सन् २०२१ जुलाई १२ तारिखका दिन सपरिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको हमिद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उड्यौं। काठमाडौंबाट दोहा पुग्न साढे चार घण्टा लाग्यो। दोहामा लामो ट्रान्जिट भएकोले थकाइ राम्रै लागको थियो। यो विमानस्थलमा अमेरिका प्रस्थान गर्ने नेपालीहरूसँग भेट भयो।
हामी पाँच जना भएकाले एक्लोपन महसुस भएन। ट्रान्जिट बसेपछि जुलाई १३ तारिखको राति दोहाबाट प्रस्थान गर्यौं। कतार विमानस्थलबाट उडेपछि अमेरिकाको डलास पुग्यौं। डलासबाट विमानको उडान धेरै लामो भएकोले त्यति सहज भएको थिएन। दोहा उड्नुअघि काठमाडौंमा कोराना विरुद्ध दुई वटा भ्याक्सिन लगाएकोले त्यति डर त्रास लागेन।
जहाजभित्र शौचालय बाहेक हिँड्न मनाही थियो। त्यसैले एकै ठाउँमा बस्दा खुट्टा दुखिसकेको थियो। डलास विमानस्थल धेरै नै ठूलो थियो। यो विमानस्थलमा दुई घण्टा जति बसेपछि मिनेसोटाको मिनयापोलिस सहर जान अर्को टर्मिनलको खोजी गर्यौं। त्यहाँको कर्मचारीले दिशा बताएपछि हामी त्यसतर्फ लाग्यौं।
डलास विमानस्थलबाट अमेरिकाको अमेरिकन एयरलान्स समातेर मिनियापोलिस सहर पुग्यौं। त्यहाँ और्लंदा राति भइसकेको थियो। रोचेस्टर बसेका छोरा र परिवारका सदस्यहरू हामीलाई लिन आएका थिए। करिब दुई घण्टा ड्राइभपछि हामी मिनेसोटाको रोचेस्टर सहर पुग्यौं। सहर सानै भएतापनि सुन्दर र आकर्षक छ। दुई हप्ता जति आराम गर्यौं। आरामपश्चात हामी सहर घुम्न निस्कियौं।
जुलाई ३१ का दिन हामी सपरिवार चेष्टर वुडपार्क गयौं। पार्कभित्र छिर्दा गोदावरी पार्कमा आएजस्तै महसुस भयो। गोदावरी जस्तै यहाँ पनि हरियाली र रुखका विभिन्न प्रजातिहरू छन्। पार्कका बीचमा ताल छ। तालको पानीमा हाँसहरू पौडिरहेका थिए। पार्कभित्र गोरेटो बाटाहरू थिए। हामीहरू यी बाटाहरू हुँदै पार्कका विभिन्न ठाउँहरूको अवलोकन गर्यौं। रोचेस्टर सहर घुम्दा जताततै चिटिक्क थियो। रुख र साना-साना पहाडहरूलाई नमास्ने गरी सडक बनाइएको थियो। पार्कका विभिन्न ठाउँहरूमा पिकनिक स्पटहरू थिए। छुट्टीको दिनमा मिनेसोटा सहरका बासिन्दाहरू आराम गर्दछन्।
रोचेस्टर सहर सानो भएता पनि मेयो क्लिनिक यहाँ भएकोले यो सहरको रुपमा विकास भएको छ। मेयो क्लिनिक अन्तर्राष्ट्रिय स्तरको अस्पताल भएकोले यहाँ विदेशीहरू समेत उपचार गराउन आउँछन्। यस सहरलाई मेडिसिटी पनि भनिन्छ। यस सहरको मुख्य बजार अर्थात् डाउनटाउनमा अवस्थित यस अस्पतालको भ्रमण गर्यौं। यो सहरमा भियतनाम, कम्बोडिया, लाओस मेक्सिकन मूलका विदेशीहरू बस्दछन्। सडकको अवस्था हेर्दा धैरै नै विकास भएको आभास हन्छ।
अगस्टमा हामी रोचेस्टरबाट विस्कन्सिन प्रस्थान गर्यौं। विस्कन्सिनको ला क्रस सहर पुग्यौं। यो सहरमा फ्रेन्चहरू बसेकोले फ्रेन्च शब्दबाट सहरको नाम बनेको छ। यो सहर मिसिसिपी नदीको किनारमा अवस्थित छ। प्राकृतिक रुपमा यो सहर धेरै नै सुन्दर छ। सहर हेर्दा काठमाडौंको स्वयम्भू जस्तै देख्यौं।
हामी दई घण्टा जति यो सहरमा बस्यौं। हाम्रो मुख्य उदेश्य मिसिसिपी नदीको अवलोकन गर्न थियो। दई घण्टा जति मिसिसिपी नदीको अवलोकन गरियो। परिवारसँगै हुँदा अर्कै रोनक थियो। नदीमा फेवाताल जस्तै मान्छेहरू डुंगाममा सवारी गरिरहेका थिए। त्यही दिन पुराना मोडेलका कारहरूको प्रदर्शन थियो। प्रर्दशनमा कार सौखिनहरू आफ्ना कारहरू घरबाट ल्याएका थिए। मानौं एक किसिमको उत्सव थियो र मञ्चमा सांगीतिक धुनहरू बजिरहेको थियो।
नोभेम्बर ६ का दिन हामी रोचेस्टरबाट एउटा सानो सहर अस्टिन पुग्यौं। यो सहर टेक्सासको राजधानी होइन र मिनेसोटा राज्यमा पर्छ। त्यहाँ नेपाली दाजुभाइसँग भेट भयो। यो सहरको जनसंख्या जम्मा २५ हजार मात्र छ। यो सानो सहरमा जम्मा तीन नेपाली परिवारहरू छन्। कोही डिभीमाफर्त त कोही अनुसन्धानकर्ता र कोही विश्वद्यालयमा अध्ययन गर्न अमेरिका आएका हुन्।
त्यहाँ आफ्नै जिल्ला सिरहाको भौतिकशास्त्री होमवर क्यान्सर अनुसन्धान संस्थानमा पोस्ट डक फिलोका रुपमा कार्यरत थिए। उहाँले हामीलाई खाना खान बोलाउनु भएको थियो। विदेशमा नेपाली दाजुभाइहरूसँग भेट्दाको रौनक र मज्जा अर्कै थियो। एकदमै सानो अनि व्यस्थित सहर।
नोभेम्बर १३ मा हामी रोचेस्टरबाट टेक्सासको राजधानी अस्टिनतर्फ प्रस्थान गर्यौं। रोचेस्टरबाट दुई घण्टापछि आयौवा पुग्यौं। बाटामा जाँदै गर्दा हिउँ परेको थियो। बाटामा साना सहर र गाउँहरू देखियो। आयौवाको राजधानी देस मोइनस पुग्यौं। हामी यस सहरको डाउनटाउनमा आधा घण्टा जति घुमफिर गर्यौं। सहर सफा र आकषर्क थियो।
त्यसपछि हामी यात्रा गर्दै जाँदा कन्सास सिटी पुग्यौं। बाटोमा आएका राज्यहरूको राजधानीहरूको भ्रमण गर्यौं। हामी कन्सास सहरको मुख्य बजारमा आधा घण्टा जति घुम्यौं। त्यसपछि ओक्लाहोमा सहर पुग्यौं। धेरै नै थकाइ लागेकोले हामी एक रातका लागि ठूलो होटलमा बस्यौं। त्यसको भोलिपल्ट बिहान नास्ता गरेपछि डाउनटाउन घम्यौं। ठूला-ठूला भवनहरूको अगाडि फोटो पनि खिच्यौं। यसरी विभिन्न राज्यहरूको राजधानी हेर्दा तुलानात्मक रुपलै ओक्लाहोमा सहर राम्रो लाग्यो।
नोभेम्बर १४ को चार बजे अस्टिन मोटरबाट अन्तरराज्यमार्ग भएर पुग्यौं। भ्रमण गर्दा सडकको सन्जाल धेरै नै राम्रो लाग्यो। अमेरिकाको विकास भनेको सडक संजाल हो। हाइवेको दुवैतिर साना-साना सहर र गाउँहरू थिए।
नोभेम्बर १८ को साँझतिर हामी सपरिवार टेक्सासको लिएन्डर सहरमा अवस्थित श्री सिढी साईबाबा र वैन्कटेशवर मन्दिरको दर्शन गर्यौं। भारतीय र नेपाली दर्शनार्थीहरूको भीड देखियो। यो लिएन्डर सहर काठमाडौं जस्तै पहाडी भूभागमा फैलिएको छ।
नोभेम्बर २१ को बिहान हामी अस्टिनको कोर्भट पार्कबाट पैनिवैकर पुलको अवलोकन गर्यौं। टुप्पो माथिबाट हेर्दा कौलाराडो नदीको मनमोहक दृश्यहरू तथा नदीको छेउमा सुन्दर घरहरू र सडकहरू व्यस्थित रुपमा देखियो। पार्कबाट अस्टिन सहर दैख्यौं।
नोभेम्बर २५ लाई अमेरिकामा राष्ट्रिय पर्वको रुपमा थ्यांक्स गिभिङ मनाइन्छ। हामीले टेक्ससको लेएन्डएर सहरमा यो पर्वको आनन्द लियौं।
सपरिवार यस पर्वको आनन्द लिन आस्टिनको डाउनटाउन घुम्न गयौं। त्यहाँ अवस्थित टेक्सस विश्वविद्यालय गयौं। यही विश्वविद्यालयबाट डेल कम्प्युटरका सचालक माइकल डेल पढेका रहेछन्। यो सुनेर धेरै नै आनन्द आयो। पर्व भए पनि भिडभाड थिएन। त्यसपछि हामी सन मार्कोस स्थित छोराको विश्वविद्यालय गयौं। विश्वविद्यालय धैरै क्षेत्रफलमा फैलेको थियो। त्यहाँ हामीले फोटो खिचायौं।
यही लेआन्देर सहरबाट १० मिनटमा रहेको सेदर पार्कमा थ्यांक्स गिभिङ मनायौं। यो ठाउँमा नेपाली समुदायले रमाइला कार्यक्रमहरूको आयोजना गरेका थिए।
थ्यांक्स गिभिङपछि ब्ल्याक फ्राइडे पर्व आउँछ। यो पर्वमा हामी सपरिवार ठूला-ठूला मलहरू घुम्यौं। त्यहाँ धेरै नै भिड थियो। केही समानहरू किन्यौं। अमेरिकाको मल कस्तो हुँदो रहेछ थाहा भयो। लिएन्डर सहरबाट आधा घण्टा जति पर ट्राभिस नामक तालको भ्रमण गर्यौं।
डिसेम्बर १२ तारिखमा हामी लिएन्डरबाट अस्टिन अन्तर्रास्टिय विमानस्थलमार्फत फिलाडेल्फीय सहरतर्फ उड्यौं। माथि आकाशमा उड्दा वासिङटनको रातिको मनमोहक दृश्य हेर्यौं। रातिको ९ बजेको थियो। त्यहाँ दुई घण्टा जति ट्रान्जिट बस्यौं। दुई घण्टापछि हामी फिलाडेल्फिया विमानस्थल हुँदै कतारको दोहा प्रस्थान गर्यौं। डिसेम्बर १५ तारिखको दिन हामी त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा ओर्लियौं।