मनमा एक किसिमको उत्साह थियो। दुई महिनादेखि निरन्तर साथीहरूको प्रयासमा यो यात्रा तय भएको थियो। हामी सबै साथीहरू मेसेन्जर ग्रुपमा जोडिएका थियौं।
केही जोडिएको साथीहरूले ग्रुप पनि छाडेर जानुभयो हामीले त्यसलाई स्वाभाविक रूपमा लियौं। सबैको परिवार छ केही बाध्यता होला यो विषयमा हामी गुनासो पनि गर्दैनौं।
हामी साथीहरू भेट्दै थियौं। छुटिएको सत्र वर्ष भइसकेछ। सत्र वर्षको दौरानमा कति साथीहरू कहिले पनि नभेटिने गरी छुटे।
हामीले भेटघाट तथा एसएलसी २०६३ ब्याचमेट गेटटुगेदर पिकनिक कार्यक्रमको अनाउन्स गरेको दिन पटक पटक सारियो। अन्तमा दुई तीन पटकसम्म हामीले छलफल गरेपछि दिन तोकिएको थियो। सुरूआतमा गोदावरी जाने भनिएता पनि हामी लाकुरी भन्ज्याँङ पुग्यौं।
हामी काठमाडौं ललितपुर भक्तपुरबाट मात्र हैन मेलुङ दोलखादेखि आफ्नो पेशा जिम्मेवारलाई थाति राखेर साथीहरू भेला भयौं। एसएलसी २०६३ पछि छुटेका हामी २०८० मा भेट भयौं। हामीमध्ये धेरैलाई हामीले चिन्न छाडिसकेका रहेछौं। कति साथीलाई हामीले चिने पनि नाम थाहा रहेनछ।
म कोटेश्वरमा प्रदीपलाई पिकअप गर्न गएको थिएँ।। हामी पेट्रोल पम्पभन्दा अगाडि छौं। बसमा ब्यानरसहित छ भनेर खबर गरिएको थियो।
कोटेश्वरबाट जाँदा ठीक अपोजिट साइड भएकोले म बाइक युटर्न गर्न लोकन्थली चोकमा पुगेँ। बीचमा म अलि अगाडि पुगिसकेको भएर बाइक फर्काउने मसँग अरू विकल्प थिएन।
युटर्न गरेपछि म नियाल्दै बस भए ठाउँमा पुगेँ।
जसले मलाई चिन्नुभयो मास्क हेल्मेट खोल्नै परेन हरिजी के छ भन्दै थोरै भलाकुसारी भयो अनि हामीसँग एउटा म्युजिक बक्स मात्र छ अर्को पनि लग्नु पर्यो भनेर प्रदिपजीले मलाई भन्नुभयो।
मैले भनें 'उसो भए मैले के सहयोग गर्नुपर्यो?'
'दिर्घजीको घरमा अर्को म्युजिक बक्स छ रे दुई जना गएर ल्याउनु पर्यो।'
मैले भने 'ठीक छ हामी लिएर आउँछौं भनेर दिर्घजी र म उहाँको घरमा पुग्यौं।'
उहाँले भन्नुभयो 'यो मेरो दिदीको घर हो। भित्र आउनुस्'
साथीको दिदीको घरमा भित्र जाने भएपछि मैले हेल्मेट र मास्क खोलेँ।
भित्र छिरेँ। एक तलामाथि चढेँ। एक जना महिला देखेँ। मैले नमस्ते गरेँ।
'दिज्यू नमस्ते' भने पछि दिर्घजीले भन्नुभयो 'दिदी हैन त यमुना हो। तिमीले हरि चिनेनौ?' यमुनालाई पनि सोध्नुभयो।
म त के भनूँ भनूँ भुतुक्कै भएँ। दीर्घको दिदीको घर। त्यसैले दिदी नै हुनुहुन्छ होला भनेर नमस्ते पनि गरेँ। लास्टमा दिदी हैन रहेछ साथी रहिछिन्। एकछिन माहोल सुनसान बन्यो। फेरि प्रशंग मोडियो र साउण्ड सिस्टमको तयारी गर्न लागियो। त्यसपछि यमुनाले साउण्ड सिस्टम समात्नुभयो। पछाडि बसेर मैले बाइक इमाडोल कृष्णमन्दिरतिर लगेँ। चोकमा पर्खने र गाडी आएपछि गाडीमा हाल्ने भन्ने थियो।
त्यो बेलासम्म कोटेश्वरबाट गाडी आउँदेै थियो। दीर्घजीको घर इमाडोल कृष्णमन्दिरबाट ५ मिनेट भित्र रहेछ। चोकमा पुगेपछि यमुनासँग कुरा भयो 'हजुरको नाम के छ फेसबुकमा?'
नाम खोजेँ। पहिले नै साथी रहेछौं तर याद नै गरेको थिइनँ।
हो यो त एउटा उदाहरण थियो। हामीमध्ये धेरैले चिन्न छाडिसकेका रहेछौं।
मलाई घर नजिकैको छिमेकी बैनीले दसैंमा घर जाँदा चिनिनन् झण्डै एक दशक वैदेशिक यात्रामा रहेर फर्किए तर बीचमा पनि मेरो बसाइ काठमाडौंतिर नै थियो। अनि जब छिमेकी बैनीले परिवारभित्रकै सदस्यले त चिन्न छाडिसके, साथीले चिनेनन् भनेर पनि के गुनासो गर्नु हैन त!
जति साथीले चिन्छन् मास्क हेल्मेट पनि खोल्न नपर्ने रहेछ तर कति साथीले हेल्मेट मास्क खोले पनि अहँ नचिन्ने रहेछन्।
हो सत्र वर्ष अगाडि मेलुङ त्रिभुवन उच्च माविमा छुटेका हामी लाकुरीभन्ज्याङमा भेटियौं। सायद अब हामीले कसैलाई भुल्ने छैनौं जति हामी सहभाभी थियौं। अब हामी सबैसँग नबिर्सने एउटा मीठो, स्मरणीय र अविस्मरणीय पल भयो लाकुरी भन्ज्याङको पिकनिक २०८०।