विश्वव्यापी रुपमा बढ्दो औद्योगीकरण र जीवनशैलीमा आएको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। हृदयघात अर्थात् 'हार्टअट्याक' मुटुरोग अन्तर्गत पर्ने प्रमुख रोग हो।
वास्तवमा मुटुको मांसपेशीमा रगत सञ्चार गर्ने रक्तनली सतप्रतिशत अवरोध भई उक्त मांसपेशीले रक्तनलीमार्फत शरीरका विभिन्न भागहरूमा रगत पम्प गर्न नसक्नु अर्थात् मांसपेशीको मृत्यु हुनु नै हृदयघात हो। अथवा सहज रूपमा भन्नुपर्दा शरीरका विभिन्न भागहरूमा रगत पुर्याउने प्रमुख अंग- मुटु स्वयंले रगत नपाएको अवस्था नै हृदयघात हो।
समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाएका कैयौँ उदाहरणहरू हामी देख्न र सुन्न सक्छौँ। मुटुरोग प्राणघातक भएतापनि ८०% हृदयघात रोकथाम गर्न सकिन्छ। तसर्थ समयमै हृदयघातबाट बच्नका लागि यसका कारणहरू, लक्षणहरू र उपचार विधिहरूबारे बुझ्न अत्यावश्यक छ।
हजुरहरूले रक्तचाप बारे त सुन्नुभएकै होला। प्रेसर नाप्दा सिस्टोलिक र डायस्टोलिक गरी दुवै आधारमा नापिन्छ। जस्तै नर्मल ब्लडप्रेसर १२०/८० एकाई हुन्छ। जहाँ सिस्टोलिक ब्लड प्रेसर १२० एकाई र डायस्टोलिक ब्लड प्रेसर ८० एकाई हुन्छ। सामान्यतया मुटु खुम्चिँदाको अवस्थामा सिस्टोल र फुक्दाको अवस्थामा डायस्टोल हुन्छ। यति धेरै सिस्टोल डायस्टोल भनिरहनुको कारण के हो भने अन्य सम्पूर्ण अंगहरूले सिस्टोलको बेलामा रगत पाउँछन् भने मुटु आफू स्वयमले डायस्टोलको बेलामा रगत पाँउछ है भन्ने कुरा हजुरहरूलाई बुझाउनु हो।
मुटुलाई रगत पुर्याउने नलीलाई कोरोनरी धमनी (रक्तनलीका २ प्रकार- धमनी जसले शुद्ध रगत बोक्छ र शिरा जसले अशुद्ध रगत बोक्छ) भनिन्छ। जुन मुख्यतया दायाँ र बायाँ गरी दुई वटा हुन्छन्। यी दुई धमनीका पनि आआफ्नै हाँगाहरू हुन्छन्। हाँगाहरूमा विभाजन नहुँदै धमनीमा पूर्ण अवरोध भएमा प्राणघातक पनि हुनसक्छ भने स-साना हाँगाहरूमा अवरोध भएर भएको हृदयघात कहिलेकाहीँ मानिसलाई थाहा नहुन पनि सक्छ।
हृदयघात हुनसक्ने कारक तत्वहरू धेरै छन् तर केही कारक तत्वहरूमा त्यस्ता छन् जसमा सुधार गरेमा अर्थात परिवर्तन ल्याएमा हृदयघात हुनबाट जोगिन सकिन्छ। ती यसप्रकार छन्-
- उच्च रक्तचाप
रगत बग्ने नलीको भित्तामा थेग्रो जम्दा रक्तनली साँघुरिन्छ र ब्लडप्रेसर (रक्तचाप) बढ्छ। जसको कारण रक्तनलीमा खराबी भई मुटुमा रगतको कमी हुन्छ र हृदयघात देखा पर्दछ।
- उच्च कोलेस्ट्रोल
सामान्यतया सिरममा एलडिएल (लो डेन्सिटी कोलेस्ट्रोल) कोलेस्ट्रोलको मात्रा बढ्नुले हृदयघातको सम्भावना बढाउँछ।)
- मधुमेह
मधुमेह अर्थात् चिनी रोगले रक्तचाप अनि कोलेस्ट्रोल बढाउँछ जसको कारण मधुमेह (टाइप-टु डायबेटिज) भएको मानिसमा हृदयघात हुने सम्भावना धेरै हुन्छ।
- धुम्रपान
चुरोटमा टार, कार्वनमोनोअक्साइड, निकोटिन नामक रसायन र अन्य थुप्रै हानिकारक रसायन मिसिएको हुन्छ, जसले गर्दा रक्तनलीको भित्ता मोटो हुन्छ, सुन्निन्छ, फुल्लिन्छ अनि विभिन्न तत्वहरू मिसिइ थेग्रो बन्छ र उक्त थेग्रो मुटुका रक्तनलीमा गई अवरोध पुर्याउने भएकाले हृदयघात हुने सम्भावना रहन्छ।
- मोटोपना
अध्याधिक मोटोपना हुँदा सिरम कोलेस्ट्रोलको मात्रा धेरै हुने हुन्छ। जसको कारण रक्तनलीमा पनि बोसो जम्मा भएर रक्तसञ्चारमा अवरोध सिर्जना भई हृदयघात हुनसक्छ।
- व्यायामको कमी
शारीरिक व्यायामको कमी भएमा मोटोपना बढ्ने र मोटोपनाले मुटुरोग निम्त्याउन सक्छ।
- मानसिक तनाव
मानसिक तनाव, स्ट्रेस धेरै लिँदा एड्रिनालिन भन्ने हर्मोन निस्कन्छ जसले गर्दा अचानक रक्तचाप बढ्ने र मुटुको धड्कन बढ्न थाल्छ। रक्तचाप लामो समयसम्म बढिरहँदा रक्तनलीहरू साँघुरिने हुँदा र प्लेटलेट पनि मिसिँदा थेग्रो बन्ने भएकाले रक्तनली अवरोध भई हृदयघात हुनसक्छ।
- विलासी जीवनशैली
विलासी जीवन जिउने व्यक्तिको रक्तनलीमा अनावश्यक बोसो जम्मा हुने सम्भावना रहेकाले अन्तत: हृदयघात हुनसक्छ।
अन्य केही कारक तत्वहरू यसप्रकार छन् जुनमा हामी चाहेर पनि केही सुधार गर्न सक्दैनौँ अर्थात् परिवर्तन ल्याउन सक्दैनौँ:
- उमेर बढ्दै जाँदा हृदयधात हुने सम्भावना पनि बढ्दै जान्छ। ४०-५० वर्ष उमेर समूहमा हृदयघात हुने सम्भावना कम उमेर समूहमा भन्दा ५ गुणा बढी हुन्छ।
- पुरुषलाई हृदयघात हुने सम्भावना बढी हुन्छ तर महिनावारीपश्चात भने महिलालाई पनि हृदयघात हुने सम्भावना पुरूषलाई जत्तिकै नै हुन्छ।
- वंशाणुगत अर्थात् परिवारमा कसैलाई हृदयघात भएको छ भने उहाँको सन्तानलाई पनि हृदयघात हुने सम्भावना रहन्छ।
- हृदयघात दक्षिणपूर्वी एसियामा बसोबास गर्ने जातिमा धेरै देखिने गर्दछ।
अब हृदयघात भएको कसरी थाहा पाउने त?
पहिले त यसका लक्षणहरू बुझ्न जरूरी छ। हृदयघात हुनु अगाडिको अवस्थालाई एन्जाइना भनिन्छ जुनबेला सामान्य लक्षण मात्रै देखापर्दछ जस्तै केही काम गर्दा, व्यायाम गर्दा, उकालो चढ्दा, मानसिक तनाव बढ्दा इत्यादिमा १५ सेकेण्डदेखि १५ मिनेटसम्म छातीको बीच भागमा अथवा छातीको देब्रे भागतिर भारी हुने, ढुंगाले थिचेजस्तो अनुभव हुने, स्वाँस्वाँ हुने, देब्रे भाग अथवा च्यापूतिर दुखाई सरेको महसुस हुने तर केहीबेर आराम गर्नासाथ सन्चो हुने। तर यी लक्षणहरू देखा परेमा तुरुन्तै अस्पताल गई जँचाउनु पर्दछ। यदि नजँचाएमा मुटुको मांसपेशी मर्न सक्छ र हृदयघात हुन्छ। हृदयघात हुँदा देखा पर्ने केही लक्षणहरू यसप्रकार छन्-
- छातीको बीच भागमा अथवा छातीको देब्रे भागतिर ढुंगाले थिचेजस्तो, सहनै नसक्ने गरी दुखाइ महसुस हुने
- देब्रे भाग अथवा च्यापू, घाँटी, काँध, दाँत अर्थात् ढाडँतिर दुखाइ सरेको महसुस हुने
- टाउको दुख्ने, कमजोर, थकित महसुस हुने तथा बेहोस हुने
- श्वास फेर्न गाह्रो हुने
- चिटचिट चिसो पसिना आउने
- वाकवाक लाग्ने
- मुटु पोलेको महसुस हुने तथा अपच हुने इत्यादी।
उपचार विधि
सामान्यतया गाउँघरतिर यी लक्षणहरू देखा पर्दा नजिकैको अस्पताल जाँदा चिसोले गर्दा हो अर्थात् ग्यास्ट्राइटिसले गर्दा हो भनेर सामान्य प्यान्टोप्राजोल दिने प्रचलन ज्यादै छ। यसका कारण बिरामीले समयमै उपचार नपाएर डबल भेसल डिजिज हुन्छ अर्थात् दुई वटा कोरोनरी धमनीमा थेग्रो जम्मा भई मुटुको मांसपेशीको मृत्यु हुन्छ र बिरामीको ज्यानै जानसक्छ।
यति भन्दै गर्दा नजिकका अस्पतालका स्वास्थ्यकर्मीको आलोचना गर्न भने पक्कै खोजेको होइन। हृदयघातको लक्षण अलिअलि ग्यास्ट्राइटिस्को लक्षणसँग पनि मिल्ने भएकाले झुक्किनु सामान्य हो तर त्यो भन्दैमा गलत डायग्नोसिस गर्नुभन्दा लक्षणको कारण पत्ता लगाउनतर्फ ध्यान दिनु अत्यावश्यक छ। जसका लागि जतिसक्दो चाँडो उचित पूर्वाधारसहितको मुटु अस्पताल गई इसिजी गराउनुपर्दछ। इसिजी मा केही समस्या देखिए वा नदेखिएमा पनि 'टिएमटी' (ट्रेडमिल टेस्ट) अर्थात् इकोकार्डियोग्राफी गर्नुपर्दछ।
यदि इकोकार्डियोग्राफीमा केही गडबड देखिएमा कोरोनरी एन्जियोग्राफी गर्नुपर्दछ। तर यदि इकोकार्डियोग्राफीमा गडबड देखिएको छैन तर बिरामीलाई मुटुरोगको लक्षणहरू छन् भने पनि कोरोनरी एन्जियोग्राफी गर्नुपर्दछ। कोरोनरी एन्जियोग्राफीबाट मुटुका रक्तनलीहरूमा अवरोध के कति छ भनेर छुट्याउन सकिन्छ। जब मुटुको धमनीमा ७०% भन्दा बढी अवरोध भएमा एन्जियोप्लास्टी अथवा 'सिएबिजी' (कोरोनरी आटरी बाइपास ग्राफ्ट) गर्नुपर्दछ। यदि ७०% भन्दा कम मात्रै अवरोध भएमा नियमित चेकजाँच र औषधी सेवनका साथसाथै जीवनशैलीमा परिवर्तन ल्याउनु पर्दछ। तर बिरामीले समयमै उपचार नपाए दुई वटा कोरोनरी धमनीमा थेग्रो जम्मा भई मुटुको मांसपेशीको मृत्यु हुन्छ।
अत: हृदयघात एक प्राणघातक रोग हो जसको सामान्यभन्दा सामान्य लक्षणहरूको बारेमा पनि जनचेतना फैलाउन नसकेकै कारण समयमै रोगको निदान गर्न निकै कठिन भएको छ। एकदम छाती दुखेको छ अनि देब्रे हर अर्थात् देब्रे पाखुरा, हाततिर दुखाइ सरेको छ भने तुरुन्तै अस्पताल गएर मुटु रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। यो कुरा आफूले पनि बुझ्नुपर्छ र अरूलाई पनि बुझाउनुपर्छ।
लक्षण देखा नपरेका आम मानिसहरूमा उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोललाई समयमै नियन्त्रणमा राख्नुपर्छ भन्ने बारेमा धेरैभन्दा धेरै चेतना फैलाउन सकेमा पनि हृदयघात कम गर्न सकिन्छ। साथसाथै बेलाबेला रक्तचाप जाँच गराउनुपर्दछ र रक्तचाप बढेमा औषधि सेवन गर्नुपर्दछ। त्यसैगरी उच्च कोलेस्ट्रोल र मधुमेह नियन्त्रण गर्न उपयुक्त ओषधि सेवन गर्नुपर्दछ। नियमित शारीरिक व्यायाम गर्नुपर्दछ। धुम्रपान र मदिरापान सेवन नगर्ने साथै केही समस्या पर्नासाथ तुरुन्त स्वास्थ्यचौकी जानुपर्दछ। यी कुराहरू बुझ्न सकिएमा हृदयघातबाट कसैले पनि ज्यान गुमाउनु पर्दैन।