डिसेम्बरको अन्तिम हप्ता, कलेज बिदाको समय, म बस्ने डरमिटोरीका सबैजसो साथी क्रिसमस मनाउन आआफ्नो घर गएकाले होला सुनसान छ।
कालो बादलले छोपिएर धुम्म देखिएको आकाश, हरबखत सिमसिम परिरहने पानी अनि जुन बेलामा पनि वेगमा आउने चिसो हावा सायद जर्मनीको चिनारी नै हो, यही चिनारी नियाल्न म पनि हातमा कफी लिएर सधैंजसो आज पनि झ्यालमा बसेर बाहिरको विरक्तलाग्दो मौसममा हराउँदै थिएँ।
फोनमा मेसेजको नोटिफिकेसन आयो।
'तिमी फ्री छौ भने एकछिन गफ गरौं न' मेरो घर नजिककी बहिनीले धेरै दिनपछि आज मेसेज गरेकी रहेछिन्।
म नि खुसी हुँदै कल गरिहालेँ।
एकछिनको हाम्रो सामान्य गफगाफपछि उनले अलिअलि हिच्किचाउँदै एउटा जिज्ञासा राखिन्, 'तिमीले चिनेको कोही साइकेट्रिस्ट छ, छ भने भन न।'
'कसको लागि?,' मैले सोधेँ।
बहिनीले आफ्नो कोही साथीको लागि बुझ्नुपर्ने बताइन् तर मलाई विश्वास लागेन। उनको र मेरो घर नजिकै पर्छ। मबाट मेरा घर परिवारले उनको बारेमा थाहा पाउँछन् भनेर नभनेकी रहिछन्। कसैलाई नभन्ने सर्त राखिन् मैले स्वीकारें।
विगत ३ महिनादेखि डिप्रेसनको सिकार भएको र आफ्नै लागि डाक्टर चाहेको बहिनीले बताइन्। म झसंग भएँ। नम्र भावमा उनलाई के कारणले अथवा के घटनाले यस्तो भइरहेको छ भनेर सोधेँ। धेरैबेर कर गरेपछि उनले बताउँदै गइन्।
'प्रतिमा तिमीलाई थाहा छ नि, म इन्ट्रान्स तयारीको लागि दिदी-भिनाजुकोमा बसेको थिएँ। फुपू दिदीभिनाजु दुवै जना पढेलेखेका सरकारी जागिरको उच्च तहमा काम गर्ने भएकाले बाबामम्मीले मलाई दिदीकोमै बस्ने, पढेलेखेकाकोमा बसेपछि राम्रो पढ्ने वातावरण बन्छ भन्ने कुरा भएपछि म पहिलो पटक गाउँबाट काठमाडौं आएर सिधै दिदीकोमा बस्न थालेँ।
क्लास जाने आउने, साँझ दिदीलाई किचनमा सघाउँथें, भाइबहिनीलाई होमवर्क गर्न सिकाउन बस्थेँ र आफू मज्जाले पढ्ने गर्थें। सबै कुरा ठीकै नै थियो, दिदीभिनाजुसँग म अलि डराउँथें, सुसम्पन्न भएकाले दिदीभिनाजुको गाउँमा इज्जत थियो, सबैले मान्थे, केही निर्णय लिनुपर्यो भने एकचोटि ज्वाइँलाई सोधि हेरौं भन्ने गर्नुहुन्थ्यो घरमा।
आफन्तकोमा बसेपछि केही केही कुरा तलमाथि भए पनि बोल्नुहुन्न है भन्नु हुन्थ्यो ममी, म पनि सबै ठीकै मान्दै थिएँ। अलिअलि भिनाजुको पारा कस्तो कस्तो लाग्थ्यो तर त्यस्तो नराम्रो नै भने थिएन, माया नै गर्नुभएको भन्ने लाग्यो।
एकदिन मेरो क्लास थिएन म भाइबहिनीको रूममा बसेर पढ्दै थिएँ, दिदी आफिस र भाइबहिनी स्कुल गइसकेका थिएँ, भिनाजु भने अलिक बेरमा त्यहीँबाट कता मिटिङमा गएर मात्र अफिस जाने भनेर घरमै हुनुहुन्थ्यो।
म एकसुरमा पढ्दै थिएँ, भिनाजु मेरो नजिकै सोफामा आएर बस्नुभयो र कति पढेकी भन्दै मेरो कपालतिर हात लगाउनुभयो। म अलि असहज महसुस गर्दै थिएँ। तर थाहा नपाए जसरी आफ्नै किताबतिर नै आँखा लगाउँदै परीक्षा नजिकै आएको कुरा बताएँ।
भिनाजुले विस्तारै कपालमा लागेको हात मेरो जिउतिर लानुभयो। म डराउँदै के गर्नुभाको भन्दै हात हटाएर सोफाबाट उठेँ तर भिनाजुको अर्कै रूप देख्दै थिएँ। घरमा कोही थिएनन् सबै ठोकाहरू बन्द, भिनाजु फेरि नजिक आएर मलाई के के गर्न लाग्नुभयो। एक्कासि यस्तो गरेको देख्दा म डरले रून, कराउन थालेँ तर सुन्ने कोही थिएन। म आफूलाई भिनाजुको हातबाट फुकाउन जति बल लगाउँदा नि सकिनँ, म बस् रूँदै, कराउँदै आफूलाई केही नगर्न बिलौना गर्दै थिएँ तर पनि मेरो सबै लुगा निकालेर मलाई नग्न पार्नुभयो। मेरो दिमागले केही काम गरिराको थिएन, म हात जोडेर आफूलाई केही नगर्न हारगुहार गर्दै थिएँ, म अति नै रोइकराइ गरेपछि, कसैलाई केही नभन्नु भन्दै मलाई भिनाजुले छोड्दिनुभो। मलाई ठूलो युद्ध जितेकोजस्तो भयो।
हतार हतार आफ्नो लुगा लगाएँ, आफूलाई देखेर आफैंमाथि दया लागेर आयो, दिनभरी रोएर बसेँ, घरमा फोन गरेर सबै भन्छु सोचेँ तर मलाई के सोच्नुहुन्छ, भिनाजुलाई त सबैले राम्रो भन्छन् मलाई नै उल्टै दोष आउँछ, घरमा तनाव पनि हुन्छ भनेर केही भन्न सकिनँ।
साँझ दिदी आएपछि पनि भन्छु भन्ने सोचेँ तर यो कुराले दिदी भिनाजुको सम्बन्ध नराम्रो हुने साथै मेरो र दिदीको पनि सम्बन्ध नराम्रो हुन सक्ने भएकाले मैले भन्न सकिनँ।
त्यस घटनापश्चात भिनाजुले दिदी नभएको बेला मलाई पटक पटक नराम्रो व्यवहार गर्नुभयो। म कस्तो सपना बोकेर आएको थिएँ, यस्तो हुन सक्छ भन्ने कुरा कहिल्यै सोचेको थिइनँ। गाउँमा सबैलाई बोल्नुपर्छ भन्ने मान्छे म आफैं पीडित भएर बस्छु त सोचेको नै थिइनँ।
घरपरिवारको इज्जत र सम्बन्धहरूको महत्व बचाउन भन्दै चुप बस्नु सही थिएन तर म कोहीसँग केही बोल्न सकिनँ। केही महिनापछि ममीलाई आफू साथीसँग कोठा लिएर बस्छु भन्दै जिद्दी गरेपछि अहिले साथीसँग बसिराको छु, तर म त्यो घरबाट बाहिर आए पनि त्यो घटनाबाट बाहिर आउन सकेको छैन।
पढेलेखेकी छु, सबै थाहा छ, संसार जित्न सक्छु सोच्थेँ तर यसरी आफैंसँग हार्ने दिन आयो। कसरी भन्ने, कसलाई भन्ने आफ्नो मानसिक अवस्थाको बारेमा, जुन केटा मान्छे देखे पनि डर मात्र लाग्छ, कोहीसँग बोल्न मन लाग्दैन, घरमा पनि कुरा गर्न सक्दिनँ, यो सबै भन्न के कुराले रोकेको छ थाहा छैन तर म रोकिएकी छु। जब एक्लै हुन्छु त्यही कुरा दिमागमा आउँछ। यसरी आफ्नै मान्छेबाट शोषित भएर बसेको छु।
आमाबुवा पढेलेखेको सबैकुरा बुझ्ने हुनुहुन्न, यही छोरीले राम्रो पढेर हाम्रा दिन फेराउँछे भन्ने आसमा हरेक बिहानीको सुरू गर्नुहुन्छ। केही पटक आत्महत्याको सोच पनि आयो, तर बुवाआमालाई सम्झिएर रोकिएँ।'
बहिनीले रूँदै सबैकुरा सुनाइन्। म नि:शब्द भएँ। छटपटी भयो, केही भन्न नै सकिनँ। बहिनीले भनिरहेको मान्छेलाई मैले पनि नजिकैबाट चिनेको थिएँ। बहिनीलाई मैले नरून आग्रह गर्दै म डाक्टर खोज्छु, के भन्दै थिएँ बहिनीले 'बाहिर घरबेटी आण्टीले बोलाउनु भयो एकैछिनमा फोन गर्छु' भन्दै फोन राखिन्।
बहिनीले भनेका हरेक शब्द मेरो मनमस्तिष्कमा आइरहे जसले अनेक प्रश्न सोध्न थाले।
इज्जत जोगाउन र सम्बन्ध बचाउनका लागि आफू सकिँदा पनि चुप लागेर बस्नुपर्ने कहाँको नियम हो यो? आफू शोषित भइरहँदा पनि आफ्नै परिवारले मलाई विश्वास गर्दैनन् कि भन्ने डरले भन्न नसक्नु, त्यो कस्तो विश्वास हो परिवारको जुन विश्वास छोरीको अस्मिता होइन कि पराई मान्छेको सम्मानमा गएर बसेको छ।
आफू मानसिक रूपमा हारी रहँदा पनि अरूले के भन्छ भन्ने डरले सधैं विजेता बन्नुपर्ने कस्तो खालको प्रतिस्पर्धा हो यो।
आफूलाई गलत भइरहेको कुरा आफ्नालाई सुनाउँदा आफैंमाथि दोष आउन सक्ने त्रास भएको कस्तो न्यायालय हो यो समाज?
कसको अगाडि आफूलाई सुरक्षित महसुस गर्ने?
कुनै न कुनै रूपमा आफू यौन शोषणमा परेको कुरा मैले धेरै साथीहरूबाट सुनेको छु र कतिले आफूलाई नै नराम्रो भन्न सक्ने भएकाले चुपचाप बसेको कुरा सुनाएका थिए।
हुन त कोही बालिका अथवा छोरी मान्छे ममाथि गलत भयो भनेर आवाज उठाउँदा, उसलाई मात्र नभई उसको परिवारलाई पनि मान्छे नै मारेको हत्यारा जसरी गालीगलौज, घृणा र उपेक्षा गरेको देखेका नै छौं, नाम र दाम भएको कुनै मान्छेले गलत गर्यो भनेर आवाज उठाउँदा आफैंलाई मार्ने पो हुन कि भन्ने डर छ यहाँ, बलात्कार मुद्दामा थुनिएर रिहा भएको मानिसलाई फूलमाला बाजागाजाले सुस्वागत गर्ने मेरा समाजका केही पात्रहरू सामाजिक सञ्जालमा न्यायाधीश बनेर बसेका छन्।
आँखा भएर देख्न नसकेका र कान भएर सुन्न नसकेका मेरा समाजका हरेक पात्रलाई म के भन्छु भने हाम्रो जस्तो समाजका कुनै पनि छोरीलाई आफ्नो अस्मिताको कुरालाई बजारमा बिकाएर केही लाख हात पार्न छैन र कुनै पनि छोरीले रमाइलोको लागि मलाई यौन शोषण भयो भन्दैनन्। आफूलाई न्यायालयले न्याय दिनुभन्दा अगाडि हजारौं पटक अन्याय सहनुपर्ने यो समाजमा मलाई गलत भयो भनेर बोलेका हरेक छोरी साहसी हुन्।
त्यसैले हरेक बुवाआमाले छोरीलाई गलत भएको बोल्न सक्ने वातावरण बनाउन सक्नुपर्छ, आफ्नै नजिकको मान्छेबाट गलत भइरहेको हुन्छ, गलत गर्ने आफ्नो न पराई दोषी नै हो, सजाय पाउनुपर्छ। यो बहिनी जसरी चुप लागेर बस्यो भनी यस्ता घटनाहरू हरेक घर-घरमा भइरहन सक्छन्।