काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् रास्वपाका सांसद शिशिर खनाल सँगसँगै रहने मौका मिल्यो। उहाँले दाङ जान प्रस्ताव राख्नुभयो। प्रस्ताव सहर्ष स्वीकार गरेँ। केही समयअघि दाङकै प्रस्ताव अर्जुन दाइबाट आएको थियो। दुवै संयोग एकै पटक जुर्यो।
मान्यज्यूको सचिवालयबाट फोन आयो 'भोलि बिहान ६:२० मा ढुङ्गेधारा भेट हुने'। लोचन पौडेलसँग भएको टेलिफोन संवाद र फेसबुक मेसेन्जरलाई पछ्याउँदै म पुस १९ गते बिहान निर्धारित समयमा ढुङ्गेधारा पुगेँ। अङ्ग्रेजी समयमै (नेपालीहरूका माझमा नेपाली समयले ढिला र अङग्रेजी समयले समयमै भन्ने भास्य स्थापित भइसकेको छ) गाडी ढुङ्गेधारा आइपुग्यो।
कलंकीबाट रास्वपा दाङका नेता कमल सुवेदी, टिच फर नेपालका खिकाप्रसाद नेपाल र कृष्णकुमार केसी जोडिए। त्यसपछि सुरु भयो दाङको तुलसीपुर यात्रा।
काठमाडौँबाट सुरु भएको यात्रा चियापानी पिउँदै चितवनको जुगेडीमा पुगेर विश्राम लियो। हाम्रो आगमनलाई बिहानी भोजनसहित स्वागत गर्न तत्पर हुनुहुन्थ्यो युवा उद्यमी, समाजसेवी एवम् एनआरएनएका पूर्व केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाल सरकारका उपसचिव निरन भट्टराई, पत्रकार सूर्य बराललगायत।
हामीले भोजन मात्र गरेनौँ भोजनसँगै औषधि उत्पादन क्षेत्रमा पहिलो पटक आइपिओ जारी गर्दै गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको 'फ्याक्ट्री भिजिट' गर्यौँ। स्वास्थ्य र राष्ट्रका लागि सङ्कल्प बोकेको भव्य भवनयुक्त ओम मेगाश्री बजारीकरणका लागि इजाजत प्राप्त गरेको कम्पनी रहेछ। सुलभ र गुणस्तरीय औषधि उत्पादन गर्दै जनसहभागितासहितको उत्पादन एवम् वितरण गरी विदेशी आयात घटाउने र विदेशसमेत औषधि पैठारी गर्ने उद्योगले स्वास्थ्य क्षेत्रमा विशेष भूमिका खेल्ने विश्वास लियौँ। चितवनबाट झण्डै ३४० किलोमिटर यात्रा चितवन-परासी-दुम्कीवास-लमही-घोराही हुँदै पौने ११ बजे तुलसीपुर पुग्यो।
पुस २० गते शुक्रबार ठिक ८ बजे तुलसीपुर मेट्रो कलेज बिएएलएलबीका विद्यार्थीसँग साक्षात्कार गर्ने कार्यक्रम तय थियो। 'कानुन निर्मातासँग कानुनका विद्यार्थी' कार्यक्रम। आयोजक थियो- तुलसीपुर मेट्रो कलेज दाङ। तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित कलेजका प्राचार्य, लेखक एवम् पत्रकारसमेत रहेका वसन्त आचार्यको टिमले हामीलाई स्वागत गर्यो। 'गेस्ट' सांसद शिशिर खनाल र 'होस्ट' मेट्रो कलेज।
बिहानी सत्रको कार्यक्रम सकिएपछि टिच फर नेपालको 'कक्षाकोठामा एक दिन' यात्रामा निस्कियौँ। वसन्त आचार्य, अर्जुनकुमार श्रेष्ठलगायतको टिम माध्यमिक विद्यालय भित्री सक्राम लाग्यो। शिशिर खनाल, लोचन पौडेललगायतको टिम मावि प्रतापकोट अम्बास हिँड्यो। टिच फर नेपालका 'जेनरल मेम्बर' कृष्णकुमार के.सी, नेपाल सरकारका पूर्व सह-सचिव विष्णुकुमार देवकोटा, १३ नम्बर वडाका अध्यक्ष मोहनलाल पौडेल, तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी र पङ्क्तिकार तुलसीपुर–१३ को अम्बेश्वरी मावि अम्बापुरमा पुग्यौँ। हामीलाई स्वागत गर्नुभयो विद्यालयका प्राचार्य थानेश्वर आचार्य र शिक्षक साथीहरूले।
'एक दिन, एक क्षण, एक व्यक्ति र एक विचारले एक विद्यार्थीको जीवनमा ठूलो फरक पार्नसक्छ' भन्ने उद्देश्यका साथ वर्षमा एक पटक टिच फर नेपालले गर्ने विविध कार्यक्रममध्ये एक रहेछ- कक्षाकोठामा एक दिन।
हाम्रो 'जम्बो' टिम तुलसीपुर उपमहानगरपालिकाका विभिन्न विद्यालयमा छरिएको थियो। हामी सबै एक दिन, एक क्षण, एक व्यक्ति र एक विचारसँग आवद्ध थियौँ। मेरो १ घण्टा १५ मिनेटको समय कक्षा १० का भाइबहिनीका बीचमा खर्चनु थियो।
जीवनका डेढ दशक यात्रा शिक्षक बनेर बिताइरहँदा र विश्वविद्यालयको प्राध्यापन यात्रा सुरु गर्नुपूर्व विद्यालय तहमा पढाइरहँदा जीवनले निकै आरोह-अवरोह पार गरिसकेका थिए। मलाई विद्यार्थीका बीचमा पुर्याउने जिम्मेवारीमा रहनुभयो- सोही विद्यालयका माध्यमिक तहकी नेपाली शिक्षक दीपा वली।
'भाइबहिनीहरू, आज तपाईंको कक्षामा जो उभिँदै हुनुहुन्छ उहाँ तपाईंको गुरुको पनि गुरु हुनुहुन्छ।' यसो भनिरहँदा हर्षको सीमा नै रहेन। शिक्षक सेवा आयोग पढाउँदाका थुप्रै शिक्षक मित्रहरू तुलसीपुरका विद्यालयमा अध्यापनरत हुनुहुन्छ। एउटा शिक्षकका लागि त्योभन्दा ठूलो पुरस्कार के हुनसक्छ?
'पढ्नोस् खुब पढ्नोस्। काम गर्नोस् खुब गर्नोस् तर फरक तरिकाले। पहिचान अरूले निर्माण गर्ने होइन आफैँले बनाउने हो। दाङमा रहेर मेरो कक्षासँग नजिक भएका दीपा वली, हिमाल कँडेल, हिमाल डाँगी, लक्ष्मी भण्डारी जस्ता शिक्षक साथीहरू मेरो पेसा र कर्मले दिएका पहिचान हुन्।' मैले यहीँबाट कक्षा आरम्भ गरेँ। साहित्यकार अमर न्यौपानेको एउटा कथन याद आउँछ, 'हामी सबैसँग कथा छन्। कति व्यक्त हुन्छन् कति अव्यक्त। अव्यक्त कथाको उत्खनन् नै साहित्य हो।'
विद्यार्थीहरूको कलिलो मस्तिष्कमा मैले अध्ययनको महत्त्व र अध्ययनपछिका सुनौलो भविष्य चित्र कोर्ने यत्न गरेँ। आफ्नै उदाहरण पेस गरेँ। स्वदेशमै बसेर पनि प्रतिष्ठित जीवन जिउन सक्ने बताएँ। उनीहरूका प्रश्न सुनेँ!
यसैबीच मेरो कक्षामा बसेर मेरा कुरा सुनिरहनुभएका लेखापाल किरण परियारले प्रश्न गर्नुभयो, 'सरले साइन्स, म्यानेजमेन्ट आदि नपढेर किन नेपाली नै पढ्नुभयो?'
मैले संक्षिप्त उत्तर दिएँ, 'पेलेलाई क्रिकेट र सचिन तेन्दुकरलाई फुटबल खेल्न दिइन्थ्यो भने के हुन्थ्यो होला? मन लागेको विषय पढ्ने हो; छिमेकी-इष्टमित्र वा अरूको दबाबमा पढ्ने होइन। दबाबले व्यक्तिको भावलाई मारिदिन्छ। ऊ सधैँ आफ्नोपनको अभावमा छट्पटाइरहन्छ।'
दिनभरिको थकान मेट्न हाम्रो टिम तुलसीपुर उपमहानगरपालिका-८ स्थित बटोलपुर सामुदायिक होमस्टेमा पुग्यो। ३ नम्बर वडाका मिजासिला वडाध्यक्ष एवम् तुलसीपुर कोसेली घरका सञ्चालक वीरबहादुर विक 'विजय' ले गजबको साइत जुराउनुभयो- झण्डै तीन दशकअघि पाल्पा तानसेनमा बिएस्सी अध्ययनरत मित्र द्वय घनश्याम पाण्डे तथा अर्जुनकुमार श्रेष्ठ बीचको भेटघाट।
श्रेष्ठकै शब्दमा, 'घनश्यामजीले बिएस्सी पढ्दादेखि नै हो दाङ आउन भनिरहनुभएको। झण्दै तीन दशकअघि 'कुनै दिन आउने छु' को साइत आज जुरेछ।' यी दुई जिग्रीलाई पाण्डेभूमिमा जमाउने मेलोमेसो मिलाउने विजयको 'जय' नभनी हुँदैन। हामीले पनि 'जिग्री' को नाउँमा ढिक्रीसँग अन्य परिकार निस्फिक्री भोजन गर्यौँ।
विशेषतः दाङको बँदिया (खसी पारेको कुखुरा), बट्टाई र चौधरीको विशेष पकवान्न 'ढिक्री'। सालको दुनामा बनेका अन्य परिकार। नेपालको सांस्कृतिक विविधता र दाङको थारू पहिचान। थारू संस्कृतिको छनक त गजब नै थियो त्योभन्दा ज्यादा गजब बन्यो होमस्टेका घरबेटी महेन्द्र चौधरी, सोनी चौधरी, होमस्टेका अध्यक्ष शान्तिलाल चौधरी, कोषाध्यक्ष अङ्गराज चौधरी, सचिव शर्मा चौधरी, सदस्यहरू रामकुमार चौधरी, चैनी चौधरी, चन्द्रा चौधरी, उमा चौधरी, देवी चौधरीसँगै वडा नम्बर ६ का वडाध्यक्ष धर्मराज वलीसँगै विजय विकको आतिथ्यताले। साँच्चै 'जिग्री' साँझ सुनौलो र स्मरणीय रह्यो।
बँदियाको स्वाद र ढिक्रीको ढुकढुकीलाई बजारीकरण गर्ने हो भने दाङ देखेर सबै दङ्ग नपर्नेमा कुनै सन्देह रहेन। माननीय सांसद् शिशिर खनाल, पूर्व नगरपिता घनश्याम पाण्डे, उद्योग व्यवसायी एवम् एनआरएनएका पूर्व केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, दुई वडाध्यक्ष, युवा नेता कलम सुवेदी, पत्रकार, शिक्षाविद्, औषधि व्यवसायीसँगै मलाई होमस्टेका सञ्चालकले गरेको आग्रह पनि यही थियो कि- हामीलाई संस्कृतिसहितको बजारीकरणमा सरकारले लगानी गरोस्, हामी स्थानीय स्वाद पस्कने छौँ र दाङलाई समृद्ध तुल्याउने छौँ।'
र अन्त्यमा,
दाङका सम्पूर्ण दलका नेताज्यू, विकासप्रेमी एवम् निवासीज्यू ! राष्ट्रिय जनगणना २०७८ अनुसार कुल १ लाख ७९ हजार ७ सय ७५ जनसङ्ख्या र साक्षरताका दृष्टिले पनि अब्बल (८३.१४ प्रतिशत) रहेको त्यस क्षेत्रका अधिकांश कृषियोग्य जमिन बाँझो देख्दा भने प्रकाश सपुतको 'मुटु कटक्कै' बोलको गीत झैँ बनेको छ। आशा छ, अब आउँदाको डायरी बदलिने छ। हरियाली दाङ, समृद्ध दाङ देखेर दङ्ग पर्ने छु/छौँ। डायरी यात्राका क्रममा छुटेका सबै नामलाई हृदयतः सम्झना!