पुसको महिना घाम रापिलो लाग्छ, त्यो नि कहिलेकाहीं। घाम लागेको छ पारिलो। बुवा र श्रीमती स्कुल गैसके। छोरो नि उसको ममीसंगै स्कुल जान्छ। मेरो साइट त्यति साह्रो चलेको छैन।
यसै घरको बरण्डामा आमासँग गफिएर बसेको थिएँ, बाटोमा 'सुन्तला, बदाम' भन्दै ठेला आइपुग्यो। सिजन सकिन लागेको सुन्तला अनि भुटेका बदाम छुटाउने कुरै भएन। आमालाई यसरी बदाम र सुन्तला खान औधि मनपर्छ। म पनि मन पराउँछु। सधैं मोबाइलमा घोत्लिने बानी एकैछिन बदाम र सुन्तला खानलाई हामी दुवैजनाले मोबाइल पायक पर्ने ठाउँमा राख्यौं।
आमा साक्षर हुनुहुन्छ, यति साक्षर कि मोबाइलमा समग्रमा नेपालीहरूले चलाउने सामान्य एपहरू चलाउनु हुन्छ। मलाई एक हिसाबले यसरी मोबाइलमा अलमलिएको नि ठिकै लाग्छ। एक्लोपनमा मनलाई एकोहोरो बनाउनुभन्दा यसो समय बिताउने माध्यम त भएको छ नि।
तराईमा बाक्लो हुस्सो लाग्छ यो समयमा। पारिलो घाममा बदाम र सुन्तलाले आजको माहोल बेग्लै बनाएको थियो। आमासँग गफ नगरेको नि धेरै भएछ सायद। नजिकबाट नियालेर हेर्न नपाएको हो कि यादै नभएको हो, उहाँका अनुहारमा चाउरी देखिन थालेछन।
मैले 'तपाईं पनि बुढी हुनुभयो आमा' भनें।
आमा मुस्कुराएर 'तेरै दारी-कपाल फुलिसक्यो, म बुढी हुन्न त' भनेर उल्टै मलाई नै प्रतिप्रश्न गर्नुभयो।
क्रमशः बदाम र सुन्तलाको तौल घट्दै गयो। यसै छरछिमेके, इस्टमित्रका कुरा गर्दै थियौं, मेरो मोबाइलमा म्यासेज आयो। मैले मोबाइल हेरें, कान्छो भाइको रहेछ। भाइ पेसाले इन्जिनियर हो। बुहारीको सरकारी जागीर। दुवैजना आआफ्नो काममा व्यस्त छन्। छोरो भर्खर स्कुल जान थालेको छ। छोरो भैकन झन व्यस्तता बढाएको छ उनीहरूको।
कामभन्दा बाहेक त्यति गफ हुन्न। हुन त मैले पनि फोन म्यासेज गरे हुने हो। म पनि उही त हो, आफ्नै काममा व्यस्त। आमा आज छक्क पर्नु भएको छ यति फुर्सदिलो नहुने मान्छे, कि सन्चो पो भएन कि। घरमा हामी खाना खाएपछि निस्कन नै हतार गर्छौं आ-आफ्नै काममा, त्यही भएर पनि होला।
भाइले सन्चो बिसन्चो, कामधन्दा, छर-छिमेकी सबै सोध्यो। मैले मनमनै यति धेरै चासोले सोध्ने कहिले नगर्ने मान्छे आज के भयो र यति धेरै सोधीखोजी गर्यो भन्ने सोचिरहेको थिएँ। उसले गफैगफमा 'आमालाई केही दिन काठमाडौं पठाइदिनू न' भन्यो।
मैले 'आमासँग नै कुरा गर् न' भनें।
हामी तीन जना दाजुभाइ। दाजु डक्टर छ। ऊ पनि नानीहरू र भाउजूसँगै काठमाडौंमै बस्छ। उनीहरू अनि आफ्नै काममा व्यस्त छन्। तर दुवैजना केही कामको सिलसिलामा बाहिर कतै जानुपर्यो भने बडो चासोको साथ हालखबर, सन्चो बिसन्चो सोध्छन् र अन्तिममा आमालाई केही समय पठाइदे न भन्छन्।
राम्रो पनि हो, आमाको लागि हामी तीन जना नै उत्तिकै त हो। आमाले पनि नाति-नातिनासँग समय बिताउन पाउनुहुन्छ। आमा हामी तीन जनालाई जन्माउँदा, हुर्काउँदाको कहानी बडो गर्वका साथ सुनाउनु हुन्छ। घाममा तेल लगाएर सेकेको, नुहाएको यस्तै-यस्तै। अनि घरको काम, घाँस-दाउरा, मेलापात सबै पनि हामीलाई हुर्काउँदा हुर्काउँदै हरेक दिन गर्नु भएको काम हो।
हामी संयुक्त परिवारमा हुर्किएका हौं। बुवा जागीरका लागि घर बाहिर नै बस्नु हुन्थ्यो। घरमा हजुरआमा, हजुरबुवा, अंकलहरू सबै थियौं। हाम्रो पढाइको लागि अंकलहरूले हेरदेख गर्नु हुन्थ्यो। बाँकी आमाले, त्यति धेरै काम अनि हाम्रो हेरचार। तर आजसम्म आमा गलेको, थकाइ लागेको, निरास भएको, यति धेरै मैले गरें भनेर बुवासँग गुनासो गरेको सुनेको छैन।
आज पनि हरेक पल, हरेक कुरा गर्वका साथ सुनाउनु हुन्छ। हाम्रो मात्रै हैन, नातिनातिनाको हेरचाहमा पनि सधैं सक्रिय हुनुहुन्छ। तर कहिले पनि थकाइ लाग्यो भनेको नि सुनेको छैन। उति नै उर्जा, उति नै सक्रिय तीन जना छोरा अनि नातिनातिनासम्म आइपुग्दा पनि।
म सोच्छु, आजकल भर्खर आमा भएकाहरूले नातिनातिनाको लागि हाम्री आमाहरूले जस्तो सक्रियपूर्वक छोराछोरी भएकै ठाउँमा गएर चाकर गर्न सक्छन् कि सक्दैनन् होला? अनि हाम्री आमाहरूले जस्तो यति धेरै दुःख गरेर सबैतिर पुगेर छोराछोरीको इच्छाअनुसारको स्याहार गरी बिना गुनासो बडो गर्वसाथ आत्मसम्मान महसुस गर्छन् कि गर्दैनन् होला?
अनि हाम्रा आमाहरूले जस्तो सबै दुःख तथा कष्टहरूलाई मनभित्र राखेर मुसुक्क मुस्कुराएर चाउरी परेको अनुहारले कहिलेको टिकट गर्दिन्छन्, कहिले आउनुपर्ने भनेर छोराछोरीले बोलाउँदा नातिनातिना हेर्न हौसिन्छन कि हौसिन्नन् होला? अहिले आमा बन्दै गरेका आमाहरू हेर्छु अनि मेरी आमालाई हेर्छु।