केही समयअघि एक जना बहिनीसँग भेट भयो। उनी निकै नै निराश मुद्रामा भेटिएकी थिइन्। लगभग ५ वर्षको प्रेम बिछोडमा टुंगिएपछि उनी मानसिक रूपमा निकै निराश र विचलित भएकी रहिछिन्।
उनको कुरा बुझ्दा लाग्यो प्रेम घृणामा परिणत भएपछि मानिसलाई मरेतुल्य बनाउँदो रहेछ। यो देखेपछि मलाई लाग्यो कि यो एउटा जल्दोबल्दो विषय हो र यसबारे केही लेख्नैपर्छ।
युवायुवतीहरूमाझ गएर यसबारे बुझ्ने प्रयास गर्दा लाग्यो अहिलेका युवा पुस्ताहरूमा प्रेमप्रतिको दृष्टिकोण बदलिँदै गइरहेको छ। प्रेमलाई युवापुस्ताले अलिकति फरक ढंगले हेर्दा रहेछन्। आखिर किन यस्तो हुँदैछ त?
सीता (नाम परिवर्तन) एकदमै ऊर्जाशील, हिम्मतवाली र जीवनमा केही गर्छु भन्ने अठोट बोकेर हिँडेकी युवती हुन्। उनको विदेशमा बस्ने एक जना युवकसँग अपत्यारिलो तवरले प्रेम पर्यो। सामान्य बोलीचालीबाट सुरूआत भएको उनीहरूको प्रेम सम्बन्ध क्रमिक रूपमा निकै गहिराइमा पुग्यो। विदेशमा बस्ने युवक सीताभन्दा उमेरले केही वर्षले कान्छा थिए। सुरूमा त सीतालाई विश्वासै लागेन कि आफूभन्दा कान्छा उमेरका युवकले उनलाई प्रेम गरिरहेका छन् भनेर।
युवकको प्रस्तुतीकरण, उनले माया व्यक्त गर्ने तरिका सबै कुरा देखेपछि सीता पनि युवकप्रति निकै मोहित भइन् र उनीहरू एकअर्काको प्रेममा चुर्लुम्मै डुबे।
कुराकानी बाक्लिँदै जाँदा उनीहरूका भावना र भविष्यका योजनाहरू आपसमा साटासाट भइरहन्छन्। सीतालाई लाग्छ उनीहरूको प्रेम झाङ्गिरहेको छ। तर अचानक एकदिन सीतालाई शंका लाग्छ आफूले बिछट्टै प्रेम गरेको युवकप्रति।
मनमा अति विचलन आएपछि युवकलाई छिट्टै नेपाल आएर विवाह गर्नुपर्ने सर्त राख्छिन्। सीताले जबरजस्ती दबाब दिएपछि युवकले सीतालाई माया गर्ने तर सामाजिक रूपमा स्वीकार गर्न नसक्ने अभिव्यक्ति व्यक्त गर्छन्।
यो कुरा सुनिसकेपछि सीता छाँगाबाट खसेजस्तै हुन्छिन् र आफूलाई धिक्कार्छिन्। त्यसपछि सीता उक्त युवकसँग कुरा गर्न छोड्छिन्।
केहीदिन पछि उनले आफूलाई सम्हाल्ने प्रयत्न गर्छिन्। र उनीहरूको प्रेम यत्तिकैमा अन्त्य हुन्छ।
यो त एउटा उदाहरण हो यस्ता अनगिन्ती मान्छेहरू भेटिन्छन् जो भर्चुअल दुनियाँमा प्रेममा डुब्छन्, जब यथार्थताको धरातलमा आउँछन् त्यसपछि उनीहरू हराउँछन् सम्बन्धबाट र समाज र घरपरिवारसँग डराउँछन्।
कर्तव्यबोध, जिम्मेवारीपन, इमानदारिता तथा सदाचारिता जस्ता गुणहरू कतै देखिँदैनन्। किन आत्मैदेखि प्रेम गर्न हिच्किचाउँछन् त अहिलेका पुस्ताहरू? क्षणिक आनन्द प्राप्तिको लागि कोही कसैसँग आफ्ना भावनाहरू सजिलै साटासाट हुन्छन् र? केको डर छ त युवापुस्तामा दिल खोलेर आत्मैदेखि प्रेम गर्नका लागि?
सानुमाया यो उनको परिवर्तित नाम हो।
उनको प्रेमकथा पनि बढो अचम्म लाग्दो छ। आफ्नो घरनजिकै बस्ने एक जना युवकले आश्चर्यजनक तवरले प्रेममा पार्छ सानुमायालाई। युवकले सानुमायालाई सधैं-सधैं देखिरहेको, सानु मायाको बारेमा सबै कुरा थाहा पाएको, र उनको क्रियाकलापहरूको मूल्यांकन गरिरहेको भन्छन् र उनीहरूको कुराकानीको सुरूआत हुन्छ यही वातचितबाट।
प्रारम्भिक चरणमा सानुमायालाई यी सब कुराहरूप्रति विश्वास लाग्दैन र उनले यी सब कुराहरूलाई नजरअन्दाज गरिदिन्छिन्। तर युवक गम्भीर तरिकाले प्रस्तुत भएपछि सानुमायालाई लाग्छ एउटा असल केटा हो। उनीहरू विस्तारै सोसल मिडियामा जोडिन्छन्। उनीहरूको कुराकानीहरू सबै सोसल मिडियामा हुन्छ। इन्स्टाग्राम र फेसबुकमा उनीहरूले एकअर्काका पढाइ, लेखाइ, भविष्यका योजना र कतिपय समसामयिक विषयमा पनि धारणा साटासाट गर्ने काम गर्छन्।
थाहै नपाई प्रेममा परेको भान हुन्छ सानुमायालाई। एकदिन सानुमायाले आफ्नो फेसबुक र इन्स्टाग्राम चेक गर्दाखेरी थाहा पाउँछिन युवकले उनलाई ब्लक गरिसकेको रहेछ। त्यसपछि सानुमायामा कौतुहलता बढ्दै जान्छ र उनले युवकलाई फोन गरेर भेट्न बोलाउँछिन्। बाहिर निस्केपछि उनीहरूको केही हदसम्म चर्काचर्की पर्छ।
युवकले बहाना बनाएर बंग्याएर कुरा गरिरहँदा अचानक युवकको नम्बरमा श्रीमतीको फोन आउँछ। श्रीमतीको फोन आइसकेपछि युवक डराएर भाग्छन्। सानुमाया अचम्मित हुन्छिन् र पछि खोजी गर्दै जाँदा थाहा पाउँछिन् उनी विवाहित रहेछन् र जसले अरू पनि केटीहरूलाई प्रेममा पारेको अथवा प्रेम गर्छु भनेर झुक्याएको सानुमायाले थाहा पाउँछिन्।
भावनाहरू साटिएकोमा र गलत मान्छेसँग केही समय अल्झिएकोमा ग्लानी महसुस गर्छिन् तर आफूलाई भने सम्हाल्ने प्रयास गर्छिन्।
यो एउटा उदाहरण हो। घरमा श्रीमती भएर पनि आफू अविवाहित भएको बहाना गर्ने अथवा केही कुराहरू ढाँटेर अन्य युवतीहरूसँग प्रेम गर्छु भनेर सम्बन्ध जोडेजस्तो गर्ने निकै भेटिन्छन्।
कतिपयले त यस्तो भन्ने गरेको पनि थाहा भयो। घरमा श्रीमती भएर के भो त भनेर युवतीहरूसँग नजिकिन खोजेको। जुन सुन्नमा सामान्य सुनिएता पनि गम्भीर समस्या हो।
घरमा श्रीमती भएर अन्य युवतीहरूसँग नाजायज सम्बन्ध गाँस्नु, युवतीहरूलाई मायाप्रेममा अल्झाउनु भनेको आफ्नो घर व्यावहार बिगार्नु तथा अन्य दोस्रो तेस्रो व्यक्तिहरूलाई पनि समस्यामा पार्नु हो।
विवाहित पुरूषले कुनै महिलासँग बोल्न र मित्रताको सम्बन्ध गाँस्न हुँदैन भनेर कदापि भन्न खोजेको होइन। तर आफ्नो घर बिगारेर ढाँटेर, छलेर, प्रेमको पासोमा कसैलाई अल्झाउनु हुँदैन भन्न खोजेको हो। यो कुरा बुझ्न र मनन गर्न जरूरी देखिन्छ।
समय र रोशिका (परिवर्तित नामहरू) कुनै एउटा सेमिनारमा जाँदा उनीहरूको भेट हुन्छ। समय अलि अन्तर्मुखी स्वभावका युवक थिए भने रोशिका अलि फरक स्वभावकी युवती थिइन्।
करिब ४ दिनको सेमिनारमा उनीहरू आपसमा चिनिने मौका पाउँछन्। त्यसै क्रममा समयका आँखा रोशिकातिर पुग्छ र चिया खाने ब्रेकमा समयले रोशिकालाई खुलेर तारिफ गर्छ। यसरी सुरूआत भएको उनीहरूको चिनजानपछि विदेश जाने भनेर दुवै जना प्रेममा पर्छन्। समयले रोशिकालाई विदेश जानको लागि तयारी गर्न र आवश्यक पर्ने कोर्षको क्लास लिन र सबै व्यवस्थापन मिलाउन आग्रह गर्छ। रोशिका पनि नेपालमा बस्ने त्यति धेरै सम्भावना देख्दिन र समयको आदेशलाई सहर्ष स्वीकार गर्दै विदेश जाने तयारीमा जुट्छिन्।
उनीहरू त्यस्तो धेरै भेट्ने, डुल्ने गर्दैनन्। तर अनलाइनको माध्यमबाट आफ्ना भावनाहरू चाहिँ भरपुर साटासाट गर्थे। विदेश जाने तयारीमा जुटेकी रोशिका अचानक समय बिनाखबर र बिनाकारण आफ्नो जीवनबाट हराउँदा अचम्मित हुन्छिन्।
समयलाई चिन्ने व्यक्तिहरू कोही पनि चिनेकी छैनन्। यत्तिकैमा समयले आफूलाई प्रयोग गरेको र आफ्नो महत्त्वपूर्ण समय बर्बाद गरिदिएकोमा उनी पछुताउँछिन्। पछुताउनुबाहेक अन्य विकल्प उनीसँग अरू केही पनि थिएन र बिस्तारै आफ्नो मनलाई शान्त पार्दै जान्छिन्।
यो एउटा अर्को प्रेम कहानी थियो। प्रेम जतिबेला जोसँग पनि अनपेक्षित रूपमा हुने गर्छ। तर कस्तो अचम्म जसरी अनपेक्षित रूपमा सम्बन्ध जोडियो त्यसरी नै सम्बन्ध तोडियो। अति सामान्य रूपले लिन्छन् है अहिलेका युवावर्गले प्रेमलाई। कति सजिलैसँग प्रेममा परिदिन्छन् तर थाहै नपाइकन एकअर्काबाट हराइदिन्छन्।
कस्तो अनौठो प्रेम हो यो?
विनयले (नाम परिवर्तन) आश्चर्यजनक कथा सुनाए। यी हरेक युवतीहरूसँग जोडिन मन पराउँछन्। आफूभन्दा दोब्बर उमेरले ठूलो होस्, सानो होस् जस्तोसुकै होस् युवतीहरूलाई आफूप्रति तान्न माहिर छन् र हरेक कसुर बाँकी राख्दैनन्। उनी सुरूमा संवेदनशील र जिम्मेवार ढङ्गले युवतीहरूसँग कुरा गर्छन्। उनी युवतीहरूको मनोभाव, मनस्थिति तथा दृष्टिकोण टेस्ट गर्ने गर्छन्। युवतीहरूलाई पनि उनको प्रगतिशील, ऊर्जाशील तथा तारिफयोग्य विचार देखेर उनीहरू विनयको प्रेममा सजिलैसँग पर्दा रहेछन्। युवतीहरूलाई आफूप्रति मोहित पार्न तथा तान्न सकेकोमा विनयलाई घमण्ड लाग्दोरहेछ। तर युवतीहरूले बिस्तारै उनले साँचो प्रेम गर्दैनन् तर युवतीहरूको भावनासँग खेल्ने काम गर्छन् भन्ने थाहा पाएपछि गालीको वर्षा दिने गर्दा रहेछन्। तर विनयलाई भने यस्ता कुराहरूले एकरत्ति पनि असर पार्दैन रहेछ। बहुत अचम्मको कहानी छ यो। कोही कसैको भावनासँग खेल्नुलाई मान्छेले कति गर्वको साथ लिन्छन्? यस्तो पनि प्रेम हुन्छ त?
माथि उल्लेख गरिएका केही संक्षिप्त कथाहरू अहिलेका केही युवापुस्ताका प्रेम कहानीहरू र उनीहरूले माया प्रेमलाई हेर्ने दृष्टिकोणहरू हुन्।
उल्लेखित कथाहरू केही हदसम्मका उदाहरणहरू मात्र हुन्। युवा वर्गहरूको माझमा गएर उनीहरूको मनस्थिति र धारणा बटुलिरहँदा धेरै युवाहरूले ‘फ्रेन्ड्स विथ बेनिफिट्स’ को धारणा व्यक्त गरेको पाइयो।
जति परिवर्तित तथा प्रगतिशील सोच र आधुनिकताको नारा फुक्दै हिँडेता पनि प्रेमको कारणले मानिसहरू भावनात्मक रूपमा निकै कमजोर हुन्छन्। मानसिक स्वास्थ्यमा विचलन आइरहेको पाइन्छ। प्रेम गर्नु त्यस्तो कुनै अपराध होइन। हरेक जीव तथा जीवात्माहरूलाई प्रेमको आवश्यकता पर्छ। तर झूटो र आलोकाँचो सम्बन्धले भने हानी पुर्याउँछ।
यहाँ प्रसंग कुनै केटाले केटीलाई धोका दिने विषयको होइन। धोका केटीले पनि केटालाई दिने गर्छन्। विदेशमा श्रीमान भएर स्वदेशमा बस्ने युवती अन्य युवाहरूको सम्बन्धमा जोडिएका कथाहरू पनि प्रशस्त मात्रामा सुन्न, पढ्न र हेर्न पाइन्छ।
हुर्किने क्रममा तथा किशोर अवस्थामा प्रवेश गर्दै गरेका युवायुवती तथा वयस्क युवायुवतीहरूले एक अर्कामा आकर्षित हुनु कुनै नौलो कुरा होइन। यो एउटा स्वाभाविक कुरा हो।
तर हाम्रो हुर्काइ, हाम्रो संस्कार, संस्कृति, र यसलाई हेर्ने दृष्टिकोणमा फरक पर्ने भएकाले सम्बन्धहरूले मूर्तरूप नपाउने र गलत बाटो रोज्ने गरेको देखिन्छ।
चलचित्रहरू, टिभी शोहरू र सोसल मिडियामा अक्सर रोमान्टिक सम्बन्धलाई एक रमाइलो र आदर्श रूपमा प्रदर्शन गराउँछन्।
अहिले हुर्कंदै गरेका केटाकेटीहरू तथा युवावर्ग सोसल मिडिया तथा विभिन्न टिभी कार्यक्रम, सिरिजहरूमा आफ्नो समय धेरै नै व्यतित गर्ने गर्छन्। यो देखेर लाग्छ युवा युवतीहरूलाई कोही कसैसँग आकर्षित हुनु र सम्बन्ध जोड्नु सामान्य कुरा हो।
कतिपय अवस्थामा लहैलहैमा तथा बहकाउमा परेर पनि युवायुवतीहरूले प्रेम गरेको नाटक गर्छन्। हाम्रो हुर्काइको कारणले गर्दाखेरी पनि युवायुवतीहरूले प्रेमसम्बन्धलाई हल्का रूपमा लिने गर्छन्।
घर परिवारमा प्रेम भनेको महत्त्वपूर्ण विषय हो र जो कोहीको भावनासँग खेल्नु हुँदैन भनेर सिकाउने तथा आफ्ना बालबच्चाहरू प्रेममा परे भने पनि त्यसलाई सकारात्मक ढंगले नबुझिदिने प्रवृत्तिले गर्दाखेरी पनि अहिलेका पुस्ताकाले प्रेमलाई गम्भीर ढंगले बुझिरहेका छैनन्।
यदि सानै उमेरदेखि जिम्मेवार, कर्तव्यनिष्ठ तथा अनुशासित हुन सिकाउने हो भने उनीहरू हुर्किंदै गर्दा सम्बन्धलाई जिम्मेवारीपूर्ण ढंगले बुझ्ने गर्छन्।
मतलब यो होइन कि उनीहरूलाई यो पाठ पढाउनु पर्छ, हरेक दिन घोकाउनुपर्छ। रहनसहन र वरपरको वातावरण देखेर उनीहरूले यस्ता कुराहरू मनन गरिरहेका हुन्छन्। वरपरको वातावरण, स्कुलिङ साथी संगत, सोसल मिडिया जस्ताबाट मान्छेहरू प्रभावित हुन्छन् र धारणाहरू बनाउँछन्। अहिलेको समयमा सम्बन्धलाई टिकाइराख्न र जिम्मेवारी बहन गर्न मान्छेले सकिरहेका छैनन्। यो सब दृष्टिकोणको कारणले हो।
प्रेम सम्बन्धमा गाँसिएका कारण कुनै पनि व्यक्तिले गलत बाटो रोज्ने, जीवन परित्याग गर्ने तथा आत्महत्या गर्ने प्रयास कोही कसैले नगरोस्। समाजमा बहिष्कृत हुने तथा लाञ्छना झेल्न नपरोस्।
मैले यहाँ उठाउन खोजेको विषय कसैको व्यक्तिगत धारणा र चाहनाप्रति होइन। धेरै मानिसहरू सम्बन्धका कारण विचलित भएका र कतिपय मानिसहरूका घर व्यवहारमा कलह मच्चिएको तथा सम्बन्धमा दरार आएका घटना देखिरहेको कारणले गर्दा यो विषयको उठाउन खोजेको हुँ।
मलाई लाग्छ कि यो अहिलेको समयमा धेरै व्यक्तिहरूको साझा समस्या हो। कोही कसैलाई व्यक्तिगत रूपमा उठान गर्न खोजेको छैन यदि त्यस्तो लागेमा क्षमाप्रार्थी छु।
(पवित्रा घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)