समय त्यस्तै अपराह्न ५:३० बजेको हुँदो हो, बालाजु नयाँबजार रोड हुँदै अफिसबाट घर जाँदै थिएँ। एक्कासी एउटा गल्लीबाट एउटा बाइक निस्कियो। दायाँबायाँ नहेरी तीव्र गतिमा हुइँकिँदै थियो। ती बाइकवाला दाइले साइड लाइट नबाली आउँदा कहाँ जान लागेको मेलोमेसो नपाउँदा नपाउँदै उनको मोटरसाइकल मेरो स्कुटरमा ठोकिन पुग्यो।
झ्याम्म आवाज आयो, म भुइँमा पछारिएँ। स्कुटर एकापट्टि लड्यो, म एकातिर। वरिपरिका मानिस हेर्दै थिए। भाग्यवश ठक्कर स्कुटरको बडीमा परेकाले मलाई कुनै चोट लागेको थिएन। हतार-हतार झोला खोलें। झोलाभित्र मेरो ल्यापटप थियो, ल्यापटपमा कुनै चोट लागेको थिएन। ज्यान बजारिए पनि हेल्मेटले मेरो सुरक्षा गरेको हुनाले टाउकामा समेत चोट लाग्नबाट बच्यो। भाग्य ठूलो रहेछ र बाँचियो भन्ने लाग्यो।
त्यो दिनबाट मैले पनि साइड लाइटको महत्त्व बुझे। त्यो घटनापछि आफू सजक हुँदै अरुलाई पनि सावधान गर्दै हिँड्ने गरेको छु तर अफसोच! गालीगलौजको सामना पनि गर्ने गरेको छु।
एकदिनको कुरा हो, जोरपाटी सडकमा आफ्नो तालमा हिँड्दै थिएँ। एकजना किशोर भाइ अर्को लेनको बीचबाटै आउँदै थिए। अझ गति तीव्र थियो। म आफैं जोगिन खोज्दा झन्डै सडक पेटीमा पुगिनँ।
'भाइ, के गरी चलाको?' भन्दा 'ओइ! बढी हुन्छस्' भन्दै गयो। यो युवा अवस्थाको जोशले कहिले कसलाई सक्ने हो भन्दै मनमनै खिन्नता लिएर आफ्नो गन्तव्यमा लागें।
मैले दैनिक हजारौं घटना सुन्ने गरेको छु, तीव्र गतिको कारण दुर्घटना भएको। तर सवारीसाधनको इन्डिकेटर सही ठाउँमा नबाल्नाले पनि ठूलै दुर्घटना हुने देखिन्छ। काठमाडौंको व्यस्त सडकमा चोक-दोबाटो कति छन् तर त्यस्तो ठाउँमा साइटलाइट नबाली जाँदा कति दुर्घटनाको जोखिम हुँदो हो। अझ सडकमा न जेब्रा क्रसिङ छ, भएको ठाउँमा जथाभावी बाटो काट्छन्। सधैं बेलुकी घर पुग्दा आज पनि सकुशल आइपुगें भनेर भगवानलाई धन्यवाद दिने गरेको छु।
मेरी आमा काठमाडौं आउँदा भन्नुहुन्थ्यो- 'बरु गाडीमा गए त हुन्थ्यो नि, यस्तो ठाउँमा कसरी बचेर चलाउछस्?'
आमालाई भन्ने गर्थें, 'आमा, समयमा अफिस पनि त पुग्न पर्यो नि। सार्वजनिक यातायातमा गन्तव्यमा पुग्न निर्धारित समयभन्दा आधा घण्टा हिँड्नु पर्छ।' म मेरो पीडा पोख्ने गर्थें।
मेरो अफिसमा एकजना अमृत सर थिए जो बालजुबाट जोरपाटी पुग्नु पर्ने। जहिले दुई घण्टा लाग्ने अफिस पुग्न पनि। पहिलो सडकको जाम अनि दोश्रो बसले बस स्टपमा रोक्ने। एउटा बसले एउटा ठाउँमा ५ देखि १० मिनेट रोक्छ। त्यस्ता कति बस रोक्ने ठाउँ हुन्छन्। अनि फेरि नेपाली त हुन्, बसस्टपमा बस्दैनन्, आफ्नै घर अगाडि बस्छन्। बस मात्रलाई दोस देखाएर पनि हुन्न। अमृत सर पनि बेलाबेला आफ्नो पीडा पोख्ने गर्नु हुन्थ्यो।
सडकको मात्र के कुरा गर्ने, जहाँ हेर्यो त्यहीँ समस्या नै समस्या।
हाम्रो धर्म संस्कृतिले खोलानालालाई माता समान मान्छ। चाहे गङ्गा, बागमती, विष्णुमती होस्, माता समान हो भन्छ हाम्रा ग्रन्थ। तर त्यही मातामाथि ढल मिसाउछौं। हामी बेपर्वाहवाला सन्तती हौं। सडकमा गाई छोड्छौं अनि जब तिहारमा गाई पूजाको दिन हुन्छ, गाई खोजी खोजी पूजा गर्छौं। किन? यो देखावटी धर्मकर्म कहिलेसम्म?
काठमाडौंको अवस्था हेर्दै गर्दा म आफ्नो बालापनमा फर्किन्थें अनि गोपी दाइलाई सम्झन्छु।
म कक्षा ७ मा पढ्दा गोपी दाइ कतारबाट छुट्टीमा घर आएका थिए। उहाँसँग विदेश कस्तो हुन्छ भन्ने आफ्ना कौतूहलता प्रस्फुटन गर्दै थिएँ।
मैले कुरै कुरामा सोधेको थिएँ- 'दाइ कतार कस्तो छ?'
दाइले गम्भीर हुँदै भनेका थिए, 'साह्रै गर्मी छ भाइ, दिउँसो सडकमा हिँड्न नसक्ने हुन्छ। नेपाल जस्तो हरियाली खोलानाला कहाँ पाउनु!'
अनि मैले थप प्रश्न गर्दै भनेको थिएँ, 'काठमाडौंभन्दा नि ठूला-ठूला सडक छन् होला है दाइ?'
दाइ मन्द मुस्कुराउँदै भने, 'कति ठूला ठूला अनि अझ फराकिला र सफा।'
'अनि दाइ त्यहाँका मान्छेले केही खाँदैनन् हो?,' मैले आफ्नो बालापन शैलीमा प्रश्न गरेको थिएँ।
पूरै ३२ वटा दाँत देखिने गरी गोपी दाइ हाँसेका थिए- 'मान्छे नि खाना नखाई बाँच्छन् त?'
'अनि तिनीहरूले खाएपछि फोहोर कहाँ फ्याँक्छन् त दाइ?'
दाइले केही गम्भीर हुँदै भनेका थिए, 'भाइ, त्यहाँ सबैले नियम कानुन मान्छन्। नियम कानुन सबैलाई बराबर हुन्छ। कसैले फोहोर फाल्दैनन्। फाले नि डस्टबिनमा फाल्छन् कि फोहोर जम्मा गरेर फाल्छन्। सब नेपालीहरू जब विदेश पुग्छन त्यहाँ जताततै फोहोर फाल्दैनन्, डस्टबिनमा फाल्छन्। जब नेपाल आउँछन् तब एअरपोर्टबाटै फोहोर फाल्न थाल्छन्। देश खराब भनेर हुँदै नि भाइ, पछि बुझ्दै जानेछौ।'
गोपी दाइले मलाई कुवामा पानी लिन जाँदा सुनाउनु भएको थियो। म दाइले विदेशबाट ल्याएको फोन हेर्न हरेकपटक पानी लिन आउँदा जाँदा कुवासम्म नै पुग्थें।
आज झन्डै एक दशक हुन लागेछ, म गोपी दाइको कुरा सम्झिँदै थिए। सायद दाइ अझै पनि कतार तिर नै होलान्। हरेक पटक नेपाल फर्कंदा काठमाडौंको अवस्था देखेर मनमनै भन्दा हुन्- मेरो देश अझैसम्म उस्तै रहेछ, केही बदलिएको छैन।
अझ सार्वजनिक बसमा यात्रा गर्दैगर्दा, करौडौंको गाडी चड्नेले झ्याल खोलेर सडकमा फोहोर फालेको देखेर गोपी दाइ सोच्दा हुन्- पैसा अथाह दिएछौ भगवान, अब सद्बुद्धि देऊ।