तपाईंले ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएर बिरामी भएका व्यक्ति अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको सुन्नुभएको छ?
वा कोही निमोनिया भएर बितेको भन्ने सुन्नुभएको छ?
या त नवजात शिशु ज्वरो आएर अस्पताल पुर्याउन नपाउँदै मृत्यु भएको सुन्नुभएको छ?
कहिलेकाहीँ सुन्नुभएको छ भने त्यस्तो मृत्यु शरीरका भित्री अंगहरूमध्ये कुनै एउटा वा बढीमा इन्फेक्सन (चिकित्सकीय भाषामा सेप्सिस) भएको कारणले हुन सक्छ। सेप्सिस धेरैजसो वृद्ध अवस्थाका र अलिक थोरै बालबालिकामा हुने संक्रमण हो। केही वयस्क व्यक्तिमा पनि हुन सक्छ।
मैले बालबालिकाको स्वास्थ्यका सम्बन्धमा लेख्दै आएकाले यो लेखमा अभिभावकहरूले आफ्ना बालबालिकालाई सेप्सिस हुनबाट जोगाउने तथा सेप्सिस भए–नभएको थाहा पाउने उपायका बारेमा लखेको छु। कीटाणु (ब्याक्टेरिया र भाइरस) बाट हुने गरेको रोगका बारेमा चर्चा पनि गरेको छु।
कहिलेकाहीँ सामान्य ठानिएको ज्वरोबाटै पनि जीवन जोखिममा पर्छ, मृत्यु नै हुन सक्छ। शरीरमा कीटाणु प्रवेश गरेपछि मानिस बिरामी हुन्छ। कीटाणुका कारणले मुटु, फोक्सो, मृगौला, दिमाग आदिमा इन्फेक्सन हुन्छ र तिनको काममा असर पर्छ।
यी भित्री अंगहरूमध्ये कुनै एकले राम्ररी काम गर्न सकेन भने यी अंगहरूमा सेप्सिस भएको हुन सक्छ। यसै कारणले बिरामीको मृत्यु नै हुन सक्छ। समयमा थाहा नभएर अस्पताल जान ढिलो भयो भने चिकित्सकले बचाउन सक्ने सम्भावना निमै कम हुन्छ।
यसकारण ज्वरो आएको छ भने त्यसको लक्षण विचार गरेर चाँडोभन्दा चाँडो अस्पताल पुर्याउन सके जीवन जोगिन सक्छ।
सेप्सिसबाट हुने असर
सेप्सिस नयाँ पहिचान भएको रोग हो। निकै विकसित देशहरूमा पनि सेस्पिससम्बन्धी ज्ञानमा कमी देखिएको छ। सेप्सिस हुने मुख्य कारण इन्फेक्सन नै हो।
वास्तवमा सेप्सिस प्राथमिक रोग नभई रोगको दोस्रो अवस्था हो। यो अवस्था थाहा पाउन्जेलमा बिरामी निकै सिकिस्त भई बचाउन नसकिने हुन सक्छ वा थाहै नपाई मृत्यु हुन सक्छ।
पहिचान हुँदा नै निकै समस्या भइसकेको हुनाले विश्वमा सेप्सिसका कारणले कति मानिसको मृत्यु हुन्छ भन्ने ठोस विवरण उपलब्ध छैन।
स्विडेनका वैज्ञानिकहरूले पहिलोपटक सेप्सिसको पहिचान विधि पत्ता लगाएका छन्। उनीहरूले स्विडेनमा वर्षभरिमा १७ प्रतिशत मृत्यु सेप्सिसकै कारणले हुने गरेको निष्कर्ष निकालेका छन्। यसलाई संख्यामा हेर्दा स्विडेनमा मात्र एक वर्षमा साढे आठ हजार बिरामीको मृत्यु सेप्सिसबाटै हुँदो रहेछ।
विकसित मुलुक स्विडेनमै यस्तो छ भने नेपालमा सेप्सिस निकै विकराल अवस्थामा हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ।
सेप्सिस हुने मुख्य कारण
सेप्सिस हुनुको मुख्य कारण भाइरस र ब्याक्टेरियाको संक्रमण नै रहेको पाइएको छ। भाइरसले भन्दा बढी ब्याक्टेरियाले सेप्सिस हुने गरेको पनि पाइएको छ।
ब्याक्टेरियाले शरीरको कुनै भित्री अंगमा संक्रमण सुरू गरेपछि शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) सक्रिय हुन्छ। सामान्यतया शरीरको प्रतिरक्षा प्रणालीले कीटाणुहरूलाई निष्क्रिय गराउँदै इन्फेक्सन घटाउने र बिस्तारै निको पार्छ। खास उपचारको आवश्यकता पर्दैन।
सेप्सिस भएपछि भने प्रतिरक्षा प्रणाली आवश्यकभन्दा बढी सक्रिय हुने गरेको पछिल्लो अनुसन्धानले पत्ता लगाएको छ। यस्तो सक्रियताले कीटाणुहरूलाई भन्दा बढी शरीरलाई नै बढी असर पुर्याएको पनि पत्ता लागेको छ।
इन्फेक्सनबाट सेप्सिस विकास हुने भएकाले इन्फेक्सन भएको प्रारम्भिक अवस्थामै उपचार हुन सक्यो भने खतरा टार्न सकिने हुन्छ।
पछिल्लो समयमा मल्टिरेसिस्टेन्ट ब्याक्टेरिया (कुनै पनि एन्टिबायोटिकले नष्ट गर्न नसक्ने ब्याक्टेरिया) का कारण हुने गरेको पाइएको छ। यसकारण उपचार पनि कठिन हुने गरेको छ।
एन्टिबायोटिकको अधिक प्रयोगले मल्टिरेसिस्टेन्ट ब्याक्टेरिया विकसित हुने गरेको पनि पत्ता लागेको छ। एन्टिबायोटिकको बढी प्रयोग विकासशील देशहरूमा हुने गरेको छ। यसकारण पनि यस्ता देशमा इन्फेक्सन र सेप्सिसबाट मृत्यु हुनेको संख्या निकै बढी हुन सक्ने अनुमान छ।
बालबालिकामा सेप्सिस
गर्भस्थ समय पूरा हुनुअगावै जन्मिएका बालबालिकालाई सेप्सिस हुने सम्भावना निकै बढी हुन्छ। यसको सम्भावना सामान्य अवस्थाका नवजात शिशुमा हुन्छ।
गर्भस्थ अवधि पूरा नभई जन्मेका शिशुको प्रतिरक्षात्मक प्रणाली कमजोर हुन्छ। शरीर पनि पूर्ण विकसित नभएको अवस्थामा इन्फेक्सन भयो भने सेप्सिस हुने सम्भावना अत्यधिक हुन्छ।
बालबालिकालाई खोप लगाउनु निकै महत्त्वपूर्ण हुन्छ। धेरै जसो बालबालिकालाई इन्फेक्सन गराएर सेप्सिस अवस्थामा पुर्याउने ब्याक्टेरिया ‘हेमोफिलस एन्फ्लुएन्जा टाइप टु’ हो। यो ब्याक्टेरियाविरुद्ध खोप दिन थालिएपछि बालबालिकालाई सेप्सिस हुने क्रम घटेको तथ्य पनि पत्ता लागेको छ।
यस कारण उपलब्ध खोप लगाएर सेप्सिस हुनबाट जोगाउन सकिन्छ।
सेप्सिसको लक्षण र उपचार
सेप्सिस हुँदा ज्वरो आउँछ, जाडो हुन्छ र शरीर काम्छ। वाकवाक लाग्छ, वान्ता हुन्छ पेट दुख्छ र पखाला लाग्छ। शरीर गल्छ अर्थात् थकान हुन्छ। स्वाप्रश्वास बढेर प्रतिमिनेट २२ देखि ३० सम्म वा अझ बढी हुन्छ। जोर्नीहरू दुखेर सिंगो शरीर दुःखेको अनुभव हुन्छ। अरूको कुरा सुन्न नसक्ने गरी होस हराएको जस्तो हुन्छ।
मुटुको चाल ९० प्रतिमिनेटभन्दा बढी हुन्छ। रक्तचाप कम हुँदै जान्छ। शरीरमा पिसाब उत्पादन घट्छ। अक्सिजन स्तर ९० र अझ तल हुन्छ।
यस्ता लक्षण भएर सेप्सिसको शंका लाग्नासाथ बिरामीलाई अस्पताल पुर्याउनुपर्छ। इन्फेक्सनको खतरा कुन अवस्थामा छ भन्ने थाहा नहुन सक्छ। यस कारण लक्षणहरूको अवलोकन गर्न जरूरी हुन्छ।
उपर्युक्त लक्षणहरूका आधारमा चिकित्सकले सेप्सिस भए–नभएको पत्ता लगाउँछन्।
सबैजसो सेप्सिस मेनिंगो कोकेर, प्नेउमो कोकेर, स्टाफिलो कोकेर, स्ट्रेप्टो कोकेर ए, हेमोफिलस इन्फ्लुएन्जा ब्याक्टेरियाका कारणले हुन्छ। आन्द्राका बेक्टेरिया ए कोली र क्लेब्सियला ब्याक्टेरियाका कारणले पनि हुन्छ।
नर्स वा अन्य स्वास्थ्यकर्मीलाई बिरामीलाई सेप्सिस भएको हो भन्ने शंका लागेमा उनीहरूले अविलम्ब चिकित्सकलाई खबर गरिदिनुपर्छ। यसो भयो भने बिरामीले छिटो उपचार पाउँछ।
सेप्सिसको उपचारमा रगतमै एन्टिबायोटिक दिइन्छ।
हाम्रो गाउँघरतिर बिरामी सिकिस्त नहुन्जेल घरमै अनेक थरीका औषधि खुवाएर राख्ने र अन्तिम अवस्थामा अस्पताल पुर्याउने चलन छ। यस कारण पनि बिरामीको उपचार हुन पाउँदैन।
बालबालिकाको भ्याक्सिनका बारेमा आमाबाबु सचेत रहन आवश्यक छ। तालिकाअनुसार खोप लगाइदिनुपर्छ।
कुनै भ्याक्सिन सरकारको खोप कार्यक्रममा नपरेको पनि हुन सक्छ। बालरोग विशेषज्ञ चिकित्सकको सल्लाह लिएर भ्याक्सिन दिनु आवश्यक हुन्छ। कुनै बालबालिकालाई कुनै खास खोप आवश्यक छ भने चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ।
उल्लिखित लक्षणहरू देखा परेको अवस्थामा बिरामीलाई जति सक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ। धामीझाँक्री र घरेलु आषधिको भर पर्नु हुँदैन।
गाउँघरमा सामान्यतया ज्वरो आउनुलाई रोग नमान्ने प्रवृत्ति छ। हुन पनि ज्वरो आफैंमा कुनै रोग होइन, कुनै रोगको प्रारम्भिक लक्षण हो। ज्वरो मात्रै आएको हो, केही भएको होइन, निको भइहाल्ला भन्दाभन्दै सेप्सिस हुन सक्छ। यसर्थ ज्वरो आएर उल्लिखित लक्षण देखिएको छ भने सेप्सिस भएको हुन सक्छ। सचेत रहौं।
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)