ममताको सागरसम्म पुग्ने अहोरात्र लक्ष्य र उदेश्य बोकी काखमा भेरी र तिला जस्ता सन्तान च्यापेर हिँड्न सक्ने मेरी आमा। दुःख र वेदनाका हजारौं पहाडहरूलाई पार गर्दै तिनै दु:खलाई जीवनको साध्य बनाई प्रेरणादायी गीतका धुनसँगै हजारौं पीडादायी कहानी बोक्न सक्ने मेरी आमा। मरुभूमिको खडेरीमा आफू वर्षौंदेखि पानीको थोपाबाट बन्चित भइरहँदा पनि दुनियाँलाई शीतल र तिर्खा मेटाउने अचुक साधक बनिदिने मेरी आमा।
ढुंगा बजारिँदा पनि, पहाड भासिँदा पनि शान्त रहिरहने, देह त्याग्न हतारिँदै आएकाहरूलाई पनि छाती थापेर आफूमा समाहित गर्न सक्ने, कैंयन आँसुहरूलाई बोकेर अदम्य साहस दर्साउँदै अनवरत हिँड्न सक्ने, आफ्ना हरेक इच्छाहरूलाई तिलाञ्जली दिई सन्तानको सपनालाई नै सर्वोपरी ठान्ने मेरी आमा। जसका लागि शब्दहरू कोर्न खोज्दा फिका भइदिन्छन् र लाग्छ सायद कुनै नेपाली शब्दकोष नै बनेको छैन जसबाट म मेरी आमाको निम्ति कुनै शब्द सापटी लिन सकुँ।
जीवनको यो अनवरत यात्रामा हजुरसँग धैरै कुराहरू साटासाट गर्दै बाँकी जीवन बिताउने मन थियो। तर दैवको लिला भनौं या मेरो दुर्भाग्य, आधा गन्तव्यमा नै यो लामो मार्ग एक्लै हिँड्नुपर्ने अवस्था सिर्जना भइदियो।
जसरी मानव जीवन चल्न श्वासप्रश्वास आवश्यक छ, त्यसैगरी मेरो जीवन सहज हुन हजुरको याद मेरो मनसपटलमा हुन आवश्यक छ। हजुरको याद र साथको अभाव नखट्केको होइन, हरेक क्षण हरेक पल हजुरको यादमा यी दिनहरू कटिरहेका छन्। हजुर मेरा निम्ति कति आवश्यक हुनुहुन्छ र कति महत्व छ भन्ने कुरा पहिले नै सुनाउन मन थियो। थाहा छ आज मैले यी सब कुराहरू भनिरहँदा हजुर सामु यी कुराहरू पुग्न सक्दैनन् तर मेरो मनका भावना मैले नभनिकन पनि हजुरले बुझ्नुभयो होला भन्ने कुराको आकलन सदैव गरिरहन्छु।
मेरो पहिलो प्रेम, मेरो जीवन, मेरो जिन्दगीको सुरुआत, मेरो जीवनको सबथोक हजुर नै हो। आमा, हजुर अहिले हामीमाझ हुनुहुन्न। तर हजुरसँग जोडिएका हरेक पल, हरेक क्षण मेरो मनभरि छ। मेरो हृदयभरि छ। हजुरसँग बिताएका हरेक समय मेरो मानसपटलमा अझै ताजा छ। हजुरलाई नसम्झेको कुनै पल छैन।
जति-जति हजुरलाई सम्झन्छु, बालापनसँग जोडिएका मेरा यादहरूले सताउँछन्। ती यादहरूले मेरो मन भकानिन्छ। आँखाहरू यसै रसाउन थाल्छन्। अनि हजुरको हँसिलो अनुहार आँखा अगाडि डुलिरहन्छन्। लाग्छ हजुर मेरै सामु हुनुहुन्छ। कान्छा भनेको झैँ हजुरको आवाजको स्पर्श गर्छु। हजुरको न्यानो काखमा मस्त निदाएको अनुभूति गर्छु। तर यी सब मेरा कल्पना मात्रै हुन्।
हजुरले हामीलाई छोडेर जानुभएको नि ४५ दिन भइसकेछ। त्यो अपत्यारिलो घटना मेरो मस्तिष्कमा अझै पनि ताजै छ। त्यो दिनलाई सम्झँदा मन भारी हुन्छ, सम्हालिन गाह्रो हुन्छ। आमा, साँच्चै नै साह्रै गाह्रो छ हजुर बिनाको जीवनको कल्पना गर्न पनि। हस्पिटलको त्यो बसाइँ मेरो मनमा एक हृदयविदारक चित्र बनी यसरी बसेको छ जुन जीवनभर मसँग नै रहनेछ। महिनौंसम्मको त्यो हस्पिटल बसाइँँले जीवनमा निकै मर्मस्पर्शी पाठ सिकाएर गएको छ।
जीवनमा कुनै पनि कुराको महत्त्व त्यहाँ बढी हुन्छ जहाँ गुमाउने डर हुन्छ। आमा शब्दले मात्र पनि संसारकै शक्तिशाली व्यक्ति सम्झने म त्यो हस्पिटलको शैयामा हजुरलाई देखिरहँदा मनमा कतिसम्मको कम्पनको मैले अनुभव गरें, त्यो व्यक्त गर्न पनि सक्दिनँ। भोक, निद्रा, प्यास, कामकाज आफ्नो जीवन सबैलाई बिर्सी हरेक क्षण भगवानसँग हजुरको कुशलताको प्रार्थना बाहेक कुनै कुरा सोच्न नि सकिनँ।
धैरै प्रयासपछि एकदिन हजुरको आोठमा छाएको त्यो मन्द मुस्कानले यो थकित शरीर र आशा विहीन मनमा यति धैरै उर्जा थपेको थियो कि मलाई लाग्यो म अब संसार नै जित्न सक्छु। हजुरका हरेक शब्दहरू मेरो मनमा सुन्दर सम्झना बनी सजिएका छन्। थाहा छैन मैले हजुरका निम्ति कति गर्न सकें सकिनँ तर 'कान्छा, अब छिट्टै बुहारी भित्र्याउन पर्छ, बुहारी नहेरिकन त म तँलाई छाडेर जाँदिनँ' भनेका ती शब्दहरूले हरेक क्षण यो मेरो मन पिरोलिरहन्छ आमा। किनकी हजुरले आफ्नो बाचा पूरा नगर्दै मलाई छोडी जानुभयो।
मलाई पनि हजुरको खुसी र आशीर्वादसँगै बुहारी भित्र्याउन मन थियो नि आमा। हजुर सन्चो भएको देख्दा हामीले सुन्दर सपना बुनेका थियौं तर ती सपना पूरा गर्ने जिम्मेवारी म एक्लैलाई सुम्पी हजुर जानुभयो नि आमा। थाहा छैन हजुरबिना यी सपनाहरू म एक्लैले कसरी पूरा गर्न सकुँला र आमा? तर पनि म प्रयास सदैव गरिरहने छु।
परिवारमा हामी चार जना छोरा मात्र भइरहँदा हामीलाई दिदीबहिनीको अभाव नखट्केको होइन तर हामीभन्दा हरेक पल अभाव हजुरलाई खट्केको थियो। हजुरले छोरी नहुँदा मर्दा दु:ख पाउँछु कि भनेका ती शब्दहरूले मन भारी हुने गर्दथ्यो। तर हस्पिटलको बसाइँँमा हजुरले छोरा र छोरी दुवै तिमीहरूमा नै पाएँ भन्दै व्यक्त गरेको त्यो खुसीले यो भारी मनलाई शीतल मिलेको थियो। हजुरका निम्ति केही भए नि कर्तव्य निर्वाह गरेको अनुभूति भएको थियो।
जीवनको यो मोडमा सायद धेरै कर्तव्य निर्वाह गर्ने इच्छा हुँदाहुँदै पनि सकिएन। समाजको नजरमा छोराहरूले धैरै गरे हजुरका निम्ति भनिन्छ होला तर हामीलाई थाहा छ हामीले हजुरका निम्ति केही गर्न नै सकिनौं। हस्पिटलको त्यो बसाइँँमा इष्टमित्र, आफन्त, साथीभाइहरूले देखाएको त्यो सहानुभूतिले गर्दा जीवनमा धैरै केही गर्न नसके पनि दु:खमा भलो चिताइदिने व्यक्तिहरू कमाएको भान भइरह्यो।
मलाई हस्पिटल बसाइँँको त्यो अन्तिम दिन मानसपटलमा अझै ताजा छ। आफन्त तथा साथीभाइले हस्पिटल भरिए पनि किन-किन मेरो मनमा भने संसार नै गुमाउँदै छु भन्ने भान गरिरहेको थिएँ। हरेक दिन हजुरलाई भेट्दै शुभेच्छा दिँदै साथीहरू जाने गर्नुहुन्थो तर जुन दिनदेखि हजुरले बुहारी हेरेर मात्र मर्नु छ भन्नु भएको थियो, त्यस दिनदेखि समाजले केटी साथीमाथि विशेष ध्यान दिन थाल्यो।
त्यो अन्तिम दिन जब धेरै साथीहरू हजुरलाई भेट्न आउँदै गर्नु र त्यही दिन हजुरले हामीलाई छाडेसँगै छोराले हजुरको अन्तिम इच्छा पूरा गर्यो र हजुरले हामीलाई छाड्नु भयो भनी जुन गलत भाष्य निर्माण गरिदिएको थियो, त्यो पल साँच्चै नै हृदयविदारक थियो। हजुरको सास रोकिएसँगै मैले मेरो जीवनलाई पनि त्यहीनिर रोकेको थिएँ। लाग्यो अब संसार नै पूरै भासिएको छ र आँखाअघि मेरो जीवन मरुभूमि मात्र नजर आइरहेको थियो। तर फेरि हजुरलाई सम्झिएँ, मरुभूमिमा पनि त कष्ट गर्दै सिउँडी फूलले आफ्नो जीवनलाई स्थान दिएको छ र फेरि हजुरका निम्ति मरुभूमिमा पनि आफ्नो जीवनलाई सिउँडी फूल बनाउने प्रयास गरें।
पार्थिव शरीर हामीसँग रहँदा केही गर्न नसके पनि हजुरको आत्माको चिरशान्तिको निम्ति आफूले आफ्नो कर्तव्य निभाउने प्रतिवद्धता गरेर आफूलाई सम्हालेँ। मेरा यी हातहरू अझै कापिरहेका छन् जुन हातले हजुरलाई दागबत्ती दिए।
हजुरको शरीरलाई दागबत्ती दिने दिन जब पशुपति आर्यघाटमा पुग्यौं त्यहाँ आरती भइरहेकोले मान्छेहरूको बाक्लो भिड थियो। उता मान्छे रमाइरहेका छन् मनमा सन्तुष्टिको भान भइरहेको छ। त्यहीनेर हामी हजुरलाई दागबत्ती दिइरहेका छौं, मनमा संसार खोसिएको भान भएको थियो। भगवानले सबै दु:ख र बेदना हामीलाई मात्र किन दिएको भन्ने प्रश्न मनमा उब्जिएको थियो। संसारको रित काहीँ दु:ख, काहीँ सुख, काहीँ हर्ष उल्लास त काहीँ वेदना र रोदन रहेछ भन्दै आफूलाई सम्हालिरहेका छौं।
जबजब हजुरको शरीर जल्दै खरानीमा परिणत भइरहेको थियो, तबतब मनमा भारी चट्टानहरू एकपछि अर्को गर्दै खसिरहेको र मन भारी हुँदै भक्कानिँदै गएको थियो। त्यहाँ फेरि बुबाको त्यो मलिन अनुहारलाई नियालें अनि त्यो मलिन अनुहारमा प्रकाश छर्ने हजुरसँग बाचा गर्दै आफैंलाई सम्हालें, आमा म काहीँकतै स्वार्थी पो भइरहेको रहेछु! मैलै आफू बाहेक अरु केही सोच्न नै सकिनछु।
जब बुबालाई नियालें, आफ्नो सर्वोच्च गुमाउँदा पनि, मनमा हजारौं पीडाहरू हुँदाहुँदै पनि सन्तानको निम्ति खम्बा भएर उभिएको देख्दा लाग्यो हजुर जतिकै महान व्यक्ति त मसँगै हुनुहुन्छ नि। मैले कसरी बिर्सेछु भूकम्प, महामारी, पहिरो, चट्टानले सबैलाई एकैपटक खेप्दा पनि सन्तानलाई असर पर्छ भनी मनमा सबै पीडा लुकाई केही हुँदैन भनी आश्वासन दिने हजुरको प्रतिमूर्ति हामी माझ हुनुहुन्छ भन्ने कुरा। तर एकान्तमा उहाँ जति भक्कानिने व्यक्ति कोही छैन होला।
थाहा छ भौतिक रुपमा हजुर हामी माझ हुनुहुन्न तर हजुरले सिकाएका हरेक कुराहरूलाई जीवनको मार्ग बनाई सदैव अघि बढ्नेछौं। हाम्रा हरेक गतिविधिलाई नियाल्दै हुनुहुन्छ हजुर जहाँ भए पनि। सन्तानको निम्ति मार्गदर्शक र बुबाको निम्ति जीवन जिउने सम्झना बनी हजुर हामी माझ सदैव रहनु हुनेछ।
तर पनि आमा किन-किन हिजोसम्म घर लाग्ने यो घर आज घर लाग्न छाडेको छ। त्यही ठाउँ, त्यही परिवेश अनि त्यही आफन्त हुँदाहुँदै पनि सबै गुमाएको भान भइ नै रहन्छ। साँच्चै आमा घर हुँदाहुँदै पनि घरविहीन भएको महसुस भैरहन्छ।