना राखेर विकट पहाडको रोल्पाबाट सहरका यी विभिन्न गल्लीहरूमा आएर अध्ययन गर्न सजिलो पक्कै पनि थिएन।
एक दशक सहरमा बसेर अध्ययन गर्दा कति चुनौतीको सामना गरेको छु, त्यो चुनौती र सिकाइहरू जीवनको डायरीमा सुरक्षित छन्। आजको मितिसम्म मैले आर्जन गरेको ज्ञान, सीपलाई प्रयोग गर्ने अवसर प्राप्त हुने वातावरण नै देखिएन मेरो देशभित्र। डिग्रीधारी प्रमाणपत्र बोकेर मैले न रोजगारी पाउन सकेँ, न अध्ययनबाट आत्मसन्तुष्टि नै पाउन सकेँ।
अन्त्यमा दुई दशक लामो औपचारिक अध्ययनको यात्रालाई बिट मार्ने निर्णयमा पुगेँ। पढाइलाई निरन्तरता दिँदै सुहाउँदो कामको खोजी पनि गरिरहेँ। काम गर्ने इच्छा र आफूलाई परेको आर्थिक समस्या देखाउँदै रोजगारीको लागि धेरै ठाउँ पुगेँ। धेरै व्यक्तिसमक्ष आफ्नो समस्या राखेँ। कहीँकतै र कोहीबाट हल भएनन् मेरो समस्या अब होला जस्तो पनि लाग्दैन मेरो आफ्नो मेहनतले पनि केही चलेन। बरू यस्तो लाग्यो नेपालमा जागिरे हुन पढाइ मात्रै भएर हुँदैन। आफ्ना चाहिन्छ अर्थात् पावर पहुँच हुनुपर्छ र चाहिन्छ नत्र विदेशिनुबाहेक कुनै विकल्प नेपालमा रहेन भन्ने लाग्यो।
हुन त रोजगार नपाउनुमा आफ्ना पनि केही कमजोरी केलाउन जरूरी होलान्। सबै आरोप अरूलाई मात्रै लगाउनु पनि त्यति उचित नहोला अझै आफ्नो सीप, क्षमता र ज्ञान अनि योग्यता र दक्षताको कमी पनि हुनसक्छ आफूलाई विकास गर्नु आवश्यक होला तर मेरो गुनासो म बेरोजगार हुनमा मात्रै होइन काम गर्ने इच्छा हुँदाहुँदै पनि कुनै अवसर नपाउनुमा भने पक्कै हो।
स्नातक तहसम्मको पढाइ पूरा भएपछि पनि सुहाउँदो काम नपाउँदा मनमा छट्पटी भई नै रह्यो। अध्ययनमा आफ्नो इमानदारिता र लगनशीलतालाई कहिल्यै छोडेन। सक्दो कोसिस गरिरहेँ, सधैं लगनशीलतामा मेहनती बन्न प्रयास गरिरहेँ तर जिन्दगीलाई आफैंले धोका दिएको चाल पाइनँ। मेरो डकुमेन्ट र बायोडाटा बनाएर विभिन्न ठाउँमा दिएँ, चिनेजानेका सबैलाई काम मिलाइदिन अनुरोध गरेँ, अहँ कहीँकतै मेरो केही चलेन। नेपालको शिक्षा नेपाली जनजीविका सुहाउँदो नहुनु पनि देशको बिडम्वना रहेछ। उता आइपिएस बनेर बधाई थापिरहँदा यता म भने रोजगारीको खोजीमा थाकिसकेँ! थाकिसकेँ!! थाकिसकेँ!!!